+
+
अन्तर्वार्ता :

‘गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते २०:१६

१८ वैशाख, काठमाडौं । महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ ।

तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको बताउने भट्टराई भन्छन्, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ ? प्रचण्डजीको ह्वीप लाग्छ ? मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन् ।’

अहिले पनि एमाले दक्षिण एसियाकै बलियो पार्टी भएको भन्दै उनले आगामी चुनावमा ५० लाख बढी मत ल्याउने दाबी गरे । ‘…हाम्रो मत ५५ लाख हुन्छ । यसमा माधव नेपालले लैजाने एक/दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ’, भट्टराई भन्छन् ।

प्रस्तुत छ, अनलाइनखबरकर्मी सइन्द्र राईसँग भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय चुनावमा साझा उम्मेदवार तयार पार्ने सत्तारुढ गठबन्धनको निर्णयमा देखिएको समस्याले एमाले खुशी होला, हैन ?

गठबन्धनको निर्णयले एमाले खुशी वा निराश हुने हुँदैन । एमाले आफ्नै राजनीतिक आधारमा अडिएको पार्टी हो । कार्यकर्ता र जनतामा आधारित दक्षिण एसियामा अहिले दुई ठूला र बलिया पार्टी छन्, भारतमा बीजेपी र नेपालमा एमाले । दुवै पार्टी सुदृढ संगठनात्मक संरचना भएका पार्टी हुन् ।

एमाले अचानक बनेको पार्टी होइन । पार्टी निर्माणकै क्रममा सात दशक बितायौं । यो सात दशकमा एमाले समाजका प्रत्येक अंग प्रत्यंगमा पुगेको छ ।

एमाले टुप्पोबाट फलेको पार्टी होइन, यो जगबाट बनेको पार्टी हो । सानातिना झोक्काहरुको सामना एमालेले गर्दै आएको छ, गर्छ । आज पनि एमाले त्यत्तिकै बलियो पार्टी छ । त्यसैले एमालेलाई हराउने एक मात्रै उद्देश्यले गठबन्धन बनेको छ । एमाले कमजोर भएको भए गठबन्धन बन्ने नै थिएन । कांग्रेस, माओवादी र माधव नेपाल आफैं चुनाव लड्ने हुन्थ्यो होला । तर उहाँ सबैको स्वार्थ एमाले हराउने हो ।

एमाले दक्षिण एसियाको बलियो पार्टी थियो होला ?

आज पनि छ । जनसंख्याका हिसाबले हामी भन्दा बांग्लादेश, पाकिस्तान ठूलो छ । त्यहाँका पार्टीहरुको सदस्यता बढी होला । तर जनसंख्याको अनुपातका हिसाबले एमाले बलियो पार्टी हो ।

तर आज एमाले विभाजनको पीडा खेपिरहेको छ त ?

आधारभूत हिसाबले एमाले विभाजित भएको छैन । मात्रात्मक हिसाबले विभाजित छ । सिद्धान्तको हिसाबले एमाले विभाजित छैन । एमालेबाट अलग हुनेहरुले पृथक सिद्धान्त बोक्नु भएको छ र ? जनताको बहुदलीय जनवाद हुँदै समाजवादमा जाने लक्ष्य हो, माधव नेपालले लिएको पनि र सगौरव एमालेकालीन अवस्थाको उपलब्धिको श्रेय आफूले पनि पाउनुपर्छ भनिरहनुभएको छ ।

संगठनात्मक हिसाबले अलग पार्टी बनाउन संविधान र कानूनले संसदीय दल र पार्टी केन्द्रीय कार्य समितिमा ४०/४० प्रतिशत चाहिने थियो । तर ४० प्रतिशत पुर्याउन नसकेर २० प्रतिशतको सुविधा दिइयो । त्यसो हुनाले संगठनात्मक रुपमा एमाले विभाजित भयो भन्न म सक्दिनँ ।

जनमतको कुरा गर्दा गएको चुनावमा एमालेले ३२ लाख लोकप्रिय मत पाएको हो । यसपटक ३६ लाख मतदाता थपिएका छन् । त्यसमा ८० प्रतिशत २३ वर्ष उमेर समूहका छन् । अहिले देशभर कुनै राजनीतिक कार्यक्रममा क्रेज छ भने त्यो एमालेमा देख्नु हुन्छ ।

