 
																			– २०७८ सालमा १३ नेपाली फिल्म रिलिज । ६ देखि ७ करोड घाटा । ४ देखि ५ करोड मात्र कमाइ । कुनै पनि फिल्मले लगानी उठाउन सकेनन् । (चलचित्र विकास बोर्ड र बक्स अफिस तथ्यांक)
– नेपालमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’को दुई साताको कमाइ १२ करोड । ‘स्पाइडरम्यानः नो वे होम’को लाइफटाइम कलेक्सन ७ करोड ३० लाख -एप्पल इन्टरटेनमेन्ट र वितरक)
– नेपाली र्याप गायनमा जी-बबको उदय, टिकटकले बदलेको सांगीतिक ल्यान्डस्केप र फेसबुकको माउ कम्पनी मेटासँग नेपाली गीतको रोयल्टीबारे सम्झौता ।
प्रस्तुत तीन अंकगणित र तथ्यले वर्ष २०७८ मा नेपाली फिल्म र संगीतको चरित्रलाई व्याख्या गर्छन् । यी तथ्यभित्र एकातिर ‘टाइटानिक’ जहाजजस्तै डुबेको नेपाली फिल्मको चित्र छ भर्ने अर्कोतिर कोरोना महामारीको बीचमा खिचिएको कालो बादलमा चाँदीका घेराहरू ।
यस्तो लाग्छ, ५५ वर्ष लामो नेपाली फिल्म इतिहासमा यस्तो ‘अभूतपूर्व संकट’ यसअघि कहिल्यै देखिएको थिएन । दुई दशकअघिदेखि सुरु भएको संकटको आयतन यति फराकिलो भएको छ कि नेपाली फिल्म यतिबेला ‘अस्तित्व संकट’को लडाइँ लड्दैछ । यो लडाइँ नेपाली फिल्म आफैंले आफैंसँग लडिरहेको ‘पहिचान’को द्वन्द्व हो ।
यतिबेला नेपाली फिल्म दुई पक्षसँग द्वन्द्व गर्दैछ । पहिलो- दृश्यभाषाको मानक स्थापना गर्ने द्वन्द्व (सफ्टवेयर) र दोस्रो- पूर्वाधार, जनशक्ति र बक्स अफिस (हार्डवेयर)सँगको द्वन्द्व । कोरोना महामारीले घरेलु फिल्मको निर्माण, प्रदर्शन र वितरणको चक्रमा ‘अभूतपूर्व’ धक्का दिएपछि नेपाली फिल्मको संरचना जगदेखि नै हल्लिएको छ । संकटको केन्द्रमा नेपाली फिल्म मात्र छैन, यसको पाठशाला मानिने बलिउड समेत छ ।
कोरोना महामारीको दुई वर्ष सम्झँदा बक्स अफिस मात्र हैन, जीवनको गति नै ठप्प थियो । कोरोनाको तेस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ ले आशाको किरण त ल्यायो, सँगै चुनौतीको ‘पाण्डोरा’ बाकस पनि । आगामी दुईदेखि तीन वर्ष नेपाली फिल्मले अस्तित्वको लडाइँ लड्नुपर्ने विश्लेषण गरिंदैछ । त्यो लडाइँ महामारीले सिर्जना गरेको ‘साइड-इफेक्ट’सँग हुनेछ ।
महामारीको सबैभन्दा ठूलो ‘साइड-इफेक्ट’ नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा’, ‘आरआरआर’ र हलिउडको ‘स्पाइडरम्यान’को प्रदर्शनसँगै सुरु भएको छ ।
भन्नुको अर्थ, महामारीले रोकिएका विदेशी ब्लकबस्टर फिल्म तीन वर्षसम्म एकपछि अर्को प्रदर्शन हुनेछन् । त्यतिञ्जेल नेपाली फिल्म दृश्यभाषाको पहिचान स्थापनामा कत्तिको अब्बल हुनेछ भन्ने गुञ्जायस रहन्छ । अर्कोतर्फ, वाषिर्क ७५ करोड कारोबार गर्ने फिल्म उद्योग ९ महिना ठप्प हुँदा पुगेको क्षतिपूर्ति र पलायन भएको २५ प्रतिशत जनशक्तिको पुनस्र्थापना चुनौतीपूर्ण छ ।
आत्मा र आवरणको मूल्यमा आएको यस्तो चुनौती हेर्दा लाग्छ, यो दशकको अन्तिम वर्ष २०७९ सजिलो भने हुनेछैन । वर्ष २०७८ ले यसको स्पष्ट संकेत दिइसकेको छ । यस वर्ष वर्ष रिलिज भएका १३ वटै फिल्मले लगानी उठाउन नसक्नु र कुनै एकले पनि दृश्यभाषाको व्याकरणका आधारभूत पक्षलाई पनि आत्मसात गर्न नसक्नु दुर्भाग्यपूर्ण छन् ।
नेपालमा निर्माता सुनिलकुमार थापाले साउथ इण्डियाको ९०० करोडको फिल्मसँग तीन करोडको फिल्मले प्रतिस्पर्धा गर्नुपरेको भन्ने गुनासो होस् वा हिन्दी फिल्मका स्टार सलमान खानले आफूहरुका फिल्म दक्षिण भारतमा चल्न छाडे भनेर गरेको गुनासो । यी ‘गुनासा’ संयोग मात्र होइनन्, यसभित्र एउटै दृश्यभाषाको पाठशालामा हुर्किएका बलिउड र नेपाली फिल्मको साझा भोगाइ र अवसाद मिसिएका छन् ।

किनभने बलिउडले जहिल्यै कथित स्टारडम र क्लिसे कथालाई पछ्याउँदै समय बितायो । उसले क्राफ्टम्यानसिप र अन्वेषणलाई बेवास्ता गर्यो । दक्षिण भारतीय फिल्ममा हुने रोचकता, मर्मस्पर्शी कथा र क्राफ्टलाई आत्मसात गरेन । दर्शकले रोचक कथा हेर्न चाहन्छन् भन्ने बोध बलिउडलाई भएन । नेपाली फिल्म पनि त्यही क्लिसे बलिउड शैलीलाई आदर्श मान्दै अघि बढ्यो ।
१०० वर्षको इतिहास बोकेको बलिउड र आधा शताब्दीको नेपाली फिल्मले इतिहासमा यस्तो संकट कहिल्यै भोग्नुपरेको थिएन । संकटको प्रादुर्भाव भइसकेको र यसलाई ‘खतराको घण्टी’को रुपमा बुझ्नुपर्ने जानकार बताउँछन् । तर बलिउड कमजोर हुँदा फाइदा हुने नेपाली फिल्मलाई नै हो किनभने स्टारडम र क्लिसे कथा अब कमजोर भइसके । दृश्य शिल्पलाई बेवास्ता गर्नुको पीडा हामीले भोगिरहेका छौं ।
कथामै चुक्यो नेपाल
वर्ष २०७८ मा घरेलु बक्स अफिसमा १३ नेपाली फिल्म प्रदर्शन भए । वैशाख १५ गते कोरोनाको दोस्रो लहरले बन्द भएका हल दशैंमा खुले । ‘फास्ट एण्ड फ्युरियस ९’ले ओपनिङसँगै सन्तोषजनक व्यापार गर्यो । त्यसपछि क्रमशः डाँडाको वरपीपल, धुम ४, ओभरडोज, चुरीफुरी, कठपुतली, सकिन भुल्न तिमीलाई, चपली हाइट-३ रिलिज भए । अनि फेरि तेस्रो लहरको निषेधाज्ञा सुरु भयो ।
पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, लप्पन छप्पन २, आकाशे खेती, चिसो एस्ट्रे, हेल्लो जिन्दगी र मैले आई लभ यू भन्नै सकिनँ रिलिज भए । तर कुनैले पनि लगानी उठाउन सकेनन् । समस्या हलको शो र विदेशी फिल्मको ‘प्रभुत्व’मा थिएन, फिल्मको कथा संरचना, मनोचेतना, सिनेम्याटिक शिल्प र नियतमा थियो । समस्या, दृश्यभाषाको संरचनामा कथा नबुन्दा थियो । ती फिल्मसँग आवरण त थियो, तर आत्मा थिएन ।
