+
+
पहिरन र पर्यावरण :

फेसन उद्योगको अँध्यारो कथा : कपडा उत्पादन गर्न प्रकृतिको चीरहरण

यसरी बन्न सक्छ नेपाल ‘इको–फेसन क्यापिटल’

विश्व बैंकको उक्त सोधअनुसार बर्सेनि विश्व फेसन उद्योगलाई ९३ बिलियन क्यूबिक लिटर पानी चाहिन्छ जसले ५० लाख मानिसको पिउने पानी अभावलाई पूर्ति गर्न सक्छ ।

विष्णु शर्मा विष्णु शर्मा
२०७८ चैत २१ गते ८:१८

२१ चैत, काठमाडौं । के तपाईंलाई थाहा छ ? एउटा जिन्स पाइन्ट उत्पादन गर्न ३ हजार ७८१ लिटर पानी जरुरी हुन्छ । फेसन गणितबारे विश्व बैंकको यस्तो सोधले तपाईंलाई छक्क पार्न सक्छ ।

नपारोस् पनि किन ? विश्व फेसनमा दबदबा जमाएको जिन्स यतिबेला फेसन ‘हब’ पेरिस, मिलान र न्युयोर्कलाई टाउको दुखाइको विषय बनेको छ । फेसन पण्डित जिन्सजस्ता पहिरनको विकल्प नखोजिए यसले भविष्यमा पानी संकट आउनसक्ने चेतावनी दिंदैछन् ।

विश्व बैंकको उक्त सोधअनुसार बर्सेनि विश्व फेसन उद्योगलाई ९३ बिलियन क्यूबिक लिटर पानी चाहिन्छ जसले ५० लाख मानिसको पिउने पानी अभावलाई पूर्ति गर्न सक्छ । संसारमा २० प्रतिशत खेर जाने पानी फेब्रिक प्रशोधनबाटै आउने गर्छ ।

पानी र फेसनको यस्तो डरलाग्दो ‘इको–सिस्टम’को असर नेपाललाई नपर्ने कुरै भएन । विश्व फेसनलाई हैरानी बनेको ‘फास्ट फेसन’ प्रवृत्तिलाई पछ्याउने नेपाल यस्तो एउटा मुलुक हो जहाँको पहिरन अर्थतन्त्र आयातमा निर्भर छ । चीन, भारत र थाइल्याण्डबाट आयात हुने ‘फास्ट फेसन’ले नेपालको फेसनमा दबदबा जमाएको छ ।

यिनै चिन्तामाझ सन् २०२४ सम्म नेपाललाई दिगो फेसनको राजधानी बनाउने अभियानको थालनी भएको छ । गत असोज ९ गते सगरमाथा आधार शिविरमा एभरेस्ट फेसन रनवे आयोजना गरियो, जसलाई गिनिज वल्र्ड रेकर्डले पनि कीर्तिमानको उपाधि दिएको छ । ५ हजार ५०० मिटरको उचाइमा बनाइएको हिउँको र्‍याम्पमा १० मुलुकबाट आएका सुपरमोडलले नेपालमा उत्पादित पहिरन लगाएर र्‍याम्प नापे ।

नेपाली फेसन डिजाइनहरु रमिला नेमकुल र पंकज गुप्ताले ठीक त्यहीबेला पृथ्वीकै सर्वोच्च थलोमा फेसन रनवे गर्दै थिए जतिबेला बेलायतको ग्लास्गोमा कोप–२६ भनिने राष्ट्रसंघीय जलवायु सम्मेलन चल्दै थियो । ‘हामी नेपाललाई दिगो फेसनको हब बनाउन चाहन्छौं,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘सरकारले साथ दिए सन् २०२४ सम्मै त्यो लक्ष्य पूरा गर्ने हाम्रो उद्देश्य छ । चुनौती पनि कायमै छन् ।’

एभरेस्ट रनवेमा प्रस्तुत गरिएका पहिरनलाई कासाले डिजाइन गरेको थियो र यसमा बुद्धिस्ट फेसन लाइन समावेश थियो । पस्मिनालाई प्राथमिकता दिएर बुनिएका डिजाइनमा नन–भायोलेन्स सिल्क प्रयोग गरिएको छ । ‘अब पनि हामी दिगो फेसनतर्फ अघि बढेनौं भने आर्थिक र वातावरणीय रुपमा असर त पार्छ नै, नेपाली फेसनले समेत ग्रोथ हुने मौका पाउँदैन,’ गुप्ता भन्छन्, ‘चाँडोभन्दा चाँडो फास्ट फेसनलाई निरुत्साहित गर्नेतर्फ सरकारले नीति नै ल्याउनुपर्छ ।’

