+
+

पोखरामा कस्तो सडक पूर्वाधार ? नयाँ नेतृत्वलाई केही सन्देश

डा. महेन्द्र ब. बानियाँ, डा. अर्जुन बानियाँ डा. महेन्द्र ब. बानियाँ, डा. अर्जुन बानियाँ
२०७९ वैशाख २० गते १७:३७

यही ३० वैशाख २०७९ मा स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनसँगै पोखरा महानगरको सत्ता बागडोर सम्हाल्ने विजयी जनप्रतिनिधिहरूले काम सुरु गर्नेछन् । पूर्वाधार निर्माणको दृष्टिले पाँच वर्षको समयावधि पर्याप्त होइन । त्यसैले विजयलगत्तै नयाँ जनप्रतिनिधिले पोखरामा पूर्वाधार व्यवस्थापनमा अर्जुनदृष्टि लगाउनुपर्ने देखिन्छ ।

बढ्दो जनघनत्व, अव्यवस्थित बसोबास, साँघुरा सडकहरूले गर्दा महानगरभित्रको पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नु नयाँ जनप्रतिनिधिलाई फलामको च्यूरा चपाउनु सरह हुनेछ । पर्यटकीय नगर पोखरा क्षेत्रफलको हिसाबमा ४६४.२४ वर्ग किमी ओगटेको पहिलो ठूलो महानगरपालिका हो ।

पोखरा महानगरपालिकाको हालसम्मको सडक तथ्याङ्क अनुसार १५९० किमी (राष्ट्रिय राजमार्ग समेत) नगर सडक सञ्जालले ओगटेको छ । महानगरपालिकालाई तीन प्रमुख राष्ट्रिय राजमार्ग (पृथ्वी, सिद्धार्थ र बाग्लुङ–पोखरा) हरूले जोडेको छ ।

चालु आ.व. सम्मको पोखरा महानगरमा दर्ता भएका १८ हजार ९४६ वटा सार्वजनिक चारपाङ्ग्रे सवारी साधन (बस, ट्रक, मिनी ट्रक, कार, जीप, भ्यान) छन् भने निजी सवारी साधन १९ हजार १८२ वटा छन् ।

यसैगरी सरकारी र संस्थानमा गरी जम्मा २ हजार ७५९ सवारी साधन दर्ता भएका छन् । हालसम्मको कुल दर्ता भएका चारपाङ्ग्रे सवारी साधनको संख्या ४० हजार ८८७ हुन आउँछ । यस आ.व.को माघ मसान्तसम्म मात्र ६८२ वटा चारपाङ्ग्रे सवारी साधन दर्ता भएका छन् ।

यो तथ्याङ्कलाई आधार मान्ने हो भने चारपाङ्ग्रे सवारी साधनहरूको औसत वार्षिक दर्ता करीब १ हजार हुन आउँछ । राष्ट्रिय राजमार्गहरू प्रयोग गरी बाहिरी जिल्लाबाट महानगर भित्रिने सवारी साधनहरू पनि उल्लेखनीय देखिन्छ । महानगरमा दर्ता भई नगर सडकमा गुड्ने दुईपाङ्ग्रे सवारी साधनको संख्या पनि अधिक छ ।

हालसम्म दर्ता भएका चारपाङ्ग्रे सवारी साधनलाई सडकमा लामबद्ध राख्ने हो भने पनि २२५ किमी पोखरा महानगरको सडक सवारी साधनले ओगट्ने देखिन्छ । महानगरभित्रको ६८ किमी राष्ट्रिय राजमार्ग र ४५ किमी फिडर सडक गरी जम्मा ११३ किमी सडक सञ्जाल प्रयोगमा आएको छ । तसर्थ हालसम्म दर्ता भएका सवारी साधन र बर्सेनि थपिएका सवारी साधनको संख्यालाई २० वर्ष अगाडि निर्माण भएका हाम्रा साँघुरा सडक पूर्वाधारमा समायोजन हुन कठिन देखिन्छ ।

पोखरा महानगरभित्रको सवारी चाप व्यवस्थापनका लागि निर्माण गरिने पूर्वाधारहरूमा नयाँ निर्वाचित जनप्रतिनिधिलाई मार्गदर्शन हुन्छ भन्ने हेतुले यो आलेख तयार पारिएको हो । पोखरा महानगरमा यातायात व्यवस्थापनको लागि तपसिलका पूर्वाधार निर्माणमा नयाँ जनप्रतिनिधिले अध्ययन गरी÷गराई निर्माण कार्य यथाशीघ्र सुरु गर्नुपर्ने देखिन्छ ।

१. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि बैदामसम्मको सवारी व्यवस्थापन

हाल दिनहुँ बिहान ९ बजे र बेलुकी ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत पोखराको विजयपुरदेखि पोखरा रंगशाला अगाडि सेती नदीमाथिको पुलसम्म हुने सवारी चापले सिर्जित सडक जाम र पृथ्वीचोकस्थित ट्राफिकचोकमा हुने घण्टौं सवारी जामले (चित्र नं.१) काठमाडौंको कलंकी चोकमा हुने ट्राफिक जामको झझल्को दिलाउँछ । निकट भविष्यमा निर्माण सम्पन्न हुन गइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा महानगरभित्रको सवारी व्यवस्थापनमा थप चुनौती लिएर अगाडि आउनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै विमानस्थलदेखि पृथ्वीचोकसम्मको ३ किमी सडक सबैभन्दा धेरै सवारी चाप बहन गर्ने क्षेत्र हुनेछ । अन्तर्राष्ट्रिय र राष्ट्रिय उडानहरूमा आगमन र प्रस्थान गर्ने यात्रुहरूलाई सेवा प्रदान गर्न जाने/आउने यात्रुबाहक सवारी साधनहरू सडक सवारी चापका प्रमुख कारक हुनेछन् ।

पर्यटन हबको रूपमा विकसित पोखरा नगरमा आन्तरिक र बाह्य पर्यटकको आगमन सँगसँगै बैदाम (लेकसाइड) स्थित होटलहरूबाट सञ्चालन हुने सवारी साधनहरूको चापले निकट भविष्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारदेखि पृथ्वीचोक हुँदै मुस्ताङचोक–शहीदचोक–बैदाम सडकखण्ड (५ किमी), मुस्ताङचोक–छोरेपाटन–ड्याम साइड सडक खण्ड (२ किमी), पृथ्वीचोक–सिर्जनाचोक–रत्नचोक–राष्ट्र बैंक चोक सडकखण्ड (२ किमी), सिर्जनाचोक–जिरो किमी–हल्लनचोक सडक खण्डमा (२.५ किमी) पर्ने सवारी चाप र यसको व्यवस्थापनमा ठूलो चुनौती आउनेछ ।

विद्यमान विमानस्थलबाट हुने दैनिक आन्तरिक उडानहरूका यात्रुहरू अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सँगसँगै स्थानान्तरण हुनेछन् । पृथ्वी राजमार्गको अन्तिम गन्तव्यस्थल पोखरा नगरको केन्द्र भाग पुग्ने विजयपुर नाका, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारमा हुने सम्भावित सवारी चापबारे राष्ट्रिय गौरवको योजना निर्माणमा विज्ञहरूको मथिंगल भित्र नअटाउनु विमानस्थल डिजाइनमा भएको ठूलो कमजोरी हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि विमानस्थलको मुख्य प्रवेशद्वार र बैदामसम्मका चोकहरूमा सिर्जना हुने सवारी चाप र यसको व्यवस्थापनले गर्दा करिब १५ किमीको सडक यात्रा भयंकर कष्टकर हुने केही अध्ययनले संकेत गरेको छ ।

विद्यमान परिस्थितिमा सो खण्डभित्रको प्रयोग हुने छोटो सडक खण्ड ७ किमीको यात्रामा लाग्ने २० मिनेटको यात्रा समय यातायातको प्रभावकारी व्यवस्थापन भएन भने भविष्यमा घण्टौं लाग्न सक्ने देखिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि माथि उल्लेखित सडक खण्डहरूमा गुड्ने सवारी साधनहरूले विसर्जन गर्ने वायु प्रदूषणले पोखरेलीहरूको साथै पोखरा आउने पर्यटकहरूको स्वास्थ्यमा थप नकारात्मक प्रभाव पार्ने पनि देखिन्छ । यति ठूलो राष्ट्रिय गौरवको परियोजना निर्माण पछि वृद्धि हुने सवारी चापलाई मध्यनजर गरी सृजित हुनसक्ने थप वातावरणीय असरलाई परियोजनामा समावेश गर्न नसक्नु थप विडम्बना हो ।