तर केही फिल्ममा इमान्दार निर्देशकीय प्रयत्न भएको छ । ‘कठपुतली’ र ‘चिसो एस्ट्रे’ले अलग जनरामा दृश्यभाषा बुन्ने प्रयत्न त गरे, तर यी फिल्मसँग सिनेम्याटिक क्राफ्टको अभाव रह्यो । अन्ततोगत्वा नेपाली फिल्म कथामै चुक्यो ।

वर्ष २०७८ कथाले जितेको वर्ष पनि हो । क्लिसे कथा नै सही ‘स्पाइडरम्यानः नो वे होम’ले नेपाली बक्स अफिसमा झण्डै साढे सात करोड रुपैयाँ कमायो । टम हल्यान्ड स्टारर फिल्ममा नवीनता थिएन बरु उही कथालाई नयाँ क्राफ्टमा प्रस्तुत गरिएको थियो ।
पुरानै कथालाई ‘मास सेन्टि्रक’ शैलीमा स्पष्ट रुपमा भनिएको स्पाइडरम्यान हिट हुनुको निष्कर्ष हो, वर्ष २०७८ कथाको जित पनि हो ।
नेपाली हलमा दक्षिण भारतीय फिल्म पुष्पा र आरआरआरको दबदबा कथाले जितेको उदाहरण पनि हो । यी फिल्मको कथामा नवीनता थिएन, उही हिरोगिरी र महाभारत, बरु दृश्य क्यानभासमा पस्किइएको भव्यता र स्वैरकल्पना दर्शकलाई पि्रय लाग्यो । प्रश्न, फिल्ममा कथा के हो, होइन ? बरु कथावाचनले दर्शकसँग कत्तिको बलशाली अन्तक्रिया गर्छ र इन्गेज तुल्याउँछ भन्ने हो ।
अहिले हलिउड र दक्षिण भारतीय फिल्मले गरिरहेको अभ्यास भनेकै ‘मास सेन्टि्रक’ कथा वाचनको शैली हो । नेपाली र बलिउड फिल्म यसबाट पूर्णतः विमुख देखिएका छन् ।
यसर्थ, वर्ष २०७८ नेपाली फिल्मको लागि सबैभन्दा कमजोर वर्ष बन्यो । यसलाई कमजोर वर्षको अर्को श्रृंखला मान्न सकिन्छ । किनभने नेपाली फिल्मको कमजोरीको सिलसिला महामारी अघिदेखि नै सुरु भएको हो । पहिलो लकडाउनअघिदेखि नै हलहरु सुनसान मात्र थिएनन्, विदेशी फिल्मको प्रभुत्व पनि उच्च थियो । नेपाली फिल्म क्षेत्र यसअघि नै संकटमा थियो र भाइरसले धक्का मात्र दिएको हो ।
वर्ष २०७९ सुरु हुनै लाग्दा नेपाली फिल्मको अर्थराजनीतिक आयाममा उथलपुथल ल्याउने संकेत देखिंदैछ । बितेको वर्ष २५ प्रतिशत फिल्मकर्मी पलायन भए, सिंगल स्क्रिन बन्द भए, कोही मल्टिप्लेक्समा रुपान्तरित भइसके । विदेशी बजार अहिले पनि खुलेको छैन र करोडौं लगानीमा निर्माण भएका दुई दर्जन फिल्म रिलिजको तयारीमा छन्, तर रिलिजको अत्तोपत्तो छैन । करोडौं फसाएर बसिरहेका निर्माताको हैरानीको कथा झनै मर्मस्पर्शी छ ।
‘नेपाली फिल्मलाई अस्तित्वकै चुनौती’
