+
+
ब्लग :

व्यक्ति नसच्चिए कानुन, दल नसच्चिए निर्वाचन

नेतृत्वलाई इमानदार नबनाउने, खबरदारी नगर्ने तर शासनव्यवस्था मात्रै फेरिरहेर हामी कतै पुग्न सक्दैनौं। कतै पनि नपुगिने यात्रा गरेर लखतरान हुनुभन्दा यसै ठीक छ नि !

अर्जुन अपवाद अर्जुन अपवाद
२०७९ जेठ ११ गते ११:०४

२०५४ सालको स्थानीय निकाय निर्वाचन हो वा २०५६ को संसदीय निर्वाचन, ठ्याक्कै याद भएन। तर यी दुईमध्ये एउटा चुनावमा भएको घटना भने मलाई राम्रोसँग याद छ। मकै छर्ने काम थियो। म मकैको बीउ रोप्दै थिएँ। हलो जोतिरहेका एउटा पार्टीका चिनिएका मतदाता। उनी राजनीतिक कार्यकर्ता नै भने होइनन्। जोत्दाजोत्दै कसैले खबर ल्यायो। उनलाई खोज्दै विपक्षी दलका कार्यकर्ताको समूह आउँदैछ। हातमा लौरा बोकेर !

यो थाहा पाउने बित्तिकै जोत्ने काम छाडेर उनलाई लुकाउनतिर बावुआमा लाग्नुभयो। घरको सबैभन्दा माथिल्लो तला बुईगलको अँध्यारो कुनामा कतै लुकाउनुभो। नारिएका गोरु त्यसै बसे। एकछिनमा उनलाई खोज्दै गरेको समूह लाठी बोकेर बारीमै आइपुग्यो। उनका बारेमा सोधखोज गर्यो। बा-आमाले भर्खरै यहाँबाट निस्के भन्नुभयो। उनीहरूलाई अर्कै बाटो देखाइदिनुभयो। उनीहरू ती मतदातालाई खोज्दै गए। बाटो नै फरक परेकाले भेटेनन्। भेटेका भए उनले राम्रै कुटाइ भेट्थे। विपक्षीलाई निमिट्यान्न पार्ने बहानामा उनको ज्यानै तल–माथि पनि हुन सक्थ्यो !

भर्खरै सम्पन्न स्थानीय तह चुनावको प्रसङ्ग ! मतदान गर्ने दिनको एक मतदानस्थलको दृश्य ! मतदानस्थलमा एउटा पार्टीबाहेकका मतदाता छैनन्। उम्मेदवार पनि छैनन्। तर मतपेटिकामा मत राम्रै खस्यो। झण्डै २ हजार मत खसेको ठाउँमा एउटा पार्टीले लगभग सबै र बाँकी पार्टीले जम्माजम्मी १० मत पाए। जिल्लाको प्रमुख जिल्ला अधिकारीसहितको टोली पुग्यो। हेलिकप्टरबाट थप सुरक्षाकर्मी उतारिए। विपक्षी उम्मेदवार र मतदातालाई मत हाल्न आउन आग्रह गर्यो। हाम्रो ज्यानभन्दा ठूलो मत होइन भनेर कोही पनि मत हाल्न आएन। जसको मतपेटिकामा धेरै मत परेको थियो उसले शानदार बहुमतले चुनाव जित्यो।

यस्तो पनि हुन्छ ! गफ पनि पत्याउने खालका दिनु नि, भन्ने तपाईंको मनमा प्रश्न जन्मन सक्छ। यो स्वाभाविक हो पनि। किनभने हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौं। जनताको मतबाट आफ्नो शासक चुनिने लोकतन्त्र राम्रोमध्येको राम्रो शासन व्यवस्था हो। लोकतन्त्रमा माथि उल्लेखित घटनाहरू कल्पनाबाहिरका कुरा हुन्। तैपनि पहिलो घटनाको भोक्ता लेखक स्वयं हो। दोस्रोचाहिं भर्खरै सम्पन्न चुनावका बारेमा एउटा दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा बहालवाला प्रतिनिधिसभाका सांसदले सुनाएका हुन्।

संविधानले तीन तहको सरकार परिकल्पना गरेको छ। आँगनको सरकार- स्थानीय तह। यसमा हामीले दोस्रोपटक आफ्ना जनप्रतिनिधि छनोट गर्यौं। स्थानीय तहमा को मान्छे किन राम्रो हो भन्ने बहसभन्दा फलानो पार्टी ठीक फलानो पार्टी बेठीक भन्ने बहस ज्यादा भयो। अझ अगाडि बढेर कुनै नेतालाई देखाइदिन वा ठेगान लगाउन अभियान सुरु भए। यो खालको अभियान स्थानीय तहमा जरुरी थियो वा थिएन ? बहस हुनसकेको छैन। हुन त हामीले लोकतन्त्रलाई आफ्नाले हत्या गरे नि अधिकार हुने र अरुले आँखा तरे नि अपराध हुने व्यवस्था बनाउन लागिसकेका छौं।

