+
+

असफलताबाट प्रेरित सञ्जुको एसियाड लक्ष्य

यो खेलको राष्ट्रियस्तरको प्रतियोगिता सीमित हुने गरेको छ । अन्तर्राष्ट्रिय खेलाडीहरुले नै वर्षभरि प्रशिक्षण नपाउँदा पलायनको समस्या उत्तिकै देखिन्छ । सञ्जुले यही अप्ठ्यारो खेललाई आफ्नो करिअरका रुपमा छानेकी छिन् । शरीरले साथ दिँदासम्म भारोत्तोलन खेल्ने उनको इच्छा छ ।

नमिता दाहाल नमिता दाहाल
२०७९ वैशाख २३ गते ८:२२

२३ वैशाख, काठमाडौं । नेपालगञ्ज शहर भारोत्तोलन खेलाडी उत्पादनको प्रमुख स्थल हो । पार्थ सारथी सेन गुप्ता र ओलम्पियन सुरेन्द्र हमालजस्ता भेट्रानबाट सिञ्चित नेपालगञ्जको भूमिमा जन्मिएकी च्याम्पियन हुन्– सञ्जु चौधरी ।

दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो भारोत्तोलन खेलाडीको कीर्तिमान बनाएकी सञ्जु आसन्न १९औं एसियाली खेलकुदको तयारीमा छिन् ।

क्रिकेट र एथलेटिक्स हुँदै भारोत्तोलनमा पुगेकी सञ्जुको करिअर असफलताबाट प्रारम्भ भएको थियो । पहिलोपल्ट राष्ट्रिय प्रतियोगिताका रुपमा सातौं राष्ट्रिय खेलकुद (२०७३)मा खेलको नियमबारे पूर्ण जानकार नहुँदा अयोग्य हुनुपरेको तीतो अनुभवबाट उनको भारोत्तोलन खेल जीवन सुरु भएको थियो ।

नेपालगञ्ज रंगशालामा क्रिकेट, एथलेटिक्स र भारोत्तोलनको प्रशिक्षणस्थल एकै स्थानमा थियो । जिम गर्ने क्रममा भारोत्तोलनतर्फ मोडिएकी सञ्जुले पहिलो असफलतापछि भने पछाडि फर्केर हेर्नुपरेको छैन ।

‘एथलेटिक्समा राष्ट्रपति रनिङ शिल्ड र क्रिकेटको क्षेत्रीय प्रतियोगिता खेल्न थालेकी थिएँ । भारोत्तोलनमा लागेको ६/७ वर्षमात्र भएको थियो,’ उनले आफ्नो सुरुवाती करिअरबारे भनिन्, ‘सातौं राष्ट्रिय खेलकुदमा मैले तौल त उठाएँ तर निर्णायकले डाउन नभनी फालें अनि अयोग्य भएँ ।’

नियम नजानेर अयोग्य भए पनि खेलाडीको शारीरिक चुस्तता र क्षमताको पहिचान त्यहाँ रहेका प्रशिक्षकले गरिरहेका थिए । तीमध्ये भारोत्तोलन खेलाडी र डाइट न्युट्रिसियनसमेत रहेका सञ्जय महर्जनले सञ्जुलाई काठमाडौं बोलाएर प्रशिक्षण गराउन थाले । त्यसपछि मात्र उनको भारोत्तोलनबारे वास्तविक सिकाइ सुरु भयो । नियम र काइदाबारे जानकारी भयो ।

एसियाली खेलकुदका लागि अघिल्लो सातामात्र भारोत्तोलनको खेलाडी छनोट भएको छ । निरन्तरको मिहिनेत र कठिन शारीरिक अभ्यासको आवश्यकता पर्ने यो खेलमा तीन महिनाको प्रशिक्षणबाट पदकको आशा गर्नु महत्वाकांक्षी हुन्छ भन्ने तथ्यलाई सञ्जुले पनि राम्ररी बुझेकी छन् ।

विश्व भारत्तोलनमै पावरहाउस राष्ट्रका खेलाडीबीच एसियाडमा प्रतिस्पर्धा गर्नुपर्छ । एसियाडका लागि प्रारम्भिक छनोटबाट पाँच जना खेलाडी छानिएका छन् । सञ्जुले ५५ केजी मुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

