+
+
विचार :

उदारवाद, युक्रेन युद्ध र लोकतन्त्रको भविष्य

बीसौं शताब्दीको राजनीतिक वामपन्थ र दक्षिणपन्थको वर्गीकरण र परिभाषा आर्थिक दर्शनका दृष्टिले आजको समयका यथार्थसँग ठ्याक्कै मिल्दो छैन । आज दक्षिणपन्थीहरू पनि राज्यको शक्तिमार्फत् सामाजिक जीवन र अर्थतन्त्र दुवैलाई नियमन गर्ने इच्छा राख्दछन् ।

फ्रान्सिस फुकुयामा फ्रान्सिस फुकुयामा
२०७८ चैत ३० गते ११:५७

उदारवाद जोखिममा छ । उदार समाजका आधारभूत कुरा भनेका भिन्नता बीच सहिष्णुता, वैयक्तिक अधिकारको सम्मान र विधिको शासन हुन् र यी सबै खतरामा छन् किनकि संसार लोकतान्त्रिक मन्दी वा यहाँसम्म कि लोकतान्त्रिक महामन्दी भन्न सकिने दुःखले प्रताडित छन् ।

फ्रिडम हाउसका अनुसार विगत १६ वर्ष यता राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताहरू विश्वभरि नै ह्रासोन्मुख छन् । निरंकुशतावादी चीन र रूसको बढ्दो सवलता, हंगेरी र टर्कीजस्ता देशमा उदार र उदारवादी मानिएका संस्थाहरूको स्खलन र भारत, अमेरिकाजस्ता उदार लोकतन्त्रहरूको पश्चगामिता उदारवादको अधपतनका प्रमाण हुन् ।

यी सबै घटनामा अनुदारवादको उदयका लागि राष्ट्रवादले शक्ति दिएको छ । अनुदारवादी नेता, तिनका पार्टी र साझेदारीहरूले समाजमाथिको नियन्त्रण विस्तार गर्न राष्ट्रवादी बयानबाजीलाई उपयोग गर्दैछन् । तिनीहरू आफ्ना विरोधीहरूलाई पहुँचबाहिरका बकम्फुसे कुरा गर्ने सम्भ्रान्त, बेकामे वैश्विकतावादी तथा भूमण्डलीकरणवादी भन्दै निन्दा गर्दछन् । उनीहरू आफूलाई आफ्नो देशका वास्तविक प्रतिनिधि र सच्चा रक्षक दावी गर्दछन् ।

यदाकदा अनुदारवादी राजनीतिज्ञले आफ्ना विपक्षीलाई जनताको प्रतिनिधित्व गर्न सक्ने सम्भावनाबाट हटाउन सकिने तत्व ठान्दछन् भने अधिकांशतः राजनीतिक प्रतिस्पर्धीभन्दा बढी जनताका भयावह शत्रु मान्दछन् ।

यस्तो कार्यदिशाबाट गरिने आक्रमणले उदारवादको प्रत्येक गुणलाई सन्देहात्मक बनाउँछ । उदारवादले प्रतिष्ठापित गर्ने सबैभन्दा आधारभूत सिद्धान्त सहिष्णुता भनेको राज्यले कुनैप्रकारका आस्था, विश्वास, पहिचान र जडताहरू फरमान नगर्नु हो ।

करिब सत्रौं शताब्दीतिर राजनीतिलाई संगठित गर्ने सिद्धान्तको रूपमा उदित हुँदै गर्दादेखि नै उदारवादले सुविचारित तरिकाले राजनीतिमा कुनै धर्म, नैतिक सिद्धान्त वा सांस्कृतिक परम्पराले भनेजस्तो ‘राम्रो जीवन’ को परिभाषालाई कम गर्दै र राम्रो जीवन भनेको के कस्तो हो भन्ने प्रश्नमा अधिसंख्यक मानिसले आफैं आफ्नो विशिष्ठतामा सहमति नजाउन सक्ने अवस्थालाई लक्षित गरेको थियो ।

