+
+

अमेरिकामा यसरी फैलँदैछ नेपाली डायस्पोरा

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७९ जेठ २६ गते १२:२५

‘डायस्पोरा’ शब्द ग्रिसेली भाषाबाट आएको हो। यो हिब्रुको ‘गालुट’, ‘गोला’ शब्द, अङ्ग्रेजीको ‘एक्साइल’, ‘बानिस’को समानार्थी मानिए तापनि अर्थ र सन्दर्भको दृष्टिले फरक रहेको छ। हिब्रुको ‘गालुट’ वा ‘गोला’ र अङ्ग्रेजीको ‘एक्साइल’ वा ‘बानिस’ शब्दले यहुदीहरूको निर्वासन, विस्थापन वा देश निकाला भन्ने बुझाउँछ भने डायस्पोराले पहिचानसहितको आप्रवासन वा फैलावट भन्ने बुझाउँछ।

वर्तमान सन्दर्भमा डायस्पोरा शब्दले आप्रवासन भन्ने अर्थबोध गराउँछ। एउटा भाषा, संस्कृति र भूगोलबाट अर्को भिन्न भाषा, संस्कृति र भूगोलमा पहिचानका साथ समुदायको निर्माण गरी स्थायी रूपमा बसोबास गरेका मानिसको समुदायलाई डायस्पोरा भनिन्छ।

प्रा.डा. खगेन्द्र लुइँटेलका अनुसार डायस्पोराले निर्वासन, विस्थापन, शरणार्थी नभई सांस्कृतिक पहिचानको आप्रवासन वा फैलावट भन्ने अर्थबोध गराउँछ। उनका अनुसार डायस्पोरा/डायोस्परिकलाई नेपालीमा आप्रवास/आप्रवासी शब्द प्रयोग गर्दा बढी उपयुक्त हुन्छ।

संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको फैलावट अत्यन्तै तीव्र गतिमा भएको देखिन्छ। डायस्पोराभित्र मान्छेको संख्या मात्र नभएर उसको मौलिक पहिचान पनि पर्ने हुनाले बोली, भाषा, खानेकुरा, लगाउने कपडा, मान्ने चाडपर्व, चालचलन, परम्परा, संस्कृति, संस्कार आदि धेरै कुरा पर्दछन्। नेपाली स्थायी अस्थायी रूपमा अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको छ। नेपाली आफ्नो देशलाई छोडेर र नागरिकता नै त्यागेर स्थायी बसोबास गर्ने तरिकाले नै अमेरिका आएको पनि देखिन्छ।

खासगरी नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःबहालीपछि नेपालबाट अमेरिका बसाइँसराइ गर्नेको संख्या दिनानुदिन बढेको देखिन्छ। आजको समय परिस्थितिमा यो यहीं नै बस्नुपर्ने भन्ने त छैन तापनि जन्मेको भूमिलाई चटक्कै बिर्सेर स्थायी रूपमै बसाइँसराइ गरी विदेशिनु पक्कै पनि सकारात्मक पक्ष होइन।

यद्यपि त्यसका पछाडि थुप्रै कारण हुन्छन्। ती कारणलाई औंल्याएर स्थायी रूपमै देश छोड्ने वातावरणको अन्त्य गरिनुपर्छ। अहिले नेपाल जस्तो विकासोन्मुख देशबाट नेपाली बाहिरिनुको प्रमुख कारण भनेको रोजगारीका लागि नै देखिन्छ। सायद प्रजातन्त्रको पुनःबहालीपछि नेपालमा राजनीतिक स्थिरता कायम भई विकासले एउटा गोरेटो लिएको भए आज यति धेरै नेपाली विदेशिनुपर्ने बाध्यता थिएन।

जे होस् नेपाली रगत र पसिना बगाउन जहाँसुकै पुगुन् आफ्नो पहिचान बिर्सेका भने छैनन्। अमेरिकी नेपालीको जीवनयापनलाई नियाल्दा उनीहरूमा नेपाली संस्कार र संस्कृति मेटिएको छैन। नेपालीहरू अरु बेला व्यस्त भए पनि सप्ताहान्तमा भेटघाट गर्ने, वनभोज जाने, रमाइला रमाइला नेपाली मौलिक गीतहरू गाउने र बजाउने, नाचगान गर्ने, नेपाली मौलिक परिकारहरू जस्तैः दाल–भात–तरकारी, सेलरोटी, अचार, चटनी, खीर आदि बनाउने र खाने गर्छन्।

