+
+

‘विश्वकप रंगशाला बनाउँदा बुबाको ज्यान गयो, हामीले केही पाएनौं’

बुबाले आफ्नो रगतपसिना बगाएर कतारको विश्वकप रंगशाला बनाउन जीवन खर्चिनुभयो । तर उहाँको मृत्यु भएपछि पनि हामीले कम्पनीबाट कुनै रकम पाएका छैनौं । उहाँले १२ वर्षसम्म काम गरेको बोनस रकम पक्कै थोरै थिएन ।

लहान-२ (परिवर्तित नाम) बालश्रमिक लहान-२ (परिवर्तित नाम) बालश्रमिक
२०७८ चैत २५ गते १८:४८

मेरो घर सुखीपुर नगरपालिका, सिरहामा पर्छ । मेरा बुबा ४० वर्षको उमेरमा बित्नुभयो । उहाँ १२ वर्षअघि अर्थात् सन् २०१० मा कतार जानुभएको थियो । यहाँ ज्याला गरेर कमाएको रकमले दुई छाक खानपनि नपुग्ने भएपछि उहाँ कतार जानुभएको हो । अहिले मसँगै मेरा तीन भाइहरूसँगै बस्छौं ।

बुबालाई जुन कुराको अभावले गर्दा कतार जान बाध्य बनायो, अहिले पनि हामी त्यहीँ आर्थिक संकटको सामना गरिरहेका छौं । मेरो बुबा कतारको दोहास्थित स्टेडियम निर्माणका लागि चाहिने कंकि्रट बनाउने काम गर्नुहुन्थ्यो । सन् २०१० मा बुबा कतार गएपछि उहाँलाई हामीले घर फर्किएको बेलामा तीन पटकमात्र भेट्न पायौं ।

मेरो बुबाको मृत्युको खबर आमाले फेसबुकमार्फत् थाहा पाउनुभएको हो । बुबाका साथीले टेलिफोन गरेर मृत्युको घटनाबारे जानकारी गराउनु भएको थियो । हामीले बुबाको मृत्यु भएको १२ दिनपछि मात्र उहाँको साथीमार्फत् खबर पायौं । मेरो बुबाको डेढ वर्षअघि सन् २०२० मा कतारमा मृत्यु भएको हो । तर, हामीले बुबाको मृत्युबारे कम्पनी वा त्यहाँको सरकारबाट आधिकारिक जानकारी नै पाएनौं ।

कम्पनीबाट बुबाका साथीलाई खबर गर्ने व्यक्ति को थिए, त्यो पनि हामीलाई थाहा छैन । तर हामीलाई प्राप्त सूचनाअनुसार बुबाको मृत्युको कारण कोरोना भाइरसको संक्रमण थियो । तर, के साँच्चिकै कोभिड वा अन्य कुनै कारणले ज्यान गएको हो भन्ने थाहा छैन । किनभने कम्पनीका अधिकारीले मृत्युको कारणबारे कहिल्यै जानकारी दिएनन् । कोभिड-१९ को संक्रमण फैलिएका कारण लागेको प्रतिबन्धले गर्दा मेरो बुबाको शव नेपाल आइपुग्न सकेन । त्यसैले त्यहाँबुबाको शवलाई कतारको साझा चिहानमा राखेर गाडेछन् ।

मेरो बुबाले कतारस्थित रंगशालामा काम गरिरहेका बेला म यता अध्ययनका लागि स्कुल गइरहेको थिएँ । तर जब मेरा बुबाको मृत्यु भयो, मसँग धेरै विकल्पहरु भएनन् । मैले स्थानीयस्तरमा निर्माणसम्बन्धी मजदुरको काम गर्न थाले । मैले परिवारको दैनिक छाक टार्ने खर्चको जोहो गर्न काम गर्नुपरेको हो । हामीले कतैबाट पनि सहयोग पाएका छैनौं । अहिले हामी एक्लो भएका छौं ।

