+
+
प्रतिभा :

अमर-अमृत : टिकटकदेखि डान्सिङ स्टार्स नेपालको मञ्चसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १९:१३

हुलिया मात्र होइन, हाउभाउ पनि मिल्छ । रहर मात्र होइन, रोजाइ पनि मिल्छ । उचाइ-मोटाइ, हिँडाइ-डुलाइ, लवाइ-खवाइ सबै दुरुस्तै मिल्छ । नमिल्ने के छ र ?

सोच्ने तौरतरिका त मिल्छ । ‘कसैसँग हामी दुवै एकसाथ एउटै प्रश्न सोधिरहेका हुन्छौं’ यी जुम्ल्याहा दाजुभाइ उत्साहित भावमा सुनाउँछन्, ‘एउटाले जे सोचिरहेको छ, अर्कोले पनि त्यो कुरा सोचिरहेको हुन्छौं ।’

आनीबानी उस्तै, आकांक्षा उस्तै । त्यसैले त उनीहरु हरेक पाइलामा चाल मिलाउँछन् । यतिबेला भने दुवै तालमा ताल मिलाउने अभ्यासमा छन् । हात-पाउ र शरीरका अवयवहरु एक लयात्मक भावभंगीमा नचाउँदैछन् । किनभने उनीहरु नाच्न सिक्दैछन् ।

उनीहरु नाच्न नजान्ने त कहाँ हुन् र ? नाचेरै त यो मोडसम्म आइपुगेका हुन् । निमेषभरकै भिडियोहरूमा नाचेर यश कमाए ।

अब उनीहरुको पूर्ण परिचय खुलाऔं । नाम, अमर दाहाल, अमृत दाहाल । एकै छिमलका दाजुभाइ अर्थात् जुम्ल्याहा । पुख्र्याैली घर-झापा । तर बुबाआमा सानोतिनो उद्यम गर्न काठमाडौं छिरे । अमृत-अमर काठमाडौंमै जन्मिए । दुई मिनेटको अन्तरमा । अमृत अघि, अमर पछि । दुई दिदीबहिनीपछिको तेस्रो सन्तान । दुवैले एकसाथ भोटो फटाए । बिच्छ्यौना एउटै, खाने थाल एउटै । एउटै काखमा हुर्किए । एकसाथ पढे-बढे ।

अहिले टिकटकको आलोकमा उभिएर यी दाजुभाइ आफ्नो चिनारी बनाउँदैछन् ।

उनीहरूले थुप्रै साथी बनाए, यसैमार्फत् । उनीहरुले आफ्नो दैनिकीलाई रचनात्मक बनाए यसैमार्फत् । उनीहरुले केही आयआर्जन गरे यसैमार्फत् । आज विभिन्न कम्पनी-उत्पादन उनीहरुसँग जोडिएका छन्, यसैमार्फत् । म्युजिक भिडियोदेखि ब्राण्ड प्रमोसनसम्म गरिरहेका छन्, यसैमार्फत् ।

टिकटक नै सही, उनीहरुको निम्ति यो उर्भर प्लेटर्फम भएको छ, जहाँबाट कलाकारिताको आरम्भ गर्न सकिन्छ । नाच्ने, अभिनय गर्ने, कलाकार बन्ने सुषुप्त रहरलाई फिँजाउन र फैलाउन सक्छन् । किनभने उनीहरुलाई आफ्नो ख्याती कमाउनुछ । आमाबुबाको अनुहारमा उमंग ल्याउनुछ । अनि, जीवनलाई सप्तरंगी बनाउनुछ ।

रंगमञ्चबाट टिकटकतिर

अमृत खासमा कलाकारितामा रमाउन चाहन्छन् । यही चाहनाले डोहोर्‍याउँदै उनलाई रंगमञ्चसम्म पुर्‍यायो । नाटक सिके, नाटक बुझे, नाटक खेले । दर्जन बढी नाटकमा विभिन्न चरित्र निर्वाह गरे । विद्यालयको कार्यक्रममा पनि नाचगानमा अग्रसर भए । उनको शरीरले लय समात्यो, भाका टिप्यो । उनी नाच्न सिपालु भए । अमरले पनि भाइसँगै लय मिलाए । ‘हामी विद्यालयको कार्यक्रममा नाच्थ्यौं’ अमर सुनाउँछन्, ‘पछि म्युजिकल्ली बनाएर नाच्न थाल्यौं ।’

म्युजिकल्लीको लहर जो चलेको थियो, उनीहरु त्यसैमा हेलिए । देखासेखीमा नाचे, म्युजिकल्ली बनाए । पछि म्युजिकल्ली टिकटकमा समाहित भयो । टिकटकको ट्रेन्ड चल्यो । उनीहरुले त्यही ट्रेन्ड समाते । ‘सुरुमा खासै हेरिएन’ अमृत सम्झन्छन्, ‘तरपनि हामीले टिकटक बनाउन भने छाडेनौं ।’

