+
+

अल्मुताइरीले भनेजस्तै साँच्चिकै नेपाली फुटबलमा ग्रासरुट छैन त ?

एन्फा अध्यक्ष भन्छन् – परिणाम देखिने समय आउँदै छ

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ वैशाख २ गते १९:२८

२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार पत्रकारमाझ नेपाल एसियन कपमा छनोट नहुने ठोकुवा गरे ।

दुई महिनापछि हुने छनोट प्रतियोगिताका लागि विशेष प्रखे्शिलक्षण सुरु भएकै दिन उनको यो अभिव्यक्तिले पक्कै पनि निराशा सञ्चार गरेको छ ।

तर, अल्मुताइरीले घरेलु फुटबलको संरचना र छनोट प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीको स्तरको विश्लेषण गरेरै यथार्थपरक टिप्पणी गरेका हुन् । पत्रकारसँगको कुराकानीमा उनले घरेलु फुटबलको संरचनात्मक विकासका लागि मुख्य आधार मानिने ग्रासरुट कार्यक्रमबारे प्रतिप्रश्नसमेत गरे ।

‘हामी एसियन कप, साफ कप जित्न चाहन्छौं तर त्यसका लागि आधारभूत तहदेखि नै तयारी गरेका छौं त ?,’ पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले प्रतिप्रश्न गरेका छन्, ‘नेपाली फुटबलको ५० वर्षे इतिहासमा ग्रासरुट कहाँ छ ? युवा खेलाडीको विकासमा कति ध्यान दिइएको छ ? उमेरसमूहको सशक्त टिम र नियमित प्रतियोगिता नभएसम्म तपाईंले ठूला सपना देख्न सक्नुहुन्न ।’

उनले देशभर ग्रासरुट कार्यक्रमको प्रभावकारिता, फुटबल एकेडेमीको पर्याप्तता र गुणात्मक फुटबलको शैलीबारे गम्भीर कुरा उठान गरेका छन् । १५० देखि २०० जना क्षमतावान खेलाडीबाट राष्ट्रिय टिम छनोट गर्न पाउनुपर्ने उनको माग छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका लिग निर्देशक तथा फुटबल विश्लेषक सञ्जीव मिश्रले अल्मुताइरीको तर्कसँग सहमत हुँदै युवा खेलाडीको विकासका लागि योजना तर्जुमा र कार्यान्वयन पक्ष फितलो भएको स्वीकार गरे ।

‘नेपाली फुटबलमा ग्रासरुट नभएको होइन । तर त्यसको प्रभावकारीता चाहिँ कम छ । उमेर समूहको नियमित प्रतियोगिता र प्रभावकारिता देखिएको छैन,’ मिश्रले अनलाइनखबरसँग भने, ‘ग्रासरुटमा पहिचान भएका प्रतिभालाई राष्ट्रिय टोलीसम्म पुग्ने बाटो सहज बनेको छैन । यो व्यवस्थापकीय कमजोरी हो ।’

विश्लेषक मिश्रले ग्रासरुट फुटबलको विकासका लागि केन्द्रीय फुटबल संघको सक्रियता र कार्यक्रम मात्र पर्याप्त नहुने बताए । ‘यो फुटबल संघले मात्र गर्ने काम होइन । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने संघले त व्यवस्थापन मात्र गर्ने हो,’ उनले थपे, ‘एन्फामातहतका जिल्ला फुटबल संघ, त्यसअन्तर्गतका क्लबहरु, ए बी र सी डिभिजन क्लबहरु सक्रिय हुनुपर्छ ।’

अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौं, बुटवल र धरानमा एकेडेमी स्थापना गरेसँगै नेपालको फुटबलमा ग्रासरुट कार्यक्रमको औपचारिक कार्यान्वयन भएको थियो । सन् १९९९ मा फिफाले फाइनान्सियल असिस्टेन्ट कार्यक्रम (फाप) अन्तर्गत पूर्वाधार, प्रतियोगिता र ग्रासरुटका लागि आर्थिक सहयोग गर्न थालेको थियो । तीन वर्षपछि यसलाई गोल प्रोजेक्टको नाममा रुपान्तरण गरियो ।

‘सोही सहयोगबाट एन्फाले देशका तीन स्थानमा एकेडेमी स्थापना गरेको हो । सातदोवाटोको अहिलेको एकेडेमीको संरचना त्यही सहयोगको प्रतिफल हो,’ मिश्रले भने । फिफाका ती परियोजना नेपालमा धेरै प्रभावकारी भएका थिए ।

