+
+

आफ्नै बयान बन्यो पल शाहलाई थुनामा पठाउने आधार

पलका म्यानेजरले ‘गैरजिम्मेवारी क्रियाकलाप’ गरेको भन्दै अदालतले माग्यो धरौटी

न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् । शाहले ‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको’ स्वीकारेका थिए ।

गौरव पोखरेल गौरव पोखरेल
२०७८ चैत १० गते २०:५७

१० चैत, काठमाडौं । जिल्ला अदालत, तनहुँले जबरजस्ती करणी सम्बन्धी कसूरमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिहीबार साँझ अदालतको आदेश आएसँगै शाह जिल्ला कारागार, तनहुँ पठाइएका छन् ।

उनीसँगै मतियारका रुपमा मुद्दा चलाइएका म्यानेजर कृष्ण जोशीलाई चाहिँ एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् ।

शाहले अदालतमा दिएको बयानमा घटना भएको भनिएको दिन ‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको’ स्वीकारेका थिए ।

‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन’ न्यायाधीश ढुंगानाले लेखेको आदेश पर्चामा भनिएको छ, ‘यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेका तथ्यसँग भिड्न आएको देखियो ।’

१८ वैशाखमा तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बेग्लाबेग्लै कोठामा सुतेको अवस्थामा राति १२ बजेतिर नाबालिकाको कोठामा आएर जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध पीडितका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएका थिए ।

अदालतमा दिएको बयानमा पनि पीडित नाबालिकाले पनि ‘मध्यराति आएर शाहले विवाह गर्ने झुटो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेको’ भनेकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण रिपोर्टमा समेत पीडितको संवेदनशील अंगमा पुरानो चोट रहेको भनिएको थियो । त्यसलाई समेत आधार बनाउँदै न्यायाधीश ढुंगानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

पीडितको बयान पनि शाहलाई थुनामा पठाउने बलियो आधार बनेको छ । शाह र पीडित किशोरीबीच विवाद सुरु भएपछि भएको छलफलका क्रममा शाहले बोलेको अडियो रेकर्डलाई पनि अदालतले महत्वपूर्ण प्रमाण मानेको छ ।

‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको छ ।

यो विषय पीडित, उनका बाबुआमासहित दुर्गाबहादुर थापा (दुर्गेश थापा), पूण्यप्रसाद ओली, कमल खत्री लगायतको उपस्थितिमा भएको उनीहरुको कागजमा पनि उल्लेख भएको भनिएको छ ।

बुधबार र बिहीबार जिल्ला अदालत, तनहुँमा भएको थुनछेक बहसका क्रममा शाहका पक्षका कानून व्यवसायीहरुले घटना भएको भनिएको करिब १० महिनापछि मात्रै जाहेरी परेको भन्दै जाहेरीमाथि नै आशंका गरेका थिए ।

तर न्यायाधीश ढुंगानाको आदेशमा ‘पीडित पक्षका कानून व्यवसायीहरुले गरेको जिकिर, ‘एउटै फिल्डमा लागेका हुनाले कानूनी उपचारमा जाँदा आफ्नो करिअरमा असर पर्ने हो कि भनेर विचार गर्दा पीडितको तर्फबाट जाहेरी दिन ढिलाइ भएको भन्ने तर्कसँग असहमत हुनुपर्ने अवस्था नदेखिएको’ भनिएको छ ।

आदेशमा आफू कहिले कसरी न्यायिक उपचारमा जाने र त्यसरी जाँदा दीर्घकालीन रुपमा के कस्तो परिस्थिति वा असहजता आउन सक्छ भन्ने विषयमा पीडित र संरक्षकले गम्भीर ढंगले सोच्न र विचार विमर्श गर्न पाउनुपर्ने कुरालाई नकार्न नसकिने भनिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण रिपोर्टमा समेत पीडितको संवेदनशील अंगमा पुरानो चोट रहेको भनिएको थियो । त्यसलाई समेत आधार बनाउँदै न्यायाधीश ढुंगानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

पलका म्यानेजरको ‘गैरजिम्मेवार क्रियाकलाप’लाई धरौटी

शाहका म्यानेजर कृष्ण जोशीमाथि किशोरीलाई करणी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न र मिल्न दबाब दिएको अभियोग थियो । पीडितका बुबाले दिएको पूरक जाहेरीमा भनिएको थियो, ‘मुख्य अपराधीलाई जोगाउन उनले आपराधिक षड्यन्त्रको कसूर गरेका थिए ।’

तर न्यायाधीश ढुंगानाले दिएको आदेशमा ‘मतियार कुनै पनि घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न भएको व्यक्ति’ बताउँदै मिसिलमा संलग्न कागजातले जोशीको संलग्नता वस्तुनिष्ठ रुपमा खुल्न आएको नदेखिएको भनिएको छ ।

जोशीले शाहविरुद्ध उजुरी नगर्न र न्यायिक कारबाहीतर्फ गए नराम्रो हुने डर, त्रास र धम्की दिएको विषय कसूरबारे सूचना दिन बाधा अवरोध गरेको कुरासँग सम्बन्धित भएको आदेशमा उल्लेख छ ।

‘त्यस्तो कार्यका निम्ति कानूनले छुट्टै फौजदारी दायित्वको व्यवस्था गरेको पाइन्छ’ न्यायाधीश ढुंगानाको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा उल्लेखित विषयतर्फ अभियोजन पक्षबाट समुचित ध्यान पुग्न सकेको पाइएन ।’

न्यायाधीश ढुंगानाले आदेशमा बेलायत र नेपालका दुईवटा नजिर समेत प्रस्तुत गर्दै ‘कसैलाई मतियारको रुपमा सजाय गर्न उसलाई कसूरका अनिवार्य तत्वका बारेमा जानकारी रहनुपर्ने’ भनेका छन् ।

कुनै कसूरको साझा योजनामा सहभागी भएर उसले गरेको कार्यबाट मुल कसूरदारमा उत्साह थपिएको छ/छैन भन्ने कुराले पनि मतियारको आपराधिक दायित्व यकिन गराउने उनले भनेका छन् ।

म्यानेजर जोशीको हकमा मतियारको भूमिका खेलेको भन्ने विषय पुष्टि गर्न पीडितको बुबाले दिएको जाहेरी र पीडितले पछि पुनः गरिदिएको घटना विवरण कागजबाहेक अन्य प्रमाण नभएको आदेशमा उल्लेख गरिएको छ । ‘दुई कुराबाहेक अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट देखिन नआएको हुँदा प्रतिवादीलाई थुनामा नै राख्नुपर्नेसम्मको अवस्था देखिएन’ न्यायाधीश ढुंगानाले भनेका छन् ।

तर घटनाबारे समयमै थाहा पाएर न्यायिक उपचारमा जान सुझाव दिनुको साटो उल्टै पीडितलाई उजुरीमा अवरोध गर्ने, धम्क्याउने र डर त्रास देखाउने जस्ता काम गरेको भन्दै अदालतले उनलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

बयानका क्रममा पनि जोशीले धम्क्याएको स्वीकारेको उल्लेख गर्दै आदेशमा उनको व्यवहारलाई पीडितप्रति देखाएको गैरजिम्मेवारी क्रियाकलाप भनिएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?