+
+

‘ए’ डिभिजनबाट घटुवा हुने पहिलो टोली बन्यो च्यासल

फ्रेण्ड्सलाई रेलिगेसन संकटबाट राहत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १५:२०

७ फागुन, काठमाडौं । फ्रेण्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएपछि ललितपुरे क्लब च्यासल शहीद स्मारक ए डिभिजन लिग फुटबलबाट घटुवामा परेको छ ।

शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको खेलबाट च्यासल रेलिगेसनमा पर्ने निश्चित भएको हो भने यो जितपछि फ्रेण्ड्सले भने रेलिगेसनको संकट टारेको छ ।

पहिलो हाफमा गरेको दुई गोल सहयोगमा फ्रेण्ड्सले महत्वपूर्ण तीन अंक लिन सक्यो । ३८औं मिनेटमा कप्तान नाथानियल जर्ज गार्सियाको हेडर पासमा जामोल एन्थोनी फ्रान्कोइसले फ्रेण्ड्सका लागि सुरुवाती गोल गरे ।

त्यसको चार मिनेटपछि फ्रेण्ड्सले एन्थोनी फ्रान्कोइसकै पेनाल्टी गोलबाट अग्रता दोब्बर पारेको हो । च्यासलका अभिषेक लिम्बुले बक्सभित्र एन्थोनीलाई फल गरेपछि फ्रेण्ड्सले पेनाल्टी पाएको हो ।

दोस्रो हाफमा च्याससलले पेनाल्टीमार्फत एक गोल फर्काए पनि रेलिगेसनको खतरा टार्नका लागि पर्याप्त भएन । च्यासलकालागि मोउसा अवगानाले ५६औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । फ्रेण्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले राजीव लोप्चनलाई बक्सभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो ।

लिगमा १२ खेलको समाप्तीमा च्यासलको ६ अंकमात्र छ । अन्तिम खेलमा जित निकाले पनि उसले रेलिगेसन टार्न सक्दैन । दुई टोली बी डिभिजनमा घटुवा हुने यो लिगमा च्यासल पहिलो टिम बनेको हो ।

च्यासलले यस सिजन शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेको थियो । तर, सातदोबाटोविरुद्धको अन्तिम खेलअघि नै रेलिगेसनमा परेको छ ।

२०७३ मा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासलले २०७५ र २०७६ मा ए डिभिजन लिग खेलेको थियो । लगातार तेस्रो सिजन शीर्ष श्रेणीको लिग खेलेपछि च्यासल पुनः घटुवा भएको छ ।

जितपछि फ्रेण्ड्सले १२ खेलबाट १० अंकसहित १२औं स्थानमा छ ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?