+
+

‘चुरोट तान्दा धुवाँसँगै हानिकारक रसायन फोक्सो र मुटुसम्म फैलिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:००

काठमाडौं । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ चुरोटको बट्टामा यसरी नै सावधान गराइएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजसरी अम्मलीहरु चुरोटको धुँवा तान्न छाड्दैनन् ।

आखिर मान्छेमा कसरी चुरोटको लत लाग्छ ? कसरी अम्मली बन्छन् ? चुरोटमा त्यस्तो के तत्व हुन्छ, जसले तलतल लगाइरहन्छ ? यो बेग्लै खोजको विषय हो । यद्यपि जब कुनै व्यक्तिले चुरोटको धुँवा तान्छ, त्यसले फोक्सोमा कस्तो असर पुर्‍याउँछ ? त्यसका दीर्घकालीन जोखिम के-के हुन् ? यिनै विषयमा आधारित रहेर वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

चुरोटको धुवाँ तानेपछि त्यो फोक्सोसम्म कसरी पुग्छ ? त्यसले कस्तो असर पुर्‍याउँछ ?

चुरोटको धुवाँमा शरीरलाई हानी गर्ने एक हजार भन्दा बढी रसायन हुन्छ । यी रसायनहरु सँगै चुरोट बल्दा धुलोका कण, निकोटिन, कार्बोनमोनोअक्साइड र सल्फरडाइअक्साइड जस्ता हानिकारक ग्यास पनि निस्किन्छन् । चुरोट पिउने मान्छेले चुरोट तान्दा यी सबै कुरा श्वासनली हुँदै फोक्सोसम्म पुग्छ ।

अलि धुलोका अलि ठूला कणहरू श्वासनलीमै गएर टाँसिन्छन् । श्वासनलीमा टाँसिएर त्यसले खोकी लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । साना कण र ग्यास भने फोक्सोको भित्री भागसम्म पुग्छन्, तिनले फोक्सोको क्यान्सर गराउन सक्छ ।

चुरोट सेवन गर्ने र नगर्ने व्यक्तिको फोक्सोमा कति अन्तर छ भनेर हेर्दा चुरोट नपिउने मान्छेको भन्दा चुरोट पिउनेको फोक्सोको क्षमता हरेक वर्ष १० गुणाले क्षयीकरण हुँदै जान्छ ।

केही ग्यास त कहिलेकाहीं फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ र शरीरको विभिन्न अंगसम्म पनि पुग्छ । त्यसले हृदयाघात, ब्लड प्रेसर, सुगर, मिर्गौला सम्बन्धी समस्या, डिमेन्सिया, पक्षघात, रक्त क्यान्सर, खाना खाने नलीको क्यान्सर, निमोनिया र फोक्सोको क्यान्सर जस्ता समस्या देखा पर्छ ।

चुरोटको कुनै मात्रा हुन्छ ? वा दैनिक एक-दुईवटा चुरोट सेवन गर्दा त्यसले कुनै खास असर गर्छ ?

चुरोटको कुनै मात्रा हुँदैन, एक खिल्ली मात्र चुरोट तानियो भने पनि त्यसले दीर्घकालीन असर गर्छ । कसैले जीवनको कुनै कालखण्डमा एक सय खिल्ली भन्दा बढी चुरोट सेवन गरेको छ भने उसलाई नियमित चुरोट खाने व्यक्तिको सूचीमा राखिन्छ ।

एक सय खिल्ली भन्दा बढी चुरोट सेवन गरेको छ भने उसलाई चुरोटको कारण हुने हानी बढी हुने गर्छ । चुरोट खाने वरपरको व्यक्तिमा चुरोटको धुवाँले असर गर्छ भने सेवन गर्ने व्यक्तिमा झनै धेरै असर गर्ने नै भयो ।

नियमित चुरोट सेवन गर्नेको फोक्सोमा कस्तो क्षति देखिन्छ ?

नियमित चुरोट सेवन गर्ने व्यक्तिको फोक्सोमा (ब्रोंकाइटिस) श्वासनलीमा इन्फेक्सन हुन्छ । जसको कारण घाँटी खसखस गर्ने, खोकी लाग्ने, स्वर चेन्ज भई राख्ने, खकार आइरहने, निमोनिया, दमको रोग र फोक्सो क्यान्सर जस्ता फोक्सोसँग सम्बन्धित समस्या देखिन्छ ।

विगतमा चुरोट पिएको र पछि छाडेको व्यक्तिको फोक्सोमा कुनै सुधार देखिन्छ ?

