+
+

…अनि आर्यघाट आएर अन्तिम पटक बाबा भनौंला

गीता पोखरेल गीता पोखरेल
२०७८ फागुन २७ गते १३:४०

गत हप्ता यसै अनलाइनखबरमा मेरो जीवनको भुल्न चाहेको तर अप्रिय र दुःखी विगतबारे एउटा ब्लग लेखें । लाखौं पाठकले पढ्नुभयो, प्रतिक्रिया दिनुभयो । उक्त ब्लगकी पाठक मेरी छोरी पनि बनिन् । आफैंले भोगेको जीवनकथा शब्दमा उतारिएपछि उनको मनमा पनि केही प्रतिक्रिया उत्पन्न भयो नै । उनका अनुभूतिहरूलाई पनि मैले शब्दमा उतार्ने प्रयास गरेकी छु ।

ए बाबा !

हो म त्यही तिमीले पैसा दिएर तुहाइदिनु भनेकी भ्रूण हुँ । अहिले म भ्रूण रहिनँ । एक नेपाली नागरिक भइसकें । मेरो साथमा बाबुको महलमा तपाईंको नाम लेखिएको नागरिकता प्रमाणपत्र छ । मेरो पहिचान हराएको छैन र हराउन दिने पनि छैन ।

महिलालाई प्रयोग (उपभोग) गरेर छाड्ने मनसाय बुनेर प्रेमजालमा पारी गर्भवती बनाई छाड्ने बाबुकी छोरी । तिनै कुमारी आमाले जन्माएकी छोरी । सिउँदोमा तिम्रो रङ्ग नभरेकी आमाकी छोरी । तिम्रो धोकाले जीवनमा उमङ्ग गुमाएकी आमाकी छोरी । हो, त्यही बलात्कृत युवतीले हजार अपमान र ताडना सहँदै जन्माएकी छोरी । जन्ममिति २०६० साल ।

बाल्यकाल एकदम अन्योल र गञ्जागोलमा गुज्रियो । ममीले स्कूलको शुल्क तिर्न नसक्दा कक्षाकोठाबाट बाहिर निकालिन्थें, मैले के गल्ती गरेर बाहिर भएँ, पत्तै थिएन । भोकै बस्दा किन भोकै रहनु परेको हो, त्यो पनि थाहा थिएन । मन परेका कपडा लगाउन नपाउनुको कारण पनि थाहा पाइनँ । अहिले अलिअलि बुझ्दैछु, तिमीले हामीलाई नस्वीकारेर पो रहेछ ।

समाजले बाबु विनाकी छोरी भनेर मेरो नाम काढ्थ्यो । बाबु भनेको कस्तो हुन्छ थाहा नभएकी म । तिमीलाई मेरो बुबा बनाउन कुन कानुन पल्टाउनुपर्छ ? तिम्रो मन कति कठोर छ, परीक्षण गर्न कुन यन्त्र प्रयोग गर्नुपर्छ ? कहिलेकाहीं त के छ छोरी भनेर सुम्सुम्याई देऊ न, कहिलेकाहीं त ममता वर्षाई देऊ न !

म कहीं जाँदा किन मलाई फरक नजरले हेर्छन् मान्छेहरू ? लाग्छ, म अर्कै ग्रहबाट झरेकी जीव हँु । कि म यो जन्मभरिका लागि विचरा पात्र हुँ ? मेरो दिमाग यी सब बुझ्दैन अनि सबै बुझ्न जरूरी पनि त छैन । इच्छा पनि छैन । मलाई बस सहज जीवन चाहिएको छ, सहज सामाजिक र पारिवारिक जीवन ।

मैले पढाइमा प्रथम हुँदा दौड्दै गर्लम्म अँगालो हाली खुसी बाँड्ने बाबाको छाती खोजेको हो । विज्ञान पढें, म राम्रो तेजस्वी छात्रा पनि हँु । गुरुत्व आकर्षणको नियम बुझें । बाबा तपाईंलाई मप्रति पूर्ण ममतासहितको आकर्षण गराउने कुनै विज्ञान भेटिनँ ।

नदेखिने भगवानको शक्ति बुझें । तर, बाबाको ममाथि ममता वर्षाउने शक्ति भेटिनँ । कैयौं पटक अनिंदै बसेका रात बाबा भएको भए यस्तो रात यस्ता दिन हुने थिएनन् भनेर धेरै रोएँ । ममा चेतना थिएन भने यो सब हुँदैनथ्यो ।

समाज बदलिन कति आमाले आहुति दिनुपर्छ ? मेरी आमा जसरी कतिले बलिदान दिनुपर्छ ? कतिले अग्निपरीक्षा दिनुपर्छ ? कतिले गाली दिनुपर्छ ! कति मुश्किलले बाँच्दा हुन् म जस्ता भ्रूणहरू !

