+
+

अमृता मृत्यु प्रकरण : सीआईबीबाट अनुसन्धान र डीएसपीमाथि छानबिनको माग

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख ४ गते २०:१५

४ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमामा चैत ३० गते राति मृत्यु भएकी अमृता खत्री टण्डनका माइती पक्षले घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट अनुसन्धान हुनुपर्ने माग गरेको छ ।

आइतबार घरमै पत्रकार सम्मेलन गरी उनीहरुले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले भूमिकाप्रति शंका व्यक्त गर्दै उनीमाथि पनि छानबिनको माग गरेका छन् ।

अमृताका दाजु पुष्पक खत्रीले सुरुदेखि नै बुटवल प्रहरीले घटनालाई सामान्यीकरण गर्न खोजेको, आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाव दिएको, कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भइसकेको भनेर झुठ बोलेको र आन्दोलन चर्किएपछि मात्रै दर्ता गरेको भन्दै डीएसपी केसीको भूमिका विश्वसनीय नभएको बताए ।

शान्तिपूर्ण प्रदर्शनमा समेत डीएसपी केसीको निर्देशनमा प्रहरीले दमन गरेको भन्दै माइती पक्षले उनीमाथि छानबिनको माग गरेको हो । ३० चैतको राति आफ्नै घरमा विष सेवनबाट अमृताको मृत्यु भएको परिवारका सदस्यले दावी गरे पनि माइती पक्ष त्यसलाई मान्न तयार छैनन् ।

अमृताले आफैं बिष सेवन गर्ने आधार नै नभएको दावी गर्दै दाजु पुष्पकले योजनावद्ध हत्या गरी सत्य लुकाउन विष खाएको बहाना बनाई अस्पताल पुर्‍याएको दावी गरे । ‘राति ९ः३२ सम्म मसँगै च्याटमा दाजु म मर्न चाहन्न मलाई बचाउनुस् भनेकी छ बहिनीले, तर ९ः५० मा अस्पतालले मृत भनेको छ’, पुष्पकले भने, ‘बहिनीको कोठाको ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ अनि कसरी विष सेवन गरेको हुन्छ ?’

अमृताले सेवन गरेको भनिएको डीडी फैक्स नामक किटनाशक विषादी नेपालमा प्रतिबन्धित छ । उक्त विषादी घरमा कहाँबाट कसले ल्यायो यो विषय झनै शंकास्पद रहेको उनले बताए ।

घटनापछि डीएसपीले वैशाख १ गते नै जाहेरी दर्ता भइसक्यो ढुक्क हुनुस् भनेका तर वैशाख २ गते दर्ता नम्बर माग्दा दर्ता नभएको पाइएपछि शान्तिपूर्ण प्रदर्शन गर्दा डीएसपी केसी आफैं गाली गलौज र कुटपिटमा उत्रिएको प्रदर्शनका क्रममा घाइते भएका कमल खत्रीले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख सहितको छलफलमा घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली ल्याउने सहमति भएअनुसार छिटो अनुसन्धान हुनुपर्ने पुष्पकले बताए । शवको पोष्टमार्टम फरेन्सिक ल्याब विशेषज्ञको रोहवरमा पीडित पक्षले चाहेको अस्पतालमा गराउन प्रमुख जिल्ला अधिकारीले सहमति जनाएपछि आइतबार पोष्टमार्टम भएको छ ।

पीडित पक्षले दवावमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । घटना शंकास्पद देखिएपछि माइती पक्षले अमृताको हत्या भएको भन्दै प्रहरीमा कर्तव्य ज्यान मुद्धा दायर गरेका छन् । प्रहरीले अमृताका श्रीमान प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनलाई पक्राउ गरेको छ ।

शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन् । अमृताको न्यायका लागि माइती पक्ष र समर्थकले बुटवल र तिलोत्तमा क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् ।

९ वर्षअघि प्रेम विवाह गरेका अमृता र प्रेमका एक छोरा छन् । विवाह गरेको दुई वर्षपछि नै उनीहरुको सम्बन्ध सुमधुर थिएन । परिवारका सदस्यले अमृतालाई सानातिना विषयमा पनि गालीगलौज र प्रताडना दिंदै आएको माइती पक्षले बताएको छ ।

गत भदौमा पनि उनीहरुबीच विवाद भएपछि वडा कार्यालयको रोहबरमा मिलेर बस्ने सहमति भएको थियो । घटनाको केही दिन अघि श्रीमान्ले भारत जान दबाव दिएका थिए तर अमृताले आफूलाई मार्ने षड्यन्त्र हुनसक्छ भन्दै जान नमानेको माइती पक्षको भनाइ छ ।

चैत २९ गते श्रीमानले कुटपिट गरेपछि उनी ३० गते माइती गएकी थिइन् । तर श्रीमान् प्रेमले तीन पटकसम्म फोन गरेर घर आउन दवाव दिएका र नआएमा छोरालाई जे पनि हुनसक्ने धम्की दिएपछि उनी राति साढे ८ बजे घर गएकी अमृताकी आमा सावित्राले बताएकी छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?