प्रभावकारी यातायात व्यवस्थापन विनाको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार र बैदामसम्मका चोकहरूमा सिर्जना हुने सवारीचाप व्यवस्थापनको लागि पृथ्वी राजमार्गबाट पोखरा भित्रने सवारी साधनहरूलाई पोखराको केन्द्रभाग पृथ्वीचोक आउन नदिई वैकल्पिक सडकहरूबाट व्यवस्थापन गर्न अत्यन्त जरूरी छ । त्यसको लागि सबैभन्दा उत्तम विकल्प दोबिल्ला–बागमारा सडकको प्रयोग हुनेछ । विद्यमान एकल लेनको उक्त सडकलाई तुरुन्तै दोहोरो लेनमा स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।

पृथ्वी राजमार्गबाट पोखरा भित्रने सवारी साधनहरूलाई गगनगौडाको लामेआहालबाट प्रवेश गराई लामगादी, बागमारा हुँदै मुस्ताङचोक निकाल्नु पर्छ । साथै पोखराबाट नेपालको पूर्व, पश्चिम राजमार्ग जाने सवारी साधनहरूलाई दोबिल्ला–बागमारा सडक प्रयोग गरी गगनगौडाबाट पृथ्वी राजमार्गमा निकास दिनुपर्दछ ।

हालसम्म दर्ता भएका चारपाङ्ग्रे सवारी साधनहरूलाई सडकमा लामबद्ध राख्ने हो भने पनि २२५ किमी पोखरा महानगरको सडक सवारी साधनहरूले ओगट्ने देखिन्छ । यो संख्यालाई २० वर्ष अगाडि निर्माण भएका हाम्रा साँघुरा सडक पूर्वाधारमा समायोजन हुन कठिन देखिन्छ ।

हालै गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास कार्यालय कास्कीबाट एक निर्वाचन एक सडक कार्यक्रम अन्तर्गत कालोपत्रे निर्माण सम्पन्न हुन लागेको दोपहरे–कृस्ती–बक्रेक–पौवईगौडे (स्याङ्जा) १२ किमी स्याङ्जा जोड्ने सबैभन्दा छोटो सडकलाई वैकल्पिक सडक सञ्जालको रूपमा प्रयोग गर्न सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने÷जाने यात्रुहरूलाई प्रयोग हुने सवारी साधनहरूको चापलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय विमानस्थलबाट बैदामसम्म जिपर÷केवल कारको संभावना आजैबाट बहस गर्न जरूरी छ । हालै गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र जापानको जाइका संस्थासँग प्रारम्भिक छलफल भई करिब ७ किमी जिपर प्रविधि प्रारम्भिक अध्ययनको चरणमा रहेको छ ।

त्यस्तै पृथ्वीचोकमा हुनसक्ने सवारी चापलाई घटाउन फ्ल्याई ओभर र अण्डरपासको अहिलेबाट बहस हुन अति आवश्यक छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगर दुवैको सह–लगानीमा यो महत्वाकांक्षी योजना निर्माण गर्न सके दीर्घकालीन सवारी व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

२. पोखरा चक्रपथ निर्माण

साबिकको जिविस कास्कीबाट २०६५ सालमा पोखराको जनघनत्व र आवास घनत्वलाई कम र सवारी चाप कम पार्ने प्रमुख उद्देश्यको रूपमा करिब १०६ किमी पोखरा बृहत् चक्रपथको परिकल्पना गरी प्रारम्भिक चरणको अध्ययन गरिएको थियो । तत्कालीन समयमा सडक विभागबाट पनि पोखरा चक्रपथको एउटा खाका कोरिएको थियो ।

साबिकको जिविस कास्कीले पोखरा चक्रपथको अध्ययन सँगसँगै चक्रपथमा पर्ने पुल–पुलेसा र केही सडक खण्डहरूको निर्माणमा क्रमिक रूपमा बजेट विनियोजन गरी निर्माण कार्य प्रारम्भ गरेको थियो । राज्य पुनर्संरचना पछिको प्रदेश सरकार निर्माण सँगसँगै हाल पोखरा चक्रपथ योजना ओझेलमा परेको छ ।

