+
+
विशेष रिपोर्ट :

कोइलाखानीका श्रमिक : जीवन धान्न अति नै जोखिमपूर्ण श्रम

सामान्यतया बाँच्नलाई काम गर्नुपर्छ तर, गहिरा कोइलाखानीमा कार्यरत श्रमिकले जीवन धान्न अति नै जोखिमपूर्ण श्रम गर्नुपर्छ । ती सुरुङहरू कुनै पनि बेला भत्कन सक्छन् र जीवन जान सक्छ । सरकार र ट्रेड युनियनको प्राथमिकतामा नपरेका दाङका खानी श्रमिकहरूको वेदना ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ फागुन ३० गते १९:४९

३० फागुन, दाङ । घोराहीको उत्तरी भेगमा सुक्खा र उराठलाग्दा पहाड ठडिएका छन् । पहाडको काखैमुनि छन् वैराग लाग्ने केही गाउँ । त्यही गाउँ मुनि काला चट्टानले भरिएका ५०० मिटर गहिरा कोइलाखानी छन् । २५ वर्षयता पहाड मुनि खनिएका कोइलाखानीका सुरुङले गाउँको पेट मात्र भरेको छैन, कालापत्थरसँग सिंगो गाउँको जीवन र जवानी साटिएको छ ।

दाङ र रोल्पाको सीमा जोड्ने यी पहाडले यहाँका गाउँको दुःख र वेदनाको कथा बोकेका छन् ।

हिउँदको एक बिहान, सधैं झंै कुहिरोले गमक्कै ढाकेको छ यो गाउँ । घोराही उपमहानगरपालिका–१९ सैघाका यमबहादुर घर्तीले कोइलाखानीको डिलमा उभिएर आफ्नो उमेरको हिसाब गरे ।

‘१४ वर्षको छँदा कोइलाखानीमा काम गर्न छिरेको अहिले म ४४ वर्षको भएँ । आधा जीवन त खानीमै बितेछ’, २० वर्ष सुरुङभित्रको काममा बिताएका घर्तीको बाँकी जीवन पनि यसैगरी बित्ने अनुमान छ । लामो सास तानेर उनले भने, ‘जिन्दगी कोइलाखानीले नै खानेभयो ।’

हुन पनि जीवनभर उनी कोइलाखानीको अँध्यारोभित्र काला पत्थर फोडिरहे । जोवन र बैंसका दिनहरू कोइलासँग साटे । बाहिरी संसारबाट बेखबर रहे । अहिले पनि उनी गहिरा सुरुङको अँध्यारोभित्र हरेक दिन कोइला खन्ने र निकाल्ने काम गरिरहेका छन् । यो दुःखबाट छुट्कारा पाउने कुनै संकेत छैन ।

उल्टै कान्छो छोरा पूर्णबहादुर घर्ती बुवाको पछि लागेर सुरुङभित्रै काम गर्न आइपुगेका छन् । १६ वर्षको छोरा आफ्ना दुःख पछ्याउँदै आएको देखेर उनको मन खिन्न हुन्छ । ‘कतै यसको जीवन पनि आफ्नो जस्तै कोइलाखानीमै बित्ने त होइन ?’ उनी आफ्नो कलिलो छोराको मुहारमा आफ्नो अनुहारको झल्को देख्छन् ।

यमबहादुर घर्ती

यमबहादुर र उनको छोराको यो दृष्टान्त दाङको घोराही र रोल्पाको सिमानामा रहेका खानी आसपासका राम्चे, तिर्साङ, तोस, सैघा, बोल्दी, बजारपानी, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामिरे, भुल्केलगायत गाउँको कथा हो ।

*****

यहाँका अधिकांश मानिस बिहान कोइलाखानीमा पुग्छन् । घाम समेत राम्रोसँग देख्न नपाउँदै उनीहरू २५० मिटर गहिरो सुरुङभित्र पस्छन् । ‘खन्ती र हथौडाका भरमा भित्र छिरेर ढुंगा र चट्टान काट्दै कोइला निकाल्ने हो’ तोस खानीका ४५ वर्षीय टोपबहादुर घर्ती मगर भन्छन्, ‘कतै निहुरिएर त कतै बसेर कोइला खन्नुपर्छ, जहाँतहीं खन्दा सुरुङ भत्किने जोखिम हुन्छ ।’

