+
+

२०७४ मा वडासदस्य जितेका ९ जना अहिले पालिका प्रमुख

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ १७ गते २०:०७

१७ जेठ, काठमाडौं । २०७४ को स्थानीय चुनावमा रोल्पा नगरपालिका–७ को वडासदस्य बनेका सुरेन्द्र थापा घर्ती अहिले मेयर निर्वाचित भएका छन् ।

त्यतिबेला जिल्ला समन्वय समितिको प्रमुख बनाउने भनेर उनलाई पार्टीले वडासदस्यमा चुनाव लड्न भनेको थियो ।

तर वडा सदस्य जितेका राजबहादुर बुढाले पनि जिल्ला समन्वय समितिमा दाबी गरे ।

बुढाका लागि आफूले जिल्ला समन्वय समिति त्यागेर ५ वर्ष वडा सदस्य बनेर काम गरेको थापा घर्ती बताउँछन् । ‘म रोल्पामा पार्टीको सिनियर मान्छे नै हुँ, तर अघिल्लो चोटी जिल्ला समन्वय समितिको प्रमुख हुन पार्टीले वडा सदस्य उठ भनेर उठेको थिएँ’, उनले भने, ‘मेरै अर्का सहयोद्धा पनि सदस्यमा उठ्नुभएको रहेछ, उहाँँको लागि मैले जिससको दाबी त्यागेँ ।’

७४ मा गरेको त्यागको मुल्यांकन गरेर पार्टीले यसपटक उनलाई नगरपालिकाको मेयरको टिकट दियो र उनले रोल्पा नगरपालिकाको नेतृत्व गर्ने अवसर पाए । ‘अघिल्लो चोटी जिल्ला समन्वय समितिमा नपर्ने वित्तिकै मेयरको लागि पार्टीमा समझदारी भइसकेकोले टिकट दाबीमा खासै असहज भएन,’ मेयरको टिकट कसरी पाउनु भयो भन्ने प्रश्नमा उनी भन्छन् ।

जनताले मेयरमा जिताइसकेकोले अब विकास र समृद्धिको लागि काम गर्ने बताउँछन् उनी ।

२०७४ सालमा वडा सदस्य रहेर अहिले स्थानीय तहको प्रमुख बन्ने उनी एक्ला होइनन् । २०७४ सालमा वडा सदस्यको चुनाव जितेका ९ जना यो पटक प्रमुख (४ जना मेयर र ५ जना गाउँपालिका अध्यक्ष) चुनिएका छन् ।

वडा सदस्यबाट यसपालिको चुनावमा प्रमुख निर्वाचित भएका ९ जनामा नेपाली कांग्रेसबाट ३ जना, नेकपा एमालेबाट २ जना, नेकपा माओवादी केन्द्रबाट ३ जना र राष्ट्रिय जनमोर्चाबाट एक जना छन् ।

उनीहरु सबैको कथा उस्तै छ । वडा सदस्यबाट अहिले पालिका प्रमुख बनेका उनीहरुको जिससमा दाबी थियो । तर ती मध्ये कोही वडा सदस्यबाट जिसस पुगेर अहिले पालिकाको नेतृत्वमा आएका छन् त कोही वडा सदस्यबाटै सिधै पालिकामा ।

रोल्पाकै सुनछहारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धनबहादुर पुन मगरले पनि २०७४ मा वडा सदस्य जितेका थिए । सुन छहारी–७ को वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको सदस्य पनि भए उनी । पुन मगर पार्टीले दिएको जिम्मेवारी अनुसार नै वडा सदस्य, जिसस सदस्य र अहिले आएर गाउँपालिका अध्यक्ष बनेको बताउँछन् ।

‘अघिल्लो चोटी पार्टीले जुन स्थान दियो, त्यसमै उठेको हो । तत्कालीन अवस्थामा राजनीतिक घटनाक्रमले त्यस्तै देखायो । पछि जिल्ला समन्वय समिति सदस्यमा पनि गएँ,’ उनले भने, ‘अहिले पार्टी र सुनछहारी गाउँपालिकाले मेरो आवश्यकता महसुस ग¥यो म आएँ, कुरा यत्ति हो ।’

संखुवासभाको चैनपुर नगरपालिकाका कृष्णबहादुर तामाङ २०७४ मा १ सय ६२ मत ल्याएर नगरपालिकाको ४ नम्बर वडासदस्यमा निर्वाचित भएका थिए । अहिले ६ हजार ६ सय ५७ मतसहित उनी मेयर निर्वाचित भएका छन् । २०७४ मा जिल्ला समन्वय समितिको प्रमुखको दाबेदार रहेका उनी वडा सदस्य जितेर जिल्ला समन्वय समिति सदस्यमा सिमित भए ।

जनताले अहिले चाहिरहेको असल शासन हो, त्यसको लागि उपयुक्त पात्र को हुनसक्छ भनेर चुनावहरुले फिल्टर गर्छन । यसअघिका जनप्रतिनिधि फेरि निर्वाचित हुनभनेको पुनः जनमत पाउनु हो ।

तत्कालीन चैनपुर गाविसमा २०५४ अध्यक्ष भएका उनी नेकपा एमाले संखुवासभाको उपाध्यक्षसमेत छन् ।