यस्तो अज्ञेयवादी प्रकृतिले एकप्रकारको आध्यात्मिक खालीपना सृजना गर्दछ, फलतः मानिस समुदायको उपस्थितिलाई पातुलो र फिका अनुभूत गर्दै आफ्नै तरिकाले अघि बढ्दछन् । उदार राजनीतिक व्यवस्थाका लागि सहिष्णुता, सम्झौता, सुविचारितता, साझा मूल्य र विचार–विमर्श आवश्यक पर्दछ ।

यसले धार्मिक तथा नृजातीय राष्ट्रवादी समुदायको भावनात्मक बन्धनलाई बलियो गरी कसिन दिँदैन। वास्तवमा उदार समाजले अक्सर भौतिक सन्तुष्टिको लक्ष्यहीन खुशी हासिल गर्न स्वप्रेरित गर्दछ।

उदारवादको शताब्दीऔं पुरानो, शुरुवातदेखि कै सबैभन्दा बिकेको र अझै पनि प्रयोजनशील रहेको गुण भनेको बहुलतावादी समाजको विविधतालाई प्रबन्धन गर्न सक्नु हो। अद्यापि उदार समाजमा विविधता व्यवस्थापन गर्न सक्ने उदारवादका आफ्नै सीमा हुन्छन्। यदि बहुसंख्यक मानिस उदारवादका सिद्धान्तमा विश्वास गर्दैनन्, एकअर्काका आधारभूत अधिकारमाथि व्यवधान खडा गर्दछन्, आआफ्नो मार्गप्रशस्त गर्न हिंसाको सहारा लिन्छन् भने उदारवादले राजनीतिक सुव्यवस्था कायम गरिराख्न सक्दैन।

यदि विविधतायुक्त समाज उदारवादका सिद्धान्तबाट भड्किन्छ, बाहिर जान्छ, राष्ट्रिय पहिचान, नृजातीयता, नश्लवाद, धर्म वा यस्तै अन्य केहीलाई आधार बनाउँछ भने त्यसले रक्तपातपूर्ण संघर्षको सम्भावनालाई पुनर्आमन्त्रण गरिरहेको हुन्छ। यस्ता देशहरूले भरिएको विश्व झनझन विभक्त, अझ बढी अशान्तिपूर्ण र हिंस्रक हुन्छ।

यसकारण, उदारवादीहरूले ‘राष्ट्र’ को विचारलाई न त्याग्नु झनै महत्वपूर्ण छ । उदारवादीहरूले यो स्वीकार गर्नु पर्दछ कि राष्ट्रिय–राज्यहरूको संसारसित तालमेल नबनाइकन विश्वव्यापिताको भावना बन्दैन । राष्ट्रिय पहिचान लचिलो छ, यसले उदार आकांक्षाको प्रतिबिम्बलाई आकारित गर्न र व्यापक जनतामाझ समुदायको चैतन्यलाई प्राणित गर्न सक्दछ।

राष्ट्रिय पहिचानको स्थायी महत्वको उदारहणका लागि युक्रेनमाथि आक्रमण गरेको रूसको अप्ठ्यारो हेर्दा पुग्छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दावी थियो रूसबाट भिन्न युक्रेनको कुनै स्वतन्त्र पहिचान थिएन । यो देश उनको एक आक्रमणले तुरुन्तै विघटित हुनेछ । तर, त्यसो भएन । बरु, युक्रेनले रूसलाई पूर्ण क्षमतामा प्रतिरोध गरिरहेको छ किनकि यसका नागरिक स्वतन्त्र, उदार र लोकतान्त्रिक युक्रेनको विचारप्रति निष्ठावान भएका छन् । तिनीहरू बाहिरबाट लादिएको भ्रष्ट तानाशाहीमा बाँच्न चाहँदैनन्। पूर्ण पराक्रम र बहादुरीका साथ उनीहरू यो इच्छा व्यक्त गर्दै छन् कि उनीहरू उदार विचार र आदर्शका लागि मर्न तयार छन् । ती विचारलाई उनीहरू आफ्नो देशसँग आवद्ध गरिरहेका छन् । राष्ट्रको अस्तित्वसँग आवद्ध भए विचारको रक्षा हुन्छ भन्ने ठानिरहेका छन् ।

