+
+
सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार :

पीडितले पुरानो घटना सार्वजनिक गरेलगत्तै फरार भएका थिए पाण्डे

आफ्नो कन्सल्टेन्सी र डेरामा प्रहरी पुगिसकेको सुइँको पाएका पाण्डे शनिबार बिहान ७ बजे पोखराबाट काठमाडौं फर्किए, तर डेरातिर गएनन् । ‘स्वयम्भुमा एकजना आफन्तको घर रहेछ, मोबाइल बानेश्वरमा छाडेर त्यहाँ बसेका छन् भन्ने सूचना पाएपछि टोली गएको थियो’ एक अधिकृत भन्छन्, ‘त्यहाँ आफन्तको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परे ।’

गौरव पोखरेल गौरव पोखरेल
२०७९ जेठ ७ गते २१:०४

७ जेठ, काठमाडौं । आठ वर्षअघि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल’की एक प्रतिस्पर्धीले बुधबार सामाजिक सञ्जालमार्फत आफूमाथि आयोजकमध्येका एकजनाले बलात्कार गरेको खुलासा गरिन् ।

टिकटकमा अपलोड गरिएको २२ वटा भिडियो क्लिप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भए ।

नेपाल प्रहरीको फेसबुक पेज र ट्वीटर ह्याण्डललाई मेन्सन गर्दै भिडियो शेयर हुन थालेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनौपचारिक रुपमा सूचना संकलन गर्न थाल्यो ।

प्रहरी प्रधान कार्यालय, नक्सालको निर्देशनमा सूचना संकलन थालेको कार्यालयले पीडितले आरोप लगाएकाे ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक मनोज पाण्डेलाई खोजी गर्न थाल्यो ।

बानेश्वरस्थित उनको कन्सल्टेन्सी वरपर सादा पोशाकका प्रहरी टोली तैनाथ थिए, तर उनलाई पक्राउ गरिहाल्न प्रहरीसँग कानुनी आधार थिएन । न पीडित प्रहरीको सम्पर्कमा थिइन्, न त प्रहरीकहाँ जाहेरी नै पुगेको थियो । जाहेरी परेको भए पनि जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि एक वर्षभित्र जाहेरी दिइसक्नुपर्ने हदम्याद थियो ।

त्यहीबीच आरोपी पाण्डे पोखरा पुगेको खबर प्रहरीले पायो । ‘पक्राउ गरिहाल्न आधार थिएन, हामी बानेश्वरमा कुरेर बसिरह्यौं, उनी पोखरा पुगिसकेका रहेछन्’ अनुसन्धानमा खटिएका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘उनले गाडी पनि कार्यालय नजिकै छाडेका थिए ।’ पाण्डेको डेरा पनि बानेश्वरमै थियो, उनको मोबाइलको लोकेसन पनि बानेश्वरमै देखिइरहेको थियो ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा हदम्यादको प्रावधान हटाउन माग गर्दै बालुवाटारमा युवाले दिएको धर्ना ।

शुक्रबार पीडितको न्यायका लागि भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि युवाको एक समूहले प्रदर्शन गर्‍यो । शुक्रबारै संसद बैठकमा पनि घटनाबारे अनुसन्धान गर्न र बलात्कारको मुद्दामा रहेको हदम्यादबारे पुनर्विचार गर्न आवाज उठ्यो । सभामुख अग्निप्रसाद सापकोटाले घटनामा छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रुलिङ गरे ।

गृह मन्त्रालयले छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दियो । कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । समितिले शुक्रबारै पीडितलाई भेटेर कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दियो ।

लगत्तै आरोपी पाण्डेलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन खोज्दा उनले उपत्यका छाडिसकेका थिए । स्रोतका अनुसार बानेश्वरमा प्रहरी टोली बसिरहँदा उनी त्यहाँ नभएको थाहा पाएपछि एकजना नातेदारको सहयोगमा प्रहरीले खोजी अघि बढाएको थियो ।

तर आफ्नो कन्सल्टेन्सी र डेरामा प्रहरी पुगिसकेको सुइँको पाएका पाण्डे शनिबार बिहान ७ बजे पोखराबाट काठमाडौं फर्किए, तर डेरातिर गएनन् । ‘स्वयम्भुमा एकजना आफन्तको घर रहेछ, मोबाइल बानेश्वरमा छाडेर त्यहाँ बसेका छन् भन्ने सूचना पाएपछि टोली गएको थियो’ एक अधिकृत भन्छन्, ‘त्यहाँ आफन्तको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परे ।’

प्रारम्भिक सोधपुछमा उनले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् । स्रोतका अनुसार हिरासतमा पुगेपछि उनले आफैं प्रहरीमा आउने तयारी गरिरहेको दाबी गरेका छन् । प्रहरी अधिकृतहरु चाहिं उनी भागेर अर्कै ठाउँ जाने तयारी गरिरहेका बेला पक्राउ परेको बताउँछन् ।

कारबाही गर्न अझै स्पष्ट छैन कानुनी आधार

प्रहरीले पाण्डेलाई पक्राउ गरेपछि अभियन्ताहरुले न्यायको एक खुड्किलो पार गरेको टिप्पणी गरेका छन् । तर पाण्डेलाई कुन कानुन अन्तर्गत कानुनी कारबाही अघि बढाउने भन्नेमा प्रहरी अन्योलमा छ ।