निर्देशक मनोज पण्डित नेपाली फिल्मको सुधारका लागि भएपनि नेपाली फिल्ममा ‘चरम अस्तित्वको संकट’ एकपटक आउनैपर्ने बताउँछन् । ‘नेपाली फिल्मले माथि उठ्न आफ्नो न्यारेटिभको चरित्र स्थापित गर्नुपर्छ । हामीसँग हाम्रो सिनेम्याटिक चरित्र केही पनि छैन,’ उनी भन्छन्, ‘अनि हामी अस्तित्व क्राइसिस भयो भनेर आत्तिरहेका छौं । ५०/५१ सालदेखि हामीले अस्तित्वलाई गुमाउँदै गएका छौं । अब त्यो अस्तित्व गुमाउनुको पीडा सबैले महसुस गर्नुपर्छ । यो संकट स्वभाविक हो । आउनुपर्छ र आएपछि जान्छ पनि । यसको लागि संघर्ष गर्नुपर्छ ।’

निर्देशक पण्डित नेपालमा आइरहेको अन्तर्राष्ट्रिय फिल्मको बाढीलाई रुस-युक्रेन युद्धसँग तुलना गर्छन् । ‘उनीहरु हस्तक्षेप गर्न आउलान्, तर हाम्रो लडाइँ हाम्रो स्वतन्त्रता जोगाउने संघर्षमा हुनुपर्छ । हामीले लड्ने लडाइँ भनेको हाम्रो स्वतन्त्र शैली, हाम्रो युनिकनेस, हाम्रो माटोमा रहेको मूल्यहरुको कथा हुन् । हामीले जित्छौं पनि,’ उनी भन्छन्, ‘आज युक्रेनले रुसलाई चुनौती दिएजस्तै हामीले पनि चुनौती दिन सक्छौं । यसको लागि आफ्नो पहिचान हुनुपर्छ ।’
नेपाली फिल्मले आउने चुनौतीसँग लड्न कुनै तयारी नगरेको पण्डित बताउँछन् । ‘हिजो कोरोनाको लकडाउन थियो । अब चाहिं वास्तविक रुपमै नेपाली फिल्ममा विशुद्ध लकडाउन हुने समय आउनसक्छ,’ उनको टिप्पणी छ, ‘नेपाली फिल्मले त्यो प्रतिरोधको शक्ति निर्माण गरेको छैन ।’
निर्देशक नवीन सुब्बा महामारीपछि बन्ने नेपाली फिल्म मौलिक, गुणात्मक र प्रतिस्पर्धी हुनुपर्ने बताउँछन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न नसके फिल्मको अस्तित्व नै नरहने उनको तर्क छ । ‘हिजोको जस्तै फिल्म बनाएर चलाउन खोज्छौं भने हामीलाई घरेलु दर्शकले साथ दिनेवाला छैनन् । त्यस किसिमको तयारी हामीले गर्नुपर्छ । जनशक्ति पनि त्यही रुपमा तयार गर्नुपर्यो,’ उनी भन्छन्, ‘विश्वमा मानवले फिल्ममा जुन ज्ञान बटुलेको छ, त्यो स्तरको ज्ञान हामीमा हुनुपर्यो अथवा उत्पादन गर्न सक्नुपर्यो । त्यो स्तरको ज्ञान हामीसँग अहिले छ जस्तो लाग्दैन ।’

उनी अगाडि भन्छन्, ‘प्रविधिले संसारलाई सानो बनाइसक्यो । यस्तोमा उत्तिकै मौलिक र गुणस्तरीय फिल्म बनाउन सकिएन भने फिल्म क्षेत्रमा हाम्रो पहिचान रहँदैन । अहिले फिल्म क्षेत्रले चिन्ता गर्नुपर्ने विषय यही हो ।’ सम्भावना बोकेका युवा फिल्मकर्मी आउन थालेपनि नयाँ पुस्तालाई कसरी संरक्षण गरेर जाने भन्नेतर्फ चासो नदेखिएको सुब्बा बताउँछन् ।
संकटमा पनि मौलायो संगीत