क्यानडाको नियाग्रा फल्समा जनवरी २०२२ मा युक्रेनको समर्थनमा प्रदर्शन । निक इवानिशिन/रोयटर

उदार समाजले आफ्ना नागरिकमा राष्ट्रिय पहिचानको सकारात्मक परिदृष्टि प्रस्तुत गर्न संघर्ष गर्दछ। उदारवाद पछाडिको सिद्धान्तलाई समुदायहरूबीच सीमारेखा कोर्न र त्यो सीमारेखाभन्दा कोको भित्र र बाहिरका हुन् भनेर विश्लेषण गर्न गाह्रो आइपरेको छ। किनकी यो सिद्धान्त विश्वव्यापिताको उच्चतामा निर्मित भएको छ।

जस्तो कि मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा भनिएको छ– ‘सबै मानिस स्वतन्त्र जन्मिएका हुन् र यिनीहरूको आत्मसम्मान र अधिकार बराबर हो ।’ अझ अगाडि भनिएको छ– ‘यस घोषणामा निर्धारित अधिकार र स्वतन्त्रता जात, वर्ण, नश्ल, लिंग, भाषा, धर्म, राजनीतिक तथा अन्य कुनै विचार, राष्ट्रिय वा सामाजिक उत्पत्तिको पहिचान, धनसम्पत्ति, जन्म वा अन्य कुनै हैसियतको विभेद विना सबैले समान रूपमा उपयोग गर्न पाउनेछन् ।’

उदारवादको सैद्धान्तिक सरोकार मानव अधिकारको उल्लंघन नहुनु हो, कहाँ र कसको उल्लंघन भएको हो भन्ने हैन । अधिकांश उदारवादीहरू कुनै देशसँगको सम्बन्ध र सरोकारभन्दा आफूलाई वैश्विक नागरिकका रूपमा परिकल्पना गर्दछन् । विश्वव्यापिताको यस्तो दावीलाई राष्ट्रिय–राज्यहरूको विभाजनसँग समायोजन गर्न सजिलो हुँदैन।

त्यस्तो कुनै प्रस्ट उदारवादी सिद्धान्त छैन, जस्तो कि राष्ट्रिय पहिचानका सीमाहरू कसरी कोरिनुपर्ने हो, क्याटलोनिया, क्युबेक वा स्कटल्याण्डजस्ता अन्तर-उदारवादी संघर्षलाई कसरी लिनु पर्ने हो, आप्रवासी र शरणार्थीहरूलाई व्यवस्थापन गर्ने सम्बन्धमा हुने विमतिलाई कसरी उपचार गर्नुपर्ने हो ?

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता लोकरिझ्याइवादीहरूले यसलाई उदारवादको विश्व आकांक्षा र राष्ट्रवादको साँघुरो दावीबीचको राजनीतिक द्वन्द्वका रूपमा प्रभावशाली बनाइ दिए।

राष्ट्रवादीहरूको गुनासो छ कि उदारवादले राष्ट्रिय समुदायको सीमालाई विघटन गरिदियो । त्यसलाई एउटा यस्तो भूमण्डलीय महानगरियताले प्रतिस्थापन गर्दियो कि टाढाको देशका मानिसको बारेमा आफ्नै देशका नागरिकको बारेमा भन्दा बढी सोच्ने बनाइ दियो । उन्नाइशौं शताब्दीको राष्ट्रवाद आनुवंशिक राष्ट्रिय पहिचानमा आधारित थियो । त्यसले समान पुर्खाहरूबाट निर्मित समाजलाई आफ्नो ठान्थ्यो ।

