+
+

यमलोकभन्दा माथि

यमलोक यमलोक
२०७९ वैशाख २२ गते १२:४७

यो कुनै बास हो मेरो नित्य जीवनमार्गको ।
कतैतिर म हिंड्नेछु स्वप्न पूरा भएपछि ।।
बालकृष्ण सम

सम जिन्दगीलाई स्वप्न मान्थे सायद । निद्रा भंग भएपछि स्वप्न मर्छ । त्यसो त, सृष्टि र विनाश प्रकृतिका अनुलंघनीय नियम हुन् । भौतिक जगतमा हरेक वस्तु नाशवान छन् । विनाश मृत्युको अर्को नाम हो । मृत्यु शब्द उच्चारण गर्नासाथ भयाक्रान्त हुन्छ मानिस ।

मानिसको जोड चल्थ्यो भने ऊ कहिल्यै मर्न तयार हुने थिएन । किनकि मृत्युपछिको दुनियाँ अज्ञात छ । तथापि गीताले सान्त्वना दिएको छ– ‘शरीर मर्छ तर आत्मा मर्दैन । चौरासी लाख जुनीको चक्र पूरा गरी पुनः मनुष्य योनीमा फर्किन्छ ! पुरानो बस्त्र त्यागी नयाँ लगाए जस्तै हो जीवन ।’

जीवनका यावत् परिभाषा हुनसक्छन् । जीवनका बारेमा विद्वानहरूले विभिन्न मत व्यक्त गरेका छन् । सेक्सपियर भन्थे– ‘जिन्दगी नाटक हो, हामी नाटकका कलाकार ।’ नाटकमा पात्रहरू आउँछन् । तोकिएको अभिनय गर्छन् । अन्त्यमा आफ्नो भूमिका पूरा गरी जान्छन् ।

बुढ्यौली जीवन यात्राको माथिल्लो बिसौनी हो । वृद्धतालाई मृत्युको सँघार सम्झी किंकर्तव्यविमूढ हुन्छ मानिस । बुढ्यौलीलाई फुटेको बेलुन मान्छन् कति । मेरा एकजना आदरणीय व्यक्तित्व भन्नुहुन्थ्यो– जे गर्नुछ चालीस वर्षभित्र गर्नू ! चालीस कट्यो त उत्साह घट्यो ।

जोश–जाँगर आधा भयो ! परन्तु वृद्धता एक सोच हो । मानसिक भ्रान्ति हो । खुइलेको तालु, अनुहारको चाउरी अनि सफेद केससँग भयभीत हीन–मनोग्रन्थी हो । मेरो विचारमा मानिस उमेरले भन्दा पहिले विचारले बूढो हुन्छ ।

जीवन त्यो होइन जहाँ हरदम बहार आओस् । खुसी नै खुसी छाओस् । जब ऋतु परिवर्तन हुन्छ, वर–पीपलका समेत पात झर्न थाल्छन् । हराभरा जंगल उजाड–उराठ मरुभूमि जस्ता देखिन्छन् । मानिस जब प्रौढताको शिखरमा पुग्छ, ऊ पाइला पाइलामा मृत्यु सन्निकट आउँदै गरेको आभास गर्न थाल्छ ।

मृत्युराजको घरमा पाहुना हुन जाने दिन टाढा छैन भन्ने सोच्न लाग्छ । खासमा लाउँदालाउँदैको चुरा प्याट्ट फुटेजस्तो हो मृत्यु ! शान्त सौम्य समुद्रमा विनाशकारी ज्वारभाटा उर्लेजस्तो हो मृत्यु । उमेर ढल्केपछि मृत्युले आवाज दिन थाल्छ भन्ने कुरा आधा मात्र सत्य हो ।

कवि भूपिले कलिलो उमेरमै जीवनको अन्तिम सास लिन बाध्य बालकका बारेमा कविता लेखेका थिए– ‘एउटा बालक ट्रकको चक्कामुनि दबेर मर्‍यो । मर्दा बालकका दायाँ हत्केला खुलै थिए । उसको आयुरेखा भने लामा थिए, निकै लामा !’ कवि भूपिको संकेत त्यही आधा सत्यतर्फ इङ्गित हुनसक्छ ।

मृत्यु मानिसलाई सबैभन्दा बढी भयभीत गरिदिने घटना हो । त्यही भएर हाम्रा आदिम ऋषिमुनिहरूले अमरत्वको परिकल्पना गरे होलान् । अमरत्व वास्तवमा सकारात्मक कल्पना हो । यथार्थमा परिणत हुन नसकेको स्वर्णिम सपना हो । अमरत्व छ त सत्कर्ममा । अमरत्व छ त मान्छेमा ईश्वरको छवि देख्ने मानवतावादी धर्ममा ।

