+
+

प्रेमको विविधीकरण

जसरी बग्ने लोभले सीमित स्थानमै सीमित रहेको पानी प्रदूषित हुन्छ, त्यसरी कोही सीमित व्यक्तिलाई मात्र गरिएको प्रेम सीमित रहन्छ र प्रदूषित बन्छ‌ ।

लोकराज आचार्य  लोकराज आचार्य 
२०७८ फागुन १४ गते ९:२९

‘डु नट पुल अल एग्स इन वन बस्केट’ अथवा सबै अण्डा एउटै टोकरीमा राख्नुको सट्टा फरक-फरक टोकरीमा राख,  परिमाणतः सबै अण्डा फुट्न पाउँदैन।

यो सिद्धान्त लगानी व्यवस्थापन गर्नको लागि निकै प्रचलित छ। सबै रकम एउटै कम्पनीमा लगानी गर्नुको साटो फरक-फरक कम्पनीमा गर्नु उचित हुन्छ। ताकि बाँकी कम्पनी घाटामा गए पनि नाफामा गएका कम्पनीले ‘रिकभर’ गरिहाल्छ। मानौं तपाईंले चारवटा कम्पनीमा लगानी गर्नुभयो, तीनवटा घाटामा गए। तर तपाईंले चिन्ता गर्नुपर्दैन, बचेको एउटा कम्पनीले असुल गरिहाल्छ।

अब आजको विषयतिर लागौं।

आजको हाम्रो विषय छ- कोही एउटै व्यक्तिलाई मात्रै असाध्यै माया नगर। एउटैलाई पूरै दुनियाँ नठान। आफ्नो हृदयको असीमित सामर्थ्यलाई कुण्ठित नतुल्याऊ। आफ्नो प्रेमलाई नि ‘डाइभर्सिफिकेसन’ गर। प्रेमलाई बाँड। प्रेम सबैलाई गर। यसलाई फैलिन देऊ।

जसरी घाममा राखिएको लेन्सबाट निस्केको ताप र प्रकाश एकैतर्फ केन्द्रित गरेपछि कागज नै जलाउँछ। यसरी नै तपाईंको हृदयबाट निस्केको प्रेम एकै व्यक्तितर्फ केन्द्रित गरेपछि स्वयम् तपाईंलाई नै एकदिन मानसिक पीडाले जलाउनेछ।

एउटा गीत सुन्नुभएको होला, ‘एउटा मान्छेको मायाले पनि कति फरक पर्दछ जिन्दगीमा।’

यही गीतले भनेजस्तै एउटा मान्छे मात्रको मायाले अथवा एउटा मान्छेलाई मात्र गरिएको मायाले तपाईंको जीवनलाई फरक पारिदिन्छ या भनौं तहसनहस समेत पारिदिन सक्छ। जीवनमा कहिल्यै पनि मान्छेहरूको मायाले असर पर्दैन, असर पर्छ त केवल एउटा मान्छेको मायाले।

माया के हो ? प्रेम के हो ? मोह के हो ? मन के हो ? आउनोस्, एकचोटि वैज्ञानिक तरिकाले व्यावहारिक रूपमा सोचौं। जब हामी कुनै पनि काम लगभग २१ दिनसम्म लगातार गर्छौं, त्यो हाम्रो बानी बन्छ। त्यो काम सबेरै उठ्ने, चिया खाने, मर्निङ वाक गर्ने, मेडिटेसन गर्नेदेखि लिएर फेसबुक चलाउने, कसैलाई फोन गर्ने, म्यासेज गर्ने, सम्झनामा हराउने पनि हुन सक्छ।

जब हामी कुनै कामलाई लगातार गर्छौं, हामीलाई त्यसको लत बस्छ। यही लत जब महिला हुनुहुन्छ भने पुरूष र पुरुष हुनुहुन्छ भने महिलाप्रति बस्छ भने तपाईंको लत अझै कडा हुन्छ। किनभने तपाईंकै विरूद्ध तपाईंको हर्मोनले पनि यसै बानीलाई सहयोग गर्छन्। अन्ततः एउटै व्यक्तिबाट, एक व्यक्ति मात्रको कल्पना/कल/म्यासेज/भेटले मस्तिष्कमा खिसी हुने डोपामिन र सेरेटोरिन नामको केमिकल पैदा गर्छ।

अब यही खुसीकै आधारमा भन्ने गरिन्छ- संसारका सारा खुसी तिमीले दिने गर्छौ। मलाई तिमी भए पुग्छ, यो समाज, परिवार के नै हो र हाम्रो माया अगाडि, आदि इत्यादि। यस्तै हुँदै जान्छ, अनि सबै समय/ध्यान एउटैतिर हुन्छ।

सबकन्सिअस दिमागमा मान्छे बस्छ। अरू कसैको मतलब हुँदैन। एउटै मान्छेमा संसार भेटिन्छ। यस्तै यस्तै हुन्छ। के के हुन्छ। यस्तै यस्तै हुन्छ।