अझै पनि केही समकालीन राष्ट्रवादी यसैलाई निरन्तरता दिँदैछन् । जस्तो कि हंगेरियन प्रधानमन्त्री भिक्टर अर्बान हंगेरियन राष्ट्रवादलाई म्याग्यार नृजातीयतासँग जोडेर परिभाषित गर्दछन्। अन्य राष्ट्रवादीहरू जस्तो कि, इजरायली विद्वान योरम होजानीले बीसौं शताब्दीको नृजातीय राष्ट्रवादलाई पुनरावलोकन गर्दै राष्ट्र निर्माणको अन्तर्निहित साँस्कृतिक एकाई अर्थात् त्यसका सदस्यहरूको मोटामोटी साझा परम्परा, खानपान, चाडपर्व, भाषा र यस्ता अन्य चिजलाई महत्व दिन्छन् ।

अमेरिकाका सम्बर्धनवादी चिन्तक प्याट्रिक डेनिन उदारवादलाई पूर्वउदारवादी संस्कृति विरोधी विचार मान्दछन्, जसले राजनीतिमार्फत राज्यमा नियन्त्रणद्वारा व्यक्तिको निजी जीवनमा प्रवेश गरी व्यक्तिका परम्पराहरू नष्ट गर्दै व्यक्तिमा राज्यलाई घुसाउँदछ।

डेनिन र अन्य सम्बर्धनवादीहरू मूलतः नवउदारवादी आर्थिक नीतिमाथि खन्निएका हुन् । उनीहरू बजार पुँजीवादले परिवार, समुदाय र परम्पराको मूल्यलाई क्षयीकृत गर्दछ भन्ने अर्थमा मुखरित भइरहेका छन्।

परिणामतः बीसौं शताब्दीको राजनीतिक वामपन्थ र दक्षिणपन्थको वर्गीकरण र परिभाषा आर्थिक दर्शनका दृष्टिले आजको समयका यथार्थसँग ठ्याक्कै मिल्दो छैन । आज दक्षिणपन्थीहरू पनि राज्यको शक्तिमार्फत् सामाजिक जीवन र अर्थतन्त्र दुवैलाई नियमन गर्ने इच्छा राख्दछन् ।

राष्ट्रवादी र धार्मिक रुढीवादीहरू बीच विचारणीय अन्तरसम्बन्ध छ । राष्ट्रवादीले संरक्षण गर्न चाहेका परम्पराभित्र धार्मिक परम्परा पनि पर्दछन् । पोल्याण्डको ल एण्ड जस्टिस पार्टीले त्यहाँको क्याथोलिक चर्चसँग नजिकको सम्बन्ध राख्दछ ।

उदारवादी युरोपले समर्थन गरिरहको गर्भपतन र समलैङ्गिक विवाहजस्ता सवालमा सांस्कृतिक गुनासा गरिरहेका हुन्छन् । त्यसैगरी, धार्मिक रुढीवादीहरू आफूलाई ‘देशभक्त’ ठान्दछन् । यो कुरा अमेरिकी इभानजेलिकहरूमा पनि उत्तिकै लागू हुन्छ जो ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ का मुख्य भाग बनेका थिए।

उदारवादमाथि रुढीवादीहरूको मूल आलोचना उदार समाजले समुदाय निर्माणमा बलियो र साझा नैतिक भावलाई उपलब्ध गराउँदैन भन्ने हो, जो सत्य हो । यो उदारवादको दोष नभएर गुण हो । रुढीवादीहरूलाई सोधिने प्रश्न के हो भने के घडीलाई उल्टो घुमाएर समाजमा नैतिकता बाक्लो बनाउने कुनै यथार्थवादी तरिका छ र ?

