+
+

सर्लाहीमा तालमेल गर्ने जिम्मा पालिका संयन्त्रलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १५:५७

६ वैशाख, वीरगञ्ज । सर्लाहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने अधिकार पालिका स्तरीय संयन्त्रलाई दिएको छ ।

मंगलबार सदरमुकाम मलङ्गवामा बसेको सत्तारुढ गठबन्धनको बैठकले चुनावी तालमेलबारे निर्णय गर्ने जिम्मा पालिकालाई दिने र जिल्ला स्तरीय संयन्त्रले समन्वय गर्ने निर्णय गरेको हो ।

सर्लाहीमा पनि गठबन्धन घटक दलहरुमा उम्मेदवारको आकांक्षी बढी भएकाले गठबन्धन नगर्न चर्को दबाव छ । २० स्थानीय तह रहेको सर्लाहीमा स्थानीय तह भागवण्डाबारे छलफल समेत हुन सकेको छैन ।

‘जिल्लाबाट निर्णय गर्दा तल्लो कमिटीले निर्णय अस्वीकार गर्नसक्ने स्थिति अधिकांश दलमा छ’ नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय भन्छन्, ‘गठबन्धनभित्र थप फाटो आउन सक्ने भएकाले स्थानीय आवश्यकता र कार्यकर्ताको मनोभावना अनुसार तालमेलको निर्णय गर्ने अधिकार पालिका संयन्त्रलाई नै दिएका छौं ।’

२० वटै पालिकामा पाँच दलको गठबन्धन जोगाउने, नभए गठबन्धनभित्र सकेसम्म बढी दलबीच तालमेल गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले बताए ।

‘गठबन्धनमा तालमेल नभएको अवस्थामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका छौं’, बुढाथोकी भन्छन् ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले गठबन्धन बाहिरका दलसँग तालमेल नगर्ने सहमति भएको बताए । ‘स्थानीय आवश्यकताका आधारमा एक ठाउँमा आउन सकिन्छ भने आउने, हैन भने मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने छ’, लामाले भने ।

चुनावी तालमेल हुने वा नहुने अन्योलका कारण सर्लाहीमा सत्तारुढ गठबन्धन दलहरुले उम्मेदवार छान्न सकिरहेका छैनन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने अधिकांश पालिकाबाट उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?