+

फुटबल विवादले एक सातामा पनि निकास पाएन, दोषी को ?

२०७९ वैशाख  २० गते १३:१७ २०७९ वैशाख २० गते १३:१७
फुटबल विवादले एक सातामा पनि निकास पाएन, दोषी को ?

२० वैशाख, काठमाडौं । देशभर अहिले स्थानीय तहको निर्वाचन चटारो छ । नेता कार्यकर्ता मत माग्न व्यस्त छन्,  मतदाता आगामी पाँच वर्षका लागि योग्य जनप्रतिनिधि चुन्ने योजनामा छन् ।

फुटबलवृत्तमा भने एउटा गम्भीर र संवेदनशील विवादले चुनावी माहोललाई पनि छायामा पारेको छ । अखिल नेपाल फुटबल संघ एन्फा आफैं पनि चुनावी चटारोमा छ ।

राष्ट्रिय टोलीको ड्रेसिङरुममा प्रमुख प्रशिक्षक र खेलाडीबीचको विवादको असर चुनावी रणनीतिमै पर्न थालेको छ । एन्फाकै एउटा पक्षले तत्काल कार्यसमिति वैठक बोलाउन माग गरेको छ ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाडेर निस्कन बाध्य पारेपछि सुरु भएको खेलाडी–प्रशिक्षक विवादले एक साता छोएको छ, तर यसमा अहिलेसम्म कुनै निकास निस्किएको छैन । दिनदिनै नयाँ–नयाँ घटनाक्रम थपिँदो क्रममा छन् ।

अहिले खेलाडीले प्रशिक्षकलाई दोष लगाउने अनि प्रशिक्षकले खेलाडीलाई दोष लगाउने काम भइरहेको छ । अविभावक संस्थाले समस्या समाधानका लागि ठोष कदम चाल्न नसकेको गुनासो खेलाडीहरुले नै गर्न थालेका छन् ।

एन्फा पदाधिकारीहरु अनौपचारिक कुराकानीमा टिम व्यवस्थापनको पक्षमा हस्तक्षेप गर्न खोजेको भन्दै प्रशिक्षकको आलोचना गर्छन् । तर, खेलाडीको पक्षमा सिधा खुल्न पनि सकिरहेका छैनन् । सायद यही सकसलै यो घटनाको निचोड निस्किएको छैन ।

१० खेलाडीले एकैपल्ट राष्ट्रिय टिमको प्रशिक्षण क्याम्प छाडेर हिँडेको नेपाली फुटबल इतिहासकै पहिलो घटना हो ।

पहिलो रोजाईँमा खेल्ने खेलाडीले नै क्याम्प छाड्नु चानचुने कुरा होइन । एन्फाले क्याम्प छोड्नुमा खेलाडीको कमजोरी देखेको छ, त्यसका लागि कसले र किन बाध्य पार्‍यो भन्नेबारे छानविनबाट पन्छिन खोजिरहेको छ ।

एन्फा आफैं अहिले चुनावी माहोलमा छ । आगामी असार ६ गते हुने चुनावका लागिको सबैजना व्यस्त छन् । नेपाली कांग्रेससम्बद्ध एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स्थानीय तहको चुनावले पनि छोएको छ ।

विवाद समाधानको बैठकको बीचैमा उठेर स्थानीय चुनावको प्रचारमा लागेको आरोप शेर्पालाई लागेको छ ।

शेर्पाले आइतबार अनलाइनखबरसँगको कुराकानीमा दुवै पक्षसँग कुराकानी गरिरहेको र समस्या छिटै समाधान हुने बताएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘हामीले दुवै पक्षसँग कुराकानी गरिरहेका छौं । सबै आआफ्नो ठाउँमा लचिलो बन्नुपर्छ । जसको जे जिम्मेवारी हो त्यसलाई पूरा गर्नेतर्फ लाग्नुपर्छ ।’

२०७७ चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका अल्मुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।  उपलब्धीसँगै वर्ष २०७८ भर अल्मुताइरी नेपाली फुटबल वृतमा विभिन्न कारणले चर्चामा रहेका थिए ।

उनले तीन पटक त राजीनामा दिन्छु भन्दै धम्कीसमेत देखाए तर कहिल्यै राजीनामा दिएनन् । एन्फा वरिष्ठ उपाध्यक्षसँगको विवादमा पनि उनी मुछिए । त्यसबेला युवा तथा खेलकुद मन्त्रालयसम्म पुगेको यस विवादमा राखेप अन्तर्गतको विवाद छानबिन समितिले प्रतिवेदन समेत तयार पार्दै ९ बुँदे सुझाव र सिफारिस समेत दिएको थियो ।

जसमा अल्मुताइरीले फुटबलको गुणस्तरीय विकासमा काम गर्नुपर्ने, अप उपरान्त फुटबलमा विवाद देखिए एन्फा आफैंलाई सुल्झाउनसमेत भनिएको छ ।

यस्तै नेपाल कतारको सम्बन्धलाई मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित पक्षहरुले आपसी मनमुटावलाई छाड्दै आपसी समझदारीमा अगाडी बढ्नुपर्ने सुझाव दिएको थियो ।

फुटबल विवाद श्रृंखला

वैशाख १३ गते मंगलबार: एक साताअघि १० खेलाडीले प्रशिक्षण छाडे । होटेल कि होस्टलमा बस्ने भन्ने विषयमा सुविधा नभएको विषयलाई लिएर खेलाडी प्रशिक्षणबाट निस्किएपछि फुटबलमा विवाद सुरु ।

वैशाख १४ गते बुधबार: खेलाडीद्वारा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल ।

वैशाख १५ गते बिहीबार: १० खेलाडीले खेलाडी संघसँग सहकार्य गरी पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक । (समाचारमा विद्रोही भनेकोमा गुनसो, पीडित भएको दावी)

वैशाख १६ गते शुक्रबार: अल्मुताइरीले नयाँ १७ जना खेलाडी थप गर्दै प्रशिक्षण जारी राखे । त्यसमध्ये विकेश कुथु क्याम्पमा जान अस्वीकार

वैशाख १८ गते आइतबार: अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र लेख्दै खेलाडीको दुखी भएको तर उनीहरुलाई कारबाही नगर्न अनुरोध । क्याम्प छाडेका खेलाडीलाई आसन्न प्रतियोगिताका लागि टिममा नराख्ने घोषणा,

त्यही दिन खेलाडीले एन्फा अध्यक्षसँग छलफल गरेपनि निष्कर्ष आएन ।

वैशाख १९ गते सोमबार: १० खेलाडी र एन्फा अन्तर्गत खेलाडी संघले एन्फामा पत्र । घटनाको जानकारी र छानबिनको पत्र हस्तान्तरण ।

 

अब्दुल्लाह अल्मुताइरी फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय