
२२ भदौ, काठमाडौं । गत १२ साउनको राति साढे ९ बजेतिर बौद्धको बाहुनधारामा जीतबहादुर मोक्तानमाथि अन्धाधुन्द खुकुरी प्रहार भयो । काभ्रेको रोशी गाउँपालिका-१० घर भएका उनी बौद्धमा बस्दै आएका थिए ।
त्यस राति नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर उनी बाहिर निस्किए । मोटरसाइकलमा चढेर घर जाँदै थिए । त्यही बेला उनीमाथि अन्धाधुन्द खुकुरी प्रहार भयो । उनी मोटरसाइकलबाट झरेर भाग्न थाले । तर, त्यो समूहले लखेट्दै उनीमाथि खुकुरी प्रहार गर्यो ।
करिब चार जनाको समूहले मोक्तानको पेट, ढाड र हात लगायत ठाउँमा खुकुरी प्रहार गर्यो । खुकुरी प्रहारबाट उनी ढलेपछि उक्त समूह त्यहाँबाट फरार भयो ।
स्थानीयले उनलाई उद्धार गरेर उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याए । त्यहाँबाट त्रिवि शिक्षण अस्पतालमा रेफर गरियो । शिक्षण अस्पतालबाट फेरि उनलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगियो ।
लामो समय बी एण्ड बीमै उपचार गराएपछि डिस्चार्ज भएर उनी घर फर्किएका छन् । तर, यो बीचमा आक्रमणकारीहरु पक्राउ परेनन् । एक महिनापछि भने खुकुरी प्रहारको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याएको स्रोतले बताएको छ ।
आक्रमण गर्ने मुख्य नाइकेसहित तीन जनालाई समातिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
गड्डाचौकीबाट समातिएको भनेर प्रहरीले औपचारिक रुपमा बताए पनि उनीहरुलाई दिल्लीबाट समातिएको प्रहरी स्रोतले बताएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई जोरपाटी बस्दै आएका २५ वर्षीय लोब्साङ तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई जोरपाटी नै बस्ने ३३ वर्षीय छुमन भनिने सुमन ब्लोन तामाङ, शिवपुरी–१ नै घर भई जोरपाटी बस्ने ३४ वर्षीय कुमार ब्लोन तामाङ छन् ।
उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । खुकुरी प्रहार गरेपछि उनीहरु लामो समयदेखि फरार थिए ।
आक्रमणको मुख्य योजनाबार लोब्साङ रहेको पाइएको छ । उनकै योजनामा मार्ने उद्देश्यले मोक्तानमाथि खुकुरी प्रहार गरिएको प्रहरीले बताएको छ ।
दिल्लीबाट पक्राउ परेका लोब्साङले खुकुरी हान्नुको कारण भने आफ्नो बाबुसँग जोडेका छन् । १२ साउनकै दिउँसो ४ बजेतिर मोक्तानले आफ्नो बाबुमाथि आक्रमण गरेकाले त्यसको बदला लिन आफूले आक्रमण गरेको लोब्साङले बताएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘बाबुलाई कुटपिट गरेकाले त्यसको बदला लिन आक्रमण गरेको हुँ’, लोब्साङलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।
लोब्साङका बाबु अशोक र खुकुरी प्रहारबाट घाइते भएका मोक्तानलगायत ओखर (जुवा) खेल्ने गरेको र सोही विषयमा विवादमा हुँदा मोक्तानले अशोकलाई पिटेको बताइएको छ । यो कुरा लोब्साङले थाहा पाएपछि त्यसै राति मोक्तानमाथि आक्रमण भएको थियो ।
यो बाहेक उनीहरुबीच अन्य विवाद पनि भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सामाजिक सञ्जाल टिकटकदेखि युवतीसम्मको विवाद उनीहरुबीच हुनसक्ने आशंका प्रहरीको छ ।
को हुन् लोब्साङ ?
आक्रमणका योजनाकार लोब्साङ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल सिन्धुपाल्चोकका सदस्य रहेको पाइएको प्रहरी स्रोत बताउँछ । उनी सिन्धुपाल्चोक तरुण दल अध्यक्ष सञ्जय लामा (झिंगे) निकट मानिन्छन् । झिंगेको पृष्ठभूमि पनि राम्रो नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
यो बाहेक पछिल्लो समय लोब्साङले बौद्ध, जोरपाटी क्षेत्रमा गुण्डागर्दी गर्न थालेको प्रहरीको बुझाइ छ । यसअघि लोब्साङले माकलबारीकै एक स्नुकर हाउसमा एक व्यक्तिमाथि हेल्मेट प्रहार गरेको भन्ने मौखिक उजुरी आएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4