+
+

कृषिको आँखाबाट बालेनलाई हेर्दा

बालेन जत्तिको मेयरले वा उनको टिमले कृषिलाई त्यत्ति मात्र बुझे भने हामीले चाहेको समग्र विकास र आत्मनिर्भरताको मुद्दा सम्बोधन हुन सक्दैन।

सुनिल पोख्रेल सुनिल पोख्रेल
२०७९ जेठ २१ गते ७:३६

बालेन्द्र साहले काठमाडौं महानगरको मेयर पदमा पुराना र एक किसिमको साम्राज्य नै खडा गरिसकेका दलहरूलाई मात खुवाउँदै विजय हासिल गरे। आम युवा पंक्ति र दलीय दुश्चक्रबाट वाक्क भएका महानगरवासीले यसपटक एक स्वतन्त्र व्यक्तिलाई मेयर यत्तिकै बनाएका हैनन्। त्यसैले विगतका मेयर भन्दा आफूलाई काबिल र सफल देखाउनुपर्ने दबाव बालेन साहले महसुस गरेको हुनुपर्दछ। पेशाले स्ट्रक्चरल इन्जिनियर बालेनले उपत्यकाको भौतिक संरचना, सडक विकास, पुरातात्विक क्षेत्रको संरक्षण तथा शिक्षा, स्वास्थ्य सुधार र योजनाको कुरा आम संचारमाध्यममा र आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरिसकेका छन्।

शहर र सडकले भरिएको महानगरमा कृषि क्षेत्रमा पनि काम गर्नुपर्ने कुरा धेरै छन्। आम मानिसको बुझाइमा कृषि भन्ने बित्तिकै खेत-बारी वा टनेल तथा ग्रिन हाउसहरूमा तरकारी खेती रहेको पाइन्छ। त्यसैले महानगरभित्र कृषि अन्तर्गत खासै गर्नुपर्ने काम छैनन् भन्ने तर्क आउन सक्दछ। तर बालेन जत्तिको मेयरले वा उनको टिमले कृषिलाई त्यत्ति मात्र बुझे भने हामीले चाहेको समग्र विकास र आत्मनिर्भरताको मुद्दा सम्बोधन हुन सक्दैन। त्यसैले कृषि क्षेत्रलाई आम मानिसको स्वास्थ्य, खाद्य सुरक्षा, फोहोर व्यवस्थापन र रोजगारीको बलियो माध्यम मानेर निम्न कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छ।

. कृषिस्वास्थ्य सम्बन्ध

उपत्यकाभित्र बसोबास गर्ने सबै मानिसको भान्सामा पाक्ने खाना र तरकारी बाह्य जिल्ला तथा भारतबाट आयात गरिएको हुन्छ। जुन देशभित्र तथा अन्तरदेशीय क्वारेन्टाइनबाट परीक्षण नभई सीधै भान्सामा छिर्ने गर्दछन्। यसले आम मानिसको स्वास्थ्य तथा पोषण जस्ता कुराहरूमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा कसैको चासोको विषय बनेको पाइँदैन। बेला बखतमा भारतबाट आयात गरिने तरकारीमा उच्च मात्रामा विषादीको मात्रा रहेको भनेर समाचारहरू आउने र केही समयपछि उक्त कुरा ओझेलमा पर्ने गरिरहेको छ। आम संचारमाध्यम र सर्वसाधारणबाटै यस्तो गम्भीर मुद्दाको उठान हुँदा पनि सरकार र सरकारी संयन्त्रले उचित कदम नचाल्दा सरकारबाटै जनताको स्वास्थ्य माथि खेलबाड भएको बुझिन्छ। तसर्थ कम्तीमा, उपत्यकामा भित्रिने ताजा तरकारी र फलफूलमा कति मात्रामा अखाद्य रसायन तथा विषादी छ भनी परीक्षण गरेर मात्र नाका (थानकोट) भित्रिन दिने व्यवस्थाको लागि महानगरपालिकाबाटै पहल सुरु हुन जरुरी छ।

कृषिखाद्य सुरक्षा सम्बन्ध

भारतले गरेको नाकाबन्दी तथा कोरोनाकालको लकडाउनमा उपत्यकाका अधिकांश मानिसले कौशी खेती गर्न थाले। आफूले नै उत्पादन गरेको स्वस्थ र ताजा तरकारी खान पाइने र आत्मनिर्भर पनि बन्न सकिने कारणले उपत्यकाभित्र व्यापक रूपमा कौशी खेतीमा प्रयोग हुने कृषि सामग्रीहरू बिक्री हुन थाले। अहिले पनि अधिकांश मानिसले त्यसलाई निरन्तरता दिंदै आएका छन्। इन्जिनियरिङको दृष्टिकोणबाट कौशी खेतीलाई हाम्रा भौतिक संरचनाहरूले कति थेग्न सक्लान् भन्ने कुरा एक ठाउँमा रह्यो तर अब बन्ने घरहरूलाई कसरी कौशी खेती मैत्री बनाउने भन्ने कुरा पनि बालेनले सोच्नुपर्दछ। यसले महानगरका बासिन्दाहरूलाई आत्मनिर्भर मात्र बनाउँदैन, खाद्य सुरक्षामा समेत सहयोग पुग्छ।