झण्डै ६ वर्ष लामो खेल करिअरमा दक्षिण एसियाली च्याम्पियन बनेपछि सञ्जुको अबको लक्ष्य स्वभाविक रुपमा एसियाली खेलकुद नै हो । यसपल्ट उनको पदक जित्ने योजना छैन । ‘एसियन गेम्समा शीर्ष पाँचभित्र पर्ने लक्ष्य हो,’ अनलाइनखबरसँगको कुराकानीमा २२ वर्षीया सञ्जुले भनिन् ।

सञ्जुलाई अहिलेसम्म पनि महर्जनले प्रशिक्षण गराइरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण जित्दा पनि महर्जनले नै प्रशिक्षण गराएका थिए । एसियाली खेलकुदमा भने वास्तविकतामा आधारित लक्ष्य राख्नुपर्नेमा प्रशिक्षक महर्जनको पनि एकमत छ ।

‘शीर्ष पाँचमा अटाउन यति मिहिनेतले पुग्दैन । ओलम्पिकमा भारोत्तोलनको आधाजस्तो पदक एसियन राष्ट्रले ल्याएका छन् । नेपालको यति तयारीले शीर्ष आठभित्र अटाउन ठूलो उपलब्धि मान्नुपर्छ,’ महर्जनले भने, ‘नेपालले एसियाडमा पदकको आश गर्नु त धेरै परको कुरा हो ।’

बल, बुद्धि र प्रविधिको खेल भारोत्तोलन

सामान्यतः दायाँ र बायाँ फलामको चक्का (वजन) राखेर हातले उठाउनुलाई नै भारोत्तोलन भनेर बुझिन्छ । वास्तवमा यो खेल फलाम उचाल्ने मात्रै नभएर गति, बल र प्रविधिको संयोजन हो । यो खेलको राष्ट्रियस्तरको प्रतियोगिता सीमित हुने गरेको छ । अन्तर्राष्ट्रिय खेलाडीहरुले नै वर्षभरि प्रशिक्षण नपाउँदा पलायनको समस्या उत्तिकै देखिन्छ ।

सञ्जुले यही अप्ठ्यारो खेललाई आफ्नो करिअरका रुपमा छानेकी छिन् । शरीरले साथ दिँदासम्म भारोत्तोलन खेल्ने उनको इच्छा छ । ‘यो खेलमा गर्न सक्ने हो भने करिअर छ । तर मिहिनेत अन्य खेल्नमा भन्दा बढी नै गर्नु पर्छ,’ सञ्जु भन्छिन्, ‘भारोत्तोलन खेल बलले मात्रै खेलिँदैन बुद्धि र प्रविधिबारे उत्तिकै जानकार हुनुपर्छ । मैले तौल उचाल्न त जानेकी थिएँ तर प्राविधिक ज्ञानको कमीले नै म पहिलो प्रयासमा असफल भएकी थिएँ ।’

सञ्जयको प्रशिक्षण खारिएको सञ्जुको खेल

अहिले उनलाई पूर्व राष्ट्रिय खेलाडी तथा लामो समयदेखि भारोत्तोलनमा संलग्न रहेका खेलाडी प्रशिक्षक सञ्जय महर्जनले प्रशिक्षण दिइरहेका छन् ।

उनको प्रशिक्षणमा सञ्जुले भारोत्तोलनको प्राविधिक सिप सिकिन् । जसका कारण अहिले उनलाई पछाडि फर्केर हेर्न जरुरी छैन । भारोत्तोलन खेलकै कारण अहिले उनी राष्ट्रिय स्तरमा चिनिन्छिन् । सञ्जय महर्जन आफैं पनि २ पटकसम्म एसियन गेम्समा भाग लिएका अनुभवी खेलाडी हुन् ।

२०७३ को सातौं राष्ट्रिय खेलपछि सञ्जय महर्जनको प्रशिक्षण पाएकी उनले त्यसपछिका प्रायः राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो हुनुपरेको छैन । २०७४ मा भएको राखेप च्याम्पियनसिपमा उनले पहिलो पटक राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताबाट स्वर्ण जितिन् । अनि चुलियो उनको चर्चा । उनले त्यसपछि राष्ट्रिय प्रतियोगिताहरुमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।