चुरोट छाडेको केही मिनेटपछि नै व्यक्तिको शरीरमा फाइदाका संकेत देखिन थाल्छन् । चुरोट पिइरहने व्यक्तिको मुटुको चाल बढी हुन्छ, ब्लड प्रेसर बढी हुन्छ, निन्द्रा नलाग्ने छटपटाहट र मानसिकदेखि शारीरिक समस्या जति पनि हुन्छ ती समस्यामा चुरोट छाडेको व्यक्तिमा कम हुन्छ ।

चुरोट सेवन गर्ने क्रममा फोक्सोमा गरेको जुन असर हुन्छ, चुरोट छाडेको १० वर्षपछि फोक्सोका असरहरूको सम्भावना कम भएर जान्छ । तर कसैले ३० वर्ष भन्दा बढी चुरोट सेवन गरिरहनु भएको छ भने चुरोट छाडे पनि विभिन्न स्वास्थ्य समस्याहरू पछिसम्म पनि देखिन्छन् ।

यसको मतलब ३० वर्षसम्म चुरोट सेवन गरेको मान्छेले चुरोट नछाडे पनि हुन्छ भन्न खोजिएको होइन । चुरोट सेवन गरिराख्ने मान्छेको समस्या बल्झिंदै बढ्दै जान्छ भने खान छाडेको मान्छेमा समस्या बल्झिने र बढ्ने भने हुँदैन । चुरोट छाडेपछि पनि ५ देखि १० प्रतिशत फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ ।

तुलनात्मक रूपमा हेर्दा चुरोट सेवन गर्ने र नगर्ने व्यक्तिको फोक्सोमा कति अन्तर हुन्छ ?

चुरोट सेवन गर्ने र नगर्ने व्यक्तिको फोक्सोमा कति अन्तर छ भनेर हेर्दा चुरोट नपिउने मान्छेको भन्दा चुरोट पिउनेको फोक्सोको क्षमता हरेक वर्ष १० गुणाले क्षयीकरण हुँदै जान्छ । चुरोट नपिउने मान्छेको तुलनामा छिटो चुरोट पिउने मान्छेको फोक्सो पनि छिटो बिग्रन्छ ।

काठमाडौंमा जुन प्रदूषण छ, त्यसले चाहिं फोक्सोमा कस्तो असर गरिरहेको पाइन्छ ?

प्रदूषणको असर नियमित चुरोट पिउने मान्छेको जति नै हुन्छ । उदाहरणको लागि लामखुट्टे मार्ने धूप र अगरबत्ती बाल्यौं भने त्यसबाट जति हानिकारक केमिकल निस्कन्छ ती केमिकलहरूले ५० खिल्ली चुरोट पिए जति स्वास्थ्यमा असर गर्छ ।

त्यसैलाई तुलना गरेर हेर्दा वातावरण प्रदूषण भएको ठाउँमा २४ घण्टा बस्दा यसको असर सयौं खिल्ली चुरोट खाए बराबरको हुन्छ । स्वास्थ्य व्यक्तिमा पनि वातावरण प्रदूषणको कारणले खोकी लाग्ने, घाँटी खसखस गर्ने श्वासप्रश्वासमा समस्या जस्ता असर देखिएको छ र पछि दम जस्तो दीर्घ रोग लाग्ने सम्भावना पनि बढेको हुन्छ । दीर्घ रोग, दम र फोक्सोको समस्या हुने व्यक्तिहरूमा त प्रदूषणले झन् धेरै समस्या देखा पर्छ ।

सहरको प्रदूषणले चुरोट सेवन नगर्ने व्यक्तिको फोक्सोमा पनि गम्भीर क्षति पुगिरहेको हुन्छ भनिन्छ, के सत्य हो ?

यो एकदमै सत्य हो । चुरोटबाट हजारौं केमिकल निस्किए जस्तै वायु प्रदूषणमा पनि सयौं हानिकारक ग्यास, केमिकल र धुलोका साना कण सँगसँगै सल्फडाइअक्साइड, कार्बनमोनोअक्साइड, ओजन, नाइट्रोजनअक्साइड लगायत विभिन्न हानिकारक ग्यास हुन्छ ।

वायु प्रदूषणमा भएको यी विभिन्न हानिकारक तत्वहरुले श्वासनलीमा असर गर्ने, फोक्सोमा असर गर्ने र शरीरको सम्पूर्ण अंगमा चुरोट खाने मान्छेको जस्तै असर गर्छ ।

भान्सामा पनि निकै प्रदूषण हुन्छ, यसले गृहिणीहरुको स्वास्थ्यमा कस्तो असर गरिरहेको हुन्छ ?

भान्सामा हुने प्रदूषणलाई आन्तरिक वायु प्रदूषण पनि भनिन्छ । अहिले पनि गाउँघरमा खाना पकाउन गुइँठा, दाउरा, भुस आदि प्रयोग गरिन्छ । यसरी दाउरा बाल्दा तिनीहरूबाट निस्कने धुवाँबाट पनि विभिन्न खल्का हानिकारक ग्यास, केमिकल र धुलोका कणहरू निस्केको हुन्छ, यिनीहरूको असर अझ धेरै हुन्छ । किनभने गाउँघरमा दाउरा बाल्दा बन्द कोठा र भेन्टिलेटर राम्रो नभएको कोठामा बालिन्छ । जसले हानिकारक ग्यासको प्रभाव झन् बढी हुन्छ । पछि दाउरा बाल्न छाडेपछि पनि गृहिणीलाई स्वास्थ्यमा विभिन्न असर देखिन्छ ।

दाउराबाट निस्किएको धुवाँ मात्र होइन, खाना पकाउँदा प्रयोग हुने तेलको धुवाँ र भान्साबाट निस्कने अन्य धुवाँले पनि गृहिणीहरुमा खोकी, दम र फोक्सोको क्यान्सर जस्तो समस्या देखा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?