नेपाली एकआपसमा भेट्दा कहीं न कतैबाट नेपालीपन झल्केकै हुन्छ। नेपाली नेपाली बीचमा कुराकानी गर्दा आफ्नै भाषाको प्रयोग गर्छन्। कतिपय टोल वा समुदाय त नेपालीको मात्रै पनि बनेको छ।

अमेरिकामा नेपाली संस्कार र संस्कृतिलाई थप सशक्त र सम्बर्धन गर्न विभिन्न राजनैतिक र गैरराजनीतिक तथा सामाजिक र साहित्यिक संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्। अमेरिकाका विभिन्न शहरमा विभिन्न संघसंस्थाहरूको आयोजनामा नेपालका प्रसिद्ध कलाकारहरूलाई निमन्त्रणा गरी सांस्कृतिक कार्यक्रमहरू चलिरहेका हुन्छन्। यसले गर्दा नेपाली मौलिक गीत सङ्गीतले विदेशमा विकास र विस्तार हुने मौका पाएको छ।

नेपाली अध्ययन, पेशा, व्यवसाय, व्यापार, रोजगार, पर्यटन आदि थुप्रै कारणले विदेशिएका छन्। विज्ञान र प्रविधिको यो युगमा आज कहाँको मान्छे कहाँ पुगेको छ, आश्चर्यलाग्दो नै छ। धेरै सिमाना पार गरेर एउटा देशको मान्छे अर्को देशमा पुगेको छ। यसको प्रभाव नेपालीलाई पनि नपर्ने कुरै भएन।

नेपाली पनि संसारको कुना कुनामा पुगेका छन्। यी र यस्तै कारणले संसारको समुन्नत, शक्तिशाली, विकसित र सपनाको मुलुक भनिने संयुक्त राज्य अमेरिकामा पनि नेपालीको ठूलो बसोबास रहेको छ। देशको विकास र जनताको गुणस्तरीय जीवनको दृष्टिकोणले कुनैबेला अमेरिकालाई सपनाको मुलुक भनेर भनिए तापनि अब त्यस्तो अवस्था चाहिं छैन। संसारका अन्य मुलुक पनि सपनाका मुलुक बनेका छन्।

आज चीन, क्यानडा, जर्मन, फ्रान्स, रसिया, अस्ट्रेलिया आदि पनि सपनाको मुलुक बनेका छन्। वैधानिक रूपमा करिब तीन लाख नेपाली अमेरिकामा बसोबास गरेका छन् भने अवैधानिक रूपमा करिब दुई लाख रहेका छन् भनिएको छ।

यसरी करिब पाँच लाख नेपाली अमेरिकामा रहेका छन्। नेपाली डायस्पोरा अमेरिकाका पचासै राज्यमा फैलिएको छ। नेपालीले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई जीवन्त राख्नको लागि अनेक प्रयत्न गरेका छन्।

नेपाली बाहिर गएर अरू देशलाई सपनाको मुलुक बनाएका छन् भने आफ्नै जन्मभूमिलाई नसकिने भन्ने हुनै सक्दैन। यो देशमा सबैको दृढ संकल्प मात्र हुने हो भने सपनाको मुलुक बन्न समय लाग्दैन।

 

अमेरिकाले केही वर्ष पहिलेसम्म नेपालीलाई अन्य एसियन भनेर उसको कानुनमा परिचित गराउँथ्यो भने आज नेपाली नै भनेर चिनिएको अवस्था पनि छ। नेपालमा पश्चिमी सभ्यताको अन्धानुकरण बढ्दै गएको सन्दर्भमा नेपालीले अमेरिकामा आफ्नै सभ्यता र संस्कृतिलाई नै प्रधानता दिएको देखिन्छ। अमेरिकामा नेपालीले अमेरिकी सभ्यताको अन्धानुकरण त्यति साह्रो गरेको देखिंदैन। यहाँ नेपालीले अन्धो नै भएर अमेरिकन संस्कृतिलाई सोझै स्विकार गरेको अवस्था छैन।

