+
+

क्षेत्रीय एकीकरणका सन्दर्भमा बुद्धमार्गी कूटनीति

दक्षिणएशियासँग जोडिने यातायात सञ्जालको सही उपयोगका दृष्टिकोणबाट नेपालका प्राचीन मठमन्दिरहरूलाई यस क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको गन्तव्य स्थलको रूपमा विकास तथा प्रवर्धन गर्नु सर्वथा उपयुक्त हुनेछ।

पुरुषोत्तम ओझा पुरुषोत्तम ओझा
२०७९ जेठ २ गते १२:२८

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेकको सन् २००४ मा भएको पहिलो शिखर सम्मेलनको बखत ६ वटा क्षेत्र-व्यापार, प्रविधि, ऊर्जा, यातायात, पर्यटन र मत्स्यपालनलाई क्षेत्रीय सहयोगको कार्यक्रम अन्तर्गत अगाडि बढाउने कुरा सम्मेलनले अंगीकार गरेको थियो ।सन् २००८ मा यसलाई बढाएर सहयोगका क्षेत्रहरू १४ पुर्‍याइयो ।तथापि, कार्यान्वयनको तहमा भने खासै प्रगति हुन सकेन ।

धेरै विषय समेटिने तर खास काम चाहिं नहुने अवस्थामा सुधार ल्याउन सन् २०१६ को गोवा सम्मेलनको बखत थाईल्याण्डले विषयगत सहयोगका क्षेत्रहरूलाई एकीकरण गर्न र घटाउन प्रस्ताव गर्‍यो ।

साविकको सङ्ख्यालाई घटाई सातवटामा सीमित गरियो भने सदस्य मुलुकलाई एउटा/एउटा क्षेत्रको नेतृत्व गर्ने गरी कार्य विभाजन गरियो ।यसअनुसार प्रारम्भिक अवस्था देखि नै पहिचान भएको पर्यटन सेवालाई जनस्तरको आपसी सम्पर्क विस्तार गर्ने माध्यमको रूपमा स्वीकार गरियो ।साथै, नेपाललाई यो क्षेत्रको सहयोग प्रवर्धन र विस्तारको लागि काम गर्ने जिम्मेवारी दिइएको छ।

जनस्तरको सम्बन्ध सुदृढ गर्नका लागि सांस्कृतिक सम्बन्ध लगायत पर्यटन, सार्वजनिक सञ्चार, र विद्युत समुदायबीच हुने विचार तथा ज्ञानको आदानप्रदान महत्वपूर्ण मानिन्छ ।यसैले बिमस्टेक प्रणाली लगायत दक्षिण एशियाली क्षेत्रीय तथा उपक्षेत्रीय संरचना अन्तर्गत पर्यटन क्षेत्रको विकास र सहयोग विस्तारलाई आर्थिक एकीकरणको महत्वपूर्ण अंगको रूपमा स्वीकार गरिएको पाइन्छ ।

बिमस्टेक क्षेत्रमा पर्यटनको विकास र प्रवर्धनका लागि अनेक साधन र वस्तु उपलब्ध छन् ।विश्वको सबैभन्दा अग्लो स्थान सगरमाथादेखि क्रमश: होचो हुँदै गएका स्थानहरू यहीं पर्दछन् । अनेक प्रजातिका वनस्पति, जनावर, चराचुरुङ्गी, नदी, हिमनदी, तालतलैया र विश्वकै सबैभन्दा लामो प्राकृतिक सामुद्रिक किनार भएको कोक्स बजार (बंगलादेश) पनि यही क्षेत्रमा पर्दछ ।यसको अलावा सांस्कृतिक परम्परा, रीतिरिवाज, भेषभुषा र प्राकृतिक सम्पदाका हिसाबले पनि यो क्षेत्र धनी मानिन्छ ।

पर्यटन सेवालाई क्षेत्रीय सहयोगको परिधिभित्र राख्ने काम सुरुदेखि नै भएतापनि सन् २०१६ मा गोवामा भएको शीर्षस्थ नेताहरूबीच सम्पन्न छलफल कार्यक्रममा विशेषगरी बिमस्टेक क्षेत्रभित्र पर्यटन प्रवर्धन गर्नका लागि पर्यटन परिक्रमा (टुरिज्म सर्किट) र पर्यावरणीय पर्यटन प्रवर्धन गर्ने विषयलाई जोड दिइएको थियो ।