खानीभित्र बाटो हुँदैन, चट्टान र ढुंगा फोड्दै बाटो बनाउँदै अघि बढ्नुपर्छ । हथौडा र खन्तीले हानेर बनाएका बाटो निकै साना र अप्ठ्यारा हुन्छन् । एक पटकमा एक जना मानिस मुश्किलले छिर्न मिल्छ । ‘सुरुङभित्रको बाटो साह्रै साँघुरो, उकालो र ओरालो हुन्छ । निहुरिएर घुँडा टेक्दै हिंड्नुपर्छ’ उनी भन्छन्, ‘भित्र निस्पट्ट अँध्यारो हुन्छ, दिन र रात छुट्याउन सकिंदैन ।’

टोपबहादुर घर्ती मगर

हावा समेत राम्रोसँग नछिर्ने गहिरा सुरुङभित्र हथौडा र खन्ती चलाउन सजिलो हुँदैन । ‘पहिलो पटक छिरेको मान्छे त निसासिएर मर्ला झैं हुन्छ’ मगरले भने, ‘हावा नछिर्दा सुरुङभित्र उकुसमुकुस पनि हुन्छ ।’ त्यसमाथि कोइला खन्दाखन्दै कतिबेला सुरुङ भत्किन्छ भन्ने पत्तो हुँदैन । सुरुङ भत्कियो वा ढुंगा खस्यो भने मजदुरहरूको ज्यान जान सक्छ । मगरकै शब्दमा ‘कोइलाखानीभित्र पस्नु जीवन र मृत्युसँग खेल्नु जस्तै हो ।’

सुुरुङभित्र विभिन्न बाटा बनाइएका भए पनि पस्ने र फर्कने मूलबाटो एउटै हुन्छ । कहींकतै माटो खसेर सुरुङको बाटो बन्द भयो भने यी श्रमिकको जीवनको बाँकी बाटो पनि बन्द हुन्छ । सँगै सुरुङभित्र छिरेका एक साथीले ज्यान गुमाए पनि टोपबहादुरले बाध्यताले अहिले पनि यो काम छोड्न सकेका छैनन् ।

****

राम्चे कोइलाखानीका ५६ वर्षीय तेजबहादुर थापाको बैंस यही कोइलाखानीसँग साटियो । पहिलोपटक सुरुङ छिर्दा उनी १८ वर्षका थिए । कोइलाखानीभित्रका ढुंगा र चट्टान काट्दाकाट्दै उनले आफ्नो जोवन काटिएको पत्तै पाएनन् । ‘खानी छिरेपछि अरू केही सोच्नै सकिनँ’ उनले भने, ‘भित्रको अँध्यारोमा कोइला खोज्दाखोज्दै आफ्नै जीवन अँध्यारो भइसक्यो ।’

तेजबहादुर थापा

हरेक बिहान आठ बजे कोइलाखानी छिरेपछि तेजबहादुर १२ बजे मात्रै निस्कन्छन् । एक घण्टाभित्र खाना खाएर फेरि सुरुङ छिर्छन् र बेलुकी ४ बजे निस्कन्छन् । ‘भित्र ढुंगा फोड्दा फोड्दा रात परेको पत्तो हुन्न’ उनले भने, ‘खानीबाट निस्कन ढिलो भयो भने परिवार आत्तिएका हुन्छन् ।’

कोइला खन्नु मात्रै होइन, खानीबाट निकालिएका कोइला पिठ्युँमा बोकेर बाहिर पुर्‍याउनु उत्तिकै कठिन काम हो । ‘सुरुङभित्र खनेर मात्रै भएन’ उनले भने ‘पिठ्युँमा बोरा बोकेर खानी बाहिरसम्म पुर्‍याउनुपर्छ ।’ सुरुङभित्र बाटा अप्ठ्यारा हुने भएकाले बाहिरसम्म पुर्‍याउन हम्मे पर्छ ।

