+
+
यात्रा संस्मरण :

गुराँसको सहर

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७९ वैशाख २६ गते १४:२१

ज्ञानहरु यात्राको बाटोमा छरपस्ट छन् । यात्रामा ज्ञानका कुराहरु कुरो घारीमा लागेका कुरोका बिजहरु जस्तै हुन् । हिंड्नु मात्र पर्छ आफैं बलियो गरेर टाँसिन आइपुग्छन् ।

तर ज्ञानको कुरो, निकाल्न को चाहन्छ र ?

यात्राले व्यक्ति फरक बनाइदिन्छ । मैले यो पाँच दिनको यात्रामा कमसेकम दुई किताबले दिने ज्ञान बटुलेको छु । म फरक बनेको छु ।

म गुराँसको सहरमा पुगेको थिएँ । मैले गुराँसको अव्यवस्थित सहर हेरेर फर्केको छु । त्यो सहरमा गुराँसहरु व्यवस्था नमिलाएर हुर्किएका छन्, बढेका छन्, रुख बनेका छन्, अनि आँखाले भ्याइञ्जेल राता, गुलाबी रंग एक-एक गुत्था बनेर लटरम्म छन् ।

मानिसहरुको लागि दुर्गम गाउँ, गुराँसले सुन्दर बनाइदिएको छ । नेपालको सुदूर उत्तरपूर्वको ठाउँ, गुराँसहरुको अव्यवस्थित सहर बनेको छ । म त्यो सहर पुगेर फर्केर आएको छु । पाथीभरा दर्शन एक बहाना मात्र थियो ।

मूर्ति पूजाले के दिन्छ ? मूर्तिमा बाँचेको आस्थाले के दिन्छ ? धेरै कुरा दिन सक्छ । हजारौं, लाखौंलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी । हजारौं लाखौंको जीवन स्तरमा अभिवृद्धि तीमध्येको एक हो ।

आफूभित्र हेर । आफूलाई नियाल । सहरको व्यस्तताले नदिएको आफूले आफूलाई दिन नसकेको समय आफूलाई देऊ । हरेक कुरालाई भिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ ।

म एक पर्यटक बनेर त्यो सुदूर गाउँमा पुग्दा गाडीले रोजगारी पाएको छ । होटलले रोजगारी पाएको छ । नेपालीले रोजगारी पाएका छन् । पैसा त बगेको पानी बनेको राम्रो ।

यस्तै बगाइ हो मेरो यात्रा । अनकण्टार गाउँसम्मको यात्रा । अविरल, निरन्तर सडकहरुको यात्रा । यो यात्रामा पहाडहरु आउँछन्, जान्छन् । फेरि आउँछन् विपनाहरु रंगाएर जान्छन् । कान बन्द हुने गरेर आउँछन्, कान खुलाएर जान्छन् ।

गाडी एकनासले घुमाउरा बाटोलाई घुमाउँदै झापाबाट उकालो लाग्छ । उकालोको उचाइमा चिसो, तुँवालोले आकाश भरिन्छ । घाम देखिंदैन । फेरि उकालो सकिएपछि ओरालोको अविछिन्न यात्रा सुरु हुन्छ । कान डम्म फुल्छ, बन्द हुन्छ । हावाको चाप र चिस्यान मिल्दैन । कान दुख्छ । ओरालो पछिको समथरमा कान खुल्न लाग्छ । चंगा हुन्छ ।

सडकको घुमाइसँग भित्री कानको भागमा भएका पानी हल्लिन लाग्छ । रिंगटा लाग्छ, टाउको दुख्न सक्छ । कमजोर शरीरका लागि बान्ता आउने सम्भावना हुन्छ ।

अविरल, निरन्तर यात्राले सोच्ने समय पनि दिन्छ । अनेक सोच आउँछन् । यात्राले आफूलाई नियाल्ने समय दिन्छ । सायद योगी बनाइदिन्छ ।

