+
+

चीनमा विमान दुर्घटना : २० घण्टासम्म कोही जीवित फेला परेनन्

चीनको दक्षिण प्रान्तमा विमान दुर्घटना भएको २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १३:२६

८ चैत, काठमाडौं । चीनको दक्षिण प्रान्तमा विमान दुर्घटना भएको २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ-७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा उद्धार तथा खोज कार्यलाई तीव्रता दिंदा पनि अहिलेसम्म कोही जीवित नभेटिएको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै चिनियाँ सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो । कोही घाइते भेटिन सक्ने अनुमानमा दर्जनौं एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तर हताहतीको पुष्टि भएको छैन ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार पहाडी क्षेत्रमा बिजुलीको प्रवन्ध नहुँदा उद्धार कार्य प्रभावित भएको थियो । सञ्चार प्रवन्धका लागि एक ड्रोन बेससमेत स्टेशन स्थापना गरिएको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा विमानको ब्ल्याक बक्स फेला नपरेको र खोज अनुसन्धान जारी रहेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।

यो घटनालाई चीनमा करिब एक दशकयताकै सबैभन्दा ठूलो विपदको रुपमा लिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले यो घटनाबाट आफू विक्षिप्त भएको भन्दै खोजी र बचाउ अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले घटनाको अनुसन्धान गर्न पनि भनेका छन् ।

यो दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले सबै बोइङ ७३७–८०० विमानको उडान रद्द गरेको छ । सो एयरलाइन्सले आफ्नो वेबसाइटको रंग पनि परिवर्तन गरेर ब्ल्याक एण्ड ह्वाइट बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?