कतिपय अमेरिकी रुढीवादीहरू कुनै दिन पूरै अमेरिका पूरै इसाइकरण हुने काल्पनिक आशामा रमाउन चाहन्छन्। तर यथार्थ अर्कै छ । समाज सोह्रौं शताब्दीको युरोपेली धार्मिक युद्धको समयमा भन्दा आज धार्मिक रूपले झनै विविधतायुक्त हुँदै गएको छ।

धर्ममा आधारित परम्परागत नैतिक साझेदारी पुनर्स्थापनाको विश्वास सफल हुन सक्दैन। ती नेताहरू जो यसप्रकारको पुनर्स्थापनाको आशा गर्दछन् । जस्तो, भारतका हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले दमन र साम्प्रदायिक हिंसा निम्त्याइरहेका छन्। मोदीलाई यो राम्ररी थाहा छ ।

पश्चिमी राज्य गुजरातमा सन् २००२ को साम्प्रदायिक दंगामा हज्जारौं, विशेषतः मुस्लिम मारिएका थिए । त्यो बेला उनी त्यहाँको मुख्यमन्त्री थिए। सन् २०१४ मा प्रधानमन्त्री भएयता उनी र उनका सहयोगीहरू मानिसको मष्तिष्कलाई हिन्दू धर्म र हिन्दी भाषाले बाँध्न खोजिरहेका छन्, जो भारतका उदारवादी संस्थापक नेताहरूको सोच बहुलवाद र धर्मनिरपेक्षता विपरित हो ।

यदि पुटिनले रूसलाई सैन्य र आर्थिक असफलताको पतनतिर लगे भने कानुनको सीमा नाघ्ने शक्तिले अन्ततः राष्ट्रिय विपत्ति निम्त्याउँछ भन्ने पुष्टि हुन्छ र स्वतन्त्र लोकतान्त्रिक विश्वको आदर्शलाई पुनर्जीवित गर्नुपर्छ भन्ने उदार पाठहरू पुनश्चः सिक्ने मौका बाँकी रहन्छ ।

विश्वभरिकै अनुदारवादी शक्तिहरूले राष्ट्रवादको अपिललाई निर्वाचनको शक्तिशाली हतियार बनाउनेछन् । उदारवादीहरूले यसलाई अन्ध र कच्चा राष्ट्रवादको बयानबाजीबाट खण्डित गर्न खोज्लान् । तर, तिनीहरूले ‘राष्ट्र’ लाई आफ्ना विरोधी कहाँ लगेर सुम्पिन हुँदैन । विश्वव्यापिताप्रति झुकाव राख्ने उदारवाद र संकीर्ण राष्ट्रवादसँगै बस्न असजिलो देखिन्छ नै तर, यिनीहरूबीच सामञ्जस्यता हुन सक्दछ। उदारवादका लक्ष्यहरू राष्ट्रिय–राज्यमा विभाजित विश्वका लागि अनुकूल छन् ।

आन्तरिक व्यवस्थाको रक्षा गर्न होस् वा बाह्य शत्रुबाट आफूलाई जोगाउन, सबैप्रकारका समाजले शक्तिको प्रयोग गर्न आवश्यक छ । उदार समाजले यी काम राज्य शक्तिको सृजनाबाटै गर्दछ तर, शक्ति विधिको शासनमा आधारित हुनु त्यसको सीमा हो । राज्यको शक्ति स्वयात्त व्यक्तिहरूबीचको सामाजिक सम्झौतामा आधारित हुने हो, जो राज्यले बदलामा फर्काउने खुशीहरूका लागि आफ्ना केही अधिकारहरू छोड्न सहमत हुन्छन् । यसको बैधता केही साझा कानुनप्रतिको स्वीकृति र आम निर्वाचनबाट अभिव्यक्त हुन्छ।