म तिमीलाई धेरै गाली गर्ने पक्षमा छैन । मात्र आफैंलाई धिक्कार्छु । फगत मरेका छन् मेरा कैयौं इच्छा, आकांक्षा, यति चाहिं निर्धक्क भन्छु है । प्रत्येक वर्ष स्कुल र कलेजमा अभिभावक दिवस मनाउँदा मैले तिमीलाई धेरै मिस गरेकी छु । बाबा भएर अनाथ भएकी छु प्रत्येक चोटि । बाबा कति दम्भ बाँकी छ अझै तिमी भित्र ? तिम्री म आफ्नै छोरी भएको पुष्टि त डीएनएको रिपोर्टले अदालतमा गरिदिएको थियो नि है !

पेट भोकै र आँखा अनिंदै भएको रात एउटा घर बनाउने मिठो सपना बोकेका हामी आमाछोरीले, एउटा जग्गा भेटिएको परिकल्पनामा कैयौंपटक सपनाको घरको नक्सा बनाएका थियौं । १०/१२ को भान्सा अनि १२/१४ को फराकिलो शयन कक्ष । तर थाहा छ बाबा त्यसमा तिम्रो लागि कोठा नक्सांकन गर्न सकिनँ ।

तिमीले हामीलाई धोका दिएपछि हामीले हाम्रो घरमा कुनै केटा मान्छेलाई कोठा छुट्याउने सोच समेत गर्न सकेनौं । मात्र इच्छा थियो बलियो घरको ढोकामा ठूलो आग्लो वा चुकुल ठोक्ने । किनकि हामीलाई हाम्रो घरमा कुनै दम्भी, धोकेबाज राक्षस पुरुष भित्र्याउनु नै थिएन । चाहे त्यो पुरुषको रूपमा बाबा, मामा, काका जेसुकै होस् । हामी तर्सेका थियौं । हामी सुरक्षित रहन पुरुष पात्रबाट टाढा रहनुपर्छ भन्ने बुझेका थियौं । एकदमै घातक सत्य, खासमा पुरुषप्रति घृणा लागेको थियो ।

बाबा मलाई लाग्छ, तिमीले पश्चात्ताप गर्ने समय आइसक्यो । आइसक्यो के भनौं, निकै ढिला भइसक्यो । पश्चात्ताप गरी समाजको जिम्मेवार नागरिक बन्नु है । मेरो तिमीलाई विनम्र अनुरोध मात्र हो ।
भोग्दा कहाली लाग्ने दिन र भन्दा एेंठन हुने कहानी म र मेरी ममीको जीवनका पाटा बने । समय सधैं एकनाश कहाँ हुन्छ ।

अब हामी आमाछोरी भात र भविष्यको खोजीमा अलिक लामै योजनासाथ मुलुक बाहिर गयौं । अर्कै भूगोलमा छौं । तिमी र तिम्रो जगतबाटै टाढा । तर समाज त्यहीं छोडेका छौं । हिसाब मिलाउन बाँकी समाज त्यहीं छ । हामीलाई टाढाबाट पनि हाम्रो समाज बिग्रिएको हेर्नु छैन । त्यहीं छन् मेरा कैयौं नातेदार ।

अनि अझै पनि तिमी आत्मालोचना नगर्ने ? गल्ती नस्वीकार्ने ? तिमी तिम्रै सन्तानको लागि पनि नसुध्रिने । अब त बुढेसकाल लाग्यो त । बैंस पोख्दै लुक्ने आदत सकियो होला है अब त । हामीलाई त्यागेर के पायौ बाबा, त्यो तिमीलाई थाहा होला तर, के गुमायौ यो दुनियाँले थाहा पाइसक्यो । बाँकीलाई म थाहा दिंदै जानेछु ।

