
२५ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारीले होटल उद्योगमा हुने दीर्घकालीन लगानीमा असर नगरेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार नेपालमा अहिले दुई दर्जनभन्दा बढी पाँचतारे स्तरका होटल पाइपलाइनमा छन् । यीमध्ये केही निर्माणको चरणमा छन् भने केही निर्माणको पूर्वतयारीमा ।
सरकारको मापदण्डअनुसार काठमाडौं उपत्यकामा निर्माण हुने होटल पाँचतारे वर्गीकरणभित्र पर्न कम्तीमा १०० कोठा चाहिन्छ । उपत्यका बाहिर भने ८० कोठा भन्दा माथिको होटलले पाँचतारे मान्यता पाउँछ ।
पर्यटन विभागका अनुसार २७ वटा ठूलो क्षमताका होटल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रक्रियामा छन् । यीध्ये केहीले अनुमानित लगानी खुलाएका छन् भने कतिपयले खुलाएका छैनन् ।
आकर्षण अझै काठमाडौंमा
ईआईए प्रक्रियामा रहेका धेरैजसो होटेल काठमाडौं उपत्यकामा खुल्नेछन् । बाहिर रुपन्देही र बाँकेमा बढी आकर्षण देखिएको छ ।
रुपन्देही जिल्लामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको छ । बाँकेमा भने भारतीय पर्यटक लक्षित लगानी बढिरहेको छ । बाँकेमा क्यासिनो कल्चर फस्टाइरहेको छ ।
मानसरोवर जाने भारतीय पर्यटकको प्रवेशद्वार पनि हो, बाँकेको नेपालगञ्ज । पछिल्लो समय नेपालगन्जमा स्तरीय होटलमा लगानी बढिरहेको छ । काठमाडौं उपत्यकाबाहिर काभ्रेमा पनि होटलमा लगानी थपिने क्रममा छ ।
होटल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठ पर्यटकीय प्रडक्ट बिस्तार नभएसम्म बाहिर लगानीकर्ता हच्किने हुनाले बढी लगानी उपत्यकाभित्रै भएको बताउँछन् । यसकारण पर्यटकीय गतिविधिलाई देशभर बिस्तार गर्न सरकारलाई उनको सुझाव छ ।
पाइपलाइनमा रहेका अधिकांश होटलको लगानी २५ अर्ब रुपैयाँभन्दा माथि छ । ठूलो क्षमतामा होटल निर्माण गर्न विभागमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न आएका कतिपय होटलले भने लगानी खुलाएका छैनन् ।
कतिपय होटलका ईआईए प्रतिवेदन कोरोनाकालभन्दा अगाडिको अनुमानमा आधारित भएकाले मूल्यांकनमा कम लागत देखिन्छ । विभागमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको कम्पनीले बनाइरहेको शेराटन काठमाडौं होटलको अनुमानित लगानी ५ अर्ब रुपैयाँ मात्र खुलाइएको छ । कम्पनीले यो होटलमा १२ अर्ब रूपैयाँ लगानी हुने बताएको छ ।
ठमेलदेखि रारासम्म पाँचतारे होटल
वातावरणीय प्रभाव मूल्याकनमा आएका होटलको विवरण अनुसार ठमेलदेखि रारासम्म पाँचतारे होटल निर्माणको योजना छ । रारा राष्ट्रिय निकुन्जमा ‘रारा परियोजना’ले २२५ कोठाको होटल खोल्न ईआईए प्रक्रिया थालेको छ ।
चौधरी ग्रुपले झम्सिखेलमा १८० कोठाको सिजी होटल्स एण्ड रिसोर्ट खोल्ने प्रक्रिया थालेको छ । रुपन्देहीमा होटल पवन प्यालेसले १४१ कोठाको होटेल निर्माण गरिरहेको छ । काभ्रेको मण्डनदेउपुरमा १४९ कोठाको होटल द ब्लू माउण्टेन बन्दैछ ।
त्यस्तै, काठमाडौंको नक्सालमा होटल हिल्टन निर्माणको अन्तिम चरणमा छ । यसको लगानीकर्ता जगदम्बा हस्पिटालिटी हो ।
पाइपलाइनका पाँचतारे होटल
होटेल | कोठा/बेड संख्या | अनुमानित लागत |
सिटी होटल, ताहाचल | १५६/३१२ | नखुलेको |
द म्यासिफ होटल, ग्वार्को | ३०२/४७५ | ४ अर्ब ८१ करोड |
सिद्धार्थ इन्टरनेशनल होटल, रुपन्देही | ८१/१३२ | नखुलेको |
द सेन्चुरियन होटल, विराटनगर | १०७/१६७ | १ अर्ब ४८ करोड |
होटल क्राउन इम्पेरियल, काठमाडौं | १३१/१८० | १ अर्ब |
शेराटन काठमाडौं होटल, ठमेल | २२५/४५० | १२ अर्ब |
होटल फरेष्ट इन, बुढानीलकण्ठ | नखुलेको/१०२ | नखुलेको |
रारा परियोजना, रारा राष्ट्रिय निकुञ्ज | २२५/३२५ | ५० करोड |
एशियन इन्टरनेशन रिजेन्सी, रुपन्देही | १०३/१७६ | २ अर्ब ४० करोड |
वेस्टार हस्पिटालिटी, बानेश्वर | १२२/२४४ | १५ करोड |
द जिंक काठमाडौं, झम्सीखेल | ११४/१९६ | २५ करोड |
द मेट्रोपोलिटन होटल, सुकेधारा | ९८/१९० | नखुलेको |
होटल हिल्टन, नक्साल | १३०/३५० | नखुलेको |
सिभिल होटल, बागदरबार | ११५/३०६ | १ अर्ब २५ करोड |
होटल शहेन्सा इन्टरनेशनल, धापासी | १०१/१८० | ६० करोड |
काठमाडौं सेन्ट्रल होटल, क्षेत्रपाटी | ११४/१९६ | नखुलेको |
होटल ल्हासा इन्टरनेशन, लाजिम्पाट | १०८/१७७ | नखुलेको |
सिजी होटल्स एण्ड रिसोर्ट, झम्सीखेल | १८०/३०० | १ अर्ब ६७ करोड |
सेदी लक्जरी होटल, कास्की | १५०/२५० | २ अर्ब १० करोड |
होटल मोक्सी, कमलादी | ९४/२०० | १ अर्ब ३५ करोड |
होटल ब्लू माउण्टेन, काभ्रे | १४९/२५० | नखुलेको |
मार्स हस्पिटालिटी, रुपन्देही | १२५/२०० | नखुलेको |
होटल पवन प्यालेस, रुपन्देही | १४१/२३१ | ७३ करोड |
होटल लालचन, बाँसबारी | १२२/२०० | ५० करोड |
कोर्टयार्ड होटेल बाँके | नखुलेको | नखुलेको |
होटेल सेफ्रोन सि.के. रुपन्देही | ८१/१३० | १ अर्ब ५० करोड |
द सिप्रभ्य होटल एण्ड रिसोर्ट ट (द ओवराय) रविभवन | ८८/१६० | नखुलेको |
स्रोतः पर्यटन विभाग
प्रतिक्रिया 4