आफूभित्र हेर । आफूलाई नियाल । सहरको व्यस्तताले नदिएको आफूले आफूलाई दिन नसकेको समय आफूलाई देऊ । हरेक कुरालाई भिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ ।

देश विकास गर्ने हो भने अब सुरुङ मार्गको अर्को विकल्प छैन । म बुद्धिजीवी बन्छु । यो २४ घण्टे यात्रालाई कमसेकम दुई सुरुङ मार्ग भइदिएको भए मात्र पाँच सात घण्टा छोट्याउन सकिन्थ्यो । समयको अर्थ आर्थिक विकासमा छ । त्यसमाथि गाडीहरु उकालो ओरालो गर्दा क्लज र ब्रेक प्याड बिग्रने त भइहाल्छ । सुरुङ मार्गमा सडक भएको भए क्लज र ब्रेक बिग्रने समस्या धेरै कम हुने थियो ।

सुरुङ मार्ग बनाउने पैसा खोइ ?

यो सुरुङ बनाइसकेपछि फाइदा कसले लिन्छ । सरकारलाई दिंदैन । व्यक्तिलाई दिन्छ । व्यक्तिले दिएको पैसा पनि त सरकारले अर्को देशलाई दिने नै हो । आफ्नो देशमा उत्पादन छैन ।

यी गाडीहरुले आफ्नो मर्मत सम्भारमा खर्च गराएका पैसाले सुरुङ बनाउने पैसा निकाल्न सकिन्छ । त्यसमाथि मानिसहरुको समयको बचतले कति फाइदा दिन सक्छ ? अनुमान लगाउन सकिन्छ । समय पैसा हो । सायद हामीले बुझ्न सकेका छैनौं ।

यातायातले पूर्वी नेपालका डाँडाहरुलाई धेरै हदसम्म पश्चिमका डाँडाभन्दा सुगम र सहज बनाएको छ । यातायातसँग बिजुली, सञ्चार, व्यापार, शिक्षा र स्वास्थ्य लगायतका विकासका साधनहरुको पहुँच हुन्छ । आन्तरिक र बाह्य पर्यटन बढाएको हुन्छ । विकसित बनाएको हुन्छ ।

अझ स्वप्ननगरीमै पुग्ने हो भने यहाँका डाँडाहरुमा धेरै विकास हुनसक्छ । सुरुङ मार्गले छिचोलेर अर्को डाँडासम्म जोडेको पुलमाथि रेल कुँदेको बन्न सक्छ । तमोर नदीको पानी खेर गइरहेको छ । यहाँ ठूला-ठूला ड्यामहरु बन्न सक्छन् । तमोरको पानीमा जहाज चल्न सक्छन् ।

यी पहाडमा सुन लुकेका हुन सक्छन् । करोडौं वर्षअघि भारतीय प्लेट र यूरेसिया प्लेट फ्युजन भएर बनेका डाँडाहरुभित्र कैयौं महंगा धातुका हुन सक्छन् । यी पदार्थको खोज अनुसन्धान भएको छैन । धर्तीले भविष्यका लागि सुन सँगालेर राखिदिएको छ । तर अब केही दशकका लागि मात्र हुने भनेर भनिएको विद्युतीय शक्ति हामीले उपयोग गर्न नसकेर खेर जाने भयो ।

बस गुडेर जाँदै थियो । रात पर्न लाग्दै थियो, बस ताप्लेजुङ बसपार्क पुग्छ । दिउँसै पुग्न पर्ने थियो ६-७ घण्टा ढिलो बसपार्क पुगिएको थियो ।

२४ घण्टाको बाटोलाई चिर्न दिउँसो २ बजे काठमाडौं छाडेको हाम्रो बस एकाबिहानै पाँच बजे बाटोको जाममा फस्छ । एउटा ट्रक हाम्रो बस अगाडि बिग्रिएर बसेको थियो । बाटो साँघुरो थियो । राजमार्ग भए पनि ट्रक यसरी बिग्रिएको थियो कि अर्को ठूलो गाडी पार भएर जान सक्ने थिएन । राजमार्ग सानो बनेको थियो ।