स्रोतका अनुसार प्रहरीले उनी नभागुन् भनेर मात्र नियन्त्रणमा लिएको हो । तत्कालका लागि उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने प्रहरीको तयारी छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘कुन कानुनमा टेकेर अघि बढ्ने भन्ने विषयमा परामर्श लिइरहेका छौं, पछि अन्य कसूरमा मुद्दा चलाउने गरी अहिले अभद्र व्यवहारको कसूरमा हिरासतमा लिने भन्ने भएको छ ।’

मुलुकी अपराध संहिताको दफा ११८ (१) मा अभद्र व्यवहारसम्बन्धी कसूरको व्यवस्था छ । यसमा ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन’ भनिएको छ ।

घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै शुक्रबार पोखरामा भएको प्रदर्शन ।

प्रहरीले कुनै व्यक्तिलाई तत्काल हिरासतमा लिनु परे यही कानुनको सहारा लिने गरेको छ । यसअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणका शंकास्पद व्यक्तिलाई अनुसन्धान गर्न पनि प्रहरीले कानुनको यही दफा प्रयोग गरेको थियो ।

त्यसो त प्रहरीले जुनसुकै घटनामा पनि अभद्र व्यवहारको कसूर प्रयोग गरेको भन्दै आलोचना पनि हुने गरेको छ । ‘अभद्र व्यवहारको कसूरको व्याख्या जे भए पनि यो असल मनसायले नै प्रयोग गर्न लागिएको हो’ एक प्रहरी अधिकृत भन्छन् ।

फौजदारी कानूनका जानकार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल कुन कसूर अन्तर्गत मुद्दा चलाउने भन्ने टुंगो नलागुञ्जेल आरोपितलाई नियन्त्रणमा राख्न प्रहरीले यो कानुन प्रयोग गरेको हुन सक्ने बताउँछन् ।

‘सार्वजनिक अपराधको परिभाषा एकदमै भेग छ, यद्यपि पाण्डेको हकमा अझै के गर्ने भन्नेबारे प्रहरी सोच विचारमै रहेको छ भन्ने सुनेको छु’ उनले भने ।

यो घटनामा जबर्जस्ती करणी सम्बन्धी कसूरमा कारबाही अघि बढाउन हदम्यादको जटिलता देखिएकाले मानव बेचबिखन तथा ओसारपसार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन खरेलले सुझाव दिएका छन् ।

मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।

‘यो घटनामा पनि नशालु पदार्थ खुवाएर कब्जामा लिएको भन्ने छ, त्यसैले यो ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन मिल्छ’ खरेल भन्छन् । पीडित युवतीले सार्वजनिक गरेको भिडियो बयान अनुसार प्रतियोगिता सकिएपछि उनलाई ‘सक्सेस पार्टी’ आयोजना गरेको भन्दै पाण्डेले बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएका थिए ।

त्यहाँ उनी पुग्दा कार्यक्रम हुने कुनै सुरसार थिएन, उनले त्यसबारे जिज्ञासा राख्दा पाण्डेले ‘तिमी चाँडै आयौ, ६/७ बजेदेखि कार्यक्रम सुरु हुन्छ’ भनेर बस्दै गर्न भनेको उनको भनाइ छ । केहीबेरपछि होटलका वेटर ‘लेमनेड’ लिएर आएको र त्यो खाएपछि आफू लठ्ठिएको उनले बताएकी छन् ।

‘त्यसपछि मैले त्यो व्यक्ति (पाण्डे) लाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उनले तिमी विजेता भएर यस्तो भन्ने ? मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न दबाव थिए ।’

पाण्डेले ‘केटीहरुले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको’ बताएको र त्यहाँ आराम गर्न भनेको उनले भनेकी छन् । ‘गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको थियो,’ उनले भनेकी छन्, ‘तर म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’ उनले बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् ।

कानून व्यवसायीको जाहेरी प्रहरीले दर्ता गरेन

यसैबीच, एकजना कानून व्यवसायीले पाण्डेविरुद्ध मानव बेचबिखन र ओसारपसार गरेको व्यहोरासहितको किटानी जाहेरी प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्र (महिला सेल) मा दिएका छन् । तर प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेको ती कानून व्यवसायीको भनाइ छ ।

जाहेरीमा उनले ‘एक पटकको यौन शोषण गर्ने कार्य जबर्जस्ती करणी भएता पनि कसैलाई सुनियोजित रुपमा शोषण गर्ने उद्देश्यले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जबरजस्ती गरी, करकापमा पारी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने कार्य जबरजस्ती करणी मात्र नभई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसूर भएको’ दाबी गरेका छन् ।

कसूरसँग सम्बन्धित प्रमाणका रुपमा उनले सामाजिक सञ्जालमा पीडितले सार्वजनिक गरेको बयान, सञ्चारमाध्यममा सार्वजनिक भएका फोटो र साक्षीका रुपमा फोटो पत्रकार श्रीधर पौडेललाई उल्लेख गरेका छन् ।

प्रहरी जाहेरी दर्ता गर्न नमानेपछि उनले इमेलमार्फत जाहेरी दरखास्त पठाएका छन् । साथै, जाहेरी दर्ता नभएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेका छन् ।

विगतमा अदालतबाट निर्देशात्मक आदेश जारी भएका आधारमा पनि यस्ता प्रकृतिका घटनामा अनुसन्धान अघि बढेका उदाहरण छन् । प्रहरीले पनि यसरी आदेश आए अनुसन्धान अघि बढाउन सहज हुने भन्दै कानूनी परामर्श गरिरहेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?