नेपालले कोप–२६ मा सन् २०३० सम्म कार्बन उन्सर्जनलाई शून्यमा झार्दै सन् २०४५ सम्म खुद शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । तर यो प्रतिबद्धता चुनौतीरहित भने छैन किनभने विश्लेषक सरकारी लक्ष्यको सीधा असर फेसनको दिगोपनसँग पनि जोडिएको बताउँछन् । हुनसक्छ यही कारण पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्न सन् २०५० सम्म कार्बन उत्सर्जन खुद शून्यमा झार्ने प्रतिबद्धताको फेसन चार्टर उक्त जलवायु सम्मेलनमा पेस भएको छ । विश्व बैंकका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा फेसन उद्योगको योगदान १० प्रतिशत छ ।

सोही तथ्यअनुसार यदि अहिलेको गतिमा जनसांख्यिक र जीवनशैलीको गतिविधिले निरन्तरता पाइरहने हो भने सन् २०३० सम्म संसारमा ६२ मिलियन मेट्रिक टन लुगाको खपत हुनेछ । बर्सेनि आधा मिलियन टन प्लास्टिक र फाइवरलाई समुन्द्रमा फ्याँक्दा त्यसले वातावरणीय विनाश निम्त्याउने सोध पनि विश्व बैंकको छ । यस्तो समस्या पछिल्लो समय नेपालका सहरी क्षेत्रमा सिर्जिएको नेपाली फेसन डिजाइनर बताउँछन् ।

उनीहरुका अनुसार पानी अभाव र फास्ट फेसन संस्कृतिले पनि व्यापकता पाउँदा सहरी क्षेत्रमा यस्तो समस्या चर्किएको छ । हुनसक्छ, यिनै वातावरणीय समस्यालाई ध्यानमा राख्दै काठमाडौं लगायतका थलोमा ‘थ्रीप्ट’ पसल सञ्चालनमा आएका छन्, जहाँ प्रयोग भइसकेका लुगालाई पुनः प्रयोग गर्ने किसिमले योग्य तुल्याएर बिक्रीमा राखिएको छ ।

नेपालमा बढ्दैछ इको–फेसन ट्रेण्ड

नेपाली फेसन डिजाइनर तेन्जिङ छेतेन भुटिया यस्ता प्रतिनिधिमूलक पात्र हुन्, जसका पछिल्ला डिजाइन वातावरणमैत्री छन् । इन्डेपेन्डेन्ट डिजाइनरको रुपमा आफूलाई चिनाउन चाहने उनी नेपाली फेसनको भविष्य ‘फास्ट फेसन’मा नरहेको तर्क गर्छन् । ‘पुनः प्रयोग गर्न मिल्ने शैलीमा मैले पहिरन डिजाइन गर्न थालेको छु । बजारको माग र आफ्नै आर्थिक पक्षलाई ध्यानमा राखेर म यस्ता डिजाइनमा आकर्षित भएको छु,’ अनलाइनखबरसँग उनले भने ।

‘मैले धेरै डिजाइनलाई पुनः प्रयोग गरिसकें । पुराना डिजाइनलाई खोलखाल गरेर पनि नयाँ डिजाइन बनाइरहेको छु । यसले खर्च र स्रोतलाई किफायती तुल्याउँछ,’ भुटिया भन्छन्, ‘रसायन भएको कपडाले शरीर र वातावरणलाई असर पार्ने भएकाले हामीले कटनको फेब्रिक र यसको पुनः प्रयोगमा जोड दिइरहेका छौं ।’ पछिल्लो समय ग्राहकको रुचि पनि प्राकृतिक फेब्रिकबाट बनेका पहिरनप्रति भएकाले आफूहरु त्यसतर्फ उत्साहित भएको भुटिया बताउँछन् ।

‘यो आइडियालाई एकैपटक नभएर विस्तारै अघि बढाइरहेका छौं । किनभने, धेरै न्याचुरल फाइबरमा लुुगा बनाउँदा भोलि बिक्री घट्न सक्छ । किनभने हामीले पनि पेट पाल्नुपर्ने हुन्छ । यसकारण आइडियालाई बिस्तारै अघि बढाइरहेका छौं । हाम्रो फेसनको भविष्य पनि प्राकृतिक फाइबरमै हो,’ उनी भन्छन्, ‘कटनजस्ता प्राकृतिक फाइबरको स्रोत मानिने वनविनाश तीव्र रुपमा बढेको छ र यसलाई निरुत्साहित गर्नु हाम्रो दायित्व समेत हो ।’ नेपाली फेसन डिजाइनर र उपभोक्तामा यसबारे चेतना जगाउनु जरुरी रहेको उनको सुझाव छ ।

