+
+

सभ्यताको टकराव : युक्रेन-रूस द्वन्द्व

सन्तोष मेहता सन्तोष मेहता
२०७८ चैत ९ गते ९:००

सोभियत संघको विघटनपछि शीतयुद्ध समाप्त भएको थियो। अमेरिकी थिङ्क ट्यांक रहेका फ्रान्सिस फुकुयामाले सन् १९९२ मा ‘द इन्ड अफ हिस्ट्री’ पुस्तकमा शीतयुद्धपछिको विश्वमा साम्यवादको पतन भएको र अब मानवअधिकार, उदार लोकतन्त्र र स्वतन्त्र बजार अर्थतन्त्र एक मात्र वैचारिक विकल्प बाँकी रहेको तर्क गरे। उनले विश्वमा विचारधाराको हेगेलियन अर्थमा द्वन्द्वको अन्त्य भई ‘इतिहासको अन्त्य’ भएको तर्क गर्दै विश्वमा अब कुनै युद्ध नहुने विश्वास व्यक्त गरे।

यस पुस्तकको ठीक एक वर्षपछि हन्टिङ्टनले सभ्यतामा आधारित नयाँ प्रकारको द्वन्द्वको बारेमा चर्चा गरे। पछि १९९६ पुस्तक ‘द क्लास अफ सिभिलाइजेशन एन्ड द रिमेकिंग अफ वर्ल्ड अर्डर’ लेखेर आफ्नो थेसिस विस्तार गरे। हार्वर्डका प्रोफेसर र अन्तर्राष्ट्रिय द्वन्द्वका प्रभावशाली विद्वान स्यामुएल हन्टिङ्टनको सन् २००८ मा मृत्यु भयो। शीतयुद्धपछिको संसारको भविष्यवाणी गर्दै उनले भनेका थिए- ‘द्वन्द् अब सांस्कृतिक भिन्नताहरूमा आधारित हुनेछ।’

उनले साझा संस्कृति र धर्मको आधारमा विश्वलाई आठ सांस्कृतिक ‘सभ्यताहरू’ पश्चिमी, अर्थोडक्स ईसाई, इस्लामिक, हिन्दू, सिनिक आदिमा विभाजन गरेका छन्। यी आठमध्ये कुन कुन सभ्यता बीच कडा वा नरम स्तरको द्वन्द्व एवं समन्वय हुने कुरा पनि उल्लेख गरेका छन्। यसै पुस्तकमा हन्टिङ्टनले युक्रेन बारे पनि भविष्यवाणी गरेका थिए।

अहिले रूसद्वारा ‘विशेष सैन्य अभियान’ को नाममा घोषणा गरिएको युद्ध, रूस र युक्रेनबीच जारी छ। युद्धमा मृत्यु हुनेको संख्या यकिन छैन। हजारौं मानिस घरबारविहीन भएका छन्। युक्रेन र रूसबीचको बढ्दो तनावलाई शीतयुद्धपछि युरोपमा सबैभन्दा ठूलो सुरक्षा संकट मानिएको छ। यस युद्धका कारण युरोपमा विश्वयुद्धको अवस्था सिर्जना हुँदै गएको छ। यतिबेला सारा विश्वको नजर यी दुई देशमा टिकेको छ।

युक्रेन पश्चिममा युरोप र पूर्वमा रूससँग जोडिएको छ। उल्लेखनीय कुरा के छ भने युक्रेन कुनै समय रूसी साम्राज्यको हिस्सा थियो। सोभियत संघको विघटनपछि युक्रेनले सन् १९९१ मा स्वतन्त्रता प्राप्त गर्‍यो। सोभियत संघको पतनपछि युक्रेनको विभाजनलाई धेरै रूसी राजनीतिज्ञहरूले इतिहासको ठूलो गल्ती मान्छन्।