‘५० किलो कोइलाका भारी बोकेर कतै छातीको त कतै घुँडाको भर गरेर सुरुङ बाहिर निस्कनुपर्छ’ उनले भने, ‘त्यसमाथि खानीभित्र पुग्ने जति अक्सिजन पनि हुँदैन । कोइलाको रापले छिटै थकान महसुस गराउँछ ।’ दिनभर कोइला खन्दा र बोक्दा उनीहरूको अनुहार नै कोइला जस्तै भइसकेको हुन्छ ।

कोइलाखानीमा काम गर्नु जोखिमपूर्ण छ भन्ने कुरा तेजबहादुरले नबुझेका होइनन् । एकपटक त उनी कोइलाखानीको काम छाडेर केही समय भारत हान्निए । ज्याला मजदुरी गरे तर भने जस्तो काम नपाएपछि गाउँकै कोइलाखानीमा नफर्की सुख भएन ।

‘श्रम नगरी खान, लगाउन पुग्ने होइन । अर्काको देशमा पनि कहाँ सजिलो छ र ?’ उनी भन्छन्, ‘जति दुःख भए पनि गाउँमै गर्नु ठीक भन्ने लागेर फेरि यही सुरुङमा काम गर्न फर्कें ।’

तेजबहादुर थापा

गएको वर्ष मात्रै उनीसँगै काम गर्ने स्थानीय मोहनलाल कामीले सुरुङ भत्किएर ज्यान गुमाए । संयोग भनौं उनी त्यसदिन कोइलाखानी नगएर बजार गएका थिए । आफूसँग काम गर्ने साथीको ज्यान गएको घटना सम्झँदा अहिले पनि उनी झस्किन्छन् ।

‘सँगै काम गर्ने ठाउँमा आफ्नो साथीको ज्यान गएपछि एक मनले अब त्यहाँ काम गर्न नजाउँ पनि भन्यो’ उनी भन्छन्, ‘तर खान लाउनै पर्‍यो । काम नगरी मुखमा माड लाग्दैन । अनि काल नआई मरिंदैन भनेर ठूलो मन बनाउँछु र खानीमा काम गर्न पुग्छु ।’

जुनसुकै बेला सुरुङ भत्किने सम्भावना भए पनि तेजबहादुर र गाउँका उनका थुप्रै मजदुर साथी जीवन हत्केलामा राखेर त्यही खानीमा कोइला खन्ने र बाहिर ल्याउने काम गरिरहेका छन् ।

*****

२०५२ सालयता सुरु गरिएका यी पहाडमा अहिले १२ ठाउँबाट कोइला उत्खनन भइरहेका छन् । वडा नं. १९ कै तोस र राम्चेमा रहेका कोइलाखानी सबैभन्दा पुराना र गहिरा खानी हुन् । तोसमा ३५ मिटरदेखि ५०० मिटर र राम्चेमा २५० मिटरसम्म गहिरा खानी छन् । केही सुरुङ बन्द भए पनि बाँकी अझै सञ्चालनमा छन् ।

यी खानीमा कोइला झिक्ने र बोक्ने अधिकांश स्थानीय गाउँकै मजदुर छन् । हरेक दिन यी खानीमा १०० बढी मजदुर गहिरा सुरुङ खन्दै भित्र पस्छन् र कोइला उत्खनन गरेर बाहिर ल्याउँछन् । २५ वर्षदेखि यो गाउँका मजदुरले गर्ने काम यही हो ।

यी कोइलाखानी गाउँका लागि रोजगारी र आम्दानीको स्रोत हुन् । तोस गाउँकै दिलबहादुर सार्की २५ वर्षदेखि कोइलाखानीमा काम गर्छन् । उनी १३ वर्षको हुँदा पहिलो पटक खानी छिरेका थिए । उनले कोइलाखानी बाहेक जीवन जिउने अरू कुनै उपाय सोच्नै सकेनन् । ‘पहिले–पहिले खानीभित्रबाट कोइला बोकेर बाहिर ल्याउने काम गरियो’ १० फागुन २०७८ दिउँसो खानी बाहिर टुक्रुक्क बसेर उनले भने, ‘भारी बोक्दा–बोक्दै खानीभित्र गएर कोइला खन्न सिकें । जीवनमा यो बाहेक अरू केही जानिएन ।’

