+
+
व्यङ्ग्य :

प्रा.डा.आ.इ., हु.डा., हु.इ.

वसन्त गौतम वसन्त गौतम
२०७९ वैशाख १९ गते १२:१७

केही वर्ष पहिलेको कुरा हो, क्याम्पसको प्रशासन शाखामा कुनै कामविशेषले पुग्दा त्यो बिहानको एक घटनाको चर्चा चलिरहेको थियो । एकजना शिक्षण सहायकले प्रशासनबाट पाएको कुनै पत्रलाई च्यातेर फोहोर फ्याँक्ने डालोमा हालेछन् र रिसले फन्केर हिंडेछन् । कारण रहेछ उक्त चिठ्ठीमा उनको नामको अगाडि ‘इ.’ नलेखिनु । चार महिना पहिला मात्रै बि.इ. सकेर शिक्षण सहायकका रूपमा जागिरमा छिरेका ती युवा मित्रको यस्तो ‘इ.’ मोह सम्झेर अहिले पनि हाँसो उठ्छ मलाई ।

चिकित्साशास्त्र पढ्नेहरूले एमबीबीएस सक्नासाथ ‘डा.’ लेखेको देखेर होला, बीई सक्नेहरूले ‘इ.’ लेख्ने रहर गरेको । कसैले आफ्नो रहर पूरा गरिरहँदा त्यसको खेदो खन्ने रहरचाहिं मेरो होइन, तर बिहे र पास्नीका दर्शनाभिलाषीदेखि समवेदना र मलामी जानेको सूचीसम्ममा नामका अगाडि यो ‘डा.’ वा ‘इ.’ लेख्नैपर्ने र नलेखे सानो भइने मनोविज्ञान भने गज्जब लाग्छ । अझ गज्जब त नामको अघिल्तिर डा. वा इ. मात्रै होइन पछिल्तिर कोष्ठकमा ‘हाल अमेरिका’ र ‘हाल अष्ट्रेलिया’ लेखेको देख्दा लाग्छ ।

ती युवा मित्र त्यो घटनाको केही महिनापछि अष्ट्रेलिया लागे रे भन्ने सुनेको थिएँ मैले । आशा गरौं अष्ट्रेलियामा उनले आफ्नो नामको अगाडि मनग्ये ‘इ.’ खाइरहेका होलान् ।

मलाई थाहा छैन, चिकित्साशास्त्रमा स्नातक तहको पढाइ सक्नासाथ ‘डा.’ लेख्ने चलन संसारका अरू सबै देशमा पनि छ कि छैन । छ पनि होला, उपचार गर्ने पेशा भएकाले कुनै व्यक्ति चिकित्सक हो भनेर सबैलाई जानकारी होस् भनेर लेख्ने चलन बसालिएको हुनसक्छ । बिइ सक्नासाथ ‘इ.’ लेख्ने चलन भने अन्यत्र छैन ।

चुनाव जुनसुकै होस्, प्रा.डा.हरू साह्रै व्यस्त हुने याम हो । नजिक आउँदै गरेको स्थानीय चुनावमा पनि कतिपय प्रा.डा.आ.इ., प्रा.डा.इ. र प्रा.इ.हरू कुनै सडकछाप नेताका लागि भोट माग्दै हिंडिरहेको देख्न सक्नुहुनेछ तपाईंले । देख्नुभयो भने त्यो सौभाग्यको क्षणलाई खेर जान नदिनुहोला । त्यो प्रा.डा.आ.इ. वा प्रा.डा.इ. वा प्रा.इ. को तस्वीर खिचेर राख्नुहोला । कुनै दिन राम्रै मूल्यमा बिक्री हुनेछ !