सात सालमा प्रजातान्त्रिक आन्दोलनमा लडेको इतिहास बोकेको पार्टीको झण्डामा माथिका हर्कत भएका हुन्। अन्य पार्टीहरू पनि योभन्दा फरक छैनन् भन्ने चुनावको बेलाका झडप तथा अन्य तिकडमबाट प्रष्ट हुन्छ। हामी लोकतन्त्रको कुन चरणमा छौं भन्ने कुरा चिडियाखानामा जनावर जसरी तारजालीले घेरिएर मतगणना गर्दैगर्दा प्रष्ट हुन्छ। अझ त्यो अवस्था सिर्जना गर्नेहरू नै जनताबाट अनुमोदन भैरहँदा हामी आफैंले आफैंलाई प्रश्न सोध्ने बेला भैसकेको छ। नागरिक मात्रै भन्दा पनि दलको यो गम्भीर चासोको विषय हुनुपर्ने हो।

साँच्चै हाम्रा दलहरूले कस्तो समाजको परिकल्पना गरेका छन् ? उनीहरू खासमा के चाहन्छन् ? उनीहरूलाई एकले अर्काको खिसिट्युरी गर्दैमा ठिक्क छ। समाजलाई सही बाटो देखाउनुपर्ने नागरिक समाज र सञ्चारमाध्यम लगायत पक्षहरू तिनै दलहरूका पक्ष–विपक्षमा गफ चुट्दै मस्त छन्। अन्यत्र पनि यस्तै होला कि हाम्रोतिर मात्रै !

कहिलेकाहीं घोत्लन्छु। मतदातालाई मत हाल्न नदिने कम्तीमा २३ वर्ष पुरानो अभ्यास हामीले अझै कायम राखेकै छौं। गाउँगाउँमा भएको भनिएको विकास यो वा त्यो तन्त्र नभए पनि हुन्थ्यो होला नै। सूचनाप्रविधिमा आएको छलाङले पाएको सुविधामा बेलाबेलामा भएका परिवर्तनको हिस्सा कति हो ? हाम्रो परिवर्तनले उत्पादनमा कतिको वृद्धि गर्‍यो ? गाउँगाउँमा सडक त पुग्यो। तिनको उपयोगको अवस्था के छ ? कि तिनले मानिसलाई गाउँबाट सहरमा झिटिगुन्टा बोक्न सहज मात्रै बनाइदियो ?

हामीले गरेको सबैभन्दा पहिलो २००७ सालको परिवर्तनभन्दा पछाडि हामीले धेरै शासन व्यवस्था अनुभव गर्‍यौं। धेरै संविधान पनि बनायौं। निर्दलीय, बहुदलीय, राजतन्त्र र गणतन्त्र सबै त भोग्यौं। अब फेरि हामीलाई यो संविधानले परिकल्पना गरेको व्यवस्था काम नलाग्ने भैसक्यो। बहुदल हैन निर्दलीय व्यवस्था चाहिन्छ भनेर एकखाले विद्वानहरू बहसमा जुटेका छन्। के हामीलाई परिवर्तनका नाममा सधैं अस्थिरता चाहिएको हो ?

हाम्रो पहिलो परिवर्तन हुनुभन्दा अगाडि बनेको संविधान बोकेर देशहरू विकासमा लम्किएकै छन्। ७० वर्षसम्म एउटै संविधान ! हामीले आधा दर्जन संविधान बनायौं। एकात्मक व्यवस्था भएका देशहरूलाई पनि विकास गर्न केहीले छेकेको छैन। हामीलाई भने सधैंको गनगन मात्रै किन होला !

नयाँ संविधान जारी भएपछि मलाई लागेथ्यो- अब दलहरूले कसका अनुहारमा कालो पोत्लान् किनकि एकात्मक व्यवस्था, राजसंस्था गएको थियो। हातमा आफैंले बनाएको संविधान थियो। समस्या हामीले देखाइरहेको चिज वा वस्तुमा थिएन। समस्या नेतृत्वको चेतमा थियो। सोचमा थियो। समझमा थियो। त्यो डोकाले छोपेर राखेको भाले न थियो। एकछिन मौन थियो। समय आएपछि बासी हाल्यो।

अहिले भने आफू आफूमा कालो पोतो दल्दै रमाइलो गर्दै गरिरहेछन्। केपी ओली सकिएका दिन हाम्रा सुदिन फिर्छन् भन्ने गठबन्धन र गठबन्धन सकिएपछि सुदिन आउँछ भन्ने ओलीहरू दाबी गरिरहेछन्। राजनीतिमा सिद्धान्त समाप्त भएर स्वार्थ मात्रै बाँकी छ। नेताले भन्दिएपछि परर्र ताली बजाउन इमानदार कार्यकर्ता छँदैछन्।

यो वा त्यो व्यवस्थाका कारण हामी पछिपरेका थिएनौं वा होइनौं। यसको एक मात्र कारण आफूले समर्थन गरेको पार्टी नांगै हुँदा पनि लुगा लगाएको हुने र अर्कोले पूरै लुगा लगाएको बेलामा पनि नांगै हुने हाम्रो महान् एवं गौरवशाली सोच हो।
हामी ७० वर्षअघि यस्तै विषयमा बहस गरिरहेका थियौं, अबको ७० वर्षपछि पनि हामी यस्तै यस्तै विषयमा बहस गरिरहेका हुनेछौं। शब्दहरू मात्रै फेरिएलान्। समयले गर्ने विकास गर्ला। तर सोचाइको दायरा लगभग उस्तै उस्तै !

