+
+

सुक्खा पहिरोले त्रासमै बित्छ दिन

रासस रासस
२०७८ चैत ११ गते १३:२१
फाइल तस्वीर

महोत्तरी । बर्दिवास नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने खयरमारा चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् ।

पहिरोले खयरमारा खोला थुनेर हिउँदे बाटोसमेत अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ ।

‘के गरौं, निन्द्रा लाग्दैन । कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ,’ भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भनिन्, ‘पहिरो गएदेखि बालक नानीहरू काखमा च्यापेर घरै बसिरहेका छौं ।’ बुधबार मध्यरातपछि भोलिपल्ट उज्यालो हुनुअघिसम्म तीनतले पाखामा ठूलो आवाजले पहिरो गएपछि सन्तमायाजस्तै चुरे काखका १० भन्दा बढी पाखा बस्तीका बासिन्दा त्रसित भएका छन् ।

‘बर्खामा त बाढी आउने, सानातिना पहिरो जाने झेल्दै आएका हौं, तर अहिले सुक्खायाममा गएको ठूलो पहिराले नसोचेको आपत आयो,’ भालुचौर बस्तीकी ६० वर्षीया सञ्चमाया तामाङले भनिन्, ‘काछभित्रका सबैजसो घर थुम्का, पाखा र खोल्सा किनारका चौरमा छन्, कतिखेर पुरिन्छौं पत्तै नपाइने भयो ।’ खयरमारा बटजारबाट उत्तरतर्फ चुरे पर्वतीय शृंखला छन् । यिनै चुरे पहाड काछमा बर्दिबास–१०, ११ का १० भन्दा बढी बस्ती छन् । गर्दीखोला, चनौटे, छोड्के, झ्याउरे, भाङ्ग्रे, पिपलदमार, गुरुङखोला, भालुचौर, बम्जनटार, पूर्वीखोला, सातदिने, शिर, चिसापानी, मासखोला र दोभानसहितका सबै बस्ती चुरे काछका हुन् ।

महोत्तरीको कर्णाली भनिने बर्दिबासभित्रका यी बस्तीको बर्खायामभरि बाहिरी संसारसँग पूरै सम्बन्धविच्छेद हुन्छ । लगातार पानी परिरहँदा खोलाखोल्सीका बाटो थुनिंदा आवागमन नहुने भोग्दै बुझ्दै आएका काछवासी बर्खाभरिको नुनतेलको जोहो पहिले नै गर्छन् । हिउँद लागेपछि खोलाखोल्सीका बाटो खुल्छ ।

‘तर अब त चैतमासको सुक्खायाम पनि डरमर्दो भयो, अब हामी कसरी बस्ने होला ?,’ चुरे काछवासी समान चिन्ता व्यक्त गर्छन् । बुधबार रातिको पहिरोले थुनेको बाटो अझै खुलेको छैन । सुक्खायामको यो पहिरोले काछका भित्री बस्तीसहित खयरमारा बजारसम्मै पुर्ने र कटानको जोखिम बढाएको खयरमाराका सामाजिक कार्यकर्ता नीरनाथ गेलालको भनाइ छ ।

चैतको सुक्खायाममै भीषण पहिरो गएपछि काछका बासिन्दा डराएका छन् । बर्खामा सावधानी अपनाइए पनि हिउँद र त्यसपछि बर्खा नलागुञ्जेल त सञ्चोसँग बस्न पाइन्छ भन्ने सोच बुधबार रातिको पहिरोले झस्काएको काछ बस्तीका बासिन्दा बताउँछन् ।

अहिले सुक्खायाममा सबैलाई तर्साउने गरी पहिरो गएपछि बर्खामा झन् यो संकट बढ्न सक्छ । काछका बस्तीमा ९५ प्रतिशत तामाङ समुदायको बसोबास छ । गरिबी, अभाव, अशिक्षा सबैले भोग्ने यहाँको पीडा रहेको खयरमाराका सामाजिक कार्यकर्ता चन्द्रलाल गौतम बताउँछन् ।

बुधबार मध्यरातपछि ठूलो आवाजमा पहिरो गएको काछ बस्तीका बासिन्दाको भनाइ छ । पहिरो गएको तीनतले वरपर नै पातलो देखिने बस्तीमा २०० भन्दा बढी घरपरिवार छन् । पहिराले खोल्सा थुनेपछि त्यता आवतजावतको  साना सवारीसाधन पनि अहिले चल्न नसक्ने भएका छन् । हिउँदभरि खोलाबाटै आवतजावत गरिने सडक छ । अब त्यो पुरिएपछि बजार आवतजावत गर्न कति दिन नपाइने हो यकिन गर्न नसकेको काछ बस्तीका पाका व्यक्ति बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?