सामाजिक सञ्जालमा मात्रै स्याम्प्लिङ गर्नुभयो भने पनि झण्डै ७० प्रतिशत एमाले छन् । गीतमा नाचेर टिकटक बनाउने एमाले नै छन् । त्यो ३६ लाख मतदाता मध्ये झण्डै २० लाख मतदाता एमाले हुन् ।

एमालेमै रहेका माओवादी पृष्ठभूमिका पाँच लाख होलान् । गएको चुनावमा मधेशमा हामीलाई पस्न दिइएको थिएन । एकदमै कठिन थियो । धेरै मत खुम्चिएको थियो । तर आज मधेश प्रदेशको मुख्य शक्ति एमाले भएर आएको छ । दुई/चार लाख मत मधेशमा थपिन्छ । सवैभन्दा धेरै मतदाता भएको प्रदेश मधेश हो ।

प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी जस्ता एमालेको आधार भएका ठाउँमा विभाजनको असर छैन । थोरै असर कर्णाली र सुुदूरपश्चिममा हो । यी आधारमा हाम्रो मत ५५ लाख हुन्छ । यसमा माधव नेपालले लैजाने एक दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ ।

तपाईँले त अहिलेसम्म कुनै पनि दलले ल्याउन नसकेको मत संख्याको पो दाबी गर्नुभयो त ?

हामी त्यसै हावामा राजनीति गरेका छैनौं । हाम्रो आधार, वर्ग, उमेर समूह, सामाजिक बनोटमा एमाले कहाँ छ, पहाड र मधेशमा कति छौं जस्तो विगतका ट्रेन्ड हेर्छौं ।

जस्तो– २०७० सालको चुनावमा अशोक राई लगायत कमरेडहरुले पार्टी छोड्नुभयो । त्यसबेला एमाले जनजाति विरोधी पार्टी भनेर अभियान नै चलाइयो । त्यसको असर पूर्व र गण्डकी प्रदेशमा ज्यादा परेको थियो । तर नतिजा भने ताप्लेजुङदेखि सोलुखम्बु र ओखलढुंगासम्म, उता लमजुङ, बाग्लुङ, पर्वत, कास्की जस्ता जनजाति बहुल क्षेत्रमा ९० प्रतिशत एमालेले जितेको छ । म एमालेको शीर्ष ठाउँमा छु भने मेरो पार्टीको प्रभाव कहाँ–कहाँ छ, पार्टी कसरी गइरहेको छ भन्ने आँकलन गर्छु ।

गठबन्धनको शक्ति पनि आँकलन गर्नु भएकै होला ?

बहुदलीय प्रतिस्पर्धाको राजनीतिक सिद्धान्तमाथि नै गठबन्धनले धावा बोलिरहेको छ । अरुलाई त भन्दिनँ, माओवादीको बहुदलीय प्रतिस्पर्धामा धेरै लगाव पनि होइन । माधव नेपालजीको पहिलेबाटै लगाव हो । तर कांग्रेसलाई भन्छु– जसको जन्म नै बहुदलीय व्यवस्थालाई आदर्श मानेर भयो । आज त्यो पार्टी बहुदलीय प्रतिस्पर्धाका न्यूनतम आधारभूत कुरालाई छोडिरहेको छ ।

बहुदलीय व्यवस्था भनेको प्रतिस्पर्धाको व्यवस्था हो । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने र श्रेष्ठता हासिल गर्नेले शासनको बागडोर सम्हाल्ने होइन । आज कांग्रेस त्यो सिद्धान्त र जगमा उभिएको छ ? कांग्रेसले त लिक छोडिसक्यो ।

त्यसैले एमालेको काँधमा अरु दायित्व थपिएको छ । खासगरी कांग्रेसले बोकिरहेको उदार लोकतान्त्रिक स्पेस संकटमा छ । कांग्रेसले त्यो ठाउँ गठबन्धनकै कारणले गुमाउँदैछ । कालो कांग्रेस, चैते कांग्रेसको कुरा नगरौं, सच्चा कांग्रेसले लिक छोडिरहेको छ । उनीहरुले उदार लोकतान्त्रिक शक्ति त बनाउन सक्दैनन् । त्यो सच्चा लोकतान्त्रिक मान्छेलाई एमालेले संरक्षण दिनुपर्छ ।

