+
+
विचार :

हिमानी भर्सेस सावित्री

आत्मसमर्पण र क्रान्तिकारिताका दुई सामाजिक बाटोमध्ये ‘अशिष्ट’ नै सही, क्रान्तिकारिता रोजेकी सावित्रीले नयाँ युगका छोरीहरूलाई ‘गाइड’ गरिरहेकी छन्, जबकि हिमानीले ‘मिसगाइडेड’ ।

शीतल दाहाल शीतल दाहाल
२०७९ जेठ १२ गते १०:१३

एक पुरुष मित्रले केही वर्षअघि मसँगको भेटमा भनेका थिए- ‘हरेक बिहान उठ्नासाथ म हिमानी शाहको फोटो हेरेर दिनको सुरुवात गर्छु ।’ त्यो बेला उनले के भन्न खोजेका हुन् चासो लागेको थियो ।

हरेक बिहान पूर्वराजकुमारी हिमानी शाहको फोटो हेरेर दिनको सुरुवात गर्ने मेरा प्रिय मित्रसँग केही दिनअघि मात्रै लामै अन्तरालमा भेट भयो । हिमानीको फोटो हेरेर उठ्ने ती साथीको पहिलेको आदत परम्परामै परिणत भयो या अहिले बदलियो भन्नेबारे मैले उनलाई सोध्नै भ्याइनँ । बरु भेटको सुरुवातमै उनी आफैंले सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोबारे कुरा गर्न चाहे ।

‘विवाह किन गर्छाैं ए छोरीहरू ? बच्चा पाउन वा सेक्स गर्न ? सेक्स गर्नकै लागि मार्केटमा सेक्स टोय किन्न पाइन्छ, बच्चा पाउनकै लागि त वीर्य किन्न पाइन्छ ! त्यसो भए पुरुष केका लागि ? के काम छ त पुरुषको ?’ भन्ने बयान दिइएको र टिकटकमा भाइरल भएको सो भिडियो सावित्री सुवेदीसँग कुनै अनलाइनले गरेको अन्तर्वार्ताको अंश थियो ।

मैले हेर्दासम्म उक्त भिडियोलाई बीसौं लाख बढी दर्शकले हेरिभ्याएका थिए । सावित्री तिनै हुन्, जो महिला अधिकारबारे बेलाबेला ‘विवादास्पद’ बयान दिन्छिन् । काठमाडौंको माइतीघर मण्डलमा कालो पेटिकोट लगाएर बलात्कारविरुद्ध प्रदर्शन गरेका कारण पनि यिनलाई धेरैले सम्झन्छन् । केटा मानिसको झैं छोटो कपाल र रूपको पर्वाहै नगरी कालो नदलिएको तिलचामले कपाल तथा सौन्दर्य प्रसाधनरहितको सादा अनुहार नै यिनको परिचय हो ।

शीतल दाहाल

र, तिनै सावित्रीका बारेमा मेरा यी मित्रको प्रतिक्रिया भने आक्रोशपूर्ण थियो । ‘बच्चा पाउन त बजारमा वीर्य किन्न पाइन्छ’ भन्ने सावित्रीको अभिव्यक्तिप्रति उनले कटाक्ष गर्दै भने ‘त्यसो भए वीर्यचाहिं कसको किन्ने ? पुरुषको नलिएर कुकुरको किन्ने हो र ?’ भनेर यी मित्रले प्रतिप्रश्न गरेकोमा म उनीप्रति आभारी भएकी थिएँ, किनभने सावित्रीको उक्त भाइरल भिडियोमा सावित्रीप्रति पचाउनै नसकिने खालका हजारौं गाली र अपमानका शब्दहरू मैले देखेकी छु । आश्चर्य र अफशोच उनको व्यक्तित्व र अभिव्यक्तिमाथि अश्लील शब्द बर्साउनेहरूमा महिलाहरूको जमात पनि मनग्ये थियो ।