राज्यले संरक्षित नगर्ने हो भने उदारवादले दिने अधिकार पनि अर्थहीन बन्न पुग्दछन् । जर्मन समाजशास्त्री माक्स वेबरको प्रसिद्ध परिभाषा अनुसार राज्य भनेको निश्चित भूभागका लागि शक्तिको वैधानिक एकाधिकार हो। उदार वैश्विकता र राष्ट्रिय–राज्यको आवश्यकता टकराउँछ नै भन्ने छैन। मानव अधिकारका सैद्धान्तिक मूल्य मान्यता विश्वव्यापी भए पनि त्यसलाई लागू गर्ने विश्वव्यापी शक्ति हुँदैन।

उदार राज्यहरूले मानव अधिकारका विश्वव्यापी सिद्धान्त र मान्यता लागू गर्ने शक्ति राख्दछन्। तसर्थ, उदारवाद र राष्ट्रवादलाई विपरित बनाउनु भन्दा राष्ट्रिय–राज्यहरू नै उदार हुनु आवश्यक छ। यसरी उदारवादी–राष्ट्रवादको अवधारण उदित हुन सक्दछ।

उदार समाज कुनै स्थीर र औपचारिक पहिचान जस्तो कि नश्ल, नृजातीयता वा धार्मिक सम्पदामा संगठित भएको हुँदैन। यस्ता पहिचानलाई अभेद्य मानिने कुनै समय थियो । उदारवादका सिद्धान्त लागू गर्न असम्भव ठानिन्थ्यो ।

आज पनि विश्वका धेरै भागमा त्यस्ता क्षेत्र छन् जहाँ पुस्तौंदेखि निश्चित नृजातीयता वा धर्म भएका समूहले भूभागको ठूलो हिस्सा ओगटेका छन् । त्यहाँ तिनीहरूको बाक्लो भाषिक तथा साँस्कृतिक परम्परा छ। जस्तो कि बाल्कन, मध्यपूर्व, दक्षिण एशिया, दक्षिणपूर्वी एशियामा धर्म र नृजातीयता त्यहाँका मान्छेको आधारभूत बिशेषता बनेको छ, त्यसलाई वृहत्त राष्ट्रिय संस्कृतिले प्रतिस्थापन वा समाप्त गर्नु अयथार्थवादी कुरा हुन्छ ।

उदारवादी राजनीति अन्तर्गत विभिन्न साँस्कृतिक एकाईको व्यवस्थापन गर्न सम्भव हुने रहेछ। जस्तो कि भारतमा बहुल राष्ट्रिय भाषालाई राज्यहरूको शिक्षा तथा कानुनी प्रणालीमा आफ्नै स्वायत्त नीतिसहित लागू गर्ने अनुमति दिइएको छ । संघवाद र उपराष्ट्रिय एकाईमा शक्तिको सहगामी निक्षेपण विविधतायुक्त देशका लागि अक्सर अपरिहार्य हुन्छ।

विभिन्न साँस्कृतिक पहिचान समूहबीच शक्तिको संरचनात्मक तथा औपाचारिक बाँडफाँड गर्न सक्नुलाई राजनीतिशास्त्रीहरूले ‘कन्सोसियसनालिज्म’ भन्छन् । यसले नेदरल्याण्डमा राम्रै काम गरेको छ, तर बोस्निया, लेबनन, इराकजस्ता ठाउँमा यस्तो अभ्यास विनाशकारी छ, जहाँ पहिचान समूहहरू एकअर्कामा हात लाग्यो शून्यको संघर्षमा फसेका छन् ।

त्यस्ता समाज जहाँ साँस्कृतिक समूहहरू स्व–सम्बर्द्धन एकाईका रूपमा बलियो हुँदैनन्, त्यहाँ नागरिकलाई साँस्कृतिक पहिचान समूहको सदस्यका रूपमा भन्दा व्यक्तिका रूपमा व्यवहार गर्नु उचित हुन्छ।