दिलबहादुर सार्की

दिलबहादुर र उनका साथीहरूले खानीमा काम गर्न थालेको वर्षाैं भयो । यस्ता खानीमा काम गर्दा कसरी सुरक्षित हुन सकिन्छ भनेर कुनै सरकारी निकायले अहिलेसम्म केही पनि सिकाएका छैनन् । ‘कहाँ, कसरी खन्ने कसैले बताएको हुँदैन । अनुमानका भरमा हथौडाले भित्रभित्र बाटो खोल्दै खन्दै जाने हो’ दिलबहादुरले भने, ‘सुरुङभित्र एकदमै अँध्यारो हुने हुँदा लाइट बालेर हिंड्नुपर्छ । अन्दाजका भरमा ढुंगा काट्दा जतिबेला पनि सुरुङ भत्किने सम्भावना हुन्छ ।’

कोइला झिक्ने क्रममा जथाभावी खन्दा सानो गल्तीले पनि खानीभित्रका थुप्रै मजदुरको ज्यान जोखिममा पर्न सक्ने सम्भावना छ । किनकि यी अन्जान श्रमिकका भरमा कोइला निकाल्दा जुनसुकै बेला सुरुङ भत्किने जोखिम रहन्छ ।

जस्तो कि २०५५ सालमा दिलबहादुरले नै झण्डै ज्यान गुमाएका थिए । उनी ५०० मिटर लामो सुरुङभित्र कोइलाको भारी बोकेर बाहिर निस्किंदै थिए । अचानक सुरुङभित्र ढुंगा खस्यो । ‘ढुंगा खसेपछि अघि भएका साथीहरू भागेर बाहिर निस्किए । ढुंगाले मेरो खुट्टा च्यापिएपछि हलचल गर्न सकिनँ’ उनले भने, ‘बाँच्नु यत्ति नै रहेछ भनेर भगवान पुकारें । केही घण्टापछि बाहिर भएका गाउँलेले मेरो उद्धार गरे ।’

त्यो घटनाबाट उनी बाँचे तर खुट्टामा गम्भीर चोट लाग्यो । ढुंगाले च्यापिएर खुट्टाका दुई औंलाका हड्डी भाँचिए । ‘१७ दिन अस्पताल बसेर उपचार गरें’ उनले भने, ‘ढुंगाले थिचेकाले खुट्टाको हड्डी झिरा–झिरा भएछ । औंलामा रड हालेपछि चल्न सक्ने भयो ।’

यहाँ काम गर्ने अधिकांश जसो स्थानीय विपन्न र केही रोल्पाको सीमा क्षेत्रका दलित समुदायका श्रमिक छन् । गाउँमै कोइलाखानी भएकाले सिंगो गाउँ यही खानीमा काम गर्छ भने हुन्छ । ‘गाउँमा गरिबी छ, रोजगारी छैन’ घोराही–१९ तोस गाउँका अगुवा प्रेम घर्ती भन्छन्, ‘परिवार पाल्न, घर चलाउन पुरुषदेखि महिला सबै काम गर्न खानीमा पुग्छन् ।’

दिलबहादुर सार्की

गाउँमा रोजगारी सिर्जना नहुनाले सिंगो गाउँ नै यो खानीको भर परेको उनको भनाइ छ । ‘२५ वर्षयता खानीले नै गाउँको पेट भरिरहेको छ’ उनले भने, ‘गाउँका पुरुष, महिला खानीभित्र ज्यादै जोखिमपूर्ण काम गरिरहेका छन् ।’ उनी भन्छन्, ‘बाँच्नलाई श्रम गर्नुपर्छ तर यतिविधि जोखिम मोलेर काम गर्नु स्वाभाविक कुरा होइन ।’ तोस गाउँको खानीमा मात्रै अहिलेसम्म चार जनाले ज्यान गुमाए । प्रेम भन्छन्, ‘यो खानी होइन, ज्यानमारा धराप हो ।’