‘इ.’ अर्थात् इन्जिनियर शैक्षिक योग्यताको नाम होइन, शैक्षिक योग्यता इन्जिनियरिङ विधामा स्नातक, स्नातकोत्तर आदि भनेर उल्लेख गरिन्छ । त्यसकारण बिइ सक्नासाथ ‘इ.’ लेख्नु आफ्नो अहंलाई सानोतिनो सिङ–जुरोे दिनु मात्रै हो । ‘इ.’ कुनै संस्थाभित्रको पेशागत पद हुनसक्छ, त्यस्तो बेलामा पेशागत प्रयोजनमा ‘इ.’ लेखिनु आवश्यक वा सामान्य नै मानिएला तर दैनिक जीवनमा जता पनि त्यही सिङ–जुरोे हल्लाउँदैै हिंड्नुचाहिं अलि बढ्तै ‘रमाइलो’ देखिन्छ ।

इ.को रोगले दायरा फैलाउने क्रम पनि जारी नै छ । इन्जिनियरिङ डिप्लोमा गरेका साथीहरूले आफूलाई ओभरसियरको सट्टा ‘जुनियर इन्जिनियर’ लेखाउन थालेको पनि लामै समय भइसक्यो । सरकारी जागिरमा सब–इन्जिनियर पद पनि सृजना गरिएको छ जस्तो लाग्छ ।

नेपाली समाजको मनोविज्ञान हेर्दा, बिइ पढ्दै गरेकाहरूले हु.इ. अर्थात् ‘हुनेवाला इन्जिनियर’ लेख्ने र एमबीबीएस पढ्दै गरेकाहरूले हु.डा. अर्थात् ‘हुनेवाला डाक्टर’ लेख्ने दिन नआउला पनि भन्न सकिन्न ।

आफ्नो फेसबुक प्रोफाइलको नाममै ‘सह–प्रा. इ.’ लेख्ने पात्रहरू पनि देखिन्छन् । दोस्रो स्नातकोत्तर अध्ययनका लागि भन्दै सरकारी कोटामा एउटा विदेशी विश्वविद्यालय पुगेर परीक्षा दिएजति सबै विषय अनुत्तीर्ण भएपछि पढाइनै नसकी आएछ एउटा पात्र । र अहिले उक्त पात्रले जोडतोडका साथ गरेको आफ्नो ‘सह–प्रा. इ.’ को प्रचारप्रसार कुनै चुनावी प्रचारप्रसार भन्दा कम नभएको चर्चा सुनिन्छ ।

अध्ययनको एउटा विधा छ आर्किटेक्चर । यो विधामा दीक्षितहरूलाई आर्किटेक्ट भनिन्छ । संसारभरि यसलाई इन्जिनियरिङ्ग भन्दा छुट्टै विशिष्ट विधाको रूपमा लिइन्छ, र आर्किटेक्टले आफूलाई आर्किटेक्ट नै लेख्छ, पहिचानका लागि इन्जिनियर शब्दको बैसाखी चाहिने मानिंदैन । नेपालमा चाहिं धेरैजसो आर्किटेक्ट साथीहरू आफ्नो नामका अगाडि आ.इ. (आर्किटेक्ट इन्जिनियर) लेख्छन् । साथीहरूले आफ्नो विशिष्ट पहिचानलाई इन्जिनियरको हुलमुलमा मिसाउनुको कारण सायद ‘डाक्टर–इन्जिनियर बन्नुपर्छ … !’ भन्ने सामाजिक मनोविज्ञानको प्रभाव होला ।

पीएचडी गरेपछि थपिने ‘डा.’ को सिङ–जुरोेको कुरो त झन् गज्जबै भइहाल्यो ।

सकिएको डा. मात्र होइन नसकिएको डा. को पनि प्रचार गरिन्छ । पेशागत चुनावमा केही मान्छेहरूले नामका पछाडि कोष्ठकमा ‘पीएचडी अध्ययनरत’ राखेर मत माग्नु पनि नसकिएको डा. कै प्रचार हो ।

नेपाल पीएचडी एसोसिएसन पनि छ साथीहरूको । यस्ता ‘रमाइला’ संगठन खोल्ने र चलाउने फुर्सद हामी नेपालीलाई मात्र छ ।

अझ अघिल्तिर प्रा. पनि थपिएपछिको फुर्तीको त कुरै नगरौं ! (केही अपवादलाई छोडेर) नेपालमा काल पर्खेकै भरमा पनि प्रा. हुन पाइन्छ । प्रा. नहुँदै विश्वविद्यालयको कुनै माथिल्लो पदमा पुगेको पात्रको पहिलो काम नै आफैंलाई प्रा. बनाउनुहुन्छ । आफैंलाई प्रा. बनाउन सक्नु नै कार्यकालको सफलताको मापदण्ड हो । आफूलाई मिल्दो मापदण्ड बनाएर विज्ञापन खोल्दा आफ्ना आसेपासे वा नेताले दिएका सूचीका केहीलाई पनि मिल्ने बनाइन्छ । यस्तोमा पनि कहिलेकाहीं झुक्किएर एक–दुई अरू मान्छे पनि परिदिंदा कति तनाव हुँदो हो तिनलाई !