मसँग अहिले मजदुरी गर्नेबाहेकको अरू विकल्प छैन । मलाई कतारले विश्वकप आयोजना गरोस् वा नगरोस् कुनै वास्ता छैन । परिवारको आर्थिक संकट टार्न कसरी पैसा कमाउने भन्ने मेरो चिन्ता छ । मैले विद्यालयलाई मेरो भाइको अध्ययन शुल्क तिर्ने पैसा नभएर कसरी रकम जुटाउने भनेर सोचिरहेको बेला कतार विश्वकपबारे वास्ता नभएको हो ।

मेरो बुबाले आफ्नो रगतपसिना बगाएर कतारको विश्वकप रंगशाला बनाउन आफ्नो जीवन खर्चिनु भयो । तर पनि उहाँले कम्पनीबाट पाउनुपर्ने बोनस समेत पाउनुभएन । बुबाको मृत्यु भएपछि पनि हामीले कम्पनीबाट उक्त रकम पाएका छैनौं । बोनसबापत पाउनुपर्ने रकम कति थियो, त्यो थाहा छैन । तर उहाँले १२ वर्षसम्म काम गरेको बोनस रकम पक्कै थोरै थिएन ।

बुबा गुमाएपछि म असहाय भएँ । मलाई मानसिक तनाव र एक प्रकारको डिप्रेसनको समस्या हुन थाल्यो । त्यो समयमा मैले काम नगरेको दिन परिवारलाई खाना खुवाउन सक्दिन थिएँ । मेरो परिवारका सबै सदस्यको आर्थिक अवस्था मैले गर्ने श्रममा निर्भर छ । मेरो परिवारमा आम्दानीका लागि काम गर्ने म मात्र एक जना हो । मेरो एक जना सात वर्षका भाइले छिमेकी गाउँको माछा फार्ममा काम गर्छन् । तर उनको कमाइले परिवारको खर्च धान्न पुग्दैन । त्यसैले परिवारको खर्च धान्न मैले काम गर्नै पर्छ ।

मेरो बुबाले कतारमा कामगर्ने क्रममा ज्यान गुमाएको भएपनि मैले मेरा साथीलाई खाडी नजान भन्न सक्दिनँ । किनभने उनीहरूसँग पनि थप विकल्पहरू छैनन् । उनीहरू खाडीमा काम गर्न जाने वा नजाने भन्ने कुरा उनीहरुको परिवारको आर्थिक अवस्थाले निर्धारण गर्छ । यहाँ हाम्रो समुदायमा दैनिक गर्ने ज्याला मजदुरीको कामले खर्च धान्न सकिँदैन ।

हामी गरिबीमा बाँचिरहेका छौं । त्यसैले आम्दानीका लागि जोखिम मोलेर भएपनि विदेश जानुपर्ने बाध्यता छ । हामीले अहिलेसम्म स्थानीय सरकार समक्ष रोजगारीका लागि सहयोग उपलब्ध गराउन कुनै आग्रह गरेका छैनौं । किनभने स्थानीय सरकार समक्ष सहयोगका लागि आग्रह गर्नु बेकार हो । त्यसैले हामीहरु खाडी कसरी जान सकिन्छ भन्ने कुरामा मात्र केन्द्रित छौं ।

जब बुबाले खिचाएको उहाँको पछिल्लो फोटो हेर्छु, मलाई भित्रैदेखि उहाँको याद आउँछ । म एकदमै भारी र पीडा महसुस गर्छु । मेरो बुबा एकदमै फरक स्वभाव भएको र गाउँका चरित्रवान् व्यक्तिमध्येका एक हुनुहुन्थ्यो । त्यसैले उहाँको मृत्युको खबर सुनेपछि समुदायका धेरै व्यक्तिले दुःख व्यक्त गरे ।

बुबासँगको मेरो पछिल्लो टेलिफोन कुराकानीमा उहाँले कस्तो कामगर्ने र कस्तो काम नगर्ने भनेर निर्देशन दिनुभएको थियो । उहाँ हाम्रालागि मार्गनिर्देशक र पथप्रदर्शक हुनुहुन्थ्यो ।

(लहान २ ले पत्रकारहरू रामु सापकोटा, क्वान्टिन मुलर र सेबास्टियन कास्टलियरसँग गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?