त्योभन्दा बाहिर अमरत्वको सम्भावना हुन्थ्यो भने एलन मस्क सन् २०३० सम्म मंगलमा मानव कोलोनी बसाउने योजना त्यागी मृत्यु निषेध चूर्ण उत्पादक उद्योगमा लगानी गर्थे होला । बिलगेट्स माइक्रोसफ्टको उद्यम छोडेर अमर जीवन घुटी निर्माण कारखाना स्थापनामा लाग्नेथिए । पण्डित–पुरोहितहरू राजमुकुटलाई मृत्युञ्जयी बनाउन आजीवन अग्निकुण्डमा चरु हवन गर्ने थिए ।

जीवन घाम–छायाँ हो । नदी सागर हुँदै प्रकृतिमा बिलाएजस्तो हो जीवन । संसारका हरेक चिज अस्थायी हुन् । प्रकृतिमा घट्ने यावत् घटनाहरूले स्थायित्व नभएको प्रमाण दिन्छन् । एउटा भयानक ज्वालामुखी विस्फोट हुन्छ अनि शान्त हुन्छ । मेघ सारा धर्ती क्षत–विक्षत पारुँला झैं पड्कन्छ अनि शिथिल हुन्छ । घनघोर वर्षामा पानीका फोकाहरू उठ्छन्, फुट्छन् ।

यथार्थ त यही हो कि, बगेको खोलो फर्केर कहिल्यै आएन । आजसम्म कोही कसैले वैतरणी नदी हुँदै यमलोक यात्रा गरिरहेको मृतकको लाइभ टेलिकाष्ट देखाएन । मनुष्य स्वरुपमा हाम्रो इन्ट्री फस्ट एण्ड लास्ट हो । चौरासी लाख योनीपछि मनुष्य जुनी फर्किने कुरा सिर्फ एक भुलभुलैया । बच्चालाई चिची–पापाको भुलभुलैयामा पारेजस्तो ।

मृत्यु त एक दिन आउनु नै छ । मृत्यु जीवनको अन्तिम मुकाम हो । विश्वविजेताको पनि विजेता हो मृत्यु । निराकार मुक्केवाज हो मृत्यु । त्यस्तो मुक्केवाज जसको मुकाविला गर्ने सामथ्र्य ब्रह्माण्डमा कसैको रहेन । उसको प्रहारबाट मै हुँ भन्नेहरू पनि कहिल्यै नउठ्ने गरी ढले । कहिल्यै नबौरिने चिरनिद्रा निदाए ।

जिउनका लागि कामना आवश्यक छ । कामना सजीवताको लक्षण पनि हो । कामना छैन त जीवन छैन । चितामा लम्पसार मनुष्यको न कुनै कामना हुन्छ, न गन्तव्य ! जुन दिन इच्छा, कामना सकिनेछ, त्यो जिन्दगीकै अन्तिम विन्दु हुनेछ ।

तथापि आशावान मनुष्यहरू मृत्यु सम्झेर दुःखी हुँदैनन् । कर्मशीलहरू वृद्ध उमेर, खुइलेको तालु, अनुहारको चाउरी देखेर दुःखमनाउ गर्दैनन् । म यहाँ त्यस्तै एकजना ऊर्जावान् व्यक्तिको उदाहरण दिन गइरहेको छु ।

यसर्थ आशावादी बनौं । हरक्षण आशा मन्त्रको जप गरौं । बाज बनौं, बाज झैं उडौं । लक्ष्यप्रति बाज दृष्टि राखौं । बाज हजारौं माइलमाथि उडेको किन नहोस्, उसको दृष्टि सिकारमाथि हुन्छ । बाज जति नै बूढो किन नहोस्, सिकार कर्म छोड्दैन । हिन्दीमा कहावत छ, ‘मन जवान तो तन जवान । मन हारा तो जंग हारा ।’ आशाको सिंहासन यमलोकभन्दा माथि हुन्छ ।

‘धेरै पहिलेको कुरा हो । केही मानिसहरू एकसाथ एउटा जहाजमा यात्रा गरिरहेका थिए । यात्रामा ९० वर्षको जर्मन नागरिक पनि थियो । जो जहाजको डेकमा बसेर एकाग्र चित्तका साथ चिनियाँ भाषा सिकिरहेको थियो । अन्य यात्रीहरू वृद्धालाई देखेर छक्क पर्थे । अनि आपसमा कुरा गर्थे– ‘बूढाले मृत्युलोक पुग्ने बेलामा चिनियाँ भाषा सिकेर के गर्ला !’ यस्तैमा एउटाले सोधिहाल्यो– ‘तपाईं यो उमेरमा चिनियाँ भाषा सिकेर के गर्नुहुन्छ ?’