जर्ज अरवेलको विश्वप्रसिद्ध उपन्यास छ- एनिमल फार्म। हाम्रो पहिलो क्रान्ति हुनुभन्दा अघि नै प्रकाशन भएको थियो उपन्यास। अरवेलले नेपालबारे थाहा पाएका थिए वा थिएनन् थाहा छैन। उनको उपन्यासको कथावस्तु र नेपालको राजनैतिक विकासक्रम ठ्याक्कै मिल्दोजुल्दो छ। नेपालीमा यसको अनुवाद भएको छ- चारखुट्टेको घरजम भनेर। यसको बिक्री–वितरणमा शिक्षक मासिक लागेको छ। सबै शिक्षकहरूले पढे अनि तिनका विद्यार्थीलाई सपनाको व्यापारबारे बुझाइदिए नेपालको राजनीति कसरी अगाडि जाला ?

उपन्यासको संक्षिप्त कथा यस्तो छ। मानिसले धेरै जनावरहरू पालेको हुन्छ। खोरमा मानिसको अत्याचार बढ्छ। यो अत्याचार खप्नुहुन्न भनेर बुढो सुँगुरले जनावरहरूमा क्रान्तिचेत भर्छ। जनावरहरूले क्रान्ति गर्छन्। क्रान्ति सफल भएपछि मानिसबाट जनावरहरूले खोर आफ्नो नेतृत्वमा लिन्छन्। क्रान्ति सफल हुँदा बुढो सुँगुरको मृत्यु भइसकेको हुन्छ। त्यहाँ भएको सुँगुरले क्रान्तिचेत भर्ने सुँगुरको असली उत्तराधिकारी आफु भएको बताउँछ र नेतृत्व लिन्छ। सुँगुरको नेतृत्व मानिसभन्दा भ्रष्ट भएर निस्कन्छ। अन्त्यमा खोर जसबाट खोसिएको हो उही मानिसलाई नै जिम्मा लगाउँछ।

उपन्यासको अन्त्यमा प्रयोग भएको वाक्य ज्यादै शक्तिशाली छ। उनी(जनावर)हरूले आफ्नो नेता र आफ्नो शत्रु मानिसको अनुहार पटकपटक हेर्छन्। कुन मानिस कुन सुँगुर छुट्याउन सक्दैनन्।

यो उपन्यासमा चलचित्र पनि बनेको छ। यसमा कुकुर्नीलाई प्रमुख पात्र बनाइएको छ। खोर मानिसलाई बिक्री गरेपछि उसले भन्छे- अब यो फार्ममा नयाँ मानिस आउनेछ। हामी पुरानो गल्ती दोहोर्‍याउने छैनौं।

स्थानीय चुनाव सकिएपछि सुनिने गरेका गफ मलाई उपन्यासकी प्रमुख पात्र कुकुर्नीका जस्तै लाग्छन्। अब हामीलाई फेरि पनि पञ्चायत चाहिएको हो ? हैन भने जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाऔं। पहिलो कार्यकालमा केही न केही गजबका काम भएका छन्। तिनको प्रचारप्रसार गरौं। राम्रा काम गर्नेलाई यसले हौसला मिल्छ। अन्यलाई पनि यसले राम्रो काम गर्न अभिप्रेरित गर्छ। सिक्दै जाने क्रममा भएका सामान्य कमजोरी सच्याउन लागौं। गम्भीर किसिमका कमजोरी गरे कारबाहीको दायरामा ल्याउन लागौं। यसैले हाम्रा जनप्रतिनिधिहरू परिपक्व बन्दै सच्चिंदै जान्छन्। नसच्चिए व्यक्तिका लागि कानुन छ। दलका लागि चुनाव।

अन्त्यमा, अबको विकास के हो ? कसरी त्यसमा स्थानीय सरकारले काम गर्ने हो ? बहस चलाऔं। गाउँगाउँमा बनेका सडकहरूको अधिकतम कसरी प्रयोग गर्ने हो मन्थन गरौं। बाँझो खेतबारीमा मानिसहरूको आकर्षण बढाउन सोचौं। यसैले हाम्रो विकास सम्भव छ। नेतृत्वलाई इमानदार नबनाउने, खबरदारी नगर्ने तर शासनव्यवस्था मात्रै फेरिरहेर हामी कतै पुग्न सक्दैनौं। कतै पनि नपुगिने यात्रा गरेर लखतरान हुनुभन्दा यसै ठीक छ नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?