
काठमाडौं । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । खानाका पारखीहरुलाई थाहा छ, यी जापानी व्यञ्जन हुन् ।
खानपानको समृद्ध र विशिष्ट स्वाद बोकेर जापानी परिकारले विश्व परिक्रमा गरिसकेका छन् । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ । त्यसैमध्येको एक हो, देक्काइदो ओनसेस ।
काठमाडौंको बुढानीलकण्ठमा हालसालै जापानी स्वादको रिसोर्ट सञ्चालनमा आएको छ । सहरको कोलाहल, भीडभाड र प्रदूषणबाट उम्किएर शान्त अनि सौम्य वातावरणमा रम्न चाहनेहरुका लागि यो एक काइदाको गन्तव्य हुनसक्छ, जापानी स्वादमा रमाउनेहरुका लागि पनि ।
साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आतिथ्य साँच्चै आत्मीय र अनुपम छ ।
काठमाडौंको बुढानीलकण्ठ मन्दिरको सिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पायक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानीलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ ।
शान्त मात्र होइन, आतिथ्यको आनन्दबीच जापानको मौलिक रामेन जस्को नुडल्स र बेन्त्वबक्स देक्काइदोको यहाँ स्वाद लिन पाइन्छ । जापानिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् । उनका अनुसार यो परिकार नेपालका अन्य रेस्टुरेन्टमा पाइँदैन । बेन्त्वबक्स काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।
अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका अधिकारी किशोर अवस्थामा हुँदा नै सन् १९९५ तिर हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन् । पोखरामा बुवा ढुण्डीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन् २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे । त्यसपछि आफ्नै व्यवसाय थालेका अधिकारीले अहिलेसम्म जापानको हुक्काइदो सहरमा ‘बिस्तारै बिस्तारै’ नामका १० रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।
जापानको निकै सुन्दर हुक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन् त्यसरी नै काठमाडौंको अस्तव्यस्त ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय बिताउने स्थान बनोस् भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अधिकारी बताउँछन् ।
प्रकृतिको बीचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा दिन उनले करिब ८ रोपनी जमिनमा साढे ९ करोड रुपैयाँ लगानी गरे । त्यसमा जापानको ‘समराई’ कल्चरलाई नेपाली ग्रामीण बाँस र माटोको संस्कृतिसँग मिलाएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै चार करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी डिपार्टमेन्ट हेड सुनिता अधिकारी भन्छिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै चार करोड लगानी थपिन्छ होला ।’
परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापानिज न नेपाली परिकार मात्र पाइन्छ । आगन्तुकको चाहनाअनुसार टिपिकल जापानिज र नेपाली परिकार पस्कनु आफूहरुको उद्देश्य रहेको सुनिताले सुनाइन् ।
देक्काइदो ओनसेन रिसोर्ट फराकिलो र प्राकृतिक जंगलको बीचमा छ । आठ रोपनी जमिनमा फैलिएको रिसोर्टमा आरामदायी टेन्टको व्यवस्था छ । जहाँ आरामदायी रात बिताउन पाउने गरी व्यवस्था गरिएको छ । सुन्दर फराकिलो ठाउँमा पिकनिक, भोज, पारिवारिक पार्टी र उत्सव मनाउने वातावरण पनि रिसोर्टले बनाइदिएको छ ।
यहाँको सञ्चालन संरचना समेत कर्मचारी र लगानीकर्ता भन्दा पनि स्वामित्वको हिसाबले तयार गरिएको सुनिता बताउँछिन् । ‘हरेक कर्मचारीले अपनत्व ग्रहण गर्न केही प्रतिशत सेयर प्रदान गरिएको छ,’ उनी भन्छिन् ।
देक्काइदोका विशेषता
बस्नका लागि टेन्ट
घना जंगलको किनारमा दुई बेडसहित तीनवटा आरामदायी डेक्काइडो टेन्टहाउस, होक्काइदो टेन्टहाउस र लाङटाङ टेन्टहाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । ती जंगलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन् । टेन्ट प्रकृतिको बीचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।
पिकनिक, बार्बीक्यू र रात्रिभोज
दुई सय भन्दा बढी मानिसलाई सेवा प्रवाह गर्नसक्ने गरी ओनसेनले आफ्नो क्षमता बनाएको छ । मझौलाखाले पार्टी, भोज, पिकनिक, ब्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरु मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ । साना समूहका भोजनका लागि उपयुक्त तीनवटा सुन्दर कटेज (होक्काइडो कटेज, लाङ्टाङ कटेज र शिवपुरी कटेज)ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बार्बीक्यू वा साँझको पार्टी यो रमणीय प्राकृतिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।
बैठक, गोष्ठी र सम्मेलन गर्न सकिने
रिसोर्टले फुटकर रुपमा आउने पाहुना मात्र होइन, औपचारिक र अनौपचारिक बैठक, गोष्ठी, सम्मेलन आयोजना गर्नका लागि पनि व्यवस्था मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वस्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँको व्यवस्था चुस्त रुपमा गरिएको छ । रिसोर्टले विशेष तालिमप्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।
सुटिङ स्थल
झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ, देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय यो रिसोर्ट भिडियो छायांकन गर्ने, टिकटक बनाउनेहरुको रोजाइमा परेको छ ।
देक्काइदो रिसोर्ट ओनसेनले सुटिङ स्थलका रुपमा पनि तयार पारेको छ । यहाँ म्युजिक भिडियो, फिल्म, व्यावसायिक विज्ञापनहरु पनि छायांकन गर्न सकिन्छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4