दुवै उस्तै पहिरनमा, उस्तै हाउभाउमा, उस्तै ताल एवं लयमा नाच्थे । हेर्नेहरुले क्रमशः उनीहरुलाई रुचाए । लाइक्स, कमेन्ट आउन थाल्यो । ‘त्यसपछि त हामी टिकटकमै रमाउन थाल्यौं’ अमर थप्छन्, ‘जति लाइक्स, कमेन्ट आउँछ उत्तिनै इनर्जी पनि आउने रहेछ ।’

टिकटकबाट अनेकथरी प्रतिक्रिया आउन थाल्यो । धेरैले सकारात्मक कुरा भने, कतिले नकारात्मक । ‘हामीले नराम्रो त केही गरेका थिएनौं’ अमर भन्छन्, ‘तरपनि मान्छेले गालीचाहिँ गर्ने रहेछन् ।’ सुरुमा त उनीहरूलाई यस्तो गाली पचाउन गाह्रो भयो । पछि बिस्तारै बानी पर्न थाल्यो ।

टिकटकबाटै आयआर्जन

दुई दाजुभाइ घुम्न र खान रुचाउने । घुमफिर र खानका लागि घर बाहिर निस्कँदा मान्छेहरूले हेर्न थाले । कानेखुसी गर्न थाले । नजिक आएर फोटो खिच्न थाले । ‘यसरी धेरैले चिन्न थालेपछि हामीले टिकटकमा अझै राम्रा-राम्रा भिडियो बनाएर राख्न थाल्यौं’ अमर सुनाउँछन् ।

सुरुमा त उनीहरू मुड चल्दा मात्र नाच्थे र भिडियो रेकर्ड गर्थे । पछि फलोअर्स बढ्दै गएपछि भने एक किसिमको दबाब भयो, भिडियो बनाउनका लागि । ‘त्यसैले हामीले हरेक दिन नयाँ नयाँ योजना बनाएरै टिकटकमा सक्रिय हुन थाल्यौं’ अमृत भन्छन्, ‘राम्रो गीत सुन्नासाथ त्यसमा भिडियो बनाउँदै अपलोड गर्न थाल्यौं ।’

कोरोना कालमा अमर-अमृत थप सक्रिय भए । घरमै बस्नुपर्ने अवस्था थियो । फुर्सद् थियो, यसैको सदुपयोग गर्दै उनीहरु टिकटकमा भिडियो बनाउन थाले । अन्ततः यसबाट उनीहरुलाई राम्रै फलिफाप पनि हुन थाल्यो ।

‘टिकटकमा हाम्रो फलोअर्स बढेपछि म्युजिक भिडियो र कतिपय ब्रान्ड प्रमोसन गर्ने अफर आयो’ अमृत भन्छन्, ‘यसले हामीलाई आफ्नो काममा थप तल्लीन बनाइदियो ।’

त्यसो त टिकटकमा राम्रो फलोअर्स हुनेहरु ‘लाइभ’ बसेर पनि मनग्ये कमाइरहेका छन् । कतिपय सेलिब्रेटीसमेत टिकटकमा ‘लाइभ’ बस्ने गरेका छन् । ‘हामीले पनि टिकटकबाट त कमाइरहेका छौं’ अमर भन्छन्, ‘तर लाइभ बसेरचाहिँ होइन ।’

टिकटकको ट्रेन्ड कहिलेसम्म रहन्छ ? यसको कुनै ठेगान छैन । यद्यपि उनीहरु यसैको फेरो समातेर कलाकारितामा जम्न चाहन्छन् ।

‘हामी निम्न मध्यमवर्गीय परिवारबाट आएका हौं’ उनीहरु सुनाउँछन्, ‘हाम्रो सन्तानमा कोहीपनि कला क्षेत्रमा छैनन् । तर, हामी कला-अभिनय लाग्न चाहन्छौं ।’

डान्सिङ स्टार्समा भिड्दै

हामीसँगको भेटमा उनीहरू नृत्य प्रक्षिणमा व्यस्त थिए । केविका खत्रीको कोरियोग्राफीमा यी दाजुभाइ आफ्नो शरीरलाई गीतको लयमा ढाल्दै थिए । ‘टिकटकमा नाच्न र यहाँ नाच्न धेरै फरक रहेछ’ एकक्षणको विश्राममा उनीहरुले सुनाए, ‘अझै हामीले धेरै सिक्नुपर्ने रहेछ भन्ने लाग्यो ।’

टिकटकमा त उनीहरुले टेलिभिजन वा युट्युबमा हेरेर नाचको नक्कल गरिरहेका थिए । वास्तवमै नाच्नका लागि भने विभिन्न चरणमा अभ्यास गर्नुपर्ने उनीहरुले बोध गरे । ‘नाच्न सिक्ने भन्नसाथ एकैपटक गीत बजाएर नाच्ने भन्ने हुँदैन रहेछ’ अमर भन्छन्, ‘त्यसअघि शरीरलाई लचिलो, छरितो बनाउने अभ्यासहरु गर्नुपर्छ ।’

अहिले उनीहरू आधारभूत चरणबाटै नाच सिकिरहेका छन् । ‘यो हाम्रो लागि ठूलो पाठशाला भएको छ’ उनीहरुलाई लाग्छ, ‘नाचको बारेमा हामीले शून्यबाटै सिकिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?