+
+
अन्तर्वार्ता :

ललितपुरमा मेयरका उम्मेदवार श्रेष्ठ भन्छन् : मेरो प्राथमिकतामा निःशुल्क शिक्षा र स्वास्थ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १३:४९

उज्ज्वलकृष्ण श्रेष्ठ, विवेकशील साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाका उम्मेदवार हुन् । नेपालमा ठूला दलहरूले पटक–पटक अवसर पाएर पनि जनताको हितमा प्रभावकारी काम गर्न नसकेको कारण आफू राजनीतिमा आएको श्रेष्ठ बताउँछन् ।

भारतको आम आदमी पार्टीबाट प्रभावित श्रेष्ठ भन्छन्, ‘हामी ललितपुर महानगरलाई व्यवस्थित गर्न चाहन्छौं, जसरी भारतमा केजरीवालले गरेका छन् ।’

एक अर्ब बजेट कार्यान्वयन हुँदा लगानी २०-३० करोड र बाँकी भ्रष्टाचार हुने उनको दाबी छ । भ्रष्टाचार न्यूनीकरण गरेर त्यो रकमबाट नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने उनको जिकिर छ ।

आसन्न निर्वाचनका सन्दर्भमा मेयरका उम्मेदवार श्रेष्ठसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंरामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :

मेयरमा तपाईंको उम्मेदवारी किन ?

हामीले धेरै देखिसक्यौं । अग्रज दाइहरू धेरै हेरिसक्यौं । हामी नयाँ नै भयौं । र, हामी एउटा नमूनाको रूपमा ललितपुर महानगरलाई व्यवस्थित गर्न चाहन्छौं । भ्रष्टाचार विना राम्रो सर्भिस दिन चाहन्छौं । जस्तै भारतमा केजरीवालले गरे ।

तपाईंका प्रमुख तीन प्राथमिकता के हुन् ?

शिक्षा, स्वास्थ्य र नगरवासीलाई दिइने सेवा हाम्रो प्राथमिकता हुन् । अरू चिज पनि धेरै छन् । कला सम्पदाहरूको जगेर्नादेखि पानी, बिजुली जस्ता दुनियाँ चिज छन् । तर, शिक्षा विना त केही पनि हुँदैन । शिक्षा छैन भने सफा सहरको योजना पूरा हुन सक्दैन ।

नगरपालिकाले कुचो लगायो, सफा गर्‍यो, एकछिनपछि कसैले प्लास्टिक फालिदिन्छ, कसैले चुरोटको बट्टा फाल्छ, कसैले थुकिदिन्छ । शिक्षा भयो भने मानिसहरूले आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्छन् । अस्पताल त चाहियो नै । तर सकेसम्म अस्पताल जानै नपर्ने गरी के गर्ने भन्ने पनि हेर्नुपर्छ । त्यसैले हामी चुनिएर आयौं भने १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्छौं ।

स्वास्थ्यमा पनि महानगरभित्र ठूलो केस बाहेक साधारण केस सबै निःशुल्क गर्ने हाम्रो प्लान छ । अर्को भनेको नगरबाट पाउने सेवा हो । नगरवासीलाई चाहिने धारा, बिजुली, नक्सा पास गर्ने लगायत काम–कारबाहीलाई हामी सहज बनाउँछौं ।

निःशुल्क शिक्षा, स्वास्थ्य निःशुल्क र सरकारी सेवा घरघरमै कसरी पुर्‍याउने भन्ने योजना पनि छ ?