सञ्जुसँग हालसम्म सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ । २०१७ मा कोरियामा भएको एसियाकप तथा इन्टर क्लब च्याम्पियनसिपमा ३ रजत र ३ कास्य जितेकी हुन् । त्यस्तै जाकर्तामा सम्पन्न १८ औं एसियन गेम्समा पनि उनले सहभागिता जनाएकी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको हकमा घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी हुन् ।

दक्षिण एसियाली खेलकुद अघिदेखि उनले विभागीय टोली नेपाल पुलिसमा अनुबन्ध भए पनि साचेअनुरुप नभएपछि यही वर्ष विभाग छोडिन् ।

‘अहिलेको मुख्य आवश्यकता भनेको राम्रो प्रशिक्षक हो । खेलाडीले निरन्तर एउटै प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउनु पर्छ ।’ प्रशिक्षक फेरिएसँगै खेलाडीलाई सिकाउने तरिकामा निकै फरक पर्छ । जसका कारण धेरै खेलाडी रुमल्लिन्छन्,’ सञ्जु भन्छिन्, ‘महत्वपूर्ण प्रतियोगिता आउनुअघि एउटै प्रशिक्षकसँग कम्तीमा पनि ५ देखि ६ महिना प्रशिक्षण पाए राम्रो नतिजा ल्याउन सकिन्छ ।’

सञ्जु चौधरी सागमा भारोत्तोलनबाट स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

भारोत्तोलनको भविष्य

भारोत्तोलनमा सीमित खेलाडी छन् । प्रतिस्पर्धा सीमित भएको हुनाले भविष्य पनि राम्रो रहेको सञ्जुको बुझाइ छ । भारोत्तोलन खेलमा खेलाडी सीमित हुनुको मुख्य कारण भनेको शारीरिक मापदण्ड पनि हो । सबै प्रकारका मानिसहरुले यो खेल खेल्न सक्दैनन् । यसका लागि खेलाडीले जन्मजात लिएर आएको जीनले प्रमुख भूमिका खेल्छ ।

‘यस खेलमा लाग्न खेलाडीको रुचि मात्रै भएर पुग्दैन । भारोत्तोलन खेल्न ‘फास्ट टुइस्ट मसल्स्’ भएको शरीर चाहिन्छ,’ प्रशिक्षक महर्जनले भने । महर्जनले सञ्जुमा त्यो क्षमता देखेरै सातौं राष्ट्रियमा अयोग्य भएको खेलाडीलाई राष्ट्रिय टिममा ल्याएका हुन् ।

पोषण र आराम अत्यावश्यक

पोषण सामान्य मानिसदेखि हरेक खेलाडीलाई निकै आवश्यक पर्ने कुरा हो । भार उचाल्नुपर्ने भएकाले पोषण र खेलाडीलाई आरामको पक्ष अन्य खेलको तुलनामा यस खेलमा धेरै हुने गर्छ ।

नेपालका भारोत्तोलन खेलाडीले सामान्य व्याक्तिले खाने खानेकुरा खाइरहेका हुन्छन् । जसले उनीहरुको शरीरलाई आवश्यक पर्ने क्यालोरी पूरा गर्न सक्दैन । ‘हामीले घरमा अन्य मानिसले खाएसरहको खानेकुरा खाएर पुग्दैन । जस्तै हामीले प्रशिक्षणमा १०० क्यालोरी खर्च गरेका छौं भने १०० क्यालोरी बराबरको खानेकुरा खानैपर्छ । जुन अहिले हाम्रो लागि चुनौती हो,’ सञ्जुले भनिन् ।

प्रशिक्षक महर्जनले पनि खाना र आरामले नै खेलाडीको क्षमताको निर्धारण गर्न सकिने बताउँछन् । डाइट न्यूट्रिसियनसमेत रहेका प्रशिक्षक महर्जनले भने, ‘भारोत्तोलन अन्य खेलको तुलनामा खानेकुराले र आरामले प्रत्यक्ष रुपमा फरक पार्ने खेल हो । अहिले हामी प्रशिक्षण गर्छौं । घर गएर घरको काम, अनि सामान्य घरको खाना खान्छौं । यसले हाम्रो प्रदर्शनमा फरक पार्छ ।’

