+
+

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाखको उपकरण गायब

जनक विष्ट जनक विष्ट
२०७८ चैत २८ गते १७:०६

२८ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाख रुपैयाँ पर्ने उपकरण हराएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ को पशुपन्छी तथा मत्स्य रोग सर्भेन्स रिर्पोटिङ कार्यक्रम अन्तर्गत ११ लाख १८ हजार रुपैयाँमा खरिद गरेर हस्तान्तरण गरेको वाटर क्वालिटी टेस्टिङ (पानीको शुद्धता मापन गर्ने) मेसिन हराएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले २५ माघ २०७७ मा कृषि मन्त्रालयलाई लेखेको पत्रमा प्रयोगशालामा सोसहित पाँच वटा मेसिन जडान गरिएको उल्लेख छ ।

पत्रमा उल्लेख भएअनुसारका चार वटा मेसिन पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भए पनि उक्त मेसिन भेटिएको छैन । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख भएर आएका डा.नारायणप्रसाद घिमिरेले पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त भएका पाँच वटामध्ये वाटर क्वालिटी टेस्टिङ मेसिन कार्यालयमा नभेटिएको अनलाइनखबरलाई बताए ।

‘तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा.नन्दकिशोर यादव सरले २५ माघ २०७७ मा लेखी पठाएको पत्रमा अन्य चार वटा उपकरणसहित वाटर क्वालिटी टेस्टिङ मेसिन पनि जडान भएको उल्लेख छ,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘तर कार्यालयमा मेसिन नभेटिएको साँचो हो । कृषि मन्त्रालयले समेत दाखिला प्रतिवेदन मागेको थियो, तर सामान दाखिला पनि गरेको भेटिदैन् ।’

तत्कालीन प्रमुखसहितका कर्मचारीको आ–आफ्नै दाबी

सरकारी सम्पत्ति हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेपछि मात्रै मेसिन हराएको थाहा भएको हो । ४ फागुन २०७८ मा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गरेर आवश्यक कागजपत्र मागेको देखिन्छ ।

मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई १८ चैतमा दाखिला प्रतिवेदन मागेकोमा २० चैतमा प्रयोगशालाले सामान नभेटिएको भनेर मन्त्रालयलाई जवाफ दिएको छ । तर पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जडान गरिसकेको भनिएको उपकरण त्यहाँबाट कसरी हरायो ? भन्ने प्रश्नमा तत्कालीन कार्यालय प्रमुखदेखि स्टोर किपरसम्मका कर्मचारीहरुले आ–आफ्नै दाबी गरेका छन् ।

तत्कालीन कार्यालय प्रमुख डा.नन्दकिशोर यादवले मन्त्रालयबाट प्राप्त भएका सबै उपकरण २५ माघ २०७७ मै प्रयोगशालामा जडान गरिसकेको दाबी गरेका छन् ।

‘मेरै पहलमा हामीलाई यी–यी सामान चाहिन्छन् भनेर मन्त्रालयको सहयोगमा पाँच वटा उपकरण खरिद गरिएको थियो । ती सबै उपकरण त्यही बेला जडान गरेको थियौं,’ यादवले अनलाइनखबरसँग भने, ‘लगत्तै केही दिनमा मेरो सरुवा भइहाल्यो । त्यसपछि त्यहाँ उल्टोपुल्टो पार्ने काम भएको छ ।’

सबै उपकरण जडान भइसकेको भनेर मन्त्रालयलाई पत्र लेखेको केही दिनमै यादवको सरुवा भएको छ । तत्कालीन स्टोर किपर राधिका साउदले भने पशुुपन्छी रोग अन्वेषण प्रयोगशालामा उपकरण जडान भएको विषयमा आफूलाई जानकारी नभएको बताइन् । ‘प्रयोगशालामा उहाँहरुले के–के उपकरण जडान गर्नुभयो ? त्यो मलाई थाहा छैन, किनकी त्यो बेला म कहाँ हस्तान्तरण फारम नै पुगेन त्यसैले त्यो बारेमा थाहा भएन,’ साउदले अनलाइनखबरसँग भनिन् ।

अख्तियारमा उजुरी परेपछि पूरानै मिति राखेर हस्तान्तरण फारम भरियो !

तत्कालीन समयमा स्टोर किपरलाई समेत जानकारी नदिएर उपकरण जडान गरिएको दाबी गरे पनि हस्तान्तरण फारम भने भरेको देखिदैन ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेपछि पुरानै मिति राखेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई हराएकोसहित पाँचवटा उपकरण हस्तान्तरण गरेको भनेर कित्र्ते कागज गरिएको दाबी स्रोतको छ ।

‘पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका तल्लो तहका कर्मचारी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै सामान हस्तान्तरण महाशाखाका कर्मचारीबाट हस्ताक्षर गर्न लगाएर कित्र्ते गर्ने काम भएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘माघ २५ गते जडान भएको भनेर चैत ११ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा फर्जी कागज बनाउने काम भएको छ ।’

तत्कालीन कार्यालय प्रमुख यादवले २५ माघमा आफू कार्यालय प्रमुखकै रुपमा काम गरिरहेको बताउँदै हस्तान्तरण फारम नभरिएको बताए । तर अहिले त्यो मितिमा तल्लो तहका कर्मचारीबाट सामान बुझेको हस्ताक्षर गराएको भन्ने सुनेको उनी बताउँछन् ।

हराएको मेसिनको खोजी जारी

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट हराएको वाटर क्वालिटी टेस्टिङ मेसिनको खोजी भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले तत्कालीन समयमा मन्त्रालयबाट पठाइएका उपकरण जडान भएको भनेर प्रयोगशालाले जानकारी गराएको तर अहिले एउटा मेसिन हराएको पाइएको बताए ।

‘हामीले सबै प्रक्रिया पूरा गरेर, कानून बमोजिम टेन्डर गरेर ती उपकरण पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई हस्तान्तरण गरेका हौं,’ बोहराले अनलाइनखबरसँग भने, ‘तर ती मध्ये त्यहाँबाट एउटा मेसिन हराएको कुरा आएकाले त्यसकोे खोजी भइरहेको छ ।’

मन्त्रालयले मेसिनको खोजी भइरहेको बताए पनि कर्मचारीहरुकै मिलेमतोमा मेसिन बिक्रि गरिएको दाबी स्रोतको छ । ‘तर अख्तियारमा मुद्दा परेपछि बिक्रि गरिएको मेसिन फिर्ता ल्याउन कृषि मन्त्रालय र पछुपन्छी अन्वेषण प्रयोगशालाका तत्कालीन कर्मचारीहरुबीच व्यापक छलफलमा छन्,’ स्रोतले भन्यो, ‘सम्भवतः केही दिनमा धनगढी आइपुग्छ होला ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले भने सरकारी सम्पत्ती हिनामीना गरिएको भन्दै परेको उजुरीमाथि छानविन गर्ने काम भइरहेको जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?