स्वाभाविक रूपमा अमेरिकामै जन्मेका बालबच्चामा केही प्रभाव चाहिं नपरेको होइन। नेपालमा जुन रफ्तारमा पश्चिमी सभ्यताको हावा चलेको देखिन्छ त्यसको तुलनामा अमेरिकी नेपालीमा प्रभाव कम देखिन्छ। अहिले अमेरिकामा नेपालीको बसोबासको तेस्रो पुस्ता चलेको देखिन्छ।

पहिलो, दोस्रो पुस्ताले नेपाली संस्कार र संस्कृतिलाई अत्यन्तै सचेत तरिकाले संरक्षण गरेका छन्। नेपालबाट आउँदा ८/१० वर्ष उमेर भइसकेको बच्चाले नेपाली संस्कारलाई भुलेको पाइँदैन भने अमेरिका नै जन्मेका बच्चालाई नेपाली भाषा र सभ्यता घरपरिवारबाट सिकाएको पनि पाइन्छ। बालबच्चाहरू विद्यालयमा बोल्न नपाए पनि घरमा अभिभावकसँग नेपाली नै बोल्छन्।

अमेरिकामै बसेर पनि नेपालीले विभिन्न विधा जस्तै: भाषा, कला, साहित्य, खेलकुदका प्रतिस्पर्धामा सहभागी भई थुप्रै किसिमका मान, सम्मान र पुरस्कार पाएका छन्। आज विश्वमा द्रुत गतिमा नयाँ नयाँ आविष्कार हुँदै आएको छ। मानचित्रमा देशका सिमानाहरू देखिए तापनि ती सिमानालाई छिचोल्दै मान्छे संसार घुमेको छ।

प्रविधिले विशाल विश्वलाई सानो बनाइदिएको पनि छ। सेकेन्ड भरमा मान्छेले विश्वको कुनै पनि ठाउँको घटना वा समाचार थाहा पाउन सक्छ। कतिपय अवस्थामा मान्छे भौतिक रूपमा उपस्थित नभए पनि कुनै एक ठाउँबाट संसारका प्रायः सबै कुरा अध्ययन गर्न सक्छ। कुनै कुरा जान्न वा पढ्न भौतिक रूपमै उपस्थित हुनुपर्ने अवस्था छैन।

मानिसहरू सभ्यताको सुरुवातदेखि नै विभिन्न कारणले एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गर्ने परम्परा रहिआएको छ। अधिकांश नेपाली रोजगारीकै लागि विदेशिएको देखिन्छ भने केही अध्ययन र पेशा र व्यवसाय गर्नको लागि प्रवासिएका छन्।

नेपाल जस्तो विकासोन्मुख देशबाट धेरै नेपाली अमेरिका आएका छन्। विशाल र विकसित अमेरिकामा पनि सानो मुलुक नेपालका नेपालीले आफ्नो भाषा, धर्म र संस्कार र संस्कृतिलाई जोगाउने, बचाउने र मनाउने गरेको देखिन्छ। यस विशाल अमेरिकामा नेपालीले आफ्नो पहिचान र मौलिकतालाई अत्यन्तै सुझबुझ तरिकाले संरक्षण गरेको देखिन्छ।

अमेरिकी बजारमा नेपालीका मौलिक खाद्य पदार्थ र लगाउने हरेक किसिमका कपडाहरू सहज रूपमा पाउने अवस्था छ। प्रायःजसो ठूला शहरहरूमा नेपाली पसलहरू खुलेका छन्। ती पसलहरूमा गुन्द्रुकदेखि लिएर हरेक किसिमका नेपाली अचार, कोदाको पीठो, कर्णालीको चामल र दालसमेत पाइन्छ।

नेपालीका पसलबाहेक यहींका पसलमा समेत नेपालको केही मौलिक उत्पादनले अमेरिकन बजार पाएको देखिन्छ। नेपालीको ज्ञान, सीप र क्षमता साथै नेपालको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दै गएको देखिन्छ। कुनै बेला नेपाली नबोलेर अङ्ग्रेजी मकैका फुला सरी बोल्न जान्ने हो भने त आकाशै छोइन्छ कि जस्तो लाग्थ्यो।

नेपालमा अझै पनि छोराछोरीलाई निजी बोर्डिङ पढाउनुको मूल उद्देश्य भनेको अङ्ग्रेजी बोल्न सकून् भन्ने छ। तर यता अमेरिकामा बस्ने नेपालीलाई आफ्ना छोराछोरीले नेपाली बोल्न सिकून् र जानून् भन्नका लागि अभिभावकहरू नेपाली विद्यालयहरू सञ्चालन गरेका छन्।