म राति यात्रा गर्न रुचाउने यात्री । जहिल्यै गन्तव्यमा पाँच बजे पुग्ने गर्थें, अनि घर वा होस्टलमा गएर दुई-तीन घण्टा सुत्दा निद्रा पुग्थ्यो । अर्को दिन आफ्नो बन्थ्यो । छोटो समय र सस्तो यात्रा गर्ने हो भने रात्रि बसमा हिंड्नुपर्छ र दिउँसो घुम्नुपर्छ । रात्रि बसमा राम्रो निद्रा नपर्न सक्छ, त्यसैले धेरै दिन यस्तो अनिंदो हिंड्न सकिंदो रहेनछ ।

त्यो जाममा पुग्दा पाँच बजेको थियो । रोकिएको बसमा रातले नपुर्‍याएको निद्रा मज्जाले पर्‍यो मलाई । बिहानी भइसकेको थियो । सडकमा यात्रीहरु ट्रक मर्मत गर्न खोज्दै थिए । ट्रक राति एक बजेदेखि बिग्रिएर बसेको रहेछ । हामीले इलाम बजार छाडेको १२-१३ किलोमिटर भइसकेको थियो । एक साहसिलो जीप हौसिएर आयो । उसले सडकमा यात्रुहरुको सहयोग पायो । जीप छिर्न सक्ने सानो बाटो खुलै रहेछ । ऊ छिरेर गयो । लगत्तै अरु साना गाडीहरु छिर्न लागे । दुई-तीन बजेतिर आएको एम्बुलेन्स रातभरि गाडी बन्ने आशामा बसिरहेको रहेछ । बिरामी बोकेको एम्बुलेन्स बीचमा फसेछ । बल्ल बिहान जाम बनेको स्थल छिर्न पायो ।

हाम्रो बस ठूलो थियो । छिर्ने कुरा थिएन । केही यात्रुहरु ट्रक बनाउने प्रयासमा थिए । ट्रकका कर्मचारी भने म्यारिज खेलेर बस्ने हो भन्दै थिए । यात्रुहरुबाट हप्काइ खाएपछि पछि सरे । बिग्रिएको बनाउने सामान मगाउँ भन्ने कुरा आयो । मगाएको हो कि होइन थाहा थिएन । बिग्रिएको सामान इलाम बजारमा पाइँदैन रहेछ । सायद इटहरी पुग्नु पथ्र्यो । ट्रकको कर्मचारी साहुलाई फोन गर्दै थियो ।

यहाँ मान्छेले कुट्न लागे । छिटो पठाउनुस् । नेपालीहरु सौहार्द हुन्छन् । सहनशील छन् । कति यात्रु त ट्रकमुनि छिरेर ट्रक बनाउने प्रयत्नमा थिए । ट्रक बनाउन प्रयत्न गरेकाले उल्लेख्य संख्यामा मानिसहरुको हात कालो थियो । घण्टौं मेहनत गर्दै थिए ।

तर आफ्नो यात्रा खराब गरिदिएकोमा कसैलाई रिस थिएन । सायद बिहानी थियो । क्रमशः समय छिप्पिंदै जाँदा मानिसमा आक्रोशको छनक आउँदै थियो । म र मेरो साथी मनिमलाई भने बिहानीको कर्मले अत्याउन लाग्यो । कुनै जूनीमा कुनै संयोग परेको रहेछ त्यो घरसँग । सडक छेवैमा रहेको सानो पसलमा बिहानीको तातो चिया पिउन पाइयो । यात्रामा पानी र खाजाको जोहो गर्नुपर्छ । नियमित यात्रा गर्नेलाई थाहा हुन्छ । यस्तै जोहोले त्यहाँको चियासँग आफूले ल्याएको बिस्कुट खान पाइयो । त्यहाँको शौचालय प्रयोग गर्न पाइयो ।

