+
+

जो गाउँबाट कवि बन्न सहर पसे, तर भए ‘हिरो’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १८:३२

काठमाडौं । खासमा उनी कवि बन्न चाहन्थे वा लाहुरे ? भविष्यको विरोभासपूर्ण मोडमा ठिंग उभिएको थियोे जीवन । त्यसबखत कविता उर्लने मन बोकेर उनले ज्यानलाई सुगठित बनाउन तालिम गरे होलान् । तर ज्यान भन्दा मन बलियो भइदियो । अन्ततः एक बिहान घर छाडे । मनकै मर्जीमा ।

सम्भवतः भोजपुरको खावा गाउँमा ‘लाहुरे’को आफ्नै प्रतिष्ठा र रवाफ हुँदो हो । त्यसैले त चिम्सा आँखा भएका, गठिलो ज्यान भएका, सुबानी किशोरहरु लाहुर जान हतारिन्थे । तर उनी लाहुर गएनन् । काठमाडौं सहर पसे र यतै अल्मलिए । अल्मलिने मेलो, उही कवि-कविता । साथी संगत बढ्दै गयो । उनी कवितामा झ्याम्मिंदै गए । उनमा कसरी कवि हृदय टुसायो ? यसको पनि छोटो किस्सा छ ।

गाँउकै सरकारी विद्यालयमा पढ्दै थिए, घाँस-दाउरा गर्दै । एसएलसी सकाएपछि थप पढाइको सिलसिलामा सहर पस्ने ध्येय थियो । परीक्षा दिए । नतिजा कस्तो होला ? उत्सुकता हुने नै भयो । खेतमा काम गरिरहेका थिए । भाइ आएर ‘अशुभ समाचार’ सुनाए, एसएलसी फेल भएको । उनी रन्थनिए । औडाह नहुने के छ र ? सायद विरक्तिए । अनि त मनको उकुसमुकुस पोख्न कविता लेखे । यसरी उनी कवि भए ।

काठमाडौं सहरमा पहिलोपटक पाइला टेक्दा उनमा कवि हृदय फर्किंदै थियो । एक साक्षात्कारमा उनले सुनाएका छन्, ‘काठमाडौंमा आएपछि कथा, कविता लेखिन्थ्यो । तर सुनाउन लाज लाग्ने ।’ एक दिन सहरमा कविता सुनाउने कार्यक्रम रहेछ । उनलाई पनि आफ्नो कविता सुनाउने झोंक चल्यो । यतिबेलासम्म श्रवण मुकारुङ, बुद्धिसागर समवयीसँग उनको दोस्ती जमिसकेको थियो ।

त्यसदिन कविता सुनाउनका लागि बुद्धिसागर पनि उपस्थित थिए । बुद्धिसागर भन्दा अघि उनी कविता वाचन गर्न चाहन्थे । तर कतै जान हतारमा रहेछन् बुद्धिसागर । त्यसैले उनले पालो मिचे । स्टेजमा उक्लिएर कविता सुनाइदिए । बुद्धिसागरको कविता सुनिरहँदा उनी भने भित्रभित्रै रन्थनिए । किनभने बुद्धिसागरले सुनाएको भन्दा आफ्नो कविता झुर लाग्यो उनलाई । त्यसदिन आफ्नो कविता नसुनाई उनी त्यहाँबाट टाप कसे ।

कविता लेखेर खासै पार लाग्ने टुंगोमा पुगेपछि उनी नाटकतर्फ मोडिए । नाटक लेखन कार्यशाला हुँदै थियो । उनी त्यहाँ सहभागी हुन पुगे । प्रशिक्षक रहेछन्, अनुप बराल । उनै दिग्गज नाट्यकर्मीबाट उनले नाटकको अवयव पहिल्याए । सोही मेसोमा अभिनय पनि सिके । यसरी उनको रंगमञ्चमा पर्दापण भयो ।

रंगमञ्चमै उनको अभिनय माझियो । उनले अनेक चरित्रमा आफूलाई स्वभाविक ढंगले रुपान्तरण गरे । नाटक लेखे, नाटक खेले, नाटकघर बनाए । त्यसपछि पो उनी सिनेमाको पर्दामा छलाङ मार्न आइपुगे । र, एउटा अभिनेताको रुपमा गर्विलो चिनारी बनाए, दयाहाङ राई ।

****

‘दयाहाङ राई जस्तो अभिनेता आधा शताब्दीमा एकपटक मात्र जन्मिन्छ ।’

फिल्मकर्मी नीर शाहले त्यसै यसो भनेका होइनन् । दयाहाङको आगमन नेपाली सिनेमाका लागि एउटा सुखद् ओपनिङ थियो । ‘मेरो एउटा साथी छ’ फिल्मबाट सानो भूमिकामा प्रवेश गरेका उनले एक चरणपछि सिंगो सिनेमालाई डोहोर्‍याएर हिंडे । लुट, कबड्डी, सेतो सूर्य, छड्के, टलकजंग भर्सेस टुल्के जस्ता फिल्मबाट उनले ‘हिरो’को पुरातन धङधङी हटाएर एउटा नयाँ मानक स्थापित गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?