माओवादीभित्र पनि दलाल पुँजीवादसँग लडिरहेको वामपन्थी, प्रगतिशील तप्का छ । त्यो पंक्ति कांग्रेससँग मिलेर समाजवादसम्म पुगिन्छ भन्नेमा विश्वास गर्दैन । उनीहरुलाई विचलित हुन नदिनु एमालेको दायित्व हो ।

प्रचण्डजीले छोड्नुहोस् भन्दा आफ्नै कार्यकर्ताले त मानिरहेका छैनन् । देउवाजीले पटक–पटक भन्दा र टोली पठाउँदा त मानिरहेको छैनन् आफ्नै सदस्यहरुले । मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ ? प्रचण्डजीको ह्वीप लाग्छ ? मतदाताले त्यस्ता ह्वीप सब तोडिदिन्छन् ।

गठबन्धनका नेताहरू तालमेल मिलाए पुग्छ भन्ने मुडमा देखिन्छन् । तर एमाले नेताहरु असिन–पसिन देखिन्छन् । यो डराएको, आत्तिएको प्रमाण होइन र ?

ब्रह्माले मान्छे बनाउन खोजे । त्यसका लागि विभिन्न ठाउँबाट एउटा एउटा चिज ल्याएर जोडे, तर त्यो मान्छे नभएर ऊट बन्यो । गठबन्धन त्यस्तै हो । जोडजाडले एउटा शक्ति त हुँदैन । त्यसको आयतन अलिकति ठूलो देखिन्छ । तर, त्यसमा इम्युनिटी पावर हुँदैन । गठबन्धनसँग प्रतिरोधात्मक क्षमता छैन ।

कहिलेकाँही विभिन्न टिमका खेलाडी ल्याएर टिम बनाइन्छ । तर खेलाडीहरुबीच पास दिने तालमेल हुँदैन । एउटा टिमभित्र पो खेलाडीको सन्तुलन हुन्छ । गठबन्धनभित्र के मिल्छ ? केही मिल्दैन ।

फेरि एमाले अलराउण्डर हो । ब्याटिङमा पनि छक्का हान्छ, विकेट पनि लिन्छ । अर्को टिम त हेरेको हेर्यै हुन्छ ।

एमालेले पनि साना दलहरुसँग तालमेल गरेको छ त ?

एक प्रतिशत होला । कांग्रेसले त हरेक प्रचार सामग्री नै सुधार्नुपर्छ । एमालेले पर्दैन । एमालेले सात सूर्य, सात छाप भनेर प्रचार गर्छ । ९९ सय प्रतिशत ठाउँमा हामीले भन्ने यही हो । तर कांग्रेसले सात रुख, सात छाप भनेपछि भरतपुरमा के हुने ? पोखरामा के हुने ? इटहरी र धरानमा के हुने ? सयौं ठाउँमा के हुने ? त्यसैले कांग्रेसले केन्द्रीय प्रचार सामग्री नै बनाउन सक्दैन ।

सात हँसिया हथौडा, सात छाप भन्न सक्छ माओवादीले ? माधव नेपालले सात छाप भन्न सक्नुहुन्छ ? उहाँहरुलाई चुनाव चिह्नमै अल्मलाइदिएका छौं । हामी त अगाडि गइसक्यौं ।

प्रचार सामग्री बनाउन सजिलो होला । तर ०७४ को चुनावी नतिजा हेर्दा त परिणाम अर्कै आउने सम्भावना बढी देखिन्छ नि ?

हेर्नुहोस्, डोनाल्ड ट्रम्पको भन्दा हिलारी क्लिन्टनकै इक्जिट पोल राम्रो थियो । ट्रम्पले चुनाव जिते । मिडियाको प्रोजेक्सनमा त हिलारी नै थिइन् । दोस्रोपटक पनि त्यस्तै थियो । त्यसैले यस्ता कुरा चुनाव अगाडि समाचार खपत गर्ने कुरा हुन् ।

म सबै इक्जिट पोल गलत हुन्छ भन्दिनँ । तर कहिलेकाहिँ मिडियाले पनि अनुमान नै लगाउन सक्दैन । मलाई विश्वास छ, नेपालको मिडियाले एमालेको नाडी पक्कै छामेको छ । एमाले कहाँ छ भन्ने नेपालको मिडियाले बुझेको छ । एमालेसँग मिडियाको नङ र मासुको सम्बन्ध छ । त्यसैले गठबन्धन बलियो छ भनेर कुनै इक्जिट पोल निस्कन्छ भन्ने लाग्दैन । यदि कसैले निकाल्छ भने त्यसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्छ । किनभने भोलिको परिणामले प्रश्न उठाउँछ ।

तर ०७४ को प्रदेश तथा प्रतिनिधिसभा चुनावमा तपाईँहरुले पनि माओवादीसँग गठबन्धन गरेको होइन ? अहिले यति धेरै आशंका र आरोप किन ?