प्राज्ञिक पेशामा प्रा. सबैभन्दा सम्मानित ओहदा हो र यो भइसकेपछि डा. वा अरू कुनै पनि पदवी लेखिरहनु जरूरी छैन, तर प्रा.डा. मात्र होइन, प्रा.डा.आ.इ., प्रा.डा.इ. र प्रा.इ. जस्ता लामै सिङ–जुरो बोकेर हिंड्ने साथीहरू जति पनि देखिन्छन् ।

विश्वविद्यालयको सेवामा छिरेपछि विद्यार्थीका अगाडि विरलै उभिएर, कहिले अध्ययन बिदा र कहिले विभिन्न नियुक्ति खाँदै समय बिताएर प्रा.डा. भएका केही त्यस्ता मान्छेहरूको मुख्य काम कुनै दलको कुनै गुटको कुनै नेताको पक्षमा टिभीमा चर्को होहल्ला गरेर आफ्नो ‘विज्ञता’ ओकल्नु रहँदै आएको छ, केही समय यता ।

प्रा. भएपछि अध्यापन–अनुसन्धान होइन राजनीति गर्ने हो भन्ने मान्यता नेपाली प्राज्ञिक जगतको मौलिक दार्शनिक उत्पादन हो । यही मान्यताको उप–उत्पादनचाहिं विद्यार्थीको राजनीतिक आबद्धता अनुसार परीक्षामा अंक घटबढ गर्ने ‘अपराध्यापक’ प्रवृत्ति हो ।

अर्को खाले दर्शनको पनि विकास भएको छ, केही समय यता । एकजना प्रा.डा. ले कुनै निश्चित विषयको स्नातकोत्तर कार्यक्रममा पढाउन मिल्ने गरी एउटा ऐच्छिक विषय जोडबल गरेर तीन–चार वटा विश्वविद्यालयमा घुसारेछन् । त्यो विषयको ‘एकलौटी’ विज्ञ उनी, कोर्स बनाउने र किताब लेख्ने जिम्मा उनकै भइहाल्यो । उनले सत्र पानाको एउटा म्यानुअल तयार पारेछन् र त्यही बोकेर पाँच–सात कलेज पुगेर प्रा.डा. को भुँडी हल्लाउँदा रहेछन् । उनका विद्यार्थीले उनलाई ‘सत्र पाने प्रा.डा.’ को नाम दिएका छन् । यो ‘सत्र पाने दर्शन’ पनि नेपाली प्रा.डा. जगतको मौलिक दर्शनका रूपमा विश्वले स्विकार्नै पर्छ ।

नेताका दैला जति धाए पनि राजनीतिक नियुक्ति पड्काउन नसकेका ‘अभागी’ प्रा.डा. हरूको मूल कामचाहिं मुश्किलले साठी–सत्तरी जना मतदाता हुने क्याम्पसको प्राध्यापक संघको चुनावमा यस पटक कसलाई जिताउने र अर्को पटक कसलाई हराउने भनेर योजना बनाएर बस्नु हो । यस्ता कुरामा शोधपत्र लेखाउने हो भने नेपालका क्याम्पस र विश्वविद्यालयबाट एक से एक ‘विश्वस्तरीय’ शोधपत्र निक्लनेछन् ।

चुनाव जुनसुकै होस्, प्रा.डा.हरू साह्रै व्यस्त हुने याम हो । नजिक आउँदै गरेको स्थानीय चुनावमा पनि कतिपय प्रा.डा.आ.इ., प्रा.डा.इ. र प्रा.इ.हरू कुनै सडकछाप नेताका लागि भोट माग्दै हिंडिरहेको देख्न सक्नुहुनेछ तपाईंले । देख्नुभयो भने त्यो सौभाग्यको क्षणलाई खेर जान नदिनुहोला । त्यो प्रा.डा.आ.इ. वा प्रा.डा.इ. वा प्रा.इ. को तस्वीर खिचेर राख्नुहोला । कुनै दिन राम्रै मूल्यमा बिक्री हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?