+
+
विचार :

छोरीहरू जागेको बेला

राणा र पञ्चायतकालमा योगमाया, मोतिदेवी, साधना, साहना, मंगलादेवी, अष्टलक्ष्मीहरू लडे । २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र विद्रोहमा पम्फा, जयपुरीहरूले संघर्ष गरे । २०६२/६३ को जनआन्दोलनमा रामकुमारी झाँक्रीहरू अगाडि आए । ती सबै आन्दोलन, विद्रोह राज्य व्यवस्थाका विरुद्ध थिए । यसपालि पनि नेपाली छोरीहरू सडकमा छन्, यो छोरीहरू जागेको बेला हो ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ जेठ ११ गते २१:१३

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीविरुद्ध त्यहाँका तीन विद्यार्थीले उजुरी गरे, आन्दोलन गरे । लगत्तै आरोपित शिक्षक पक्राउ परे । आफूलाई पढाउने शिक्षकले दुर्व्यवहार गरेपछि छात्राहरू बोल्ने क्रम पछिल्लो समय बढ्दै गएको छ ।

गत चैत र वैशाखमा मात्रै दर्जनभन्दा बढी विद्यालयका छात्राहरू आफूहरूमाथि शिक्षकबाटै यौन दुर्व्यवहार भएको भन्दै आन्दोलित भए । कतिपय ठाउँमा उनीहरूलाई न्याय मिल्यो, कति ठाउँमा हतोत्साहित हुनुपर्‍यो । लेटाङ नगरपालिका, मोरङको शिक्षा विकास माविमा सामाजिक तथा नैतिक शिक्षा पढाउने मनोज पौडेलले आफ्ना छात्राहरूमाथि सिलसिलाबद्ध रूपमा गरेको यौन दुर्व्यवहार विरुद्धको आन्दोलनको क्रममा आक्रोशित भिडको आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन नै भयो ।

बोल्न खोज्दा आवाज थुन्न आउने हातहरू रोकेर, बोलिसकेपछि शंकै शंकाले हेर्ने आँखाहरूको वास्ता नगरेर, राज्यको सहारा खोज्दै गर्दा उल्टै हुने केरकार सामना गर्ने आँट बोकेर छोरीहरू सञ्जालमा अनि सडकमा ओर्लिएको बेला हो यो । खबरदारी र न्यायका लागि छोरीहरूले बटुलेको यो आँट समकालीन नेपाली समाजको सबैभन्दा क्रान्तिकारी पक्ष हो, जुन स्वतःस्फुर्त छ, तर सहज छैन । त्यसैले, आन्दोलनको बीचमा देखिने अनेक नाराहरूमध्ये एउटा बारम्बार देखिन्छ– ‘घरको इज्जत गयो, अब के हुन्छ ?’

विद्या सिकाउने शिक्षालय, हुर्काउने समाज र संरक्षण गर्नुपर्ने तर गर्न नसकेको राज्यको संयन्त्रमाथि प्रश्न गर्न निस्किएका छोरीहरूले परिवारलाई गरेको खबरदारी हो यो । किनकी, खबरदारीको सुरुवात त परिवारबाटै गर्नुपर्ने छ । किनकी दुर्व्यवहारको सिर्जना परिवारभित्रैबाट भइरहेको तथ्यांकहरूले देखाउँछन् ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक)को गत वर्षको तथ्यांकअनुसार महिलाहरू अचिनारुबाट भन्दा चिनेजानेका र आफन्तबाट नै बढी बलात्कृत भएका छन् । सबैभन्दा बढी ५६ प्रतिशत महिला तथा बालिका छिमेकीबाट, १५ प्रतिशत परिवारका सदस्य जस्तै– आफ्नै बाबु, काका, मामा, ससुरा, देवरबाट बलात्कृत भएको तथ्याङ्कले देखाउँछ । १७ प्रतिशत आफूले आत्मीय ठानेका परिचितहरूबाट, ५ प्रतिशत साथीबाट, ३ प्रतिशत सेवा प्रदायक संस्थाका अधिकारीहरूबाट, २ प्रतिशत कानुनी एवं सामाजिक परम्परा अनुरूप विवाह नगरेका तर विवाहितसरह सँगै बसेका साथीबाट र ३ प्रतिशत अपरिचित व्यक्तिबाट बलात्कृत भएको तथ्याङ्कले देखाउँछ ।