यो पटक मेयरको टिकट पाउन ठूलो लडाईँ जित्नुपरेको उनी बताउँछन् । यसअघिका मेयर सहित १० जना उम्मेदवार सिफारिस भएका थिए । तर अन्तिममा तामाङले बाजी मारे ।

जिल्ला समन्वय समितिको सदस्य हुँदा अनुगमन, निरीक्षण जस्ता कुरामा मात्रै अल्झिनु परेको बताउने तामाङ अब अब २४ सै घण्टा खटिनुपर्ने जिम्मेवारी आएको बताउँछन् ।

धादिङको गंगाजमुना गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्तबहादुर लामा पनि २०७४ का वडा सदस्य हुन् ।

उनले अघिल्लो चोटी जिल्ला समन्वय समितिको प्रमुखमा दाबीसहित वडासदस्यमा चुनाव लडेका थिए । वडा सदस्य जिते पनि उनी जिल्ला समन्वय समितिमा पुग्न सकेनन् । उनलाई नेपाली कांग्रेसले यो पटक गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनायो र उनले चुनाव जिते ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिगजिङ नागमेल गुरुङ पनि चुनाव अगाडी वडासदस्य थिए, तर अहिले उनी नेकपा एमालेबाट पालिका अध्यक्षमा विजयी भएका छन् । २०७४ को चुनावमा वडासदस्य जितेपछि उनले जिल्ला समन्वय समिति मुस्ताङको उपप्रमुखको दाबी गरेका थिए ।

तर भागबण्डा लगाउँदा मुस्ताङमा प्रमुख मात्र एमालेको भागमा पर्‍यो । प्रमुखमा अर्कै उम्मेदवार भएकाले आफू ५ वर्ष वडासदस्यमा खुम्चिनुपरेको उनी बताउँछन् । २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुख नपाएपछि त्यतिबेला नै पार्टीले गाउँपालिका अध्यक्षमा उठाउने वचन दिएकाले यसपाली टिकट पाउन मुस्किल नभएको गुरुङ बताउँछन् । उनले पालिकामा पुर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

अर्घखाँचीको भूमिकास्थान नगरपालिका अध्यक्ष झविलाल थापा पनि २०७४ मा वडासदस्य थिए । राष्ट्रिय जनमोर्चाबाट उनी अहिले पालिकमा अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टीले जहाँ खटायो, आफू त्यहीँ खट्ने गरेको भन्दै उनले जनताको सेवा गर्ने गरी नयाँ भूमिकामा आएको दाबी गरे ।

‘मैले टिकट पाउनुपर्छ भनेर पार्टीले नै निर्णय गरेको हो, म २०५४ मै तत्कालीन गाविसको कार्यवाहक अध्यक्ष समेत भइसकेको मान्छे हो, जनमुखी काम गर्न आएको हुँ । पद मेरो लागि गौण छ’, उनले भने ।
नगरपालिकामा अहिले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम सुरु गरेको उनले बताए ।

अर्घखाँचीकै शितगंगा नगरपालिकामा अघिल्लो कार्यकाल वडासदस्य रहेका छविलाल पौडेल अहिले गाउँपालिका अध्यक्ष हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले पनि वडासदस्यबाट गाउँपालिका अध्यक्षमा छलाङ मारेका छन् । उनी पनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

यस्तै नुवाकोटको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ पनि २०७४ मा वडासदस्य मात्रै थिए तर पार्टीले उलाई जिल्ला समन्वय समितिको प्रमुख बनायो ।

तामाङ अहिले अध्यक्ष बनेका छन् । ‘मैले अघिल्लो चोटी जिल्ला समन्वय समितिमा जानको लागि वडासदस्यमा लडेको हो,’ उनले भने, ‘यसपाली गाउँपालिका अध्यक्षको टिकटको लागि स्वभाविक दाबेदार थिएँ, अरु आकांक्षी हुँदै नभएका होइनन् । तर म बलियो दाबेदारको रुपमा टिकट पाएको हुँ ।’

जनमतले अनुमोदन गर्नु राम्रै हो : प्रा.डा. फुयाँल

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. विदुरप्रसाद फुयाँल वडासदस्यबाट पालिका प्रमुख हुनु भनेको जनमतले अनुमोदन हुनु रहेको बताए ।

वडासदस्यबाट गाउँपालिका अध्यक्ष वा नगरपालिकाको मेयर भएका व्यक्तिमा पार्टी र जनताको विश्वास देखिने उनले बताए । फुयाँलले भने ‘जनताले अहिले चाहिरहेको असल शासन हो, त्यसको लागि उपयुक्त पात्र को हुनसक्छ भनेर चुनावहरुले फिल्टर गर्छन । यसअघिका जनप्रतिनिधि फेरि निर्वाचित हुनभनेको पुनः जनमत पाउनु हो ।’

जनमत पाउने जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी र कर्तव्यबोधलाई भुल्न नहुने उनले बताए । प्रा.डा. फुयाँलले भने ‘विभिन्न तहबाट फरक फरक भुमिकामा अनुमोदन भएका जनप्रतिनिधिहरुले हरेक मौकालाई सदुपयोग गर्न सक्नु पर्छ ।’

 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?