रूस र युक्रेनबीचको विवादलाई अहिले नेटोसँग जोडेर हेरिएको छ तर यी दुईबीच पटक–पटक विवाद भइसकेको छ। युक्रेनको पश्चिमी भागमा युक्रेनी राष्ट्रवाद बलियो छ। यद्यपि, युक्रेनमा पनि रूसी भाषी अल्पसंख्यकहरूको उल्लेखनीय संख्या छ र यी मानिसहरू रूसको छेउछाउको पूर्वी क्षेत्रमा बढी छन्। रूसले युक्रेनमा बसोबास गर्ने ८० लाख रूसी भाषी नागरिकको सुरक्षाका लागि आवाज उठाउँदै आएको छ।

सन् २०१० मा भिक्टर यानुकोभिक युक्रेनको राष्ट्रपति बने र रूससँग धेरै घनिष्ठ सम्बन्ध बनाए। यी सम्बन्धका आधारमा उनले पहिलेदेखि योजनामा रहेको युरोपेली संघमा सामेल हुने सम्झौतालाई अस्वीकार गरे। त्यसको जवाफमा युक्रेनी राष्ट्रवादको भावना बोकेका जनताले व्यापक विरोध प्रदर्शन गरे। प्रतिफलमा राष्ट्रपति यानुकोभिकले २०१४ मा आफ्नो पदबाट राजीनामा दिनुपर्‍यो। पश्चिमा समर्थित प्रदर्शनकारीहरूको विरोधका कारण उनी फेब्रुअरी २०१४ मा देश छोडेर भाग्नुपरेको थियो।

अहिले संसारभरि एकल राष्ट्रवादी धार मजबुत र त्यही देशको अल्पसंख्यक पहिचान भएकाहरू पीडित हुने सिलसिला देखिएको छ। देशहरूको आन्तरिक राष्ट्रिय एकता कमजोर भएपछि विदेशी हस्तक्षेप स्वाभाविक हुँदै गएको छ

सन् १९९४ मा अमेरिका, फ्रान्स, बेलायत र रूसबीच बुडापेस्ट, हंगेरीमा एउटा सन्धि भएको थियो, जसलाई ‘बुडापेस्ट मेमोरेन्डम’ पनि भनिन्छ। यस सन्धिअन्तर्गत, यी देशहरूले कुनै पनि परिस्थितिमा युक्रेनको हितको रक्षा गर्ने र युक्रेनले स्वतन्त्र राज्यको रूपमा काम गरिरहने कुरा सुनिश्चित गर्ने आश्वासन दिए। सोही सन्धिअनुसार युक्रेनले क्रिमियालाई युक्रेनको हिस्सा भएको शर्तमा आफूसँग भएका सबै आणविक हतियार रूसलाई फिर्ता दिएको थियो।

आज यो सन्धिमा हस्ताक्षर गर्नेमध्ये एक रूसले युक्रेनमाथि हमला गरेको छ भने अर्कोतर्फ अमेरिका, फ्रान्स र बेलायतले युक्रेनलाई खासै सहयोग गर्न सकेका छैनन्।

१२ जुलाई २०२१ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर एक लामो लेख मार्फत रसियन र युक्रेनियनहरू ‘एउटै मानव’ भएको उल्लेख गरे। सोभियत समयमा गल्तीले ऐतिहासिक रूसी भूमि युक्रेनको अधीनमा गएको उनले दाबी गरेका छन्। युक्रेनको पूर्वी भागमा डोनबास (लुहान्स्क र डोनेट्स्क क्षेत्रहरू) मा रूस समर्थक पृथकतावादी र युक्रेनी सेनाबीच लगातार द्वन्द्व चलिरहेको थियो।