स्वाभाविक रूपमा बच्चाबच्चीलाई नेपाली प्रयोग गरिएन वा सिकाइएन भने कतै बोल्न र बुझ्न नजानेर आफ्नो बाबुआमा र छोराछोरी बीचको नेपाली भाषामा कुराकानी नै नहुने हो कि भन्ने आशंका लागेर बच्चालाई नेपाली भाषा पढाएको पाइन्छ।

अमेरिकाको टेक्सास, सिकागो, कनेक्टिकट, ओहायो, मेरिल्याण्ड, भर्जिनियामा संस्थागत रूपमा नेपाली समुदाय मिलेर नेपाली पाठशालाहरू सञ्चालन गरिएका छन्। यी पाठशालाहरूमा आफ्नै पाठ्यक्रम र श्रव्यदृश्य सामग्री बनाएर नेपाली विद्यार्थीलाई नेपाली भाषाको साथै धर्म, संस्कार र संस्कृतिका बारेमा अध्ययन गराइन्छ। नेपाली पाठशालामा समय समयमा नेपालका विभिन्न जातजातिले मान्ने सांस्कृतिक पर्वहरूको प्रस्तुति र प्रदर्शनी पनि गरिएको हुन्छ।

भाषा विचार विनिमयको साधन हो। अङ्ग्रेजी बोल्दैमा मानिस ठूलो र नेपाली बोल्दैमा सानो हुने होइन। तर पनि अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो त्यसको महत्त्व छैन भन्न खोजिएको हैन। अमेरिकी नेपाली बालबच्चा पनि नेपाली सिक्न र बोल्न रुचाएकै देखिन्छन्। उनीहरूमा बोल्न नपरे हुन्थ्यो भन्ने भावना हुँदैन।

नेपालका विद्यालयमा अङ्ग्रेजी भाषालाई अलि बढी प्राथमिकता दिन खोजिएको पाइन्छ। अङ्ग्रेजी भाषालाई साधन नभई साध्य नै बनाउन खोजिएको देखिन्छ। यसले गर्दा विद्यार्थीको अधिकांश समय अङ्ग्रेजी भाषा सिक्नको लागि खर्चिएको छ।

विद्यार्थीलाई जबर्जस्त यस्तो मनोविज्ञान थुपारिएको छ कि भोलि राम्रो शिक्षा प्राप्त गर्न वा विदेश पढ्नका लागि अङ्ग्रेजी अनिवार्य राम्रो हुनुपर्छ। यसले विभिन्न मातृभाषी नेपाली विद्यार्थीलाई सिकाइमा जटिलता रहेको देखिन्छ।

कक्षाकोठा वा सिकाइ क्रियाकलापमा भाषाभन्दा ज्ञान र सीपलाई प्राथमिकता दिनुपर्छ। भाषा भन्ने कुरा अभ्यासबाट पनि सिक्न सकिन्छ। नेपालमा अङ्ग्रेजी भाषाको फेसनले गर्दा विद्यार्थी सिर्जनात्मक र व्यावहारिक शिक्षा भन्दा पनि घोकन्ते र प्रमाणपत्रधारी शिक्षा ग्रहण गर्न बाध्य भएका छन्।

विद्यालय वा कलेजमा अङ्ग्रेजी भाषालाई भन्दा सम्बन्धित विषयको ज्ञान र सीपलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। अमेरिकन विद्यालयमा भने भाषाभन्दा ज्ञान र सीपलाई नै महत्त्व दिएको देखिन्छ। आफ्नो बोल्ने भाषा अङ्ग्रेजी नहुँदा पनि भर्खर नेपालबाट आएका बालबच्चा स्कुल जाने भनेपछि असाध्यै खुशी हुन्छन्।

अमेरिकामा करिब ३५० देखि ४३० भाषा बोलिन्छन् जसमध्ये एउटा भाषा नेपाली पनि स्थापित भइसकेको छ। अमेरिकाका पचास राज्यमध्ये धेरै नेपाली बसोबास गर्ने राज्य तथा शहरमा टेक्सास, न्युयोर्क, भर्जिनिया, मेरिल्याण्ड, सिकागो, पेन्सलभेनिया, क्यालिफोर्निया, सन्फ्रान्सिस्को, ओहायो, लस एन्जल्स आदि हुन्।