हामी गाउँका मान्छे हौं । खेतमा जोत्दा दुई वटा गोरु जोत्छौं । गोरु र राँगाको हल मिल्दैन । काले र पुँडे गोरु हुनसक्छ । गोरु त गोरु हो नि । रंग नमिले पनि जुवा मिल्छ । कांग्रेस र माओवादीको गठबन्धनमा केमेस्ट्री मिल्छ ? एचटुओ भएपछि पानी निस्कन्छ । यो गठबन्धनले कुनै तत्व निकाल्दैन । एमाले र माओवादीको समीकरण एचटुओ थियो । हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो । यहाँ बन्दैन ।

गठबन्धन बेठीक भन्दिनँ । तर, जसको प्रि–इलेक्सन र पोस्ट इलेक्सन गठबन्धन हुन सक्नुपर्छ । जस्तो– ०७४ सालमा गठबन्धन गर्यौं । गठबन्धन मात्रै भएन, पार्टी नै एकता गर्यौं । टिकेन बेग्लै कुरा हो । त्यसको छुट्टै व्याख्या गरौंला । यो हल नमिलेको, केमेस्ट्री नमिलेको, वैज्ञानिक सिद्धान्त नमिलेको गठबन्धनले नकारात्मक परिणाम दिन अनिवार्य छ । त्यो नकारात्मक परिणामको फाइदा एमालेले लिन्छ ।

गठबन्धन किन गर्यौं भन्नेमा जस्तो तर्क दिइएको छ, त्यो तर्क कमजोर त छैन !

पार्टीको सदस्यलाई त ह्वीप लागिरहेको छैन । प्रचण्डजीले छोड्नुहोस् भन्दा आफ्नै कार्यकर्ताले त मानिरहेका छैनन् । देउवाजीले पटक–पटक भन्दा र टोली पठाउँदा त मानिरहेको छैनन् आफ्नै सदस्यहरुले । मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ ? प्रचण्डजीको ह्वीप लाग्छ ? मतदाताले त्यस्ता ह्वीप सब तोडिदिन्छन् ।

किनभने यो अनैतिक गठबन्धन हो । अनैतिक गठबन्धनसँग मतदाता किन टाँसिन्छन् ? सामान्य नागरिक र मतदाताका निम्ति उहाँहरुको ह्वीप मान्नुपर्ने अनिवार्य छैन । उहाँहरुलाई होला ।

हरेक दिन बिहान बालुवाटारमा बैठक बस्नुहुन्छ, विज्ञप्ति जारी गर्नु हुन्छ । यिनीहरुले जारी गरेको विज्ञप्ति कार्यकर्ताले कार्यान्वयन गर्छन् ? जनताले कार्यान्वयन गर्छन् ? म त भन्छु– कांग्रेसको २५ प्रतिशत केन्द्रीय सदस्यले यो विज्ञप्ति कार्यान्वयन गर्दैनन् । उनीहरु स्वतन्त्र भोट हाल्छन् । माओवादीको पनि त्यही हो ।

चुनावमा पुग्दा कलम त धेरै सूर्यतिर फर्कन्छन् । मसी सुकेको कलममा त कोही बस्दैन । बस्नुपर्ने औचित्य नै छैन । किनभने त्यो कलम नयाँ होइन । त्यसले नयाँ के दिएको छ ? के एजेण्डा नयाँ दिएको छ ?

एकीकृत समाजवादीले उठाएको संविधान र व्यवस्था जोगाउने एजेण्डा नयाँ होइन ?