अब अलि मन कठोर बनाएर पढौं। के यो मायाको संसार सधैं रहिरहन्छ ? के मेरो लागि दिनरात नभनी समय दिन तयार हुने मान्छे सधैंभरि अनमोल समय मलाई दिइरहला त ? के मेरो प्रेमीसित सँगै रहनको लागि बाध्यकारी सामाजिक परम्परा विवाह मसँगै हुन्छ होला त ? के मलाई यति धेरै माया गर्ने व्यक्तिको माया सधैं रहिरहला त ? के मलाई संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे सधैं रहिरहला त ? यी प्रश्नहरू आफैंसँग सोध्नुहोस्, केही प्रश्नको उत्तर अँ त के रे आउला तर सबै प्रश्नको उत्तर अँ आउने छैन।

यदि सबैको उत्तर अँ नआएपछि एउटा कुरा ख्याल गरौं- यहाँ सधैं केही रहँदैन। संसार परिवर्तनशील छ। अनित्य छ। यहाँ सधैं रहिरहनेवाला केही छैन/कोही छैन।

जब यो मायाको संसार अन्त्य हुन्छ। अनि हुन्छ घृणा, तिरस्कार, पीडा, छटपटीको सुरुवात। जति नै प्रेम प्राप्तिबाट आनन्द मिलेको थियो, त्यति नै ब्याजसहित पीडाको प्राप्ति पनि हुन्छ। तपाईंको केही वर्ष पहिलेको सोच, विचार, सपना र अहिलेको स्थिति हेर्नोस्, कति फरक छ। तपाईंमा यस्तो परिवर्तन हुन्छ भने स्वभावैले अरू मानिसका शारीरिक एवम् मानसिक परिवर्तन पनि स्वाभाविक छन्।

त्यसैले माया सधैं रहिरहँदैन। प्राप्त भएपछि पनि कम हुन्छ या भनौं हँदै हुँदैन, प्राप्त नभएपछि पनि आफैंलाई पीडा हुन्छ।

अन्ततः निष्कर्ष यो हो कि प्रेम सप्पैलाई गर्नुहोस्। तपाईंको हृदयमा आमा, बुबा, हजुरबुबा, हजुरआमा, भाइबहिनीलगायतका सबै आफन्त र अन्य साथीहरूले पनि ठाउँ ओगटून्। तपाईंको अमूल्य समय उहाँहरूलाई पनि प्राप्त होस्।

एउटै मात्र बेस्ट फ्रेन्ड बनाएर मलाई अरु साथी चाहिंदैन नसोचौं। आफ्नो फ्रेण्ड सर्कल बढाउँदै लगौं। सधैं प्रेमिका/प्रेमीलाई मात्र हैन अन्य केटा वा केटी साथीलाई नि समय दिऊँ। यदि दिंदैनौं भने हाम्रो लभस्टोरी सुन्ने फुर्सद नहोला उनीहरूलाई।

कोही एक विशेष व्यक्ति विना बाँच्नै नसक्ने नबनौं, ऊ भएपछि अलि खुसीसाथ बाँच्न सक्ने मात्र बनौं।

मानौं, तपाईं कार ड्राइभिङ गर्दै हुनुहुन्छ र बाटोमा बिग्रियो- के गर्नुहुन्छ ? भन्नुहोला बनाउँछु। म फेरि सोध्छु- बनेन भने ?

तपाईंसँग अतिरिक्त पाङ्ग्रा हुनुपर्छ। जसको सहयोगले तपाईंको यात्रा सफल हुनेछ। यो प्रेमको मामला पनि यस्तै हो। एउटै व्यक्तिलाई दुनियाँ ठानेर उसैको लतमा नबस्नोस्।

मान्छेलाई मात्र के सकिन्छ भने जनावर, चराचुरुङ्गी, कीराफट्यांग्रा, वनस्पति, नदी, वन, तलाउ, हिमाल सबैलाई गर्नोस्। अनि नबिर्सेर आफैंलाई गर्नोस्। तर संकुचित प्रेम नगर्नोस्। संकुचित प्रेमले तिम्रो जिन्दगी नै संकुचित पारिदिनेछ। जसरी बग्ने लोभले सीमित स्थानमै सीमित रहेको पानी प्रदूषित हुन्छ, त्यसरी कोही सीमित व्यक्तिलाई मात्र गरिएको प्रेम सीमित रहन्छ र प्रदूषित बन्छ‌। कोही यति धेरै खास पनि नबनोस् कि अरू बकवास बनून्। अलि बढी, अलि कम होस् तर कसैलाई सागर सरी अथाह पनि नहोस्। किनभने खाना होस् या माया धेरै कसैलाई पच्दैन। अनि कसैलाई भोकै पनि नराख्नोस्, यति लोभ पनि ठिक हुँदैन।

आजसम्म संसारमा कसैले नभनेको कुरा भन्दैछु- तिम्रो मायामा पनि विविधीकरण होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?