+
+

चौधरीको घरबाट मुसहर युवतीको धुमधाम विवाह

दलित अन्तर्गतका मुसहर जातिलाई अझै पनि मधेशमा छुवाछुत गरिन्छ । तर संगीताले चौधरी परिवारमा छोरीकै दर्जा पाइन् । चौधरी पत्नी तिलियादेवी संगीतालाई छोरीको रुपमा कन्यादान गर्न पाउँदा औधी खुशी लागेको बताउँछिन् ।

श्रवण देव श्रवण देव
२०७८ फागुन २८ गते २१:०९
सत्यनारायण चौधरी दम्पती सगीता सदा र उनका श्रीमानसँग ।

२८ फागुन, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका–३ हरिहरपुर निवासी सत्यनारायण चौधरीको घरमा २५ फागुनमा भएको विवाह उत्सवमा आएका पाहुना अझै छन् । यो उत्सव चौधरीको परिवारका लागि मात्र नभई धेरैका लागि विशेष रह्यो ।

हुन त फागुन महिनामा धेरैको विवाह हुन्छ । तर, चौधरीको घरमा भएको विवाहले छुट्टै अर्थ राखेको छ । उनको घरमा विवाह भएको युवती उनकी छोरी होइनन् । उनका नातेदार पनि होइनन् । दलित अन्तर्गतको मुसहर समुदायकी युवती हुन् । जसको विवाह चौधरीले आफ्नै घरबाट गराए ।

आमाको मृत्युपछि बुवाले अर्काे विवाह गर्दा टुहुरो बनेकी गाउँ नजिकैको ती मुसहर युवतीलाई चौधरीले सानैदेखि आफ्नै घरमा राखेका थिए ।

हरिहरपुर नजिकैको राजविराज नगरपालिका–१० दिघबा कमलपुर गाउँकी संगीता सदा ७ बर्षकी छँदा उनकी आमाको मृत्यु भयो । बुवा कैलु सदाले अर्काे विवाह गरे ।

अर्की आमा र बुवाले राम्रोसँग रेखदेख नगरेको दृश्य चौधरीले हेरे । अनि, आफ्नै घरमा ल्याएर धर्मपुत्रीको रुपमा राखे । र, उमेर पुगेपछि मुसहर समुदायकै युवक खोजी विवाह गराइदिए ।

चाहेकै युवकसँग विवाह

संगीताको घर नजिकै आफ्नो मामाघरमा सानैदेखि बस्दै आएका थिए दिनेश सदा । घर राजविराज नगरपालिका–१२ सिंग्यौनका भएपनि दिनेशको पालन पोषण मामाकै घरमा भयो । त्यहींबीचमा दिनेश र संगीताको चिनजान भएको थियो । ठूलो हुँदै जाँदा एकले अर्कालाई मन पराइसकेका थिए । तर उनीहरुले आफ्नो परिवारलाई भन्न सकिरहेका थिएनन् ।

यही बीचमा दिनेशका बाबु बद्री सदाको पनि मृत्यु भयो । दिनेशलाई आमासहित एक भाई र एक बहिनीको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो । उनी मजदुरी गर्न थाले । मजदुरी गर्दागर्दै राजमिस्त्री नामले चिनिएका उनी संगीतासँगै विवाह गर्न चाहन्थे ।

संगीताले पनि उनीसँगै नै विवाह गर्ने सोंच बनाइसकेकी थिइन् । ‘यो कुरा उनले एक बर्षअघि नै मलाई सुनाएपछि केटाको बिषयमा बुझ्न थाल्यौं’ सत्यनारायण चौधरी भन्छन्, ‘केटा मलाई पनि राम्रै लाग्यो । आफैं कमाउने भएको र एकले अर्कालाई मन पराएको देखेपछि खुशी भएँ ।’

तर, त्यस बेला विवाह गरिदिन तयार भएनन् चौधरी । ‘विवाह धुमधामसँग गर्ने इच्छा भएकाले एक बर्ष पर्खिन भन्यौं, दुबैले माने पनि’ उनी भन्छन्, ‘यसपछि विवाहको कार्ड छपाएर आफन्तलाई बोलाएँ । २३ फागुनमा टिकाटालो गरी २५ गते विवाह गराइदिएँ ।’

संगीताको विवाह गरिदिँदा चौधरीले धेरै दाइजो दिएनन् । ‘छोराको विवाह गर्दा पनि दाइजो लिएनौं’ उनी भन्छन्, ‘तर छोरीलाई पलंग, टेबुल, कुर्सीसहितका फर्निचरका सामान आफ्नो खुशीले दिएको छु ।’

छोरी मोह

नापी सर्वेक्षकबाट सेवाानिवृत्त भएका चौधरीलाई छोरीको मोह थियो । तर तीन वटा छोरा नै जन्मिए । ‘एउटी छोरी होस् भन्ने अपेक्षा साह्रै थियो । तर भएन’ चौधरीले भने, ‘यो अभिलाषा संगीताले पूरा गरिदिइन् । उनी सधैं मेरो छोरी रहनेछिन् ।’

दलित अन्तर्गतका मुसहर जातिलाई अझै पनि मधेशमा छुवाछुत गरिन्छ । तर संगीताले चौधरी परिवारमा छोरीकै दर्जा पाइन् । चौधरी पत्नी तिलियादेवी संगीतालाई छोरीको रुपमा कन्यादान गर्न पाउँदा औधी खुशी लागेको बताउँछिन् । ‘उनलाई घरबाट विदा गर्नुपर्दा दुःख त लागेको छ । तर, कन्यादान गर्न पाउँदा खुशी पनि छु’ उनले भनिन् ।

२२ वर्षकी संगीता र २४ बर्षका दिनेशले विवाह गर्न पाउँदा एकदमै खुशी भएको बताए । दुबैले आफूहरुको विवाह गराइदिएकोमा चौधरी दम्पतिलाई धन्यवाद दिए ।

अग्निसाइर कृष्णासावरण गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरी दलित समुदायकी चेलीलाई छोरी बनाएर विवाहसम्म गर्ने दायित्व निर्वाह गरेर चौधरी दम्पतिले राम्रो काम गरेको बताउँछिन् ।

‘यसले हाम्रो समाज परिवर्तन भएको देखिन्छ’ उनी भन्छिन्, ‘अरुले पनि यसबाट सिक्नु जरुरी छ ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?