खैर, मेरो प्रिय मित्रसँग वर्षौंपछि भेट भएको थियो । हामीबीच केही सुन्नुपर्ने र केही सुनाउनुपर्ने कुरा थिए, त्यसकारण म विषयान्तर हुन चाहें । त्यसमाथि समाजशास्त्रीय दृष्टिकोण नबुझ्नेहरूसँग महिला उत्पीडन र आक्रोशबारे बहस गर्दा त्यसले ‘टाइम किल’ गर्ने पक्का थियो । त्यसो हुँदाहुँदै पनि मैले फेरि विषयान्तर हुन पाइनँ ।

मित्रले दोस्रो पटक सावित्री सुवेदीको व्यक्तित्वबारे प्रसंग उठाए र भने ‘तपाईंलाई चाहिं तिनी कस्ती लाग्छिन् ?’ यो प्रश्नको उत्तर के हुनुपर्थ्यो, म जान्दिनँ । रातमा सुत्दा हिमानी शाह सम्झिएर सुत्ने र बिहान उनैको फोटो हेरेर दिनको सुरुवात गर्ने मनोविज्ञान बोकेका मानिसका अघि सावित्री सुवेदीको व्यक्तित्वबारे थप चर्चा गरेर लामो समयपछि भएको हाम्रो भेटलाई बहस र विवादतिर लैजान चाहिनँ र भनेँ, ‘सावित्री र सती सावित्रीका कुरा कुनै फुर्सदिलो समयमा गरौंला नि !’

घर फर्केपछि मैले हिमानी शाहका नाममा खोलिएका सामाजिक संजालका अनेकौं एकाउन्टहरू ब्राउज गरें । सावित्री सुवेदीका टिकटक, फेसबुक र युट्युबमा आएका अनेकौं अन्तर्वार्ता पनि तन्मयका साथ नियालें । सामाजिक सञ्जालहरूमा हिमानी शाहका नाउँमा दर्जनौं एकाउन्ट छन् । दर्जनौं एकाउन्टमध्ये कुन आधिकारिक हो भन्ने पत्ता लगाउन पनि गाह्रो छ ।

धेरैजसो एकाउन्टमा ‘महालक्ष्मी र दुर्गा भवानीको अर्काे रूप महारानी हिमानी शाह, सहनशीलताकी प्रतिमूर्ति, सुन्दरताकी महासागर’ जस्ता अतिरञ्जित भनाइहरू पोस्ट गरिएका छन् । आधिकारिक फेसबुक अकाउन्ट पत्तो पाउन नसकेपछि हिमानी शाहलाई बुझ्न र खोज्न म युट्युबमा छिरें ।

युट्युबमा पनि हिमानी मात्रै सर्च गर्दा सयौं भिडियो भेट्न सकिन्छ । र, त्यसमध्ये हिमानी ट्रष्टले आयोजना गरेको एक कार्यक्रममा हिमानीले कागजमा हेर्दै र अक्मकिंदै नेपालीमा बोलेको यो अंश छ- ‘हिमानी कोषको कार्य वचन नेपाली जनताको सेवा नै हो । परिवर्तन सधैं चुनौतीपूर्ण हुन्छ । नेपाली हुनुको नाताले अब समय आयो, सबै एकजुट भएर सोचौं, नेपाली बनौं, नेपाली वस्तु किनौं …।’

एउटै भिडियोलाई अनेकौं च्यानलले दर्जनौं रूपमा बुट्टा भरेर प्रस्तुत गरे पनि अन्तर्वार्ता आदिका टुक्राटुक्री खोज्दा जम्मा पाँच फरक कार्यक्रममा हिमानीले आफ्नो अभिव्यक्ति दिएकी होलिन् । र, तिनमा हिमानीको अभिव्यक्ति देश बनाउने, देशको विकास गर्ने र समाजसेवा गर्ने कुराहरू उल्लेख छन् ।