पोखराको केन्द्र भाग हुँदै आउने–जाने सवारी साधनहरूलाई पोखरा चक्रपथको निर्माण सँगसँगै केन्द्र भागबाट टाढा लैजान सके केन्द्रको सवारी चाप कम हुनेछ । त्यस्तै चक्रपथको निर्माणले चक्रपथ वरपर बस्ती विकास भई पोखराको केन्द्रमा जनघनत्व कम हुनेछ ।

विगतदेखि हालसम्मको प्रगति

  • साविकको जिविस कास्कीबाट वि.सं. २०६४ मा करिब १०६ किमी चक्रपथको प्रारम्भिक चरणको अध्ययन भएको ।
  • सडक विभाग कास्कीबाट पनि वि.सं. २०६६ मा बृहत् पोखरा चक्रपथको परिकल्पना गरी करिब १६० किमी विस्तृत सर्भेक्षण (डीपीआर) गरिएको ।
  • वि.सं. २०६७ मा साबिक अर्मला गाविस हाल पोखरा महानगर वडा नं. १६ कालीखोला (अर्मला जाने सडक) सडक पुल निर्माण साथै करिब १२ किमी सडक (कुर खण्ड) निर्माण गरिएको ।
  • वि.सं. २०६५ मा साविक भलाम र मौजा हाल पोखरा महानगर वडा नं. २० मा करिब १६ किमी सडक निर्माण, वि.सं. २०६८ मा कालीखोला (सिमलखोरी) सडक पुल निर्माण र वि.सं. २०७२ मा भलाम खोला पुल निर्माण गरिएको ।

३. क्षेत्रीय बसपार्क निर्माण

साबिक लेखनाथ न.पा. वडा नं. १३ हाल पोखरा म.न.पा. वडा नं. ३२ मा अव्यवस्थित लामेआहाल स्थान माथिल्लो गगनगौडा बजारबाट करिब २ किमी दूरीमा र पोखरा पृथ्वीचोकबाट १६ किमी दूरीमा पर्दछ ।

मुख्य सहरको केन्द्रबिन्दुबाट बसपार्क केही दूरीमा राख्न सकेमा सहरी क्षेत्रभित्र यातायातमा चाप कम हुन गई यातायात व्यवस्थापनमा सहज हुने हेतुले साबिकको जिविस कास्कीबाट २०६५ सालदेखि नै लामेआहाललाई प्रस्तावित क्षेत्रीय बसपार्कको (चित्र नं. २) रूपमा परिकल्पना गरी ग्रामीण र शहरी सडकहरूको नक्साङ्कन गरिएको थियो ।

विगतदेखि हालसम्मको प्रगति

  • साबिकको जिविस कास्कीबाट २०६५ सालदेखि पृथ्वी राजमार्गको वैकल्पिक राजमार्गको रूपमा दोबिल्ला–बागमारा सडकलाई स्तरोन्नति गरिएको । जुन सडकको अन्तिम चेनेजको रूपमा हालको प्रस्तावित लामेआहाल बसपार्कलाई राखिएको ।
  • दोबिल्ला–बागमारा सडकलाई स्याङ्जा जोड्ने छोटो सडकको रूपमा विकास गरिएको ।
  • लामेआहाल बसपार्क हुँदै लामगादीको मोटरेबल पुलको निर्माण सँगसँगै लामगादी–उपल्लो पूडी–तल्लो पूडी हुँदै कास्की–स्याङ्जाको प्यूरीदोभान जोड्ने सडकको रूपमा विकास गरिएको ।
  • कास्की गगनगौडा–सातमुहाने–पोल्याङटार (लमजुङ) सडकको यातायात व्यवस्थापनमा लामेआहाल बसपार्कलाई केन्द्रमा राखी स्तरोन्नति गरिएको ।
  • बेगनास–भोर्लेटार (लमजुङ) सडकको यातायात व्यवस्थापनमा लामेआहाल बसपार्कलाई केन्द्रमा राखी स्तरोन्नति गरिएको ।
  • पोखरा महानगरपालिकाबाट नगर विकास कोष अन्तर्गत लामेआहाल क्षेत्रको विस्तृत सर्भेक्षण (डीपीआर) गरिएको । विस्तृत सर्भेक्षण (डीपीआर) अनुसार सो बसपार्क निर्माणमा करिब रु.१ अर्ब ५२ करोड लाग्ने अनुमान गरिएको छ ।
  • प्रदेश सरकार, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय कास्कीबाट आ.व.२०७६-७७ र २०७७-७८ मा लामेआहाल बसपार्कलाई विनियोजित बजेट २ करोड जग्गा प्राप्ति नभएकोले निर्माण कार्य गर्न नसकी फिर्ता भएको ।
  • हाल प्रदेश सरकार, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय कास्कीबाट आ.व. २०७७÷७८ मा लामेआहाल क्षेत्रको कम्पाउण्ड वाल र सम्पर्क कार्यालय दुईकोठे भवनको रु.४० लाखको बोलपत्र आह्वान भएकोमा जग्गा प्राप्ति नटुङ्गिएकोले ठेक्का व्यवस्थापन गर्न नसकी कार्य बीचमै रोकिएको ।
  • हाल प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय कास्कीबाट आ.व.२०७७-७८ मा लामेआहाल क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गबाट आएको अव्यवस्थित नालाको पानीले गर्दा दिनहुँ जमिन कटान हुने हुँदा नाला व्यवस्थापनको ठेक्का भई कार्य भइरहेको ।
  • आ.व. २०७८-७९ मा लामेआहाल बसपार्कलाई रु.१ करोड बजेट विनियोजन भएको ।

