+
+
वर्ष २०७९ मा खेलकुद : :

नवौं राष्ट्रिय र एसियाडमा नजर

फुटबलमा एसियन कप छनोट, क्रिकेटमा विश्वकप लिग टू

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ वैशाख १ गते १८:४८

१ वैशाख, काठमाडौं । आजदेखि नयाँ वर्ष २०७९ मा प्रवेश भएको छ । नेपालको खेलकुदमा क्यालेण्डर वर्ष निर्धारण गरी योजना तर्जुमा गर्ने परिपाटी त छैन तर, आगामी एक वर्षसम्म विभिन्न पूर्वनिर्धारित प्रतियोगितामा सबैको नजर सुरु भएको छ ।

नयाँ आशा नयाँ उमंग र नयाँ जोशका साथ नयाँ वर्षको आगमन भएसँगै नेपाली खेलकुदले पनि यो वर्ष अधिकतम उपलब्धीको आशा गर्नेछ । कोरोना महामारीको असरले गर्दा पछिल्लो दुई वर्षसम्म खेलकुदमा ठोष उपलब्धी र रणनीतिक योजनाहरु तर्जुमा भएनन् । वर्ष २०७८ को पछिल्लो ६ महिनामा भने खेल क्षेत्र चलायमान रह्यो । धेरै राष्टिय/अन्तर्राष्ट्रिय गतिविधि भएका थिए ।

कोरोनाको असर कम हुँदै गएकोले २०७९ मा भने वर्षभरि नै खेलक्षेत्र व्यस्त रहने अपेक्षा गरिएको छ । यो वर्षको सेप्टेम्बर महिनामा (भदौ २५ देखि असोज ९ गतेसम्म) महादेशीय खेलकुद महामेला १९औं एसियाली खेलकुद चीनको ह्वाङ्झोउ शहरमा हुँदैछ ।

नेपालको सहज सहभागिता रहने सबैभन्दा ठूलो प्रतियोगिता हो यो । नेपालले अहिलेसम्म सहभागी खेल संख्या टुंग्याएको छैन । नेपालले बढीमा २० वटा खेलमा सहभागी गराउने तयारी गरेको छ । चार वर्षअघि १८औं एसियाली खेलकुदमा नेपालबाट २७ खेलका १८१ खेलाडीको सहभागिता थियो ।

त्यसअघि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । ३० चैतमा मात्र सरकारले जेठ २२ देखि २८ सम्म नवौं खेलकुद आयोजनाको निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषदले डेढ महिनाभित्र सम्पूर्ण तयारी पूरा गरी प्रतियोगिता आयोजना गर्ने बताइसकेको छ ।

आठौं राष्ट्रिय खेलकुदमा ३५ खेलका ३७ स्पर्धा समावेश गरिएको थियो । यस संस्करणमा पनि सोही संख्या नघटाउने गरी प्रतियोगिता आयोजना गर्ने राखेपको तयारी छ । मनसुन सुरु हुने समयमा ठूला प्रतियोगिता आयोजना गर्दा प्रतिस्पर्धा फितलो हुने डर पनि छ ।

यस्तै फुटबलमा नेपालले एसिया कपको अन्तिम चरणको छनोट खेल्नेछ । चीनमै आयोजना हुने एएफसी एसियन कप २०२३ अन्तिम चरण छनोटमा पनि नेपालले प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल रहेको समूह ए मा रहेको जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

२४ टिमले प्रतिस्पर्धा गर्ने छनोटमा सहभागी टिमलाई विभिन्न ६ समूहमा विभाजन गरिएको छ । जसमा समूह विजेता ६ टिम र समूह उपविजेतामध्ये उत्कृष्ट ५ टिम एसिया कपमा छनोट हुनेछन् । नेपाल कठिन समूहमा परेकोले एसिया कपमा पुग्ने सम्भावना भने थोरै मात्र रहेको नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत स्वीकारिसकेका छन् ।

कुवेतमा हुने छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ (जेठ २६ गते) मा खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जुन ११ (जेठ २८ गते) मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ (जेठ ३१ गते) मा खेल्नेछ ।

नेपालले छनोट खेल्नुअघि केही देशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ । राष्ट्रिय स्तरमा हुने शहीद स्मारक लिगलगायत अन्य फुटबल गतिविधिले निरन्तरता पाउने नै छन् ।