अर्कोतिर, राष्ट्रिय पहिचानका केही पक्षहरू स्वस्फूर्त र वृहत्त अर्थमा स्वीकार र अबलम्बन गरिएका हुन्छन्। जस्तो कि साहित्यिक परम्परा, ऐतिहासिक भाष्य, भाषा, खानपान र खेलकुदहरू । क्याटलोनिया, क्युबेक र स्कटल्याण्ड यी सबै त्यस्ता क्षेत्रहरू हुन्, जहाँ ऐतिहासिक भिन्नता र साँस्कृतिक परम्पराहरू छन् ।

यसले उनीहरूलाई उनीहरू जोडिएको देशबाट बिल्कुलै भिन्न बनाउँछ र राष्ट्रवादी विभाजन खोज्न लगाउँछ। यदि यी क्षेत्रहरू पृथक भए नै भने पनि व्यक्तिगत स्वतन्त्रता र अधिकारलाई सम्मान गर्ने उदार समाज नै हुनेछन् भन्ने कुरा सायदै आशंका होला । जस्तो कि सन् १९९३ मा चेक गणतन्त्र र स्लोभाकियाको विभाजनपछि भयो ।

राष्ट्रिय पहिचानले एक प्रष्ट जोखिमका साथै अवसर पनि प्रस्तुत गर्दछ। यो समाज निर्माणको काम हो, यसलाई नजरअन्दाज गर्नुभन्दा उदारवादी मूल्यबाट समर्थन गर्न सकिन्छ ।

ऐतिहासिक रूपमा त्यस्ता धेरै देशहरू छन्, जो विविधायुक्त जनसंख्याका बावजुद पूर्वनिर्धारक समूहको साटो राजनीतिक सिद्धान्तमा आधारित बलियो राष्ट्रिय समुदायमा ढालिएका छन् । अष्ट्रेलिया, क्यानाडा, भारत, फ्रान्स, अमेरिका, यी सबै त्यस्ता देशहरू हुन्, जुन भर्खरैका दशकमा नश्ल, नृजातीयता वा धर्मको साटो राष्ट्रिय पहिचानका रूपमा निर्मित हुँदैछन् ।

अमेरिका भनेको के हो, यसको पुनर्परिभाषा गर्न अमेरिकाले लामो र पीडादायी प्रक्रियाबाट गुज्रिन पर्‍यो । यद्यपि यो प्रक्रिया अझै अपूर्ण छ, बारम्बार अवरोहहरू भोग्न परेको छ, तर अमेरिका नश्ल, वर्ग र लिङ्ग व्यवधानलाई पन्छाउँदै नागरिक भावनाको प्रगतिशील बाटोतिर गइरहेको छ ।

फ्रान्समा राष्ट्रिय पहिचानको निर्माण फ्रान्सेली राज्य क्रान्तिको घोषणाबाटै शुरुवात भयो । यसले साझा भाषा र साझा संस्कृतिमा आधारित नागरिकलाई स्थापित गर्‍यो । बीसौं शताब्दीको मध्यतिर अष्ट्रेलिया र क्यनाडाले आप्रवासन र नागरिकता सम्बन्धी ‘श्वेत बहुमत’ आधारित केही नीति र कानुन बनाएका थिए । जस्तो कि ‘श्वेत अष्ट्रेलिया’ यसका लागि बदनाम छ, जसले एशियाली आप्रवासीलाई बाहिर धकेल्थ्यो । सन् १९६० पछि दुवै देशले आफ्नो राष्ट्रिय पहिचानलाई पुनर्निमाण गरे । आफैंले व्यापक आप्रवासन खुल्ला गरे । आज ती दुवै देशमा अमेरिकामा भन्दा धेरै विदेशमा जन्मिएको जनसंख्या छ ।

यद्यपि तीव्र विभाजित लोकतन्त्रमा साझा पहिचानमा ढाल्न हुने अप्ठ्यारोलाई कम आँक्न मिल्दैन । आजका अधिकांश उदार समाज त्यस्ता ऐतिहासिक राष्ट्रहरूबाट बनाइएका हुन्, जसको राष्ट्रिय पहिचानको अनुदारवादी विधिमा बनेको थियो । फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया उदार लोकतान्त्रिक बन्नु अघि कै राष्ट्रहरू हुन् ।