कोरोना महामारीले फिल्म क्षेत्रलाई ठप्प प्रायः बनाएपनि संगीत क्षेत्र भने कम प्रभावित रह्यो । डिजिटल प्लेटर्फमको अनुकूलता पनि यो विधालाई संकटमा मौलाउने अवसर बन्यो । वर्ष २०७८ मा नेपाली संगीतमा राम्रा काम भए । टिकटक, युट्युब र टेलिभिजन रियालिटी शोका माध्यमले संगीत फुल्ने मेसो बन्यो । स्टेज कार्यक्रम ठप्प भएपनि वर्षको पछिल्लो छेकोमा सुचारु भएका मात्र छैनन्, तीन वर्ष रोकिएको अन्तर्राष्ट्रिय टुर पनि सुरु भए । भौतिक कार्यक्रम नभएपनि संगीतको काम रोकिएन ।
बितेको वर्ष चिनियाँ भिडियो साझेदारी एप टिकटकको प्रभुत्व नेपालमा जबर्जस्त पर्यो । नेपाली संगीतको ‘ल्यान्डस्केप’ नै परिवर्तन गर्ने श्रेय बितेको वर्ष टिकटकलाई जान्छ । गीतलाई ब्लकबस्टर बनाउने वा फ्लप, यसको सूचक टिकटक बन्यो । प्रकाश दूतराजको ‘जाम भो माइली’ यो ट्रेन्डको एउटा उदाहरण हो । यही कारण रोयल्टी समाजले फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटासँग रोयल्टीबारे सम्झौता गरेको छ र टिकटकसँग वैशाखमा सम्झौता तयारी छ ।
संगीतका विधामा अन्वेषण र प्रयत्नको प्रशंसनीय काम भएको छ । पछिल्लो वर्ष जबर्जस्त विकास भइरहेको सांगीतिक जनरा हो हिपहप विधाको र्याप । अल नेपाल थग फेमिली (एएनटीएफ) र्याप प्रतिस्पर्धाबाट जी-बबको उदय भयो । सुदीप भण्डारी अर्थात् जी-बबको प्रादुर्भाव नेपाली तन्नेरी पुस्तामा विकास भइरहेको र्याप मुभमेन्टको एउटा ‘केस-स्टडी’ बन्नसक्छ । र्यापलाई समेटेर पहिलोपटक ‘नेपहपको श्रीपेच’ रियालिटी शो सुरु भएको छ ।

‘बरु म नेपाली संगीतमा अस्तित्वको पहिचान बनाउने काम भइरहेको छ भन्ने देख्छु,’ निर्देशक पण्डित भन्छन्, ‘वास्तवमा नयाँपुस्ता फिल्ममा भन्दा संगीतमा डाउन टु अर्थ, डाउन टु सोसाइटी भइरहेको छ । संगीत बलियो हुँदैछ भन्ने महसुस भइरहेको छ । तर नेपाली संगीत व्यथा र वेदना भर्ने अनि गन्थन गर्ने प्रवृत्तितिर उन्मुख छ । यस्ता गीतले समाजलाई अघि बढाउने कुरामा कहींकतै योगदान दिंदैनन् ।’ युवापुस्ताले संगीतमार्फत मान्छेका मनोचेतना, आइडियामा काम भइरहेको र संगीत फिल्मभन्दा धेरै शक्तिशाली भएको उनको ठम्याइ छ ।
वर्ष २०७८ टेलिभिजन रियालिटी शोको वर्षसमेत बन्यो । टेलिसिरियललाई माथ दिंदै अहिले रियालिटी शोका दबदबा सुरु भएको छ र दर्शकले काँचका पर्दामार्फत समाजसँग प्रत्यक्ष जोडिने मौका पाएका छन् । गायन, नृत्य, बौद्धिकता र एड्भेन्चर रियालिटी शो धमाधम आइरहेका छन् भने नेपाली मौलिकतामै यस्ता शो पनि बन्न थालेका छन् । डान्सिङ स्टार्स नेपाल, हिमालय रोडिज, नेपहपको श्रीपेच, कमेडी च्याम्पियन केही उदाहरण हुन् । फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल, भ्वाइस अफ नेपाल, भ्वाइस किड्स नेपाल, सारेगमप लिटिल च्याम्प्सको दबदबा पनि उत्तिकै रह्यो ।
