+
+

गठबन्धनभित्र माओवादीको कुन प्रदेशमा कति दाबी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ११:०५

५ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलसहित होमिने निर्णय गरेको पाँच दलीय गठबन्धनभित्र दलहरूबीच भागबण्डाको विषय पेचिलो बनेको छ । ०७४ सालको निर्वाचनमा जुन दलले जहाँ जितेको छ अहिले सोही दललाई उक्त पालिका दिने र एमालेले जितेका ठाउँमा भागबन्डा गरेर उम्मेदवार उठाउने मापदण्ड गठबन्धनले तय गरेको छ । त्यसमा माओवादी केन्द्रले मात्रै ४० प्रतिशतभन्दा बढी स्थानमा आफ्नो दाबी गरिरहेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्र तेस्रो दल बनेको थियो ।

यसपटक पनि गठबन्धनसहित चुनावमा सहभागी हुने भएपछि माओवादी केन्द्र उत्साहित देखिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा देशभरका ७ सय ५३ वटा पालिकामध्ये माओवादी केन्द्रले १०६ वटा पालिकामा प्रमुख जितेको थियो । त्यस्तै १११ वटामा उपप्रमुख र ११ सयभन्दा बढी वडामा अध्यक्ष जितेको थियो भने ९९ वटा पालिका तहमा निकटतम प्रतिद्वन्द्वी बनेको थियो ।

अहिले कम्युनिस्ट मतदाता भएको प्रमुख दल नेकपा एमाले विभाजन भएसँगै माओवादी केन्द्रले आफू अघिल्लो चुनावमा दोस्रो भएका अधिकांश स्थानमा पहिलो बन्ने दाबी गरिरहेको छ । गठबन्धनभित्र पनि माओवादी केन्द्रले यसैलाई आधार बनाएर अधिकांश पालिकामा आफ्नो नेतृत्व खोजेको छ । माओवादी नेता वर्षमान पुन अहिले माओवादी केन्द्र एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै २०० भन्दा बढी पालिकामा एक्लै जित्ने हैसियत बनेको दावी गर्छन् । ‘हामी एक्लै लड्न पनि सक्षम छौं । २०७४ मा नै हामीले राम्रो संख्यामा पालिका तहका प्रमुख र उपप्रमुख जिेतको थियौँ, अब त्योभन्दा राम्रो गर्छौं,’ पुन भन्छन्, ‘किनकी संघीय सरकारमा पूरै पाँच वर्ष बस्यौं, प्रदेश सरकार पनि चलाएका छौं । हामीले जितेका पालिकाहरूमा राम्रो काम गरेका छौं ।’ उनले अघिल्लो चुनाव जितेका धेरै पालिकामा पार्टीले राम्रो काम गर्न सफल भएको भन्दै यसपटक माओवादीको भोट बढेको दाबी गरे ।

वित्त आयोगको सूचीमा पहिलो नम्बरमा रहेको डडेलधुराको अजयमेरु गाउँपालिका, तेस्रो नम्बरमा रहेको कैलालीको कैलारी र पाँचौं नम्बरको गुल्मीको धुर्कोट पनि आफ्नो पार्टीले चुनाव जितेको गाउँपालिका रहेको भन्दै यसको बलमा अघिल्लोपटकको तुलनामा अझैं बलियो उपस्थिति जनाउन सकिने नेता पुन बताउँछन् । ‘काम हामीले राम्रो गरेका छौं भने चुनावमा राम्रो नतिजा ल्याउँछौं । यो पटक २०० भन्दा बढी पालिका हामी एक्लै पनि जित्छौं,’ उनले भने ।

केन्द्रबाट तालमेल गर्ने निर्णय भएपनि स्थानीयस्तरमा पाँच दलीय गठबन्धनभित्र जिल्ला तहमा भागबण्डाको विषय नमिलेपछि मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने निर्णय हुन थालेका छन् । यद्यपि, स्थानीय पालिकामा महत्वपूर्ण मानिने महानगर, उपमहानगर र नगरमा भने गठबन्धनले केन्द्रबाटै निर्णय गर्ने भएको छ । माओवादीले चितवनको भरतपुर महानगर र जितपुर सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरमा दाबी गरिरहेको छ ।

कुन प्रदेशमा कति दाबी

सुदन किराँती

प्रदेश १ मा स्थानीय पालिकाको संख्या १३७ छ । त्यसमध्ये माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १६ वटा पालिकामा जितेको थियो । त्यसमध्ये अहिले कम्तिमा ४५ भन्दा बढी