कोइलाखानीले उजाडिएको परिवार

असुरक्षित कोइलाखानीले मजदुरको परिवार नै बिचल्ली बनाएको उदाहरण छ । घोराही–१९ तिर्राङका मोहनलाल कामीको परिवारमा यस्तो दुःख परेको थियो । कोइलाखानीको सुरुङका मजदुर मोहनलालको घरखर्च खानीमा काम गरेर नै चलेको थियो । १० फागुन २०७७ का दिन उनी सधैं झैं सुरुङभित्र छिरे तर फर्कन पाएनन् । खानीको १६० मिटर भित्र काम गर्दागर्दै उनी त्यहीं पुरिए, ज्यान गयो ।

घरमा श्रीमती शान्ति कामी १७ दिनकी सुत्केरी थिइन् । त्यसदिन बिहानीपख मोहनलाल श्रीमतीलाई खाना खुवाएर कोइलाखानीमा काम गर्न गएका थिए । श्रीमान् वितेपछि विलौना गर्ने शान्ति पनि वर्ष दिन नपुग्दै २८ मंसिर २०७८ मा ९ महिने छोरी छाडेर यो संसारबाट विदा भइन् । मोहनलाल र शान्तिको मृत्युपछि ९ महिने छोरीसहित चार लालाबालाको बिचल्ली छ यो घरमा ।

घोराही–१९ राम्जिमका द्रुपती घर्तीको पनि कोइलाखानीले परिवार उजाडियो । उनका श्रीमान् भक्तबहादुर घर्ती खानीमा कोइला झिक्ने काम गर्थे । त्यसैबाट घर खर्च चलेको थियो । २७ मंसिर २०७८ का दिन भक्तबहादुरको खानीभित्रै च्यापिएर ज्यान गयो । परिवार धान्ने एक्लो जिम्मेवारी द्रुपतीको काँधमा आयो ।

‘गरिबलाई जहाँ गए पनि दुःख पाउनु लेखेको हुने रहेछ’ उनले भनिन्, ‘ज्यान पाल्न गरेको कामले नै ज्यान लियो । अब म कसरी बाँच्नु ?’ घरमा छिमेकीहरू आएर सान्त्वना दिइरहेका छन् । तैपनि उनको मन सम्हालिएको छैन । उनलाई दुई छोरा, एक छोरी हुर्काउने चिन्ता छ ।

कोइला खानीमा काम गर्दै महिलाहरु

दाङका यी कोइलाखानीको सुरुङभित्र काम गर्ने क्रममा पछिल्लो एक दशकमा ६ जनाको मृत्यु भइसकेको छ । केही गम्भीर घाइते भएका छन् । २०७७ फागुनमा मात्रै घोराही–१९ तिर्साङका स्थानीय मोहनलाल कामीले सुरुङमा काम गर्दागर्दै ज्यान गुमाए । २८ मंसिर २०७८ मा दाङकै कोइलाखानीमा च्यापिएका घोराही–१९ का भक्तबहादुर घर्तीले ज्यान गुमाएका थिए । त्यसअघि घोराही–१९ तोसस्थित खानीमा स्थानीय दुर्गाबहादुर राना र चन्द्रबहादुर विकको ज्यान गएको थियो भने रोल्पाको बोक्सिनी भीरको खानीमा रोल्पा रुन्टीगढीका टीका डाँगी र फलिते खानीमा स्थानीय भीमकान्त रावतले ज्यान गुमाएका थिए । वर्षाैं पुराना र निकै गहिरा यी खानीमा अहिले पनि दैनिक सयौं मजदुर काम गर्छन् ।

खानीमा मर्दै र बाँच्दै

घोराही–१९ राम्चेकै ३३ वर्षीय रामबहादुर पुन १५ वर्षयता खानीभित्र कोइला खन्ने काम गरिरहेका छन् । खानीमा काम गर्दै गर्दा उनकै शब्दमा उनी मृत्युको निकै नजिक पुगेर पनि बाँचेका छन् ।

२०७० सालमा पाल्पाको कोइलाखानीमा काम गर्दै गर्दा भित्रै पुरिएर उनी झण्डै मरेनन् । त्यसदिन उनीसहित चार जना श्रमिक खानीभित्र छिरेका थिए । दिउँसो करिब तीन बजे एक्कासी खानी भत्कियो । सुरुङभित्र जाने र फर्कने मूल बाटो बन्द भयो ।