फेसबुकमा पचास हजार भन्दा बढीद्वारा पछ्याइएकी ‘सावित्री जय नारी’को फेसबुकमा विशेषगरी बलात्कारमा परेकाहरूको लागि न्याय मागिएको छ । ‘बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे’, ‘म सर्भाइभरलाई विश्वास गर्छु’, ‘स्टप रेप’, ‘महिलाको यौवन जोवन प्रदर्शन गर्ने मिस नेपाल प्रतियोगिता खारेज गर’, ‘बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउ’, सुस्मिताको लागि न्याय, मिटु/गेट-टुगेदर फर जस्टिस/जस्टिस/फर सुस्मिता/जस्टिस फर अल भिक्टिम्स लगायत आक्रोशपूर्ण नाराहरूले उनको फेसबुक लगभग भरिएको छ ।

युट्युबमा तीन वर्षअघि अपलोड गरिएको एक भिडियोमा सावित्रीको कपाल मुण्डन हुँदै गरेको देख्न सकिन्छ । उक्त भिडियोमा सावित्रीले ‘पीडितले न्याय नपाए कपाल मुण्डन मात्र होइन, छातीमा गोली खान पनि आफू तयार रहेको’ बताएकी छन् । उनले त्यसो भन्दै गर्दा उनको टाउकोबाट लामो कपाल भुईंमा सुस्तरी सुस्तरी झरिरहेको देखिन्छ ।

सावित्रीको फेसबुक, उनले दिएका अन्तर्वार्ताहरू देख्दा उनले जीवनको कुनै मोडमा यौनहिंसा भोगेकी थिइन् कि भनेर अनुमान लगाउन सकिन्न । यसबारेमा सावित्रीले केही बोलेको पनि भेटिन्न तर बलात्कारी र यौनहिंसा गर्ने पुरुषमाथि उनी जसरी आगो ओकल्छिन्, यस्तो लाग्छ, जो-कोही दुराचारी उनीसँग डराउँछ । सावित्री बेलाबेला यस्तो आक्रामक अभिव्यक्ति दिन्छिन्, ‘विवाह भनेको समाज र कानुनले महिलालाई बलात्कार गर्न पुरुषले पाएको लाइसेन्स हो ।’

र, मैले कतै सुनेकी छु ‘प्रायः मानिसको प्रवृत्ति दुई खालको व्यक्तित्वबाट आकर्षित नभइरहन सक्तैनः रूपमा अति सुन्दर र जीवनमा अति सफल मानिस आम मानिसका आदर्श हुन पुग्छन् ।’ मेरो प्रिय साथीचाहिं हिमानी शाहको रूप र लावण्यमा अल्झियो क्यार ! आम मान्छेले शारीरिक रूपमा हिमानीलाई सुन्दर देख्ने गर्छन्, तर सावित्री सुवेदी पनि असुन्दर हुनुपर्ने कारण के नै छ र ?

तर, सावित्रीलाई आम मान्छेले मन नपराउनु र उनीप्रति नकारात्मक टिप्पणी गर्नु सावित्रीको अनुहार होइन, बरु मेरै साथीहरू जस्ताको पुरुष-मनोविज्ञान हो भन्न मलाई कुनै संकोच छैन । सावित्रीले आफूले कहिल्यै पनि हिंसा सहिनन् र अन्य महिलालाई पनि हिंसा नसहन निरन्तर खबरदारी गरिरहिन् । उनले खबरदारी गरिन् र चोर औंला उठाइरहिन् । सायद महिलाले औंला उठाएको सुहाउन्न क्यार हाम्रो समाजमा !