अहिले पनि राष्ट्रिय टिमका धेरैजसो खेलाडी एन्फा एकेडेमीकै उत्पादन छन् । ६ वर्षअघि जियान्नी इन्फान्तिन्हो फिफाको अध्यक्ष बनेपछि उनले गोल प्रोजेक्टलाई परिमार्जन गरी फिफा फरवार्ड कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले ए डिभिजन क्लबहरु अनिवार्य एएफसी क्लब लाइसेन्समा जानुपर्ने निर्णय गरेपछि नेपालका ए डिभिजन क्लबहरु लाइसेन्सको प्रक्रियामा छन् ।

अहिलेसम्म चारवटा (त्रिभुवन आर्मी, मछिन्द्र, एपीएफ र मनाङ मर्स्याङ्दी) क्लबले लाइसेन्स लिएका छन् । एएफसी लाइसेन्स पाउने आधारभूत मापदण्डमध्ये एउटा एकेडेमी र उमेरसमूहका टिम पनि हुन् । एन्फाले भविष्यमा क्लबहरुले नै ग्रासरुट कार्यक्रम सन्चालन गर्ने र उमेर समूहको फुटबलमा स्तरबृद्धि हुने अपेक्षा राखेको छ ।

क्लबहरुले एकेडेमी सञ्चालन गरेसँगै अब नेपाली फुटबल विकासको पिरामिड सन्तुलनमा आउँदै छ । एन्फाले पनि विभागीय टोली र स्कुलहरुसँग मिलेर ६ देखि १२ वर्षसम्मको बालबालिकालाई शनिबारीय कार्यक्रम गर्दैछौं ।

हरेक दुईवर्षमा क्लबहरुका लागि यू–१३ खेलाडी देशभरबाट छनोट हुनेछन्,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अनलाइनखबरसँग भने, ‘क्लबहरुले यू–१३ को टिमलाई यो वर्षदेखि मात्र प्रशिक्षण गराउन थालेका छन् । सबै उमेर समूहको टिम बनेपछि हामी यू–१५ को लिग सञ्चालन गर्नेछौं भने यू–१३ र यू–१८ का प्रतियोगिता आयोजना गर्न योजना बनाइरहेका छौं ।’

चार वर्षअघि एन्फा अध्यक्षमा निर्वाचित हुँदा शेर्पाले ग्रासरुट फुटबल विकासलाई प्राथमिकता दिने बताएका थिए । सोहीअनुसार एन्फले बृहत ग्रासरुट कार्यक्रम सन्चालन गरेको थियो । २०७५ भदौमा देशभर सञ्चालन गरिएको कार्यक्रममा पहिलो वर्ष नै १६ हजारभन्दा बढी बालबालिकालाई प्रशिक्षण दिइएको थियो । त्यसयता कोरोना महामारीका कारण यो कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

सोही कार्यक्रमको प्रभावस्वरुव एन्फाले २०७६ सालमा एएफसी लाइसेन्सप्राप्त ए डिभिजन क्लबको एकेडेमीका लागि गरिएको खेलाडी छनोट प्रक्रियामा उल्लेख्य सहभागिता देखिएको थियो । तीनवटा विभागीय टोलीका लागि ४२ जना तथा बाँकी क्लबका लागिसमेत गरी जम्मा ७१ जना खेलाडी छनोट गर्ने प्रक्रियामा देशभरबाट झण्डै ९ सय युवा खेलाडी सहभागी भएका थिए ।

एउटै जिल्लाबाट सर्वाधिक पाँचजना खेलाडी छनोट गराउन सफल सर्लाहीका प्रशिक्षक रोजित केसीले क्लबका लागि छनोट भएका खेलाडीहरु ग्रासरुट कार्यक्रमबाटै पहिचान भएको बताए । लालबन्दीलाई केन्द्रित गरी नियमित प्रशिक्षण गराइरहेका केसीले भने, ‘बालबालिकालाई नियमित प्रशिक्षणको व्यवस्था मिलाउन सकियो भने हाम्रो देशमा प्रतिभाको कमी छैन । ग्रासरुट कार्यक्रम धेरै प्रभावकारी छ ।’

प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टिम छनोटका लागि सीमित खेलाडीमा भर पर्नुपर्ने समस्या औल्याएका छन् । थप क्लबहरुले एएफसी लाइसेन्स र कोभिडका कारण रोकिएको एन्फाको ग्रासरुट परियोजनाले निरन्तरता पाउने हो भने राष्ट्रिय टिमका प्रशिक्षकलाई पर्याप्त विकल्प मिल्नेछ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?