कृषिफोहोर व्यवस्थापन सम्बन्ध

बालेन साह मेयर निर्वाचित हुने बित्तिकै सिसडोल पुगेर र पहिलो बैठकबाटै फोहोर व्यवस्थापन सम्बन्धी कार्यदल बनाउन प्रयास गरेर फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हो भन्ने सन्देश दिएका छन्। सिसडोलमा होस् या बन्चरेडाँडामा होस्, फोहोर व्यवस्थापनमा स्थानीयको चासो र सरोकार भनेको फोहोरले फैलाउने दुर्गन्ध हो। घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरलाई छुट्टै व्यवस्थापन गर्ने हो भने त्यसले वातावरणमा कमभन्दा कम प्रभाव पारोस् भन्नका लागि जैविक तरिकाबाट फोहोर विघटन गर्न जरुरी छ। जसले फोहोरलाई छिटो कुहाएर बालेनको घोषणा-पत्रमा भए जस्तै महानगरले आफैं बायो-ग्याँस र मल उत्पादन गरेर काठमाडौं नजिकका किसानलाई बेच्न सक्छ। बाटोमा सयौंको संख्यामा कुहिने र नकुहिने प्रष्ट छुट्याइएका बिनहरू राख्दा मात्र पनि त्यसले सरसफाई र फोहोर व्यवस्थापनमा उल्लेख्य उपलब्धि हासिल गर्न सजिलो हुन्थ्यो।

कृषिरोजगार सम्बन्ध

कम्पोष्ट मल बनाउन होस् या नाकामा व्यवस्थित क्वारेन्टाइन बनाउन विभिन्न खाले जनशक्तिको आवश्यकता पर्दछ, जसले रोजगारीको अवसर सिर्जना गरी युवाहरूलाई देशमै बस्ने वातावरण बनाउन भूमिका खेल्छ। उपत्यकाका सबै कृषि उत्पादनका बजारहरूलाई व्यवस्थित र सफा बनाउन थप पूर्वाधार र जनशक्ति परिचालन गर्न सकिन्छ। तरकारी तथा फलफूल बजारलाई आधुनिक र पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्न सकिन्छ।

नेपाली कृषि अझै पछौटे र पुरातन कृषि प्रणालीबाट ग्रसित छ। हिजो-आज कृषिमा यान्त्रीकरणको नाउँमा हाम्रो कृषिसँग मेल नखाने र उत्पादन लागत मात्र बढाउने कृषि यन्त्र र मेसिनको प्रयोग जबर्जस्ती अघि बढाइँदैछ, यसको साटो राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्थाहरूसँग साझेदारी गर्दै महानगरले नेपाली माटो सुहाउँदो कृषि यन्त्र बनाउन हाम्रा जनशक्तिको परिचालन गर्न सक्छ।

कृषिउद्योग सम्बन्ध

कृषि उत्पादनलाई उद्योगसँग जोडेर विभिन्न प्रशोधन केन्द्रहरू बनाई त्यसको ब्राण्डिङ गरेर देश तथा विदेशी बजारमा हाम्रा उत्पादनले स्थान लिन सक्ने बनाउन सकिन्छ। जस्तै; नजिकैका जिल्लाहरूबाट कोदो ल्याई यहाँ नेपाली/नेवारी रक्सी बनाई ब्राण्डिङ गर्न सकिन्छ। त्यति मात्र हैन मार्सी चामल, चिनो, कागुनो जस्ता उच्च बजार मूल्य भएका उत्पादनहरूलाई शहरका एलिट वर्गलाई लक्षित गरी आकर्षक प्याकेजिङ गरी उच्च मूल्यमा बेच्न सकिन्छ। त्यसको लागि मझौलादेखि ठूला खालका कृषि उद्योग स्थापना गर्न महानगरले निजी क्षेत्रलाई प्रेरित गर्न सक्छ। विभिन्न होल्डिङ सेन्टरहरू बनाई त्यहाँ कृषि उत्पादनहरू भण्डारण गर्न सकिन्छ, यसो गर्दा विषादी प्रयोग गरिएका कृषि उत्पादनहरूलाई वेटिङ पिरियड कटाएर मात्र बजार प्रवेश गर्न दिन सकिन्छ।

कृषिशिक्षा सम्बन्ध

काठमाडौंमा हाल विभिन्न कनिष्ठ कृषि प्राविधिकदेखि कृषि वैज्ञानिक उत्पादन गर्ने विश्वविद्यालय तथा क्याम्पसहरू छन्। जुनसँग महानगरले साझेदारी गर्दै त्यहाँका प्राविधिक तथा वैज्ञानिकहरूलाई प्रविधि र अनुसन्धानमा जोडेर नयाँ प्रयोग र आविष्कार गर्न सक्छ।

कृषिवातावरण सम्बन्ध

सडक वरपर रोपिने रुख तथा बिरुवाको छनोट गर्दा बहु उपयोगिताको आधारमा गर्नुपर्दछ। यसो गर्दा पर्यावरण आकर्षक हुनुका साथै बिरुवाहरूले उत्पादन गरेका फल तथा बियाँ मानिसले, चराचुरुङ्गीले खान मिल्ने हुँदा जीवजन्तुको संरक्षण पनि हुन्छ।

(कृषि विज्ञानमा स्नातकोत्तर पोखरेल इलमी एग्रो एण्ड टेक प्रालिका प्रबन्ध निर्देशक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?