ट्रक अझै बन्ने छाँटकाट थिएन । यात्रुहरु निराश थिए । हामीलाई अबको यात्राको समयको भेउ थिएन । हामी त घुम्न हिंडेको फिरन्ते । हाम्रो गन्तव्य के हो भन्ने थाहा थियो तर कहाँ हो भन्ने नाप थिएन ।

यात्रुहरुको प्रयासले ट्रक बनेन । ११ बजेतिर सामान आयो । एउटा ट्याक्सीमा सामान पठाइएको रहेछ ।

अब पीर थियो अनुमानको भरमा पठाएको सामान ट्रकमा फिट हुन्छ कि हुुँदैन । केही समयमा ट्रकले हावा भर्न लाग्यो । ट्रक गुड्यो । हाम्रो बस पनि गुड्न थाल्यो ।

बस हिंडेपछि पुनः उकालो ओरालोको शृंखला सुरु भयो । अनवरत रुपमा गाडी उकालो चढ्थ्यो । फेरि उस्तै रुपमा ओरालो झर्नु पथ्र्यो । अघिसम्म रातले देखिंदैन थियो । अब त दिन भइसकेको थियो । लामो समयदेखिको भोकलाई सन्तुष्ट पार्न होटल आयो ।

भोकको सन्तुष्टिपछि पुनः अरु उकालो ओरालो टार्नु थियो । क्रमशः टारिंदै गयो । लामो यात्रापछि हाम्रो गन्तव्य आइपुग्यो । चारैतिर तुँवालो थियो । पानी पर्ला जस्तो । दिउँसो पानी परिसकेको रहेछ । पूरै पाँचथर कटिसकेपछि ताप्लेजुङले स्वागत गर्दै थियो, ताप्लेजुङ बसपार्क आयो । बसपार्कबाट जीपको सवारी लगाएर करिब १७ किलोमिटरको कच्ची बाटोको यात्रा गर्नुपर्ने रहेछ । जीप सहज रुपमै पाइयो । त्यहाँबाट सुरु भयो रोमाञ्चकताको अर्को बाटो । केही समयसम्मको यात्रा पिच बाटोमै भएकाले हामी खुसी हुँदै थियौं बाटो राम्रै रहेछ भनेर । तर हामीलाई के थाहा अब के आउँदै थियो ?

ग्रामीण सडकलाई अगाडि लागेको हुस्सुको कारण प्रष्ट देखिंदैन थियो । हामीलाई थाहा थियो हामी डाँडाको टुप्पामा रहेको बसपार्कबाट उकालो लाग्दै थियौं । बाटो पानी परेर छाडेपछिको चिप्लोले घेरेको थियो । पिच सकिसकेको थियो । पानी परिरहेको थियो । जीपको वाइपर चल्दैन थियो । अल्लारे केटो यो डोजर चलाउनेले चलाएको जीप हो । केही मिलाएर राखेको रहेनछ भन्दै गाडीको वास्तविक ड्राइभरको गुनासो गर्दै जीप चलाइरहेको थियो । उसलाई बारम्बार फोन आउने गथ्र्यो । ऊ फोनमा कुरा गर्दै अनि कहिलेकाहीं फोर व्हिल लगाउँदै कुरा गर्दै थियो । जीप चलाइरहेको थियो ।

यात्राको अर्को रमाइलो के भने यात्राले नयाँ साथीहरु बनाइदिन्छ । बसको यात्राको दौरान दुई हामीभन्दा करिब एक दशक कान्छा केटा साथी बन्दै थिए । उनीहरु र पाथीभराको भाकल राखेका बुढाबुढी र सानो छोराको सानो परिवार हामीसँग जीपमा थिए ।