यो तथ्याकंको जगमा टेकेर भन्नुपरेको छ– छोरीहरू अब आफ्नै भनिएका, आफ्ना ठानिएकाहरूलाई प्रश्न उठाउन जुर्मुराउनुपर्छ, जुन जुर्मुराहट यसपाली प्रकट भएको छ । भलै, यसलाई उनीहरू नितान्त आफ्ना लागि गरेको विद्रोहको सुरुवात मानिरहेका छन् । ‘हिंसा विरुद्धको यो आन्दोलनलाई यसपटक रिले दौडजस्तो हुन दिनेवाला छैनौं’, उनीहरू भन्छन् ।

हिरादेवी वाइवा यो आन्दोलनमा उछाल ल्याउने आम छोरीहरूमध्येकी एक प्रखर छोरी हुन् । उनी हिंसाबाट उन्मुक्ति चाहने छोरीहरूलाई नदिने परिवारलाई, छोरीलाई असुरक्षित राख्ने समाजलाई, छोरीमाथि अविश्वास गरिरहने राज्यलाई प्रश्न गरिरहेकी छन् ।

उनीसँगै छन् सयौं छोरीहरू, जो जीवनको कुनै कालखण्डमा आफै हिंसामा परे, साथीहरूमाथि अन्याय भएको देखे । उनीहरू चाहन्छन् अब आउँदो पुस्ताले यस्तो भोग्नुनपरोस् । तर, हिरादेवीलाई लागेको छ- बोल्न खोज्ने हिंसा प्रभावितको मुख सकेसम्म थुन्ने समाजको चरित्र बदल्न सानो र छोटो आन्दोलनको भरमा सम्भव छैन ।

‘कानुनका अनेक छिद्र छन्, प्रहरी प्रशासन र न्यायालयमाथि विश्वस्त हुन सकिने अवस्था छैन,’ वाइवा भन्छिन्, ‘साथमा छ उल्टो सर्भाइभरलाई नै सताउने समाज छ, जसलाई बदल्ने आन्दोलनमा हामी छौं ।’

आन्दोलन एउटा कुरामा मात्रै सीमित छैन । सहनुपर्छ भन्ने परिवारका विरुद्ध सुरु भएको छ, आवाज दिएर, छोरी नै उस्ता हुन भन्ने समाजका विरुद्ध छ चुनौती दिएर, परिवार र समाजको कठघराबाट उम्किएर प्रहरीसम्म पुगेपछि गरिने अनावश्यक शंका र केरकारका विरुद्ध छ, न्यायालयमा हुने ढिलाइ, कन्जुस्याँईं, छलछाम् विरुद्ध छ अनि सबैभन्दा ठूलो दवाव र अपेक्षा यो मुलुकको सरकारसँग छ । यी सारा व्यवधान पार गरेर न्याय माग्न आइपुगेपछि समय घर्किसक्यो भन्दै फिर्ता पठाउने कानुन संशोधन गराउनमा छ ।

बोल्नै पनि आँट जुटाउनुपर्ने यो समाजमा जघन्य हिंसाबाट गुज्रिएको एक वर्षभित्रमा सबै सबै महिला ममाथि हिंसा भयो भनेर बाहिर निस्किन सक्दैनन् भन्ने समाजले बुझ्नुपर्छ, राज्यले बुझ्नुपर्छ, कानुनले बुझ्नुपर्छ । यो एकदमै जरुरी किन पनि छ भने प्रहरीकै तथ्यांकले भन्छ– पछिल्लो १० वर्षमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् ।

यस्तै, २०२० मा १४०० भन्दा बढी महिला तथा बालिका बलात्कारमा परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्क छ । नेपालमा प्रत्येक वर्षमा औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको ओरेकको प्रतिवेदनमा उल्लेख छ । अध्ययन प्रतिवेदनहरू भन्छन्- औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् । यसरी दिनदिनै बलात्कार बढ्दै जाँदा कानुन नै छैन भनेर सुनुवाई नहुने अवस्थाको अन्त्य छोरीहरूको यो आन्दोलन चाहन्छ ।

बलात्कारका अपराध विरुद्ध महिलाहरू यसअघि सडकमा नआएका होइनन्, तिनै आन्दोलनहरूले मुलुकको कानुनलाई परिमार्जन गर्न सघाउन पुर्‍याएको पनि हो । तर घटनाहरू यसरी भइरहेकी पुराना उपलब्धिलाई अब उपलब्धिमात्रै मानेर बस्ने समय हामीसित रहेन/छैन ।