तत्पश्चात् काठमाडौंमा सन् २०१८ मा भएको चौथो शिखर सम्मेलनमा पर्यटकको सुरक्षा प्रबन्धको साथै सहज यातायात प्रणालीको विस्तार, बुद्धमार्गी र मन्दिर परिक्रमा, पुरातात्विक शहरको भ्रमण, एवम् पर्या-पर्यटन र स्वास्थ्य पर्यटन विकासका लागि सदस्य राष्ट्रहरूले प्रतिबद्धता व्यक्त गरेको पाइन्छ ।

बिमस्टेक मुलुकहरूलाई जोड्ने साझा कडीको रूपमा बुद्धमार्गी परिक्रमालाई महत्वका साथ लिने गरिएको छ ।सात सदस्य मुलुकहरूमध्ये नेपालको लुम्बिनी भगवान बुद्धको जन्मस्थल हो भने भारतको बोधगया ज्ञान प्राप्तिको स्थान, सारनाथ प्रथम उपदेशको स्थान तथा कुशीनगर महापरिनिर्वाण स्थलको रूपमा चिनिन्छ ।

यसैगरी भुटान, म्यानमार, थाईल्याण्ड र श्रीलंकाका अधिकांश बासिन्दा बौद्धमार्गी नै छन् । अझै त्यसमाथि म्यानमार र श्रीलंका लडाकूपन भएका बौद्धमार्गीहरूको बसोबास थलोको रूपमा चिनिन्छ ।बंगलादेशमा पनि प्रशस्त सङ्ख्यामा बौद्ध गुम्बा र बिहार रहेका छन् ।

ढाका, चट्गाउँ र ठाउँ ठाउँमा रहेका बुद्धका विशाल मूर्ति, बन्दरवनमा रहेको स्वर्ण मन्दिर र मैनामतीमा रहेको बौद्ध विहार यसका प्रत्यक्ष उदाहरण हुन् ।यस अर्थमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई जोड्ने कडीको रूपमा बुद्धमार्गी परिक्रमाको आफ्नै विशिष्ट स्थान रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सन्दर्भलाई यसै प्रसङ्गमा जोडेर हेर्न सकिन्छ ।लुम्बिनी यसै पनि बौद्धमार्गीबीच भगवान बुद्धको जन्म थलोको रूपमा परिचित त छँदैछ ।तथापि प्रधानमन्त्री मोदीको भ्रमणका कारण भारतीय सञ्चारमाध्यमहरूमा थप चर्चामा आउने निश्चित छ ।

एकातिर भगवान बुद्धको महापरिनिर्वाणको स्थल उत्तरप्रदेशको कुशीनगरमा भारत सरकारले अक्टोबर २०२१ मा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइसकेको छ भने अर्कोतिर भगवानको जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर नेपाल सरकारले हालै मात्र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ ।

केवल १७५ किलोमिटरको दूरीमा रहेका यी दुई धार्मिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएका नगरबीच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने कुरा आर्थिक तथा वित्तीय दृष्टिकोणबाट कति सम्भव होला ? त्यो विश्लेषणको विषय छ, तर भारतका दूरदराजका शहर र प्रदेश लगायत दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाली मुलुकका पर्यटक भित्र्याउनका लागि भने यी दुवै विमानस्थल महत्वपूर्ण मानिन्छन् ।

यसैले बुद्धमार्गी परिक्रमाका अभिन्न अंगका रूपमा रहेका यी दुई नगरलाई जोड्ने हवाई, सडक वा रेलमार्ग के उपयुक्त हुन्छ ? त्यसतर्फ गहनरूपमा अध्ययन र विश्लेषण गरी पर्यटन प्रवर्धनका लागि नेपाल र भारत सरकारबीच सहकार्य गर्नु उत्तम हुन्छ।

बिमस्टेक सदस्य राष्ट्रका बौद्ध धर्मावलम्बीहरूको ठूलो हिस्सालाई बुद्धमार्गी परिक्रमामा सहभागी गराउने प्रयासले सबैजसो मुलुकलाई फाइदा पुग्ने कुरा निश्चित जस्तै छ ।तथापि भगवान बुद्धका जीवनको महत्वपूर्ण घटनाको साक्षी स्वरूप रहेका नेपालको लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगर जस्ता स्थानहरूलाई एकआपसमा जोड्ने विषयले मुलुकको पर्यटन प्रवर्धनलाई उल्लेख्य सहयोग गर्छ ।