‘जीवनको अन्तिम दिन यही रहेछ भन्ठानें । श्रीमती र बालबच्चा सम्झिएँ’ उनी भन्छन्, ‘बाँचेर फर्कन्छु भन्ने आश मरिसकेको थियो । तर बेलुकी नौ बजे प्रहरी र स्थानीयको सहयोगमा उद्धार भयो । करिब ६ घन्टा खानीभित्र थुनिएर पनि बाँचेर फर्कन सफल भएँ ।’

मृत्युको मुखमा पुगेर फर्कंदा पनि उनले खानीको काम छाडेका छैनन् । ‘जानेको काम यही हो । गाउँको खानी छोडेर काम गर्न अन्यत्र कहाँ जानु ?’ उनले भने, ‘जति दुःख भए पनि काम गर्नै पर्‍यो ।’

कोइलाखानीभित्र एक मजदुर

कोइलाखानीका सुरुङभित्र सुरक्षाका कुनै उपाय अपनाइएको हुन्न । ठाउँ–ठाउँमा साना काठका किला र बोराको टेको बाहेक केही लगाइएको हुँदैन । जबकि अन्य प्राकृतिक खानी उत्खनन गर्दा विभिन्न मेशिन उपकरण प्रयोग गरिन्छ र मजदुरले पनि सुरक्षाका सामग्री प्रयोग गरेका हुन्छन् ।

तर विपन्न श्रमिकहरू काम गर्ने दाङका कोइलाखानीमा अहिलेसम्म कुनै उपकरण प्रयोग गरिएको छैन, न त खानी उत्खनन गर्न कुनै वैज्ञानिक मापदण्ड नै तय गरिएको छ । खानीभित्र काम गर्ने मानिस विना कुनै सुरक्षा सामग्री सीधै सुरुङभित्र गएर कोइला निकाल्ने क्रम वर्षाैंदेखि निरन्तर छ ।

‘हामी यत्तिकै सुरुङभित्र पस्छौं । सानो ढुंगा या माटो खसे पनि छेक्ने केही साधन हुन्न’ घोराही–१९ लेकका ३० वर्षीय प्रेम पुनले भने, ‘सात वर्षदेखि सुरुङभित्र यसैगरी काम गरिरहेको छु, अहिलेसम्म कुनै सुरक्षा उपाय अपनाएकै छैन ।’

कतिसम्म असुरक्षित छ भने यहाँ काम गर्ने मजदुरहरू हेल्मेट, मास्क, सुरक्षित पोशाक र मेडिकल उपकरण विनै गहिरा सुरुङ भित्र छिर्छन् । उनीहरूलाई केही भइहाले प्राथमिक उपचार गर्ने स्वास्थ्य टोली समेत यहाँ छैन ।

कोइलाखानीका मजदुरहरु

घुमिफिरी कोइलाखानीमै

केही वर्ष कोइलाखानीमा काम गरेपछि घोराही–१२ का ३४ वर्षीय द्रोणबहादुर राना विदेशिए । खानीको दुःखपछि उनी सुन्दर भविष्य खोज्दै खाडी मुलुक हान्निए । तर त्यहाँ दई वर्ष बिताउन सकेनन् । ‘विदेशमा झन् धेरै दुःख रहेछ, मरुभूमिको तातोमा पाउनु/नपाउनु दुःख पाइयो’ उनले भने, ‘त्यहाँ पाएको दुःख सम्झेर खानीको दुःख बिर्सिएँ ।’

गाउँ फर्किएपछि घरपरिवार चलाउन केही न केही गर्नुपर्ने भयो । ‘अरू काम गर्ने सीप थिएन । काम पाउन गह्रो भयो’ उनले भने, ‘गाउँमा केही गरौं भन्ने थिएन । केही उपाय नचलेपछि खानीमै काम गर्न फर्किएँ ।’ कोइलाखानीको जोखिम र दुःख सम्झेर खाडी मुलुक र भारतमा श्रम गर्न गएकाहरू पनि अन्ततः खानीमै काम गर्न आइपुगेका छन् ।