इको–फेसनको अवधारणालाई पछ्याउँदै काठमाडौं, पोखराजस्ता ठूला सहरमा पछिल्लो समय ‘थ्रीप्ट’ भनिने पसल सञ्चालनमा आएका छन् । जहाँ प्रयोग भइसकेका पहिरनलाई लगाउन योग्य बनाएर बिक्रीको लागि राखिन्छ । ती पसलमा १० देखि १०० रुपैयाँसम्म छानीछानी पहिरन किन्न पाइन्छ । सेकेन्ड ह्यान्ड भनिएपनि लगाउन र हेर्दा नयाँ देखिने यस्ता पहिरनले पानीको अभाव हुने काठमाडौंजस्ता ठूला सहरमा पुनः प्रयोगको बानीलाई प्रोत्साहन गर्ने जानकार बताउँछन् ।

लुगाको ‘रिसाइकल’ अवधारणा ल्याएर नेपालमा पहिलोपटक थ्रीप्ट पसल सञ्चालनमा ल्याउने व्यक्ति हुन् चीजमान गुरुङ । कुनैबेला काठमाडौंको बसुन्धरा, नयाँ बसपार्क र टुँडिखेलमा पुगेर लुगा बेच्ने उनले सामाखुसी, जावलाखेलसहितका क्षेत्रमा रिसाइकल स्टोर सञ्चालनमा ल्याएका छन् । सुरुमा लुगा संकलन गरेर व्यवसाय थालेका उनलाई अहिले डोनेसन गर्नेको घुइँचो छ । संकलन भएका लुगालाई धोएर, आइरन गरेर र निसंक्रमित तुल्याएर उनले बेच्न राखेका छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने र आर्थिक स्थिति कमजोर भएका ग्राहक उनको पसलमा पुगिरहेका छन् । ‘लुगा रियुज गर्दाको फाइदा बुझ्ने र पैसाको बचत गर्न चाहेन ग्राहक हामीकहाँ आइरहेका छन्,’ गुरुङ भन्छन्, ‘केही वर्षअघि निम्न वर्गका मान्छे आउँथे भने अहिले हुनेखाने युवा पनि आउने गर्छन् ।’

फेसन डिजाइनर आलिया गिरी घरमा लुगा धुँदा धेरै रसायन, पानी र बिजुली खर्च हुने भन्दै थ्रीप्ट स्टोरले ती कुरालाई बचत गर्ने बताउँछिन् । फास्ट फेसनले व्यापकता पाएको ठाउँमा पहिरनलाई फ्याँक्नुभन्दा थ्रीप्ट स्टोर सञ्चालन गरेर ल्याउनु उपयुक्त हुने सुझाव उनको छ । ‘पहिरन अभाव हुनेलाई एकदमै राम्रो हुन्छ । लुगा खेर फाल्नुभन्दा पुनः प्रयोग गर्न सकिए यसले वातावरणीय र आर्थिक रुपमा पनि फाइदा पुग्छ,’ फिल्ममा समेत कस्ट्युम डिजाइन गरेकी गिरी भन्छिन्, ‘नेपालले पनि यस्तो आइडियालाई अघि बढाउनुपर्छ ।’

वातावरण विज्ञ डा. मीना बोहरा नेपाल फेसनको ‘सफ्ट–पावर’ बन्न सक्ने बताउँछिन् । ‘हाम्रो विकल्प भनेकै इको–फ्रेन्ड्ली अप्रोचमा अघि बढ्नु हो । जीवनशैलीलाई पनि इको–फ्रेन्ड्ली बनाउनुपर्‍यो,’ उनले भनिन्, ‘हामीले उत्पादन गर्ने भन्दा पनि फेसनको कच्चा पदार्थलाई भारत लगायतका मुलुकमा बढी निर्यात गर्छौं । सो कच्चा पदार्थलाई दिगो रुपमा प्रयोग गर्नु जरुरी छ । यो हाम्रो लागि अवसर र चुनौती दुवै हो ।’

दिगो फेसनबारे विज्ञ के भन्छन् ?

