+
+

काठमाडौंको ‘लज्जास्पद हार’ले निम्त्याएको रवीन्द्र मिश्रको राजीनामा

पाण्डे संयोजकका रूपमा नफर्किएको अवस्थामा विवेकशील साझाका नेतृत्वले कसले गर्ला त ? नेताहरूका अनुसार पार्टीमा मिश्रको विकल्प दिने नेतृत्वको अभाव देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते २०:२६

११ जेठ, काठमाडौं । स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुले निराशाजनक मत पाएसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।

चुनावी हारको जिम्मेवारी लिँदै राजीनामा दिएका मिश्रले ‘विचारभन्दा माथि देश’को विरोध गर्दै समानान्तर गतिविधि गर्नेहरूमाथि गरिएको कारबाही फिर्ता लिन केन्द्रीय समितिलाई आग्रह गरेका छन् । साथै दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएकाहरुलाई पनि पुनः पार्टीमा फर्किन अपिल गरेका छन् ।

विवेकशील साझाका नेताहरू भने मिश्रको राजीनामासँगै पार्टीमा नेतृत्वको संकट सुरु भएको बताउँछन् । मिश्रले कारबाही फिर्ताको अपिल गर्दै मिलन पाण्डेलाई पुनः संयोजकमा फर्किनसक्ने सकेत गरेपनि त्यो सहज छैन ।

काठमाडौंको हार मुख्य कारण

स्थानीय निर्वाचनमा बाराको फेटा गाउँपालिकाको अध्यक्ष र दुई वटा वडा विवेकशील साझाले जितेको थियो । मिश्रले यसको श्रेय गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई दिएका छन् । अन्यत्र पार्टीका उम्मेदवारहरु ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसकेको भन्दै मिश्रले त्यसको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिने बताएका छन् ।

निकटवर्तीहरुका अनुसार मिश्रलाई अध्यक्षबाटै राजीनामा दिने अवस्थामा पुर्‍याउनुको मुख्य कारण भने काठमाडौं र ललितपुर महानगरपालिकामा दलले पाएको मत हो । यो पटक जितको आश त थिएन, तर अघिल्लो पटककै हाराहारीमा आउने र आगामी संसदीय निर्वाचनलाई सहज हुने विश्लेषण थियो । विवेकशील साझाका एक नेता भन्छन्, ‘चुनावको पार्टीगत रूपमा समीक्षा गर्न बाँकी छ । तर जे नतिजा आएको छ, त्यो अनपेक्षित हो ।’

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५२ हजार मत कटाएर जित पक्का गर्दा वैकल्पिक राजनीतिको मुद्दा उठाएको विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाको मत हजार पनि पुगेको छैन । ललितपुर महानगरमा पनि चिरिबाबु महर्जन ४२ हजार ७२२ मतका साथ पुनः मेयर निर्वाचित हुँदा विवेकशील साझाका उम्मेदवार उज्वलकृष्ण श्रेष्ठले १५८५ मत पाएका छन् । जबकि २०७४ को चुनावमा विवेकशील र साझाले छुट्टाछुट्टै उम्मेदवारी दिँदा पनि सम्मानजनक मत ल्याएका थिए ।

पाण्डे फर्किन कति सहज ?

चुनावी हारको जिम्मा लिँदै राजीनामा दिएका मिश्रले आफूले ल्याएको ‘विचारभन्दा माथि देश’ प्रस्तावमा असहमति जनाउँदै समानान्तर गतिविधि गर्ने पार्टी संयोजक सहितका नेताहरूमाथि गरिएको कारबाही फिर्ता लिन पनि आग्रह गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि कारबाहीहरू फिर्ता गरिदिन पार्टी केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु ।’ साथै दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका नेताहरुलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।

मिश्रले संघीयता खारेज गर्नुपर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्तावसहित ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याएपछि रञ्जु दर्शना लगायतका केहीले पार्टी परित्याग गरे भने संयोजक पाण्डे समूहले समानान्तर गतिविधि गरिरह्यो । त्यो विवादमा निर्वाचन आयोगले मिश्र पक्षलाई वैधानिकता दिएपछि पाण्डे लगायतका नेतालाई कारबाही भयो ।