त्यहाँ पृथकतावादीलाई रूसले समर्थन गर्‍यो यद्दपि रूस यो स्वीकार गर्न तयार छैन। पृथकतावादीहरूले पूर्वी युक्रेनको ठूलो हिस्सा आफ्नो कब्जामा लिन सफल भए। त्यहीबेलादेखि रूस समर्थक विद्रोही र युक्रेनी सेनाबीच लडाइँ चलिरहेको छ। लडाइँमा १४ हजारभन्दा बढी मारिइसकेका थिए। यसपछि रूसले युक्रेनविरुद्ध आक्रामकता देखाउँदै त्यहाँको क्रिमियाली राष्ट्रवादको समर्थनमा पृथकतावादीहरूलाई सहयोग गर्‍यो, जसको फलस्वरूप उसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई स्वतन्त्र घोषणा गरी कब्जा गरेको थियो। यो घटनापछि युक्रेन पश्चिमासँग झन् नजिक भयो।

रूसी राष्ट्रपतिले पूर्वी युक्रेन अर्थात् डोनबास क्षेत्र छाड्ने भए वा उनीहरूलाई स्वायत्तता दिने भए युद्धविराम हुनसक्ने बताएका छन्। युक्रेनमा मात्र होइन केही दिन अगाडि रूसी सांसद पावेल शापरोपले सोभियत संघबाटै छुटि्टएको कजाखस्तान बारे टिप्पणी गर्दै भनेका थिए- ‘कजाखस्तानमा अल्पसंख्यक रूसीहरूलाई आप्रवासी मानेर व्यवहार गर्नु गलत हुनेछ किनकि यो भूमि हामीबाट अस्थायी हिसाबमा मात्रै छुट्टिएको हो, सीमा अजम्बरी होइनन्, हामी रूसको भूमिलाई फेरि फिर्ता ल्याउनेछौं।’

पूर्वी कजाखस्तानको रूससँग नजिक रहेको सीमा क्षेत्रमा पनि करिब २० प्रतिशत रूसी मूलका नागरिक छन्। रूसले पनि आफ्नो अल्पसंख्यक नागरिकलाई दमन गरेको जस्ता आरोपहरू नलागेका होइनन्। अहिले संसारभरि एकल राष्ट्रवादी धार मजबुत हुने र त्यही देशको अल्पसंख्यक पहिचान भएकाहरू पीडित हुने सिलसिला देखिएको छ। देशहरूको आन्तरिक राष्ट्रिय एकता कमजोर भएपछि विदेशी हस्तक्षेप स्वाभाविक हुँदै गएको छ। यसबारे धेरै पहिले अमेरिकी राजनीतिशास्त्री स्यामुएल पी हन्टिङ्टनले विश्वभरि यस्तै संकट आउने भविष्यवाणी गरेका थिए।

युक्रेनी संकटभन्दा धेरै वर्षअघि उनले भनेका थिए कि युक्रेन ऐतिहासिक, भौगोलिक र धार्मिक रेखाहरूमा आन्तरिक रूपमा विभाजित रहेको छ, पश्चिमी युक्रेन बलियो रूपमा पश्चिमा निकट छन् भने पूर्वी युक्रेन अर्थोडक्स रूसको नजिक छ। युक्रेनमा दुई अलग अलग संस्कृतिका मानिस बस्छन्। एकल संस्कृतिकै आधारमा युक्रेन रहे पूर्वी भाग रूसमा विलय हुनसक्ने चेतावनी समेत उनले दिएका थिए। शीतयुद्धपछिको विश्वमा द्वन्द्वको कारण राष्ट्रहरूबीचको विचारधाराको मतभिन्नताभन्दा पनि प्रमुख सभ्यताहरूबीचको सांस्कृतिक र धार्मिक भिन्नता हुने हन्टिङ्टनको विचार थियो।