आत्मालोचना गरेर, पश्चात्ताप गरेर, गल्ती स्वीकारेर तिम्रो कद घट्दैन । बाबा तिमी स्थिर वा उँचो हुनेछौ । घट्दैनौ । मलाई, तिमी आदर्श पुरुष भएको देख्ने इच्छा अझै बाँकी छ । तिमीलाई म सुनौलो भविष्यमा देख्न चाहन्छु । ढिलै भए पनि आत्मालोचना गरेको देख्न चाहन्छु ।

तिम्रो शुक्रकिट बसेको ठेगाना हुन् मेरी आमा । गर्भ भित्रकी मलाई तिमीले मेरो रगत होइन भन्यौ होला । तर परिबन्दले स्वीकार गरायो । आफन्तहरू त सुखका मात्र साथी हुन् । दुःखमा कसैले सघाउँदैन । यो मेरो भोगाइ हो ।

बचनले मान्छेलाई झन् पक्का बनाउँदो रहेछ । मलाई म शरणार्थी झैं बसेको मेरो मामाघर धेरै ठूलो विश्वविद्यालय लाग्छ । आँशु लुकाएर रुन गाह्रो हुँदोरहेछ । मैले त्यो राम्रोसँग भोगेकी छु ।

दमित हविगतमा बाल्यकाल बिताउँदाको कहानी कम्ति टिठलाग्दो छैन । तथापि दुःखमा आश्रय पाएको मामाघरको मलाई धेरै माया छ । मेरी ममी ईश्वर हुन् । धेरै थरीको र नियमित दबावको सामना गर्दै मलाई जन्माइन् । मर्न दिइनन् ।

आज म तिमीलाई भन्न चाहन्छु, समयमै सत्य बोलेर कानुनलाई सघाऊ, जिम्मेवारी बोध गर । म त सानै उमेरमा कति परिपक्व भएछु । मैले समाजको एउटा नाङ्गो चित्र देखेकी छु । चरित्र नियालेकी छु । हुनेलाई र नहुनेलाई गरिने व्यवहार छर्लङ्ग बुझेकी छु ।

मान्छे सोच्दै सोच्दैन । हामीसामु कति लामो भविष्य छ । हामी कति काबिल छौं। मलाई लाग्छ यो राम्रो हुँदै होइन । परिपक्वताले गर्दा मैले बालापन त पहिल्यै हराइसकेछु । मलाई बच्चामा बच्चा हुनबाट रोक्ने समयभन्दा अगाडि पुर्‍याउने अपराधी तिमी हौ बाबा ।

मैले चराहरूको भाषा बुझिनँ । वर्षामा पानीमा उछलकुद गरिनँ । रूख र रंगहरूसँग रमाउन सकिनँ । एउटी आमाले कति गर्न सक्छिन् ? आमा त आफ्नै वेगमा बिहान बेलुकी छाक र व्यवहार टार्न खट्नुपर्दथ्यो । म एक्लै छोडिन्थें समाजसँग लड्न ।

समाज बदलिन कति आमाले आहुति दिनुपर्छ ? मेरी आमा जसरी कतिले बलिदान दिनुपर्छ ? कतिले अग्निपरीक्षा दिनुपर्छ ? कतिले गाली दिनुपर्छ ! कति मुश्किलले बाँच्दा हुन् म जस्ता भ्रूणहरू !

अझ पनि तिमीमा अलिकति पनि मानवता बाँकी छ भने पश्चात्ताप गर बाबा । होइन, मर्दाङ्गी गरें भन्ने लाग्छ भने बरु … बाबा ! मेरी मम्मी र म खुसी खुसी तिम्री विधवा अनि तिम्रै अनाथ बनिदिन्छौं । कति कमजोर रहेछ भाग्य भनिदिन्छौं । त्यो बेला तिम्रो नाम बाबुको महलमा लेखिएको नागरिकताको प्रमाणपत्र बोकेर म पनि आर्र्यघाटमा एकथान सलाइको काँटी बोकेर आउँला र अन्तिम पटक बाबा भनौंला ।

हाल– बेलायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?