‘म जबसम्म सिकिरहेको हुन्छु, बूढो भएँ भन्ने सोच्दिनँ । बच्चा नै छु भन्ने मान्छु । ममा मर्ने ख्याल आउँदैन । जब सिकिसक्नेछु, तब सोचुँला, बूढो भएँ, एक दिन मर्नेछु भनेर । मृत्यु त जन्मँदैको समयदेखि मेरोसामु उपस्थित थियो । मृत्युदेखि डराएको हुन्थें भने त्यसै दिनदेखि सिक्न छोडिदिन्थें’, वृद्धाले जवाफ दिएको थियो ।’

यस्ता सन्दर्भ अरू पनि छन्— हरलेन सैन्डर्सले ६० वर्षको उमेरमा केन्टुकी फ्राइड चिकेन (केएफसी) व्यवसाय सुरु गरेर अपार नेमफेम कमाए । मैकडोनाल्ड फ्रेन्चाइजी स्थापना गर्ने समयमा रे क्राकको उमेर ५३ वर्षको थियो । वाल्ट डिज्नेले ५४ वर्षको उमेरमा डिज्नील्याण्ड बनाई अपार ख्याति आर्जन गरे ।

कार्ल माक्र्सले ५९ वर्षको उमेरमा ‘दास क्यापिटल’ लेखे । बिल लियरले ६० वर्षको उमेरमा लियर जेट बनाए । नेल्सन मण्डेला ७५ वर्षको उमेरमा दक्षिण अफ्रिकाको राष्ट्रपति बने । २०२१ को अमेरिकी निर्वाचनमार्फत ७७ वर्षे जो वाइडेन संसारकै शक्तिशाली व्यक्तिको कुर्सी हत्याउन सफल भए ।

जीवन यात्राको माथिल्लो मुकाममा पुगेर पनि ऊर्जाशील रहनेहरूको कहानी हो यो । साधना बेगर प्राप्ति असम्भव छ । लक्ष्य प्राप्तिका लागि निरन्तर साधना जरूरी पर्छ । बिजुलीको चिम आविष्कार गर्ने क्रममा थोमस एडिसनले १० हजार असफलतापछि सफलता पाएका थिए । भनाइ छ, प्रश्न सोधिराख जवाफ मिल्नेछ । ढक्ढक् गरिराख ढोका खुल्नेछ । हजार माइलको यात्रा एक पाइलाबाटै सुरु हुन्छ ।

मनुष्य मन अति सारो चञ्चल छ । मनभन्दा चञ्चल सायदै केही होला यो जगतमा । मन तत्काल परिणामको अपेक्षा राख्छ । थोरै तल–वितल भयो कि, निराश–हतास हुन्छ । मान्छेले बाँध बनाई समुद्रको पानीलाई बाँध्यो । हावालाई मनचाहे स्थानमा बन्द गर्‍यो । तर मनलाई बाँध्न सकेन । पुराण साक्षी छ, लाखौं साधनाका बाबजुद देव–ऋषिहरू मनलाई बाँध्न अक्षम रहे । अप्सरा–उर्वसीहरूको मोहजालमा परी पथभ्रष्ट भए ।

संसार आशाको जगमा अडेको छ । आशा त्यो तेल हो जसले जीवनरूपी दियोलाई प्रज्वलित गरिरहन्छ । आशा त्यो फूल हो जसले जीवनलाई रंगीन बनाउँछ । आशाका फूलहरू कस्तै खडेरीमा खङ्रङ्ग सुक्दैनन् । आशाको त्यान्द्रो फलामे सिक्रीभन्दा बलियो हुन्छ ।

‘कोइली, तँ किन यति मीठो बोल्छस् ?’ के तपाईंले कोइलीलाई सोध्नुभएको छ ? ‘प्रकृति, तँ किन यति रमणीय छस् ?’ के तपाईंले प्रकृतिसँग प्रश्न गर्नुभएको छ ? ‘झरना, तँ किन मृदु झङ्कारका साथ पहाडबाट खस्छस् ?’ के तपाईंले झरनासामु जिज्ञासा राख्नुभएको छ ? सोधिहेर्नोस्, जवाफ एउटै आउने छ– ‘मन चंगा त आँगनमा गंगा !’

यसर्थ आशावादी बनौं । हरक्षण आशा मन्त्रको जप गरौं । बाज बनौं, बाज झैं उडौं । लक्ष्यप्रति बाज दृष्टि राखौं । बाज हजारौं माइलमाथि उडेको किन नहोस्, उसको दृष्टि सिकारमाथि हुन्छ । बाज जति नै बूढो किन नहोस्, सिकार कर्म छोड्दैन । हिन्दीमा कहावत छ, ‘मन जवान तो तन जवान । मन हारा तो जंग हारा ।’ आशाको सिंहासन यमलोकभन्दा माथि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?