औपचारिक रूपमा पसल, सार्वजनिक यातायात र कार्यालयमा अनिवार्य रूपमा बोल्नै पर्ने भएमा बाहेक नेपाली एकापसमा बोल्दा नेपाली भाषा नै प्रयोग गरिएको पाइन्छ। नेपाली मात्र नभएर अधिकांश आप्रवासी आआफ्नै मातृभाषा प्रयोग गर्छन्।

विद्यालयहरूमा पनि विद्यार्थीको मातृभाषा कुन हो भनी सकभर भाषिक जटिलता नहुने तरिकाले शैक्षणिक क्रियाकलाप गराइन्छ। अधिकांश निजी तथा सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, विद्यालय र कलेजहरूमा सामान्य जानकारीका लागि नेपाली अनुवादकको व्यवस्था पनि गरिएको पाइन्छ।

यसैले अमेरिका बस्दैमा नेपाली बोल्नै नपाइने अथवा प्रयोग गर्न नसकिने भन्ने छैन। अमेरिकामा नेपाली बोल्दैमा अरुले खिसी गर्छन् कि वा केही भन्ने हुन् कि भनेर नेपालीले हीनताबोध गर्नुपर्ने अवस्था छैन। यसले गर्दा पनि नेपाली भाषाले विस्तार हुने मौका पाएको छ।

अमेरिकाको प्रायः राज्य वा मुख्य शहरमा नेपाली समुदाय संगठित रूपमा सञ्चालन छन्। नेपाली समुदायले विभिन्न पर्व र संस्कारहरू नेपालमा जस्तै सामूहिक रूपमा मनाउने प्रचलन छ। नेपालीले तीज, रक्षाबन्धन, दशैं, तिहार, भैलो/देउसी, छठ, बुद्ध जयन्ती, नागपञ्चमी, होली, उभौली, उधौली आदि थुप्रै पर्व सामूहिक रूपमा मनाउँछन्।

नेपालीले आफ्नो समुदायमा विभिन्न देवी देवताका मन्दिरहरू बनाएका छन्। पशुपति मन्दिर, कृष्ण मन्दिर, दुर्गा मन्दिर, हिन्दु/बुद्ध मन्दिर आदिमा दैनिक पुजारीद्वारा नित्य पूजापाठ र पर्वका दिनमा विशेष पूजा हुन्छ।

अमेरिकामा नेपालीले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्न समय समयमा विभिन्न धार्मिक, सांस्कृतिक, साहित्यिक कार्यक्रम गर्छन्। अमेरिकामा नेपालीको बसोबास कहिलेदेखि भएको हो भनेर इतिहास नै खोतल्ने हो भने अमेरिका आउने पहिलो नेपाली जनरल कृष्णबहादुर राणा हुन् भनिएको छ।

उनी राणाकालीन राजनीतिज्ञ, आर्मी चिफ र कोतपर्वका एक नाइके पनि हुन्। उनी सन् १९३९ तिर अमेरिका आएका थिए तर अमेरिका आएर ग्रीनकार्ड पाउने पहिलो रमेश मल्ल हुन् उनी सन् १९६२ मा अमेरिका आएका थिए। कानुनी रूपमा नै नेपाली अमेरिका आउन थालेको करिब ६० वर्ष भएको छ।

अमेरिकामा सन् १९५७ पूर्व नेपालीलाई अन्य एसियनको श्रेणीमा राखिएको थियो। एक तथ्यांक अनुसार सन् १९९६ पूर्व प्रत्येक वर्ष एकसय भन्दा कम नेपाली अमेरिका आउने गर्थे। सन् १९९० को जनगणना अनुसार अमेरिकामा जम्मा ४३१ जना नेपाली अमेरिकाको स्थायी बासिन्दामा सूचीकृत भएका थिए।

अहिले अमेरिकामा प्रत्येक वर्ष करिब तीन हजार ग्रिनकार्ड बाहक, करिब पन्ध्र हजार विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि अनि पारिवारिक भेटघाट, घुमफिर आदिका लागि वार्षिक करिब बीस हजार आएको देखिन्छ। सन् १९४७ मा नेपालले अमेरिकासँग कूटनैतिक सम्बन्ध स्थापित गरेको थियो भने सन् १९५९ मा अमेरिकाले काठमाडौंमा दुतावास खोलेको थियो। वैधानिक रूपमा नेपाली अमेरिका आउन थालेको करिब ६ दशक पूरा भइसकेको छ।