राम्चेकै कोइलाखानीमा केही वर्ष काम गरेपछि नरेन्द्र राना कतार गए । तर खाडीको तातोमा २७ महिनाभन्दा बढी बिताउन सकेनन् । गाउँ फर्केपछि केही सीप नचलेपछि उनी फेरि कोइलाखानीमै फर्किए । तीन वर्षयता उनी सुरुङभित्रबाट कोइला झिक्ने काम गरिरहेका छन् । ‘कहीं गए पनि दुःखले छोड्ने होइन भनेर गाउँकै खानीमा फर्किएँ’ उनले भने, ‘जोखिम भए पनि परिवार पाल्न पुगेको छ भनेर मन बुझाउँछु ।’

कोइलाखानी आसपासका गाउँका धेरैजसो बालबालिका पनि पढाइ छोडेर कोइला बोक्छन् । आमाबुवा खानीमा काम गर्ने भएकाले उनीहरू पनि त्यहीं पुग्छन् । तोसकी २२ वर्षीया कुमारी सार्की एक उदाहरण हुन् । उनी ५ कक्षा पढ्दापढ्दै कोइला बोक्न थालिन् । अहिले उनी बिहानदेखि बेलुकासम्म खानीमा हुन्छिन् । सुरुङबाट कोइला बोक्छिन् । गाउँका उनीसँगैका थुप्रै साथी पनि पढ्दा पढ्दै खानीमा कोइला बोक्न आइपुगेका छन् ।

राम्चेकै १८ वर्षीय पूर्णबहादुर घर्ती ८ कक्षामा पढ्दा पढ्दै पढाइ छाडेर गत वर्षदेखि सुरुङभित्र कोइला बोक्न आइपुगे । अहिले उनी हरेक दिन बुवा यमबहादुर घर्तीसँगै २५० मिटर गहिरो खानीबाट कोइलाको भारी बोकिरहेका हुन्छन् । दैनिक जसो १०० जना भन्दा बढी महिला र केही बालबालिका कोइला झिक्ने काममा संलग्न भइरहेका हुन्छन् ।

कोइलाको भारी बोकेका मजदुर

दाङमा पाँच वटा कम्पनीले कोइला उत्खनन गरिरहेका छन् । उत्खनन सुरु भएको वर्षाैं भइसक्दा पनि यी खानीमा नियमन र अनुगमन हुनसकेको छैन । खानीमा भएको जोखिम तथा क्षतिबारे संघ, प्रदेश र स्थानीय सरकार बेखबर छन् ।

जबकि खानी तथा खनिज पदार्थ नियमावली २०५६ मा उत्खनन गर्दा टनेल, खाल्डा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षा व्यवस्था गर्नुपर्ने उल्लेख छ । नियमावलीको अनुसार तत्कालीन जिल्ला विकास समिति हालको जिल्ला समन्वय समितिले यसको अनुगमन गर्नुपर्ने व्यवस्था छ । तर अहिलेसम्म यी खानीमा अनुगमनको काम हुनसकेको छैन ।

कोइलाखानीको अनुगमन गर्ने जिम्मेवारी र अधिकार पाएको जिल्ला समन्वय समितिले हालसम्म अनुगमन गर्न नसकेको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए । उनले खानी उत्खनन भइरहेको छ भन्नेबारे जानकार भए पनि प्राविधिकको अभावमा त्यहाँ पुगेर अनुगमन गर्न नसकिएको बताए । ‘प्राविधिकको अभावमा कुन मापदण्डमा कसरी खन्नुपर्ने हो भन्नेबारे जानकारी नहुँदा हामीलाई अनुगमन गर्न समस्या भएको हो’ उनले भने, ‘बाहिरबाट भए पनि छिट्टै प्राविधिक ल्याएर अनुगमन गर्छाैं ।’

दाङको घोराही–१९ स्थित कोइलाखानी

‘जोखिमपूर्ण भएकाले मापदण्डै बनेको छैन’