पालिकामा आफूले दावी गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज सुदन किराँतीले बताए ।

‘कम्तिमा पनि ४५ वटा तहमा हाम्रो दावी रहन्छ । हामीले अघिल्लोपटक चुनाव जितेका १६ वटा बाहेक उपप्रमुखमा जितेका र अघिल्लो निर्वाचनमा दोस्रो भएका ठाउँमा हाम्रो दावी रहन्छ,’ उनले भने, ‘एमालेले जितेका ठाउँमा दोस्रो जो छ, उसलाई दिने । कांग्रेस ठूलो पार्टी भएकाले उसले ठूलै संख्यामा पालिका पाउँछ । हामी त्यसमा सम्मान नै गर्न चाहन्छौँ ।’

उनले केन्द्रबाट बनेको गठबन्धनको नियमलाई आधार मानेर जित सुनिश्चित हुने गरी बाँडफाँट हुने बताए ।

मधेश प्रदेशमा १३६ वटा पालिका रहेका छन् । त्यसमध्ये माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा २१ वटा पालिका जितेको थियो । तर, अहिले ४१ वटा पालिकाको नेतृत्व आफूले दाबी गर्ने माओवादीको मधेश प्रदेशका इन्चार्ज गणेश साह बताउँछन् ।

गणेश साह

‘अघिल्लो चुनावमा हामीले २१ वटा पालिका जितेका थियौं, त्यसमा दावी यथावत हुने भइहाल्यो । त्यो बाहेक धेरै पालिकामा हामी थोरै मतले दोस्रो भएका थियौं । त्यहाँ पनि हाम्रो दाबी रहन्छ । त्यस हिसाबले हाम्रो ४० वटा पालिकामा दाबी छ,’ नेता साहले भने, ‘उपमहानगरपालिका र महानगरपालिका केन्द्रले टुंग्याउने भनेको छ । यो प्रदेशमा तीनवटा उपमहानगरपालिका छ । कलैया, जितपुर–सिमरा र जनकपुर हो । त्यसमध्य जितपुर–सिमरामा हाम्रो दाबी हो ।’

उनले आफू मधेसमा बलियो रहेको भन्दै सत्ता गठबन्धनका सबै दलसँग तालमेल हुने सम्भावना न्यून रहेको बताए । ‘मधेशमा कांग्रेस पनि बलियो भएकाले सत्ता गठबन्धनका सबै दलमा तालमेल हुने अवस्था न्यून छ,’ इन्चार्ज साहले भने ।

त्यस्तै बागमती प्रदेशका ११९ वटा पालिकामध्ये माओवादी केन्द्रले १७ वटा पालिका जितेको थियो ।

तीसहित करिब ५० वटा पालिकामा आफ्नो दाबी रहने माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्री बताउँछन् । ‘हामीले अघिल्लो पटकको चुनावमा १७ वटा प्रमुख र १८ वटा उपप्रमुख जितेका थियौँ,’ उनले भने, ‘अहिले ठ्याक्कै संख्यामा गइसकेका छैनौँ । तर, ४५ देखि ५० को बीचमा हामीले प्रमुख पाउनुपर्छ भन्ने दावी छ ।’ उनले भने ।

स्थानीय तहको नेतृत्वमा माओवादी केन्द्रको सबभन्दा कमजोर उपस्थिति रहेको गण्डकी प्रदेशमा हो । गण्डकीमा रहेका ८५ वटा पालिकामध्ये ५ वटा पालिका प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो । त्यस्तै १३ वटा पालिकामा प्रमुख प्रतिद्वन्द्वी बनेको थियो ।

गायत्री गुरूङ

अहिले सम्मानजनक स्थानमा आफूलाई नेतृत्व दिनुपर्ने बताउँछिन्, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष गायत्री गुरूङ । ‘विभिन्न जिल्लाबाट दावी आएका छन् । तर, हामीले टुंग्याइसकेका छैनौँ, छलफल जारी छ,’ उनले भनिन्, ‘यहाँ ८५ वटा पालिका हुन् । त्यसमध्ये अघिल्लोपटकको निर्वाचनमा हामीले ५ वटा पालिका प्रमुख र ७ उपप्रमुख जितेका थियौँ । त्यसमा सम्मानजनक दाबी रहन्छ ।’

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले एउटा उपमहानगरसहित करिब ५० वटा पालिकामा आफ्नो नेतृत्व दावी गरिरहेको छ ।