हन्टिङ्टनले ‘सभ्यताको संघर्ष’ पुस्तक लेख्दा यो विचार ९० को दशकमा दिएका थिए, तर आज विश्वका धेरै महत्वपूर्ण घटनाहरूले युग सभ्यताको संघर्षमा प्रवेश गरेको जस्तो लाग्छ। जस्तै भारतमा नरेन्द्र मोदीले हिन्दुत्व विचारधाराको सशक्तीकरण गर्नु, चीनको सी जिनपिङको पश्चिमी प्रभाव विरुद्धको संघर्ष, इस्लामिक कट्टरपन्थी, पश्चिम र अर्थोडक्स रूस देश बीचको द्वन्द्व, विश्वका धेरै देशमा राष्ट्रवादको उदय, संयुक्त राज्य अमेरिकाभित्र पनि राष्ट्रवादको पुनरुत्थानलाई यस प्रकारको सभ्यतावादको एक मोडको रूपमा देख्न सकिन्छ।

सन् २०१५ मा भएको मिनिस्क शान्ति सम्झौता अनुसार जहाँ युक्रेनमा रहेको रूसी भाषी जनताको स्वायत्तता प्रदान नगरिएको बहानामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया र डोनबासमा रूसी जातीय संरक्षणको नाममा सैन्य आक्रमण गर्नु तथा युक्रेनको पक्षमा पनि पश्चिमा उभिनु यी सब घटना हन्टिङ्टनको सभ्यता थ्यौरीसँग नजिक रहेको छ। हिन्दु सभ्यताको पश्चिमा वा रूसीहरूसँग उस्तै उस्तै द्वन्द्व र समन्वय हुने पुस्तकमा उल्लेख गरे झैं युक्रेन मामलामा आज मोदीको तटस्थता हेर्दा पनि हन्टिङ्टनको सभ्यता थ्यौरीसँग मिलेकै देखिन्छ।

सिनिक र इस्लामिक सभ्यता बीच गठबन्धन हुने कुरा हन्टिङ्टनले भने झैं चीनको पाकिस्तान, बंगलादेशसँगको सहकार्य, इरान र टर्कीसँगको समझदारी र अफगानिस्तानको तालेवानीहरूप्रतिको स्नेहले हन्टिङ्टनले लेखेझैं, ‘शीतयुद्धपछिको संसारमा, मानिसहरूबीचको सबैभन्दा महत्त्वपूर्ण भिन्नताहरू वैचारिक, राजनीतिक वा आर्थिक होइनन् तर सांस्कृतिक हुनेछन्’ भन्ने तर्कलाई समर्थन पुगेको छ।

यस आलोकमा, युक्रेन-रूस युद्ध पनि सभ्यतावाद जस्तो देखिन्छ। यसबीच थुप्रै रूसी राष्ट्रवादी लेखकहरूले रूसी सभ्यताको एकीकरण अर्थात् रूसी इतिहास, संस्कृतिको एकीकरण हुनुपर्ने आशयका लेख, पुस्तकहरू लेखेका छन्। पुटिनले आफ्नो युद्ध भाषणमा पनि यस्तै भनेका थिए। वास्तवमा, धेरै युक्रेनीहरू स्वतन्त्र रहन चाहन्छन्, तर पूर्वी युक्रेनका मानिसहरू युक्रेनलाई रूससँग विलय गर्नुपर्छ वा उनीहरू स्वायत्तता चाहन्छन् र युरोपेली संघ वा नेटोको सट्टा रूससँग मित्रता चाहन्छन्। युक्रेनी राजनीतिमा नागरिक र नेताहरू दुई गुटमा विभाजित छन्।

एउटा पार्टीले रूसलाई खुलेर समर्थन गर्छ भने अर्को पार्टीले पश्चिमी देशलाई समर्थन गर्छ। यही कारणले गर्दा आज युक्रेन विश्वका ठूला शक्तिहरूबीचको द्वन्द्वमा फसेको छ। यो सबै सभ्यता बीचको संघर्ष हो। स्यामुएल हन्टिङ्टनले ‘सभ्यताको संघर्ष’ पुस्तकमा भने अनुसार ‘अर्थोडक्स’ र ग्रीक क्याथोलिक युक्रेनको घरेलु दुई संस्कृतिवाद बीचको द्वन्द्व, भूराजनीतिक प्रतिस्पर्धाका कारण विशाल छिमेकी रूसको अर्थोडक्स र पश्चिमी युरोपको ग्रीक क्याथोलिकबीचको द्वन्द्वको स्वरूप लिएको हो।