सारीको तथाकथित सभ्य र सुसंस्कृत पोशाकमा बेरिएर चाउचाउ र बिस्कुट बाँडेको कुरालाई कतिपयले अतिशयोक्तिपूर्ण व्याख्या गर्छन् र हिमानीको ‘समाजसेवा’को चर्चा गर्छन् । तर जुनै आयामबाट हेरे पनि पुरातन र जड मान्यताकी एउटी सम्भ्रान्त स्त्रीभन्दा केही देखिन्नन् हिमानी ।

यतातिर हाम्रो समाजमा महिलाका विरुद्धमा हुने गरेका तमाम हर्कत विरुद्ध ‘अशोभनीय’ रूपमा उत्रिन्छिन् सावित्री । आत्मसमर्पण र क्रान्तिकारिताका दुई सामाजिक बाटोमध्ये ‘अशिष्ट’ नै सही, क्रान्तिकारिता रोजेकी सावित्रीले नयाँ युगका छोरीहरूलाई ‘गाइड’ गरिरहेकी छन्, जबकि हिमानीले ‘मिसगाइडेड’ ।

समताको आन्दोलन पुरुष जातिको विरोध होइन । यो त असमानताको मात्र विरोध हो । असमानताका कारण समाज असन्तुलित भयो भनेर सन्तुलित बनाउन गरिएको प्रयास हो सावित्रीको । जहाँसम्म वीर्यको कुरा छ, दुवै जातिको वीर्यको संयोजन विना मान्छे बन्ने होइन । र, त्यसो हुँदा पुरुष जातिको हिंसा र विभेद कायम भएको सन्दर्भमा बजारबाट वीर्य लिएर सन्तानको आमा बन्ने कुरा गरेकी हुन्, जुन आज पनि कतिपय देशमा अभ्यासमा छ ।

सावित्रीको अभिव्यक्तिलाई आक्रोश र विद्रोहको रूपमा बुझ्दा हुन्छ किनभने लोग्ने भएकै कारण स्वास्नीप्रति दमनको भाव राख्ने पुरुषलाई तिरस्कार गर्छु भन्नु आत्मरक्षाको उपाय हो, न कि पुरुषको अपरिहार्यताको तिरस्कार ।

मेरो प्रश्न हिमानीको तस्वीर हेरेर दिनको सुरुवात गर्नेहरूलाई, ‘हिमानीले महिला भएर महिलाका लागि के गरिन्, त्यो त परको कुरा, अति सम्भ्रान्त परिवारकी उनी आफैंले आफूमाथि नै खुलेआम अन्याय हुँदा आफ्नो लागि के गरिन् ? उनको लोग्नेले उनीमाथि गरेको हिंसा कोबाट लुकेको छ ? आम नेपालीमध्ये कसले जानेको छैन उनका पतिको हर्कतबारे ? त्यसो हुँदाहुँदै पनि समाजसेवा र पूर्व राजपरिवारको आडमा शरीरमा बेरिएको रातो सारी र ओठमा पोतिएको रातै लालीले लोग्नेले गरेको हिंसालाई दुनियाँसँग लुकाउने असफल प्रयास गरिरहिन् ।

हिमानीलाई महिलाद्वेषी समाजले ‘जस्तोसुकै सहेर भए पनि घर सम्हाल्ने सुसंस्कृत नारी’ भनेर गीत गाए पनि पूर्व राजाको परिवारको साख जोगाइदिने नाममा हिमानीले बाँचेको जिन्दगीले भने मानव गरिमा, स्वतन्त्रता र आत्मसम्मानलाई भने गिज्याइरहेको छ । र म पुरुषको कैदी हुन चाहन्न, पुरुष सत्ताको हिंसा रुचाउन्न तर पुरुषमार्फत प्राप्त हुने प्राकृतिक अधिकारलाई उपयोग गर्न चाहन्छु भन्नुमा के खराबी छ ? अतः हिमानीको सम्भ्रान्त र संस्कारी बोलीभन्दा सावित्रीको रुखो बोली नै ज्यादा क्रान्तिकारी लाग्छ मलाई त्यसैले सावित्रीलाई न्यायवादी र समतावादीका लागि मार्गदर्शक भनेर मैले गल्ती गरिनँ होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?