४.अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र होटलहरू निर्माण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सँगसँगै पोखरा आउने आन्तरिक र बाह्य पर्यटकहरूको गाँस–बास व्यवस्थापनको लागि बैदाम (लेकसाइड) प्रमुख रहेको छ ।

पोखराको केन्द्रबाट केही किमीको दूरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सम्पूर्ण सेवा-सुविधा सम्पन्न ठूल्ठूला होटलहरूको निर्माण गर्न सके पोखराको केन्द्रमा पर्ने आन्तरिक र बाह्य पर्यटकहरूको चापलाई न्यूनीकरण गर्न सकिन्छ ।

स्थानीय रोजगारी सिर्जना र पिछडिएको स्थानको विकासका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किमी उत्तर–पूर्वको कालिका डाँडामा रहेको जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र होटलहरू निर्माणको लागि गण्डकी प्रदेश सरकारद्वारा पहल भइरहेको छ ।

विगतदेखि हालसम्मको प्रगति

  • प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय कास्कीबाट आ.व.२०७७÷७८ मा अन्तर्राष्ट्रिय सभा हलको लागि बजेट विनियोजन भएको तर जग्गा प्राप्ति नभएकोले कार्य अगाडि बढ्न नसकेको ।
  • प्रदेश नीति तथा योजना आयोगबाट स्थलगत अनुगमन भई पर्यटन विभागसँग छलफलमा रहेको ।
  • पाँच वर्ष अगाडिको स्थानीय निर्वाचनमा पनि पोखराको पूर्वाधार विकासमा स्मार्ट सिटीको अवधारणाहरू परिकल्पना गरिएका थिए तर त्यस्ता कतिपय अवधारणा बढी महत्वाकांक्षी र काल्पनिक देखिएका थिए ।
  • यही वैशाख ३० गतेको स्थानीय निर्वाचनपछि पोखरा महानगरका विजयी जनप्रतिनिधिलाई पोखराको यातायात व्यवस्थापनको लागि माथि उल्लेखित पूर्वाधारहरूको निर्माण एक अवसर सँगसँगै चुनौती पनि भएर आउनेछ ।

महानगरका जनप्रतिनिधिहरू भित्रको दृढ इच्छाशक्ति, दीर्घकालीन व्यवस्थापनमा सोच, सहलगानी, सहअस्तित्वमा जोड र गण्डकी प्रदेश सरकारसँगको आपसी समन्वयमा सबै शक्तिहरू एकीकृत भई निर्माण कार्यमा जुट्न सके छोटो समयमा पोखराको दीर्घकालीन विकास सम्भव हुने देखिन्छ ।

(डा. महेन्द्र ब.बानियाँ गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास कार्यालय कास्कीमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर हुन् भने डा. अर्जुन बानियाँ जापानको साइतामा विश्वविद्यालयको जियो–इन्भारोमेन्टल इन्जिनियरिङ विषयका पूर्व पोष्ट डक्टरल रिसर्चर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?