उनीहरु डराइरहेका थिए सायद । म भने अनौठो अनुभव सँगालिरहेको थिएँ ।

केही घण्टाको रोमाञ्चक यात्रापछि सानो फेदी आइपुग्यो । करिब रातको आठ बजिसकेको थियो । हामीलाई ठूलो फेदी गएर बस्नु भन्ने सुझाव थियो । ड्राइभर केटो यहाँका होटलहरु सबै राम्रै छन् । जहाँ बसे पनि हुन्छ । भन्दै थियो ।

केटो सानो फेदीको आफ्नो होटल पुर्‍याएर बिलायो । हामीलाई कहाँ जाने थाहा थिएन । होटल ठिकै थियो । चार-पाँचवटा कोठाका लागि एक शौचालय भएको थियो । काठले छेकेको कोठा एकअर्कासँग ध्वनिमैत्री भएको थियो । एक कोठामा बोलेका कुरा अर्को कोठामा प्रष्ट सुनिन्थ्यो । सुविधाहरु समय, ठाउँ र परिस्थिति अनुसार खोजिनुपर्छ । त्यहाँ सहरका सुविधा सम्पन्न होटल खोज्नु सायद जायज थिएन । त्यो होटलमा हामीले राम्रै सत्कार पायौं ।  त्यस रात त्यहीं बस्यौं ।

भोलि बिहान होटलका बहिनी र दाइहरुले भने बमोजिम तीन बजेतिर तयार भएर उकालो लागियो । उकालो लाग्ने बित्तिकै एक किसिमको सकसले छुन लाग्यो । अक्सिजन कमीको अनुभूति प्रष्ट हुँदो रहेछ । एक भाइलाई हिंड्न गाह्रो भइरहेको थियो ।

भोलि बिहान होटलका बहिनी र दाइहरुले भने बमोजिम तीन बजेतिर तयार भएर उकालो लागियो । उकालो लाग्ने बित्तिकै एक किसिमको सकसले छुन लाग्यो । अक्सिजन कमीको अनुभूति प्रष्ट हुँदो रहेछ । एक भाइलाई हिंड्न गाह्रो भइरहेको थियो । म ऊसँग लागें । मनिम र अर्को भाइ खुरुखुरु उकालो लाग्दै थिए । पानी हल्का पर्दै थियो । करिब तीन किलोमिटरको ठाडो उकालो हाम्रो अघि थियो ।

करिब एक घण्टापछि ठूलो फेदी आइपुग्यो । यहाँ राम्रै होटल रहेछन् । बल्ल हामीलाई दिइएको उपदेशको मर्म बुझ्न पायौं । हामी त ठूलो फेदीसम्म जीपले पुर्‍याइदिन्छ भनेर अपेक्षा गर्दै थियौं । गलत रहेछौं । रात अझै बाँकी थियो । पानी मज्जाले पर्दै थियो । होटलमा दिएको प्लास्टिक ओडेर, एक हातमा मोबाइलको टर्चले बाटो देखाउँदै, लौरी टेक्दै हामी अन्धकारमा उकालो लाग्यौं । बाटो ढुंगाले छाएको राम्रो थियो । हिंडाइ सुस्त थियो । एघार नम्बरका ट्याक्सीहरु बाटोमा ग्राहक पछ्याउँदै थिए ।

भाइ हिंड्ने सकसमा थियो । उसलाई प्लास्टिक ओडाइदिंदा ऊ कामिरहेको थाहा पाएँ मैलै । उसलाई बोक्न भरिया ट्याक्सी सोध्न लाग्यौं ।