प्रदेशमा रहेका कुल १०९ वटा स्थानीय पालिकामध्ये माओवादी केन्द्रले १९ वटामा पालिका प्रमुख र २२ वटामा उपप्रमुख जितेको थियो । त्यस्तै १७ वटामा प्रमुख प्रतिद्वन्द्वी बनेको थियो ।

चक्रपाणि खनाल (बलदेव)

अहिले लुम्बिनीमा विभिन्न पार्टीबाट प्रवेश गर्नेको संख्या धेरै भएको र संगठन पनि बलियो भएको हुँदा गठबन्धनमा सम्मानजनक संख्यामा आफ्नो दावी रहने बताउँछन, प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव) ।

‘केन्द्रमा बनाइएको मापदण्डको आधारमा नै हामीले यहाँ दावी गर्ने हो । विभिन्न जिल्लाबाट कहाँ कति दावी गर्ने भनेर रिपोर्ट आउने क्रम अझै सकिएको छैन,’ उनले भने, ‘त्यसो हुँदा अघिल्लोपटक जितेका ठाउँ र उपप्रमुख जितेका तथा दोस्रो बनेका स्थानमा हाम्रो दावी रहन्छ ।’

कर्णाली प्रदेशमा भने माओवादी केन्द्रले आफूलाई सबभन्दा ठूलो दल भएको दावी गरेको छ । हिले दोस्रो भएपनि एमाले विभाजनपछि माओवादी केन्द्र पहिलो पार्टी बनेको भन्दै सोहीअनुसार गठबन्धनमा मिलाउने बताउँछिन्, कर्णाली प्रदेश अध्यक्ष बीमला केसी ।

‘हामी कर्णाली प्रदेशमा अहिले पहिलो पार्टी हौं । एमाले फुटेपछि माओवादी पहिलो, दोस्रो, कांग्रेस र त्यसपछि एमाले हो,’ उनले भनिन्, ‘हामी धेरै नै जित्छौँ । हामी गठबन्धनभित्र पनि धेरै खोज्दैनौँ तर, पहिलो पार्टी हुने गरी हाम्रो दावी रहन्छ ।’ उनले चुनावमा पहिलो पार्टीको हैसियतमा आधाभन्दा बढी संख्यामा पालिकाको नेतृत्व पार्टीले दावी गर्ने बताइन् ।

विमला केसी

कर्णाली प्रदेशमा कुल ७९ वटा स्थानीय तह छन् । त्यसमध्ये अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले २६ पालिकामा जितेका थियो । एमालेले पालिका प्रमुख जितेका धेरै पालिकामा हामीले उप प्रमुख जितेको थियो । ‘त्यसो हुँदा अहिले एमालेको विभाजन हुँदा हामीले धेरै ठाउँमा जित्छौँ । एक्लै चुनाव लड्दा पनि हामीले कम्तिमा ४१ देखि ४३ वटा पालिकामा त्ने सम्भावना छ,’ उनले भनिन्, ‘अहिले नै हामीले कति दावी गर्ने भनेर निश्चित गरिसकेका छैनौँ । यसैको वरिपरि कर्णालीमा पहिलो पार्टी रहने गरी हामी दावी गर्छौं ।’

केसीले महाधिवेशनपछि पार्टी संगठन सुदृढ भएको भन्दै प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले पनि सम्मानजनक सिट पाउने बताइन् ।

खगराज भट्ट

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले ३० वटा पालिकाको नेतृत्व दावी गरेको छ । माओवादी केन्द्रले सुदूरपश्चिमका कुल ८८ वटा पालिकामध्ये १० वटामा प्रमुख जितेको थियो । अहिले पार्टीको अवस्था मजबुत भएकाले थप पालिकाको नेतृत्वमा दावी गर्ने बताउँछन्, माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट ।

‘हिजो हाम्रो पार्टीको अवस्था मजबुत थिएन, आज धेरै नै सक्रिय र मबजुत बनेको छ । ध्रुवीकरणबाट आउनेको संख्या गुणात्मक रूपले बढेको छ,’ भट्टले भने, ‘त्यसैले यहाँ अहिले हामीलाई ३० वटा पालिका हामीले पाउनुपर्छ ।’

उनी सुदूरपश्चिम प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रदेश भएको हुनाले पनि गठबन्धन जोगाउन पनि कांग्रेसले सम्मानजनक पालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?