+
+

भोजभतेरको गाँस, झाडापखालाको त्रास

डा. शेरबहादुर पुन डा. शेरबहादुर पुन
२०७९ वैशाख २९ गते १८:३०

झाडापखालाबाट मंगलबार दाङको तुलसीपुरमा साढे दुई वर्षीय बालकको मृत्यु भयो । अन्य चार जना बिरामी परेका छन् । उनीहरुलाई झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखिएको थियो ।

वर्षायाम सुरु भएसँगै झाडापखालाबाट बिरामी हुने, मृत्यु हुनेको अप्रिय खबर सुन्नुपर्छ । यसपालि पनि यो सिलसिला सुरु भइसकेको छ । अस्पतालमा यस्ता बिरामीको चाप नदेखिए पनि घरघरमा धेरैजसो झाडापखालाले सताइरहेका हुनसक्छन् । किनभने झाडापखाला लागेमा अस्पताल नगई घरमै बसेर औषधि किन्दै खाने प्रवृत्ति व्यापक छ ।

भोजभतेरमा भय

अहिले भोजभतेरको सिजन पनि हो । दिनहुँजसो बिहेभोज भइरहेको छ । अर्कोतिर निर्वाचनको लहर छ । मान्छेहरु भेला हुने, भोजभतेर गर्ने नै भए । यस किसिमको भोजभतेरले पनि झाडापखालाको समस्या निम्त्याउने भय हुन्छ ।

किनभने भोजभतेरमा धेरै मात्रामा खानेकुरा बनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा सरसफाइमा भनेजस्तो ध्यान दिन सकिंदैन । खानेकुरा राम्ररी धुने, पखाल्ने नहुन सक्छ । यसैगरी भोजमा उपलब्ध थरीथरीका परिकार एकैपटक खाने प्रवृत्ति हुन्छ । यसले गर्दा संक्रामक रोग फैलिने, खाना विषाक्तता (फुड पोइजनिङ) हुने, झाडापखाला लाग्ने, बान्ता हुने डर हुन्छ ।

पानीको हानी

केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले एउटा सर्वेक्षण गरेको थियो, जसले बजारमा बेच्न राखिएका पानी गुणस्तरहीन भएको र त्यसैबाट झाडापखाला फैलिएको तथ्य बाहिरिएको थियो । यतिबेला धाराको पानी त दूषित हुने सम्भावना हुन्छ नै, बजारमा राखिएको पानीमा पनि शंका गर्नुपर्ने अवस्था हुन्छ ।

वर्षायाममा पानीको भेल बग्दै मुहानमा मिसिन्छ । आसपासमा फोहोरमैला, दिसापिसाब गरेको हुनसक्छ । जीवजन्तु मरेर सडिएको हुनसक्छ । वर्षाको भेल त्यस्तै फोहोर बगाउँदै मुहानमा मिसाइदिन्छ । अतः सोही पानी धारा हुँदै हाम्रो भान्सामा पुग्छ । पानीलाई राम्ररी निर्मलीकरण नगरी पिउँदा वा प्रयोग गर्दा त्यसबाट संक्रमण फैलने भय हुन्छ ।

सहरी क्षेत्रमा पानीको अभाव छ । धाराको पानी पुग्दो नहुन सक्छ । त्यसैले कतिपय जारको पानी प्रयोग गर्छन् । होटल-रेस्टुरेन्टमा त जारको पानी अनिवार्य नै जस्तो हुन्छ । जबकि जारको पानी पनि ढुक्कले पिउन नसकिने विगतका केही घटनाले पुष्टि गर्छ । गुणस्तर परीक्षण नगरिएको जारको पानी पनि दूषित हुन सक्छ ।

त्यसैगरी गर्मी र झरीको कारण यतिबेला खानेकुरा चाँडै सड्ने, गल्ने र कुहिने हुन्छ । यसले फुड पोइजनिङ हुनसक्छ ।

अब के गर्ने त ?

झाडापखाला लागेपछि त्यसको उपचार खोज्न सकिन्छ । यद्यपि उपचार खोज्नुभन्दा उत्तम उपाय हो, झाडापखाला लाग्नै नदिनु ।

झाडापखलाबाट बच्नका लागि पिउने पानी र खानेकुरामा ध्यान दिए पुग्छ । हात, भाडावर्तनको सफाइमा ध्यान दिए पुग्छ । किनभने दूषित पानी, खानेकुरा नै यसको मूल कारण हो ।

यसैले झाडापखालाबाट बच्नु भनेको मूलतः खानपानमा सतर्क हुनु नै हो । पानी र खानेकुरा शुद्ध, ताजा खानुपर्छ । यी सामान्य कुरा हुन् । तर हामी यस्ता सामान्य कुरा पनि पालना गर्दैनौं । जसले झाडापखला लाग्न सक्छ । झाडापखाला सामान्य लाग्न सक्छ । तर सावधानी अपनाइएन भने यसले ज्यानै जान सक्छ ।

(सरुवारोग विशेषज्ञ डा. पुनसँग अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानीमा आधारित)

लेखकको बारेमा
डा. शेरबहादुर पुन

लेखक सरुवा रोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?