एक जनाका लागि सात हजार भने ।

लौ जय होस् ।

यहाँको समितिले भने अनुसार भाडा लिनुपर्छ । धेरै पनि लिन भएन, थोरै पनि लिन भएन । हामीसँग पैसा छैन । भाइ विस्तारै उकालो चढ्न थाल्यो । कान्छीथान आइपुगेको थियो । त्यहाँबाट अझै झण्डै दुई किलोमिटरको उकालो बाँकी थियो । बाटोमा मानिसहरुको अनुभव पनि सुन्न पाइयो । भनिन्छ, छिटो जानु छ भने एक्लै जानू, टाढा जानु छ भने साथी बनाएर जानू । यहाँ बाटोभरि साथीहरु थिए । कोही २९ पटक चढ्दै थिए । १०८ पटकको भाकल छ भन्थे । कोही परिवारसँग थिए । यहाँ आउन साइत जुराउने होइन । कोही जान्छु भने आफू पनि बाटो लाग्ने हो । कोही वृद्ध आमाहरु एक्लै ठमठम हिंड्दै थिए । कतिपय युवकहरु १०० किलो भन्दा बढी भारी बोकेर उकालो चढ्दैथिए ।

लागेको थिएन मसँग हिंडेको भाइ उकालो चढ्न सफल हुन्छ । तर प्रतिभालाई दृढताले जित्छ । हामी करिब तीन घण्टामा गन्तव्य पुग्यौं ।

गन्तव्य पुग्नै लाग्दा तुँवालो हटेर केही समय घामले दर्शन दियो । कञ्चनजंगा हेर्न भन्दा उसको प्रांगणमा फोटो खिचाउन थाल्यौं । तर एकैछिनमा तुँवालोले छोप्न लाग्यो । पाथीभरा जाने सिजन भए पनि हामीलाई तुँवालोको सुन्दर बाधा पनि थियो ।

गन्तव्य भन्दा यात्रामा जीवन हुन्छ । हामी आदिवासी याक्थुमहरुको मुन्धुमी र सांस्कृतिक आस्थाको पवित्र स्थल मुक्कुमलुङ पुगेका थियौं । मन्दिरको दर्शनपछि हामी ओरालो झर्‍यौं । कसैलाई हिंड्न उकालोले भन्दा ओरालोले बढी सकस दिन्छ । तर अब त बिहान थियो । ओरालो झर्दा मानिसहरुलाई हौसला दिन पनि मज्जा आउने रहेछ ।

‘आउनै लाग्यो । त्यही त हो ।’

‘पाथीभरा माता की’ एकले हौसाउन लागे ।

‘जय ।’ अरुहरु साथ दिंदै थिए ।

‘पाथीभरा माता की’ भन्दै ।

जय ।

बाटोको रौनक माताको जयजयकारमा पनि थियो ।

जाँदा अन्धकारले नदेखिएको फर्कंदा लालीगुराँसका थुंगाहरुले स्वागत गर्दै थिए । नेपालमा ३१ प्रजातिका लालीगुराँस पाइने रहेछन् । तीमध्ये ताप्लेजुङमा मात्रै २८ प्रजातिका पाइने रहेछन् । हाम्रा आँखाले राता, गुलाबी र केही सेता ठम्याउन सके ।

‘सेता विषालु हुन्छन् ।’ भाइ भन्दै थियो- ‘खानु हुँदैन ।’

बाटोमा हामी खोज्दै हिड्यौं । देखिने कुरा त भएन, तर यस पवित्र क्षेत्रमा रेडपाण्डा, कालो भालु, चितुवा, मयूर, मुनाल, काँडे भ्याकुर, चितुवा लगायतका पशुपंक्षीहरु पाइने रहेछन् ।

बाटोमा भाइलाई मैले सोधें- ‘के माग्यौ त मातासँग ?’

भन्नु हुन्छ र मागेको कुरा ? ऊ सोध्दै थियो ।

‘मैले त कहिल्यै पूरा नहुने कुरा मागे ।’ मैले भने ।

‘के ?’ उसले सोध्यो ।

‘सबैको कल्याण होस् । मेरो पनि ।’ मैले भनें ।

सबैको कल्याण भए मेरो भाकल पूरा हुनेछ । म फेरि मन्दिर फर्किने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?