यस्तै राष्ट्रिय महिला लिगको पहिलो चरणको खेल चितवनको भरतपुरमा सम्पन्न भइसकेको छ भने दोस्रो चरण विराटनगरमा छिट्टै सुरु हुनेछ । यसबाहेक अघिल्लो वर्षकै कार्यक्रममा रहेको सी डिभिजन वैशाख ९ गतेदेखि सुरु हुनेछ ।

अघिल्लो वर्ष छनोट चरण पार गर्न नसकेपछि नेपाललाई यस वर्ष आईसीसी टी-२० विश्वकपमा देख्न पाइने छैन । तर नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा भने व्यस्त रहने तालिका छ । एकदिवसी विश्वकप २०२३ को छनोटको आधारको रुपमा रहने क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले जेठमा अमेरिकामा श्रृंखला खेल्ने तय छ । त्यसपछि पनि नेपालले लिग टू का अन्य श्रृखंलाहरु खेल्ने तय छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को पछिल्लो बोर्ड मिटिङले २०२३ मा दक्षिण अफ्रिकामा महिला यू-१९ विश्वकप गर्ने निर्णय गरेपछि यसै वर्ष त्यसका लागि एसियाली क्षेत्रको छनोट यसै वर्ष हुनेछ । आईसीसीले आधिकारिक रुपमा सार्वजनिक नगरे पनि नेपाललगायत ८ राष्ट्रको एसियाली छनोट जेठमा मलेसियामा हुने छ ।

यस्तै नेपालको राष्ट्रिय खेल भलिबलले पनि यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा केही प्रतियोगिताहरु खेल्ने तय छ, तर तालिका भने सार्वजनिक भइसकेको छैन । नेपलाको महिला टिमले लगातार दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । लगातारको सफलता पछि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतरातले महिला टिमले एसियन गेम्समा समेत सहभागिता जनाउने घोषणा गरेको थिए ।

अघिल्लो पटक पुरुष टिम इन्डोनेसियामा एसियन गेम्समा सहभागी जनाउँदा बजेट नपुगेको भन्दै महिला टिम सहभागी थिएन । यस वर्ष पुरुष र महिलाको सेन्ट्रल जोनका लागि दक्षिण एसियाली स्तरको भलिबल प्रतियोगिता हुँदैछ ।

अघिल्लो वर्ष चैतमा हुनुपर्ने छैटौं आरबीबी(एनभीए राष्ट्रिय महिला र पुरुष भलिबल क्लब लिग यही वैशाखमा आयोजना हुँदैछ । फुटबल, क्रिकेट र भलिबल बाहेक अन्य खेलको पनि राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिहरु पक्कै हुनेछन् ।

मैदान भित्रका गतिविधिका साथै मैदान बाहिर पनि नेपाली खेलकुद यस वर्ष व्यस्त रहनेछ । खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) मा अदालती झमेला टुङ्गिएपछि टंकलाल घिसिङले पुनरागमन गरेका छन् ।

महेश्वरजंग गहतराज र टंकलाल घिसिङ ।

एसियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नका लागि तयारीलगायत कार्यका लागि बाटो खुलेको छ ।

राखेपको सदस्य सचिव नियुक्त भएपछि अदालती झमेलामा परेका उनले सुरुमा खासै काम गर्न पाएनन् । नवौं राष्ट्रिय खेलकुदको आयोजना उनका लागि परीक्षण ‘प्रोजेक्ट’ हुनेछ ।

यस्तै नेपालको चर्चित खेल संघ अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन पनि यसै वर्ष हुँदैछ । कर्मा छिरिङ शेर्पाको चार वर्षे कार्यकाल जेठमा सकिँदैछ । जेठ १५ गते तय भएको निर्वाचन असार ६ गतेका लागि सरेको छ ।

यस बाहेक नेपाल भलिबल संघदेखि दुई तिहाई संघकै नयाँ निर्वाचन गर्नुपर्ने अवस्था छ । तर अन्य संघले भने अझै निर्वाचनबारे केही गृहकार्य गरेका छैनन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयन, प्रदेश र स्थानीय तहसँगको समन्वयलगायत धेरै नीतिगत कामहरु यो वर्ष सम्पन्न गर्नुपर्ने चुनौती राखेप कार्यकारीलाई हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?