कूटनैतिक दृष्टिकोणले हन्टिङ्टनको सिद्धान्तको प्रतिवाद गर्ने ठाउँ छ। त्यसैगरी युरोपेली इतिहासको अशान्तिपूर्ण अवधिको अन्त्य गर्न तथा लगभग ८ लाख मानिसहरूको मृत्यु पश्चात कार्डिनल रिसलुको नेतृत्वमा सन् १६४८ को ‘वेस्ट फेलिया’ को सन्धि तहत बनेको आधुनिक राष्ट्रिय–राज्यको सैद्धान्तिक आधार अनुरूप बनेको राष्ट्र राज्य बाहेकका देशहरूमा यो व्याख्याले निम्त्याउने अस्थिरता तथा पूर्वीय सभ्यताका बारेमा अल्प मूल्यांकन उक्त विचारको कमजोरी भए पनि हन्टिङटनको सिद्धान्तलाई नजरअन्दाज भने गर्न सकिंदैन।

फेरि पनि रूसले सार्वभौम युक्रेन माथि गरेको आक्रमण मानवतामाथिको आक्रमण हो। यसको निन्दा गर्नै पर्छ। तर युक्रेन संकटको मूल जरोको विश्लेषणबाट एउटा महत्त्वपूर्ण पाठ भने सिक्न सक्छौं। युक्रेन जस्तो बहुसांस्कृतिक राष्ट्रवादमा आधारित देशको सन्दर्भमा पनि हन्टिङ्टनले भनेका छन् कि यस्तो देशले सावधानीपूर्वक सबैको संस्कृतिको सम्मान तथा कुशल कूटनीतिको परिपालन उपयुक्त हुने बताउँछन् जबकि युक्रेनले सन् २०१४ देखि पूर्वी युक्रेनका भाषामाथि पनि प्रतिबन्ध लगायो। राष्ट्रिय एकता कमजोर भएको देशमा प्रोक्सी युद्ध वा प्रायोजित युद्धको जोखिम हुनेरहेछ।

युक्रेनको सन्दर्भमा पनि हन्टिङ्टनले या त विभाजनले समाधान गर्ने वा दुवै सांस्कृतिक राष्ट्रवादको आकांक्षालाई सम्मान गर्ने संघ निर्माण भएको बताए अर्थात् त्यो भनेको संघमा साझा शासन तथा स्व-पहिचान, स्वायत्तता सहितको संघीयताबाटै राष्ट्रिय एकता सम्भव छ, त्यसअर्थमा बहुसांस्कृतिक मुलुक कमजोर भएमा अन्य मुलुकले देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र त्यसमा अनिश्चितता र अस्थिरता उत्पन्न हुने सम्भावना रहन्छ। त्यहाँ युक्रेन झैं अन्तर्राष्ट्रिय कानून र सन्धिहरूको पनि कुनै महत्व हुँदोरहेनछ। नेपाल पनि बहुसांस्कृतिक राष्ट्रवाद भएको देश हो तर यहाँ पनि एकल सांस्कृतिक दृष्टिकोणबाट राज्य सञ्चालन गर्ने प्रयास भइरहेको छ। आधुनिक नेपालको स्थापनाकालदेखि नै थारु-मधेशी र जनजातिले आफ्नो पहिचानसहित राज्यमा अंश माग्दै आएका छन्। नेपालमा संघीयता भए पनि थारु-मधेशी र जनजातिको पहिचान र स्वायत्ततामा आधारित छैन। नेपालका थारु-मधेशी लगायतको असन्तुष्ट समूहलाई समयमै सम्बोधन गर्नुपर्ने युक्रेनबाट हामीले पाठ सिक्नुपर्ने कुरा हो।

(मेहता लोसपाका नेता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?