शासन व्यवस्था विरुद्धको लडाईंमा त झन महिलाको उपस्थिति लोभलाग्दो नै छ । राणा र पञ्चायत व्यवस्थाका विरुद्ध योगमाया, मोतिदेवी, साधना, साहना, मंगलादेवी, शैलजा, अष्टलक्ष्मीहरूले लडे । २०५२ सालमा माओवादीले सुरु गरेको शाही सत्ता विरोधी सशस्त्र संघर्षमा पम्फा, जयपुरीहरू होमिए । ०६२/६३ को जनआन्दोलनमा रामकुमारी झाँक्रीहरू अगाडि आए ।

जनविरोधी शासन व्यवस्था विरुद्धको कुनै त्यस्तो आन्दोलन छैन, जसमा छोरीहरू अग्रभागमा नउभिएका होऊन् । परिणाम भने हाम्रो अनुकूलमा आएन । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर सत्ता–शक्ति विकेन्द्रीकृत हुँदा पनि महिला हिंसाका घटना बढ्नुले राजनीतिक प्रणालीको कायाकल्प भएपनि समाजको चेतनाले भने पटक्कै काँचुली नफेरेको देखाएको छ ।

ओरेकको तथ्यांकअनुसार नेपालमा तीनवर्षकी बालिकादेखि ९० वर्षीया हजुरआमासम्म बलात्कृत भएका छन् । किशोरीहरू बलात्कारको बढी जोखिममा रहने ओरेकको प्रतिवेदनमा उल्लेख छ । ओरेकको तथ्याङ्कमा ४५ प्रतिशत बलात्कृत बालिका १६ वर्षभन्दा मुनिका छन् । १७ देखि २५ वर्ष उमेर समूहका ३७ प्रतिशत, २६ देखि ३५ वर्ष उमेर समूहका ११ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका ४ प्रतिशत र ४६ वर्षभन्दामाथिका ३ प्रतिशत छन् ।

नेपाली समाज छोरीका निमित्त ज्यादै खतरनाक बन्दै गएको एकपछि अर्को अध्ययनहरूले देखाएको छ भने छोरीले आफ्ना लागि अहिले नलडे कहिले लड्ने ? छोरीहरूले स्वतस्फुर्त खनेको लडाईंको यो गोरेटोमा बुवाआमाले, छरछिमेकीले, समाजले र राज्य संरचनाले अहिले साथ नदिए कहिले दिने ? यो पीडकलाई उन्मुक्ति दिने कानुनका छिद्रहरू टाल्ने र पीडितमाथि उल्टै धावा बोल्ने समाजको सोच बदल्ने उपयुक्त अवसर पनि हो ।

पढ्दा पढ्दैका विद्यार्थीहरू उठेका छन्, काम गर्दागर्दै महिलाहरू जुटेका छन् । यो बेला साथ तपाईंको चाहिएको हो, हाम्रो चाहिएको हो । किनभने, हिंसाविरुद्धको यो अभियानलाई अन्तिम बनाउनुपर्ने दायित्व सबैमा छ । अब पनि छोरीहरू हुर्किंदै गर्दा आमाहरू डरैडरले पिल्सनु नपरोस् । छोरीले वर्तमान बाँच्ने, भविष्य खोज्ने ठाउँ हिंसाभन्दा पर होस्, दुर्व्यवहारको गुञ्जायसै नहोस् ।

कानुनी रूपमा बलियो बनेर समाजको जडतामाथि धावा बोल्नु अहिलेको आवश्यकता हो । आइतबार संसदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिमा सांसद अञ्जना विशंखेले भनेकी थिइन्, ‘जमाना खराब छ, बलात्कारको मुद्दामा ठेसिनुपर्ला भनेर छोराहरूलाई भन्नुपर्‍यो, श्रीमान्लाई भन्नुपर्‍यो, दाइभाइहरूलाई भन्नुपर्‍यो । मुलुकको कानुन कडा बनाएर सबैलाई सचेत बनाउनुपर्‍यो ।’

छोरीहरूको आँटलाई मर्न नदिन र बरु कहींकतै बोल्न नसकेका छोरीहरूको मनमा आँट भर्न सबैले हातेमालो गर्नुपर्ने बेला छ अहिले । हिंसाका विरुद्ध बोल्ने यो साहसमा अहिले लालमोहर लाग्यो भने फेरि कसैले थुन्नेछैनन् छोरीहरूका आवाज, कसैले रोक्ने छैनन् छोरीहरूका पाइला ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?