प्रशिक्षक सञ्जय महर्जन

एसियन गेम्सको तयारीका लागि भारोत्तोलन संघले १६ जना खेलाडी छनोट गरेको छ । तर खेलाडीलाई कसरी, कहाँ प्रशिक्षण गराउने केही टुङ्गो नभएको प्रशिक्षक महर्जनले बताए । ‘हामीलाई १६ खेलाडी छान्न भनियो तर अहिले अब खेलाडीलाई कहाँँ कसरी प्रशिक्षण दिने, बन्द प्रशिक्षणमा राख्ने नराख्ने केही अत्तोपत्तो छैन ।’

खेलाडीले अहिले घरबाट जति सक्छन्, त्यसकै आधारमा प्रशिक्षण गरिरहेका छन् । सञ्जुको पनि हाल यस्तै छ । भेरी अस्पतालमा कार्यरत बुवा चामु थारुले नै उनको अहिले खर्च धानिरहेका छन् । ‘हामीलाई पोषण र आराम पुगेन भने इन्जुरीको जोखिम धेरै हुन्छ,’ सञ्जुले भनिन् ।

नेपालका खेलाडीले पूर्णरुपमा खेल भनेर लाग्ने अवस्था छैन । खेलाडीको निरन्तर आय स्रोत छैन । जसका कारण खेलाडी खेलमा टिकिरहन निकै समस्या हुने गर्छ । भारोत्तोलनका खेलाडीको समस्या पनि त्यस्तै छ । पोषणको लागि खर्च पुराउन नै खेलाडीलाई धौ–धौ पर्छ ।

‘हामीले भारोत्तोलन खेलाडीका रुपमा पूर्ण पोषण खाने भए महिनाको ५० देखि ६० हजार लाग्छ । तर हाम्रो पुरस्कार रकम त्यही सागको ९ लाख बाहेक केही छैन,’ उनले भनिन् ।

राष्ट्रिय प्रतियोगितामा सञ्जुका उपलब्धि

  • वि.सं २०६८ ओलम्पियन दिवस विशेष पाँचौं ग्रान्ड प्रिक्स– रजत पदक
  • वि.सं २०७३ सातौं राष्ट्रिय खेल
  • वि.सं २०७४ पहिलो नेपाल स्ट्रंगेष्ट सुनीललाल जोशी मेमोरियल च्याम्पियनसिप– स्वर्ण पदक
  • वि.सं २०७४ राखेप च्याम्पियसिप– स्वर्ण पदक र राष्ट्रिय कीर्तिमान
  • वि.सं २०७४ पहिलो इन्टर क्लब नेशनल च्याम्पियनसिप– स्वर्ण पदक र राष्ट्रिय कीर्तिमान
  • वि.सं २०७५ दोस्रो नेपाल स्ट्रंगेष्ट सुनिललाल जोशी मेमोरियल च्याम्पियनसिप– स्वर्ण पदक र राष्ट्रिय कीर्तिमान
  • वि.सं २०७६ तेस्रो नेपाल स्ट्रंगेष्ट सुनीललाल जोशी मेमोरियल च्याम्पियनसिप– स्वर्ण र राष्ट्रिय कीर्तिमान
  • वि.सं २०७८ नवौं महिला नेशनल भारोत्तोलन प्रतियोगिता २०२२– स्वर्ण

अन्तर्राष्ट्रिय प्रतियोगिता

  • एसियन युथ एन्ड जुनियर च्याम्पियनसिप २०१७ (काठमाडौं)
  • एसियन कप एन्ड क्लब च्याम्पियनसिप २०१७ (कोरिया)– २ रजत/३ कांस्य
  • एसियन युथ एन्ड जुनियर च्याम्पियनसिप २०१८(उज्वेकिस्तान)– ३ राष्ट्रिय कीर्तिमान
  • १८ औं एसियन गेम्स २०१८( जाकर्ता)–तीन वटा राष्ट्रिय कीर्तिमान
  • एसियन सिनियर भारोत्तोलन च्याम्पियनसिप २०१९(चीन)
  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ (नेपाल) –स्वर्ण पदक
  • एसियन भारोत्तोलन च्याम्पियनसिप २०२१ (उज्वेकिस्तान)
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?