सेवा घर–घरमा भनेको तीन किसिमले गर्छौं । एउटा– जो सरकारी कार्यालय आउन सक्छ, ऊ आउन पाइहाल्यो । सरकारी कार्यालय आउँदा पनि एकदमै छिटो सेवा प्रवाह गर्छौं ।

दोस्रो– घरघरमै गएर सेवा प्रवाह गर्ने । जो बुढापाका छन, साक्षर छैनन्, उहाँहरूलाई घरमै गएर सेवा दिने । फोन गरेर सेवा के चाहिएको हो, जानकारी गराए पुग्छ ।

तेस्रो– अनलाइन सेवा । जसलाई फुर्सदै छैन, उसले अनलाइनबाट सेवा लिन सक्छ । खानेपानी, बिजुली जस्ता सेवा लिने विषयलाई अनलाइनबाटै गराउँछौं ।

आम नागरिकले आफ्नो कमाइको ठूलो हिस्सा परिवारको स्वास्थ्य र सन्तानको शिक्षामा खर्च गर्नुपर्ने बाध्यता छ । यो चाहिं कसरी निःशुल्क बनाउनुहुन्छ ?

अहिले नै महानगरमा करिब एक अर्ब बजेट छ । तर २०-३० करोड भन्दा बढीको काम हुँदैन । बाँकी सबै भ्रष्टाचार हुन्छ । त्यो भ्रष्टाचारलाई मात्र रोक्न सक्ने हो भने शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिन्छ । हामी त्यही गर्न चाहन्छौं ।

तपाईंलाई तपाईंकै पार्टीका कार्यकर्ताले भोट देलान्, अरूले तपाईंलाई किन मत दिने ?

हाम्रो पार्टीमा कार्यकर्ता भन्ने नै हुँदैन । साथीहरू हुन्छन्, स्वयंसेवक हुन्छन् । पहिला त हामी नयाँ पार्टी थियौं, हाम्रो कोही पनि थिएन । पहिले हाम्रो मेयर/उपमेयरमा मात्रै उम्मेदवारी थियो । अहिले हाम्रो वडाहरूमा पनि उम्मेदवार छन् । भनेको वडा वडामा हाम्रो कमिटी पनि छ । हाम्रो सञ्जाल बढेको छ ।

अर्को, नेपालमा रहेका पुराना पार्टीहरूले विगतमा के के गरे भन्ने सबै नागरिकलाई थाहा छ । नराम्रो कामको लिस्ट लामो छ । त्यसकारण नागरिकहरूमा ‘फ्रस्टेसन’ छ र अब नयाँ आउनुपर्छ भन्ने उहाँहरूको माग पनि हो । नयाँ कोभन्दा हामी हौं । नयाँभन्दा कसैले राप्रपा पनि भन्छन् । तर, राप्रपाको ग्राउण्डमा राम्रो छैन । त्यसकारण हामीलाई भोट दिन्छन् भन्ने विश्वास छ ।

कांग्रेस, कम्युनिस्टकै युवाहरू पालो पर्खिंदा पर्खिंदा बुढा भइसकेका छन् । उनीहरूले पनि युवाले जिते हाम्रो जित हुन्छ भन्छन् । किनकि यदि अहिले मैले जितें भने भोलिका दिनमा कांग्रेस र कम्युनिस्टका युवाहरूले पनि अवसर पाउन सक्छन् ।

प्रतिनिधिसभा सदस्यमा पनि उठ्नुभएको थियो, त्यो बेला नआएको भोट यो बेला आउँछ भन्ने आधार के ?

त्यो बेला सामाजिक कामहरू गरेको भए पनि राजनीतिमा एकदमै जिरो थिएँ । चिया खाँदा समेत यो गरेन, त्यो गरेन भनेर कराएको सुनेकाले उम्मेदवारी दिएँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा ८ हजार भोट ल्याएँ ।

जुन मेरो निर्वाचन क्षेत्र थिएन, म दुई नम्बर क्षेत्रको हुँ । तैपनि राम्रै सपोर्ट पाएँ । ललितपुर महानगरपालिका ३ नम्बर र २ नम्बर दुवै क्षेत्र पर्छ । त्यसैले त्योबेला भन्दा अहिले धेरै भोट आउँछ ।

मेयरमा उम्मेदवारी दिएपछि धेरैले फोन गरेर तथा व्यक्तिगत र सामूहिक रूपमा भेटेर यो पाँच वर्ष तिमीलाई हेर्छौ भने । यसकारण पनि म निकै उत्साहित छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?