कुनै एक ठाउँमा बसेर संसारलाई नियाल्न सकिने वर्तमान परिप्रेक्ष्यमा मान्छे जो जहाँ गए पनि आफ्नो जन्मभूमिको सम्बन्ध, आस्था र श्रद्धा चाहिं सँगै गएको हुन्छ। प्रा.डा.खगेन्द्र लुइँटेलका अनुसार आज नेपाली जाति र भाषा महाजाति र महाभाषातिर लम्किंदै छन्। नेपाली भाषा, साहित्य, संस्कृति, संस्कार नेपालको भूगोलमा मात्र सीमित नभएर संसारभरि फैलिएको छ।

संसारका सबै मुलुकमा पुगेका नेपाली अब संसारका सबै मुलुकको आकर्षक र गन्तव्य मुलुक नेपाललाई बनाउनुपर्छ भन्ने महाअभियानमा लाग्नुपर्ने देखिन्छ। अबको नेपाली डायस्पोराको मुख्य दायित्व भनेको संसारमा सपनाको मुलुकभित्र नेपाललाई पनि बनाउनुपर्छ। अबको उद्देश्य भनेको अर्को देशलाई सपनाको मुलुक बनाउने होइन आफ्नै देशलाई अमेरिका र सिङ्गापुर बनाउनुपर्छ। नेपाललाई सपनाको मुलुक बनाउने उद्देश्यका साथ एकजुट हुनुपर्छ।

नेपालीहरू बाहिर गएर अरू देशलाई सपनाको मुलुक बनाएका छन् भने आफ्नै जन्मभूमिलाई नसकिने भन्ने हुनै सक्दैन। यो देशमा सबैको दृढसंकल्प मात्र हुने हो भने सपनाको मुलुक बन्न समय लाग्दैन। देश बाहिर बसेर अरु देशको गुणगान नगाई आफ्नै देशलाई समुन्नत बनाउनुपर्नेछ।

विदेशी भूमिमा रगत र पसिना बगाउनुको सट्टा आफ्नै देशमा रगत र पसिना बगाउनुपर्छ अनि मात्र देश समृद्धि र समुन्नत हुन्छ। अबको पहिलो बहस भनेको देश छोड्ने होइन देश छोडेकालाई कसरी स्वदेश फर्काउने भन्ने हुनुपर्छ।

अमेरिका, चीन, जर्मन, क्यानडा जस्ता मुलुक यत्तिकै समृद्ध र विकसित भएका होइनन्। एउटा अठोट र दृढ संकल्पबाट बनेका हुन्। देश विकासको लागि कर्मचारी प्रशासन, नेता, नेतृत्व र आम नागरिकमा राष्ट्रियता र देशभक्तिको भावना हुनुपर्छ। नेपाल जस्तो मुलुकलाई समृद्ध बनाउन राजनैतिक स्थिरता कायम गरी भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ। नियम कानुनको परिधिभित्र बसी विकासलाई मूल मन्त्र ठान्नुपर्छ।

संसारमै प्रकृतिले नै रमणीय र सुन्दर बनाइदिएको नेपाललाई अमेरिका, जापान र सिङ्गापुर भन्दा आकर्षण र पर्यटकीय गन्तव्यको एक नम्बर बनाउन सकिने धेरै सम्भावना छन्। नेपालको चिन्ता र परदेशको पीडा बोकी आफ्नो जन्मभूमि छोडेर विदेश पलायन हुन कसैलाई रहर हुँदैन।

राज्यले विकासका पूर्वाधारहरू बाटो, बिजुली, खानेपानी तथा मानिसका न्यूनतम आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गरिदिन सक्नुपर्छ नेपालीले आफ्नै देशलाई स्वर्ग र विश्वको सपनाको मुलुक बनाउँछन्। प्रवासी नेपाली भौतिक रूपमा जतिसुकै टाढा भए पनि उनीहरूको मन–मुटु नेपालमै रहेको हुन्छ। नेपालकै कामना गरेका हुन्छन्। भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?