कोरोना महामारीअघि पाटन दरबार स्क्वायरमा आयोजित संवादमा नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले फेसनलाई पहिरनभन्दा पनि सोच भएको बताएका थिए । ‘तपाईंले पहिरनमार्फत कथा भन्न सक्नुभएन भने फेसन केवल पहिरनमा मात्र सीमित हुनेछ,’ उनले भनेका थिए, ‘फेसन एउटा अवधारणा हो, कहिलेकाहीं यसले आवाज र पहिचानको रुप लिन्छ ।’ सोहीकारण आफूले आफ्ना डिजाइनमा नेपाली संस्कृति, अल्पसंख्यकको आवाज र राजनीतिक पक्षधरता प्रस्तुत गर्ने गुरुङको भनाइ छ ।

सोही बेला सोधिएको जिज्ञासामा गुरुङले दिगो फेसन नै नेपाली फेसनको भविष्य रहेको बताएका थिए । आफ्नो डिजाइनमा अमेरिकी फस्टलेडी मिसेल ओबामादेखि बेलायती राजकुमारी केट मिडल्टनसहित हलिउड तथा बलिउड अभिनेत्रीलाई सजाइसकेका प्रबलले पटक–पटक फास्ट फेसनको कारण फेसन उद्योगको भविष्य नै संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । गुरुङसहितका डिजाइनर केही यस्ता सुझाव दिन्छन् जसलाई आत्मसात गर्न सकिए फेसनको भविष्य उज्वल हुनसक्छ ।

गुरुङ र भुटियाजस्ता डिजाइनर दिगो फेसन अर्थात् प्राकृतिक फाइबरबाट बनेका फेसन ब्रान्डमा लगानी बढाउनुपर्ने बताउँछन् । जस्तै, स्पोर्ट्सवेयर खरिद गर्दा गर्लफ्रेन्ड कलेक्टिभ र इन्डिगो लुनाजस्ता ब्रान्ड, स्विमवेयर खरिद गर्दा स्टेवाइल्ड स्विम र नतासा टोनिक ब्रान्ड तथा डेनिमका पहिरन उपयुक्त छनोट हुनसक्ने उनीहरुको सुझाव छ ।

सेकेन्डह्यान्ड र भिन्टेज पहिरन खरिद गर्न समेत उनीहरुको सुझाव छ । नयाँ किन्नुभन्दा राम्रा र आकर्षक पहिरनलाई रेन्टमा पनि लिन सकिने उनीहरु बताउँछन् । एक अध्ययनका अनुसार महामारीअघिको एक वर्षमा बेलायतमा ५० मिलियन पहिरनलाई रेन्टमा लिइएको थियो । यसले गार्मेन्ट र टेक्सटाइलको मागलाई न्यूनीकरण गर्ने फेसन डिजाइनर बताउँछन् ।

संसारभर उपलब्ध हुने पहिरनको ५५ प्रतिशत हिस्सा पोलिस्टरले ओगट्ने भएकाले निर्मम भएर मात्र वातावरणमैत्री पहिरन खरिद गर्न सकिन्छ । अर्गानिक कटनमा रसायनको प्रयोग नहुने भएकाले स्वास्थ्यमा असर पनि नगर्ने उनीहरुको भनाइ छ । आफूले खरिद गर्न लागेको पहिरन कुन फेब्रिकबाट उत्पादन भएको हो, त्यो पत्ता लगाएर मात्र खरिद गर्न उनीहरुको सुझाव छ ।

पहिरन कसले उत्पादन गरेको, उक्त ब्राण्डले वातावरणीय प्रदूषण घटना कत्तिको वैज्ञानिक प्रतिबद्धता पूरा गरेको छ भन्ने कुरा बुझ्न पनि उनीहरुको सुझाव छ । जस्तो, गुस्सी ब्राण्डले पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जनमा प्रतिबद्ध रहने जनाइसकेको छ । फेसनले कसरी वातावरणमा सकारात्मक प्रभाव पार्नेछ भन्ने कुरा बुझेर मात्र सपोर्ट गर्न पनि उनीहरुको सुझाव छ ।

पहिरन खरिद गर्दा त्यसमा प्रयोग भएका हानिकारक रसायनले मानव शरीरमा असर पार्न सक्नेतर्फ ध्यान दिनुपर्ने बताइन्छ । संसारको टेक्सटाइटल उद्योगले मात्रै बर्सेनि ९३ मिलियन क्यूविक लिटर पानी (३७ वटा ओलम्पिक स्विमिङ पुल बराबरको पानी) खपत गर्ने भएकाले यसतर्फ सोच्न उनीहरु सुझाउँछन् ।

जनावरको छाला र रौंबाट बन्ने पहिरन प्रयोगतर्फ सचेत रहे मात्र दिगो फेसनलाई अघि बढाउन सकिने र ‘भिगन फेसन’लाई आत्मसात गर्न सकिने सुझाव पनि छ । पहिरनको जतन र पुनः प्रयोग गर्न मिल्ने ढंगले उचित ख्याल गर्न समेत विज्ञहरु सुझाउँछन् । हलिउडमा समेत चर्चित फेसन डिजाइन गुरुङ भन्छन्, ‘परिवारबाटै यस्तो काम गर्न सकिए यसले सबै पक्षमा राम्रो प्रभाव अवश्य पार्नेछ ।’

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?