को संविधान विरोधी छ र ! राजेन्द्र लिङ्देन त संविधानभित्र हुनुहुन्छ । संविधान घोषणा गरेको बेला उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले त संविधान च्यात्नुभयो नि ! एमालेले उहाँहरुलाई संविधानको ट्र्याकमा ल्याएको छ ।

संविधान र व्यवस्था मान्दैनौं भन्ने सिके राउतलाई एमालेले मूल प्रवाहमा ल्याएको हो । विप्लवजीलाई मेन स्ट्रिममा ल्याएको होइन ? को संविधानको विरोधी छ ? अब संविधानको अभ्यास गर्दा प्रधानमन्त्रीले कहिलेकाहिं शक्तिको अभ्यास गर्न सक्छ ।

त्यो ठीक वा बेठीक समीक्षा हुन्छ । अदालतले एउटा समीक्षा गरिसकेको छ । फेरि कोही प्रधानमन्त्री म संसद विघटन गर्दिनँ भनेर कसम खान्छ ? खाएको छ ? गिरिजाप्रसादले गर्नुभएन ? शेरबहादुर देउवाजीले गर्नुभएन ? बरु केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिले शेरबहादुर देउवाको हातमा सरकार गयो । शेरबहादुर देउवाजीले संसद विघटन गर्दा सत्ता कहाँ सुम्पनु भयो ? राजालाई सम्पनु भएन ? प्रतिगमन र अग्रगमन भन्नेहरुले यसलाई पनि हेर्नुपर्छ ।

कांग्रेसले यसको जवाफ घोषणापत्रबाट दिएको छ, सायद !

हाम्रो आलोचनामा कांग्रेसले घोषणापत्रमा एक ठाउँ लेखेको रहेछ– एमालेले ठूलाठूला परियोजना, मेघा परियोजना बनायो । यस्तो समृद्धिको कुरा गरेर हुन्छ ? एयरपोर्ट, पानी जहाज, पहाडका टाकुराबाट रेल कुदाउने कुरा गरेर हुन्छ ? मेघा प्रोजेक्टमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनायौं । कांग्रेसलाई चित्त बुझ्दैन भने खसी पालन गर न त्यहाँ, कुखुरा पालन राख ।

पूर्वपश्चिम पुष्पलाल मध्यपहाडी हाइवे बनायौं । पाँचथरको च्याङ्थापुदेखि बैतडीसम्म पुग्न सक्नुहुन्छ । यो परियोजना मन पर्दैन भने भत्काऊ । कांग्रेसले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछ कि बनाउँदैन ? एमालेले पूर्वपश्चिम हाइवे फोर लेनको बनाउने परियोजना अगाडि सार्यो । ठूला आयोजना बनाउन हुन्न भने त्यो परियोजना खारेज गर । कांग्रेसले गर्न सक्छ ? अपर तामाकोशी कांग्रेसले भत्काउँछ ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कांग्रेसले ताला लगाउँछ ?

तर कांग्रेसले ठूला परियोजना भन्दा पनि बढी प्राथमिकता मान्छे हो भनेर स्वास्थ्य, शिक्षा र रोजगारको कुरा गर्न पाउँदैन ?

नवउदारवादीहरु, जसले मान्छेलाई वस्तुका रुपमा प्रयोग गर्छन्, तिनीहरुले हामीलाई मान्छेको मूल्य सिकाउने ? जसले जिन्दगीभर मान्छेका निम्ति लडेको छ ।

कम्युनिष्ट आन्दोलन, मार्क्सवादी विचार भनेको मान्छेका लागि लडेको होइन ? त्यसविरुद्ध खडा भएको होइन, पुँजीवादी नवउदारवाद ? जसले मान्छेलाई वस्तुका रुपमा प्रयोग गर्यो, तिनीहरुले हामीलाई मान्छेको मूल्य सिकाउने ?

हामीबाट सिकेका हुन्, ती कुरा । जेष्ठ नागरिक भत्ता हामीले दियौं, कांग्रेसले काट्न सकेन । अपाङ्ग भत्ता हामीले दियौं, कांग्रेसले काट्न सकेन । दलित समुदायको शिक्षा र स्वास्थ्यको कुरा, महिलाहरुलाई अस्पतालमा सुत्केरी हुँदा भत्ता दिने कुरा, कृषिमा अनुदानको कुरा गर्यौं, कांग्रेसले काट्न सकेन । यो त हाम्रो कार्यक्रमको निरन्तरता हो । कांग्रेसले त्यसलाई पछ्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?