
२ वैशाख, विराटनगर । विराटनगरमा स्थानीय तह निर्वाचनमा भागवण्डा मिलाउनका लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
नेपाली कांग्रेसको मोरङ जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो कार्यदलको बैठक चलिरहेको बेला कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्दै नाराबाजी गरेका हुन् ।
जिल्लामा भागवण्डा मिलाउनका लागि चार सदस्यीय कार्यदल गठन भएको थियो । दिउँसो २ बजे सुरु भएको कार्यदललको बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए ।
कांग्रेसको बैठक कक्षमा कार्यदलको बैठक सुरु भएलगतै नेपाली कांग्रेस विराटनगर-६ का कार्यकर्ता नाराबाजी गर्दै पुगेका थिए । नाराबाजी गर्दै पुगेका कार्यकर्ताले सभापति डिगबहादुर लिम्बुको कार्यकक्षमा धर्ना पनि दिएका छन् । सभापतिको कार्यकक्षमै कार्यकर्ताले गठबन्धनविरुद्ध नाराबाजी गरे ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका-६ मा माओवादी केन्द्रबाट विजय कामत निर्वाचित भएका थिए । महानगरमा गठबन्धन गर्दा पून वडा नम्बर ६ माओवादीको भागमा पर्ने अवस्था छ । आफूले टिकट नपाउने भएपछि कांग्रेस कार्यकर्ता गठबन्धनको विरोध गर्दै पार्टी कार्यालय पुगेका हुन् ।
उनीहरुले विराटनगरमा गठबन्धन नगर्न माग गरे । कार्यकर्तालाई सभापति लिम्बूले कार्यकर्ताको भावना अनुसार अघि बढ्ने आश्वासन दिए । विराटनगरमा नेपाली कांग्रेस गठबन्धन गर्न नहुनेपक्षमा छ । नगरसमितिले गठबन्धन नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
कांग्रेस मोरङसभापति डिगबहादुर लिम्बू पनि विराटनगरमा कांग्रेस एक्लै अघि बढ्न चाहेको बताए । ‘ महानगर र उपमहानगरको निर्णय केन्द्रले गर्छ, विराटनगरको हकमा केन्द्रले नचलाइदियोस् भन्ने लाग्छ,’ उनले भने,‘ कार्यकर्ताको चित्त बुझाउन पनि गाह्रो पर्छ, यी विषयलाई अरु दलले पनि गम्भीरतापूर्वक हेर्नुपर्छ जस्तो लाग्छ ।’
विराटनगर बाहेकका पालिकामा तालमेलको खाका तयार गर्न कार्यदल गठन गरिएको उनले बताए । कार्यदलले शुक्रबारबाट वडागत रुपमा छलफल सुरु गरेको छ । शुक्रबार बैठक बसिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै पुगेपछि कार्यदलका नेताहरुले ढोका बन्द गरेका थिए ।
प्रतिक्रिया 4