+
+

कास्कीमा कांग्रेसको विज्ञप्तिले गठबन्धनमा खैलाबैला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १९:४६

५ वैशाख, पोखरा । कास्कीका स्थानीय तहमा उम्मेदवार बाँडफाँट टुंगो लगाउन सोमबार पोखरामा बसेको सत्तारुढ गठबन्धनको बैठक विना सहमति टुंगिएको छ । तर, बैठकले पोखरा महानगरपालिकाको अधिकांश वडाको भागवण्डा टुंगो लगाएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

‘अहिले पोखराका ७५ प्रतिशत वडाबारे टुंगो लागेको छ । बाँकी वडा र अन्य पालिकाबारे छलफल गर्न भोलि (मंगलबार) दिउँसो २ बजे बस्ने गरी निर्णय भएको छ,’ उनले भने, ‘अब भोलि छिनोफानो हुन्छ ।’

स्थानीय तहको नेतृत्वमा भागवण्डा टुंग्याउने विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरुबीच आइतबार साँझ, सोमबार विहान र दिउँसो छलफल भएको थियो ।

तर, गठबन्धनको बैठक बसिरहेकै बेला नेपाली कांग्रेस कास्कीका सचिवद्वयले ‘नेकपा एकीकृत समाजवादीसँग गठबन्धन हुने सम्भावना सकिएको आशयको प्रेस विज्ञप्ति जारी गरेका थिए । पोखरा होटल दीपसागरमा बैठक चलिरहेका बेला नेपाली कांग्रेस, कास्कीका सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाट हस्ताक्षरित विज्ञप्तिमा एकीकृत समाजवादीको ‘अस्वभाविक दाबीका कारण निष्कर्ष’ मा पुग्न नसकिएको उल्लेख थियो ।

विज्ञप्तिमा भनिएको थियो, ‘…पार्टी मातहतका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता सम्वाद अगाडि बढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’

तर, यस विज्ञप्तिलाई जिल्ला सभापति किशोरदत्त बरालले पार्टीको आधिकारिक नभएको स्पष्टीकरण दिएका छन् ।

कांग्रेसको विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धनको बैठक तनावपूर्ण बनेको थियो । ‘बैठकको अध्यक्षता कांग्रेस जिल्ला सभापतिले नै गरिरहेकोबेला बाहिर अर्कै विज्ञप्ति आयो,’ एकीकृत समाजवादीका नेता आचार्यले भने, ‘तर, पछि उहाँले पार्टीको आधिकारिक विज्ञप्ति होइन भनेर ब्रिफिङ गर्नुभयो ।’

कास्कीमा पोखरा महानगरपालिकासहित पाँच पालिका छन् । पाँचवटै पालिकामा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । माछापुच्छ«े गाउँपालिका र पोखरा महानगरमा नेकपा एकीकृत समाजवादी, मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र अन्नपूर्ण गाउँपालिकामा जनता समाजवादी पार्टीले दाबी गरेको छ ।

जसपाले आफूहरुको उपस्थितिलाई सम्मानजनक रुपमा नलिएको भन्दै गठबन्धन छोड्ने चेतावनी दिएको छ । ‘सहमति नभए गठबन्धन भित्रैबाट एकल रुपमा पनि चुनाव लड्नसक्ने कार्यविधि बनेको छ’, जसपा केन्द्रीय सदस्य तथा गण्डकी उपाध्यक्ष किरण थापाले भने, ‘चित्तबुझ्दो प्रस्ताव नआए हामी त्यसै अनुसार अगाडि बढ्छौं ।’ नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दम्भ छाडेमा कुरा मिल्ने, नत्र समस्या हुने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?