सबैलाई थाहा छ– अमेरिका राष्ट्र बन्नुअघि राज्य मात्र थियो । उदारवादी राजनीतिको शब्दाबलीमा अमेरिकी राष्ट्रको परिभाषा सर्वथा कठिन, लामो र आवधिक रूपमा हिंसात्मक हुन्छ । आज पनि देशको उत्पत्तिबारे यो प्रक्रियालाई वामपन्थी र दक्षिणपन्थीहरूले आ–आफ्नो तीखो प्रतिस्पर्धी भाष्यद्वारा चुनौतिपूर्ण बनाइरहेका छन् ।

उदार लोकतान्त्रिक समाज प्राप्त गर्नुअघि मानिसले लामो समय हिंसा, युद्ध र तानाशाही भोग्न पर्‍यो । तर, उदारवादी शासन अन्तर्गत अन्ततः मानिसले शान्तिपूर्ण जीवन बाँच्न पाए । सन् १९४५ पछिको युरोपेली जीवन ठीक त्यस्तै थियो ।

मानिस शान्ति र सुव्यवस्थाको राजनीतिमार्फत् उच्च साध्यहरू प्राप्त गर्ने सिधा बाटोमा जाँदै थिए । सन् १९१४ पछिको अन्तरिम अवधिमा पनि युरोप त्यसयता धेरै अंश र अर्थमा भीषण युद्धबाट मुक्त थियो र युद्धबाट व्यापक भौतिक प्रगतितिर उद्यत थियो ।

मानव जातिको इतिहासमा विश्व सायद फेरि एकपटक त्यस्तै बिन्दूमा आइपुगेको छ । शताब्दीको करिब तीन तिहाई अवधि ठूलो मात्राको अन्तर्राज्य युद्धबाट मुक्त थियो । यस अवधिमा व्यापक वैश्विक समृद्धिका साथै व्यापक सामाजिक परिवर्तन भएको देख्न सकियो ।

राष्ट्रवादको प्रतिविन्दूका रूपमा युरोपियन युनियन सृजना भयो । तर, युक्रेनमा भएको रूसी आक्रमणले अगाडि अझ ठूलो अस्तव्यस्तता र हिंसाले पर्खिबसेको संकेत गर्दछ ।

यो मोडमा, दुई धेरै भिन्न भविष्य प्रस्तुत छन् । यदि पुटिन युक्रेनी स्वतन्त्रता र लोकतन्त्रलाई बेवास्ता गर्न सफल भए भने विश्व बीसौं शताब्दीको प्रारम्भतिरको आक्रामक र असहिष्णु राष्ट्रवादसँग मिल्दोजुल्दो युगतिर फर्किने छ । अमेरिकासँग पनि यो प्रवृत्ति, पुटिनको अधिनायकवादी बाटोलाई अनुकरण गर्ने ट्रम्पको लोकरिझ्याइवादी आकांक्षालाई थेग्ने क्षमता हुने छैन ।

अर्कोतिर यदि पुटिनले रूसलाई सैन्य र आर्थिक असफलताको पतनतिर लगे भने कानुनको सीमा नाघ्ने शक्तिले अन्ततः राष्ट्रिय विपत्ति निम्त्याउँछ भन्ने पुष्टि हुन्छ र स्वतन्त्र लोकतान्त्रिक विश्वको आदर्शलाई पुनर्जीवित गर्नुपर्छ भन्ने उदार पाठहरू पुनश्चः सिक्ने मौका बाँकी रहन्छ ।

(लेखक विश्व प्रसिद्ध अमेरिकी राजनीतिशास्त्री हुन् । उनको यो आलेख फरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद गरिएको हो । शीर्षक हामीले दिएका हौं- सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?