साथै दक्षिणएशिया, दक्षिण पूर्वी एशिया र पूर्वी एशियामा जनस्तरमा भावनात्मक रूपमा एकता जगाउने र निकटता बढाउने माध्यम बन्न सक्दछ ।बुद्धमार्गी परिक्रमालाई नेपालले मुलुकको आर्थिक तथा सामाजिक हित प्रवर्धनका लागि उपयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको छ ।

यसको लागि प्रथमत: लुम्बिनी दर्शनका लागि आउने पर्यटकहरूको बसाइ लम्ब्याउने र पर्यटन आय बढाउने हिसाबले पूर्वाधार विकास लगायत प्रवर्धनका कार्य गर्न उचित हुनेछ ।तदनुरूप लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलदेखि नेपालको अरु भू-भागहरूलाई जोड्ने यातायात सञ्जालको विकास गर्नुपर्छ ।

पर्यटकलाई आकर्षण गर्ने स्थलहरूको विकास र सम्वर्धनमा विशेष जोड दिनुपर्छ । पर्यटकहरूलाई हिमाली क्षेत्रको अवलोकन गराउने, छोटो, मध्यम र लामो दूरीका पदमार्ग लगायत पर्वतारोहण, पर्या-पर्यटन, जस्ता विषयहरू समेटी पर्यटन प्याकेजको प्रबन्ध तथा बजारीकरण गर्नु उपयुक्त हुनेछ ।

बौद्धमार्गीहरूको लागि पवित्रस्थल मानिएको काठमाडौंको स्वयम्भू तथा बौद्धनाथ स्तुपलाई समेत यस किसिमको प्याकेजमा समावेश गर्दा भ्रमण अझ फलदायी बन्न सक्दछ ।

पर्यटनसँग जोडिएर आउने अर्को विषयवस्तु व्यापारको प्रवर्धन पनि हो ।यसै पनि नेपालले वस्तु व्यापारमा बर्सेनि अरबौंको घाटा व्यहोर्दै आइरहेको छ । यस किसिमको व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्नका लागि पर्यटकले खरिद गर्ने कोसेली, स्मारिका जस्ता वस्तुले समेत सहयोग पुर्‍याउने हुन्छ । तर यसको लागि एकातिर स्थानीय सामग्रीमा आधारित घरेलु तथा साना उद्योगको प्रवर्धन र विकासमा जोड दिनुपर्ने हुन्छ भने अर्कोतिर पर्याप्त सङ्ख्यामा कोसेली घरको स्थापना र सञ्चालन गर्ने प्रबन्ध मिलाउन उचित हुनेछ ।

नेपालले धार्मिक पर्यटनको क्षेत्रमा जोड दिनुपर्ने अर्को पक्ष मन्दिर परिक्रमा पनि हो ।दक्षिण एशियासँग जोडिने यातायात सञ्जालको सही उपयोगका दृष्टिकोणबाट नेपालका प्राचीन मठमन्दिरहरूलाई यस क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको गन्तव्य स्थलको रूपमा विकास तथा प्रवर्धन गर्नु सर्वथा उपयुक्त हुनेछ।

माथि उल्लेख गरिएको पृष्ठभूमिमा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणको अवसरमा द्विपक्षीय तथा क्षेत्रीय स्तरमा पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा परिणाममूलक संवाद गर्नुपर्छ । साथै, विकसित यातायात सञ्जाललाई वस्तु विकास र प्रवर्धन गर्ने कार्यसँग आवद्ध गर्न सकिएमा नेपालको निर्यात व्यापार बढाउन सहयोग पुग्छ ।

त्यति मात्र नभई क्षेत्रीय रूपमा आर्थिक एवम् सामाजिक एकीकरणको लागि महत्वपूर्ण पाइला बन्न सक्ने कुरामा सन्देह रहन्न ।यसको लागि मुलुकले आवश्यक रणनीति र योजना बनाएर कार्यान्वयनमा जानु उपयुक्त हुनेछ ।

लेखकको बारेमा
पुरुषोत्तम ओझा

ओझा नेपाल सरकारका पूर्वसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?