अध्यक्षबाट राजीनामा दिएका मिश्रले कारबाही फिर्ताका लागि अपिल गरेपछि मिलन पाण्डे पार्टी संयोजकमा फर्किने सम्भावनाबारे छलफल सुरु भएको छ ।

कसरी अगाडि बढ्ने भनेर छलफल गर्न पाण्डेले भोलि आफ्नो समूहको बैठक बोलाएका छन् भने विवेकशील साझाका कतिपय नेताले पाण्डेलाई पार्टीमा पुनः सक्रिय हुन आग्रह गरेका छन् । तर पाण्डे फेरि विवेकशील साझाको संयोजकका रूपमा फर्किन सहज नभएको एक नेता बताउँछन् ।

पाण्डे समूह विवेकशील साझामा सक्रिय हुन पहिलो शर्त हो, ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेजी । तर दस्तावेज ल्याउने मिश्र आफैंले राजीनामा दिएपनि केन्द्रीय समितिले अनुमोदन गरिसकेको यो दस्तावेज के हुन्छ भन्ने अलमल छ ।

पाण्डे पक्षका नेताहरू भने मिश्र स्वयंले राजीनामा दिएको र उनको दस्तावेज जनमतबाट अस्वीकृत भएको बताउँछन् । एक नेता भने, ‘पार्टीमा दुईवटा दस्तावेज थियो, एउटा दस्तावेज जनमतका हिसाबले पनि अस्वीकृत भयो, अध्यक्षले पनि फिर्ता लिनुभयो । अब पार्टी अर्को दस्तावेजअनुसार अघि बढ्छ ।’

त्यो अवस्थामा आफूहरुको विचारअनुसार पार्टी अघि बढ्ने र नेतृत्वमा फर्किने पाण्डे पक्षको एक नेता बताउँछन् । ‘मूल पार्टी हामी हौं, जाने नजाने प्रश्नै होइन,’ एक नेता भन्छन्, ‘उहाँहरुको दस्तावेज कायमै राखेर हामी एक हुन सक्दैनौं ।’

विवेकशील साझाका नेताहरु भने मिश्रको राजीनामासँगै विचारभन्दा माथि देश’ सकियो भन्ने मान्न तयार छैनन् । कतिपय नेताले मिश्रको दस्तावेजलाई महाधिवेशनसम्म लैजानुपर्ने बताएका छन् भने कतिपयले यसकै कारण चुनाव हारेको तर्क गरेका छन् । तर फिर्ता लिने नलिने अलमल कायमै छ ।

दस्तावेजको अलमल अन्त्य भएको अवस्थामा पनि पाण्डेलाई नेतृत्व मान्ने नमान्ने प्रश्न हुनेछ । पार्टीमा विवाद भएका बेला पाण्डेले गरेको राजनीतिका कारण उनलाई नेतृत्व मान्ने सम्भावना कम रहेको कतिपय नेता बताउँछन् । ‘मिलनजीबाट हुँदै हुँदैन भनेर कारबाही गरिएको हो,’ एक नेता भन्छन्, ‘आज पनि बहुसंख्यक नेताहरुको उहाँमाथि अविश्वास कायमै छ ।’

नेतृत्वको संकट

पाण्डे संयोजकका रुपमा नफर्किएको अवस्थामा विवेकशील साझाका नेतृत्वले कसले गर्ला त ? नेताहरुका अनुसार पार्टीमा मिश्रको विकल्प दिने नेतृत्वको अभाव देखिएको छ ।

पार्टीको महाधिवेशन नभएकाले पदाधिकारी छैनन् । कार्यसम्पादन समितिमा भएकामध्ये पूर्वसचिव किशोर थापा सम्भावित हुन् । तर उनी आफैं पछिल्लो समय क्रमशः निष्क्रिय भएकाले पार्टी नेतृत्वमा आउने सम्भावना कम छ । त्यसैले भएका कुनै नेतालाई संयोजक तोकेर महाधिवेशनमा जाने सम्भावना देखिन्छ ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठक पनि पार्टी कसरी अगाडि भन्ने केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘कार्यसमितिको बैठक कहिले बस्ने भन्ने तय भइसकेको छैन । अनौपचारिक कुराकानी गरेर विधानको व्यवस्था हेरेर चाँडै निकास दिनुपर्छ भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?