वर्ष २०७८ मा फिल्म फेस्टिभल हाइवि्रड शैलीमा रुपान्तरित भए । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल -किम्फ) र काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) भर्चुअल र भौतिक रुपमा आयोजना भए । दुई वर्ष महामारीले रोकिएका नाटकघरहरु पुनः सञ्चालनमा आएका छन् । यतिबेला नाटकघरको विकास तीव्र रुपमा भइरहेको छ । वर्ष २०७८ मा नाटक काठमाडौंबाट मोफसलमा विकेन्दि्रत बन्यो । पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, विराटनगरमा समेत नाटकघर स्थापना भए । नाटकप्रति दर्शकको आकर्षण बढेको मात्र छैन, एक साताको अन्तरालमा नयाँ-नयाँ नाटक मञ्चन हुन थालेका छन् ।
नयाँ वर्ष, नयाँ चुनौती
नयाँ वर्ष २०७९ दशककै अन्तिम वर्ष पनि हुनेछ । यो दशक नेपाली समाज, राजनीति र कलामा उथलपुथलपूर्ण रह्यो । दशकको अन्त्य नेपाली फिल्मका लागि ठूलै चुनौतीपूर्ण हुने देखिन्छ । यस्तो चुनौती ‘क्राफ्टम्यानसिप’ र ‘सिनेम्याटिकसिप’लाई लिएर नै खडा हुनेछ । अझै दुई-तीनवर्ष महामारीले रोकिएका फिल्मको पाइपलाइन बाँकी रहेकाले विश्लेषण गर्ने सुविधा छ । जसअनुसार एकाध फिल्मलाई अपवाद मान्ने हो भने बासी फिल्महरुकै उपज आगामी वर्ष रहनेछ ।
नयाँ सोच र अन्वेषणमा आधारित फिल्म आउने वर्ष कमै आउने देखिन्छ । तर वृहत अवधारणामा हेर्दा थुप्रिएर बसेका फिल्मको रिलिज गर्न भरमग्दुर प्रयत्न हुनेछ । नयाँ वर्षको मुख्य चुनौती भनेकै फिल्मको अस्तित्वको लडाइँ नै हुनेछ । बहुप्रतीक्षित विदेशी फिल्म एकपछि अर्कोगरी रिलिजको तयारीमा रहेकाले नेपाली फिल्मले आफूलाई कसरी ‘सर्भाइभ’ बनाउँछ भन्ने यक्षप्रश्न छ । नेपाली फिल्मले आगामी दिनमा आउने चुनौतीसँग लड्न तयारी गरेको देखिंदैन ।

यस्तो चुनौतीसँगको लडाइँ विदेशी फिल्मलाई रोक लगाएर होइन, बरु विदेशी फिल्मसँग प्रतिस्पर्धी बनेर मात्रै सम्भव हुने देखिन्छ । किनभने कलाको भौगोलिक सीमा हुँदैन । विश्वव्यापी मूल्य (युनिभर्सल अपिलिङ) हुने भएकैले कलालाई कला भनिएको हो । न्युयोर्कको तन्नेरीले महसुस गर्ने संवेदना काठमाडौंको अर्को तन्नेरीले महसुस गर्न सक्छ । यसका लागि नेपाली फिल्मले कथावाचनको शैली र शिल्पमार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प छैन । के अब नेपाली फिल्म आफूले विगतमा गरेका गल्तीलाई सच्याउन तयार छ ? के नेपाली फिल्म विश्वसामु प्रतिस्पर्धी बन्न तयार छ ? नेपाली फिल्म स्वतन्त्र अस्तित्व निर्माणको पहल थाल्न तयार छ ?
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4