नेपाल सरकारको खानी तथा भूगर्भ विभागका अनुसार, दाङसहित पाल्पा, प्युठान, सल्यान र अर्घाखाँची जिल्लामा कोइला उत्खनन गर्ने काम हुँदै आएको छ । नेपालमा वार्षिक ९० हजारदेखि एक लाख टन कोइला उत्खनन भइरहेको विभागको तथ्यांक छ ।

उत्खनन गरिएका कोइला विभिन्न इँटा भट्टा, उद्योग, कारखानामा प्रयोग गरिन्छ । कोइला इँटा भट्टा, सिमेन्ट उद्योगमा आगो ऊर्जा निकाल्न प्रयोग गरिन्छ । खानी तथा भूगर्भ विभागका भनाइमा नेपालमा पाइने कोइलाको गुणस्तर कमजोर छ । यसले गर्दा ठूला उद्योगका लागि देश बाहिरबाट कोइला आयात भइरहेको छ ।

अहिले दाङमा पाँच वटा कम्पनीले कोइला उत्खनन गरिरहेका छन् । कोइला व्यवसायी संघ दाङका अनुसार घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका क्षेत्रमा गरेर जिल्लाका १२ ठाउँबाट कञ्चन कोल, क्रिपालो कोल, सैघा, सप्तश्री कोल, शुभम् खनिज उद्योग, ऋषि कोल उद्योग कम्पनीेले कोइला उत्खनन गरिरहेका छन् । संघका अध्यक्ष रोशन दाहालका भनाइमा, अहिले उत्खनन भइरहेका खानीहरू वर्षाैं पुराना हुन् ।

खानी तथा भूगर्भ विभागका भू–गर्भविद् तथा सूचना अधिकारी नारायण बास्कोटाले कोइलाखानी प्राथमिकतामा नपरेकाले सुरुङखानीभित्र नियमन र अनुगमन हुन नसकेको बताए । ‘सुरुङ साह्रै साना र निकै गहिरा हुने भएकाले भित्र पुगेर मापदण्ड तोक्न सकिएको छैन’ उनले भने, ‘खानीभित्र नियमन गर्नु ज्यादै खर्चिलो र जोखिमपूर्ण काम हुने हुँदा मापदण्ड कायम गर्न सकिएको छैन ।’

घोराही–१९ तोस गाउँ

मापदण्ड तय नगरिकन सुरुङभित्र गएर कोइला उत्खनन गर्नु ज्यादै जोखिमपूर्ण काम भएको उनले बताए । बास्कोटाका अनुसार, कोइलाखानी ३०० देखि ५०० मिटर गहिरा छन् । ‘खानी खन्ने मापदण्ड नहुँदा मजदुरलाई कहाँ कति खन्ने भन्ने थाहा हुँदैन’ उनले भने, ‘कोइला जहाँ भेटियो त्यहीं खन्दै जाँदा सुरुङ भत्कने जोखिम हुन्छ ।’

विभागका अनुसार खानीभित्र अनिवार्य बत्ती र अक्सिजन, भेन्टिलेटर जस्ता सुरक्षा व्यवस्था गरेर मात्र कम्पनीलाई कोइला उत्खनन गर्न पाउने अनुमति दिइएको हुन्छ । त्यस्तै खानीभित्र काम गर्ने मजदुरले हेल्मेट र बुट प्रयोग गर्नुपर्ने भनिएको हुन्छ ।

‘खानीभित्र काम गर्नु एकदमै जोखिम हुने भएकाले मजदुरले सुरक्षा सामग्री प्रयोग गर्नुपर्दछ’ भूगर्भविद् बास्कोटाले भने, ‘त्यसो नभए उत्खननको अनुमति पत्र खारेज गर्न सकिन्छ ।’ त्यस बाहेक सुरुङभित्र काम गर्ने मजदुरको स्वास्थ्य बीमा अनिवार्य भनिएको छ ।

तर हालसम्म खानीको जोखिमबारे पीडितबाट कुनै निवेदन नपरेको उनले सुनाए । ‘खानीका पीडितहरू सम्बन्धित निकायसम्म आउनुहुन्न’ उनले भने, ‘पीडित नै नआएसम्म खानीको जोखिमबारे हामीलाई थाहा पनि हुँदैन ।’

कभर स्टोरी
लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?