+
+

पूर्वेली तिक्खर स्वाद : सारगेम्बा खाने कि धराने कालो बंगुर ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १३:३०

२७ जेठ, काठमाडौं । बाह्रैमास भुईंकुहिरोले ढाक्ने भूगोल । हरक्षण बहने चिसो सिरेटो । यस्तो बेला कस्तो परिकारले तपाईंको जिब्रो लोभ्याउँछ ?

पीरो, अमिलो वा भनौं तिक्खर स्वादको । त्यसो भए तपाईंले सारगेम्बाको स्वाद चाख्न सक्नुहुन्छ वा वाचिपाले । धराने कालो बंगुरको सेकुवादेखि हिलेको तोङ्वासम्मले आफ्नो स्वाद फेर्न सक्नुहुनेछ ।

भनिहालौं, यी पूर्वेली खाँट्टी व्यञ्जन हुन् । त्यसो त पूर्वेलीको चुल्होमा पाक्ने यस्ता केही व्यञ्जन छन्, जुन अन्यत्र पाइँदैन । यसो भनौं, यी स्वाद पूर्वेली हावापानी, उत्पादन र पाककलाको आफ्नै संयोजन हो ।

वाचिप्पा

मौलिक किरात परिकार हो वाचिप्पा । किरात समुदायको भान्सामा पाक्ने परम्परागत परिकार वाचिप्पाको लोकप्रियता बढ्दै गइरहेको छ ।

वाचिप्पा ‘वा’ र ‘चिप्पा’ मिलेर बनेको शब्द हो । किरात बान्तवा राई भाषामा ‘वा’ भनेको कुखुरा र ‘चिप्पा’ भनेको कालो अर्थात् कुखुरा मारेर पोल्दा मसिनो भुत्लाबाट निस्कने कालो अंश भन्ने बुझिन्छ । चाडपर्वमा घरमा खान र विशेषगरी पाहुनाको सत्कारको लागि पकाइने परिकार हो वाचिप्पा ।

हल्का तितो तर स्वादिलो हुने वाचिप्पा किरातीहरूको विशेष मौलिक खाना हो । वाचिप्पा कुखुराको मसिनो भुत्ला डढाएर निकालिने धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेंटा र खुट्टा मिलाएर पकाइन्छ । त्यसमा चामल राखेर पकाउने अथवा पाकेको भात मिसाइन्छ । आवश्यकता अनुसार नुन, खुर्सानी, तेल र मसला प्रयोग गर्न सकिन्छ । मसलामा अदुवा, लसुन, जिरा–मसला मात्रै प्रयोग गरिन्छ । वाचिप्पा बनाउन लोकल कुखुरा नै आवश्यक पर्छ ।

धराने कालो बंगुर

धराने कालो बंगुर सहरको आकर्षक रेसिपीमा पर्छ । यसले युवाको मात्रै नभई बुढ्यौली लागेकाहरुलाई समेत तानेको छ ।

धराने बंगुरको सेकुवा, भुटुवा र डामेको पोर्क निकै प्रचलित छ । सहरका हरेक गल्लीगल्लीमा अहिले धराने बालो बंगुरका परिकार उपलब्ध छन् ।

पूर्वी पहाडका किरातीहरु प्रकृतिको पूजा गर्छन् र बंगुरलाई देउता मान्छन् । बँदेलसँग किरातीको सम्बन्ध आदिमकालदेखि अहिलेसम्म रहँदै आएको छ ।

धराने कालो बंगुरका परिकार धरानबाट सुरु भएको हो । अहिले धराने कालो बंगुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रचलित ब्रान्ड बनेको छ । धराने कालो बंगुरको सेकुवा सबैभन्दा लोकप्रिय परिकारमा पर्छ ।

बंगुरको मासु किरात समुदायमा सबैभन्दा लोकप्रिय मासु हो । बंगुरको मासु खान किरात तथा राई लिम्बू समुदायलाई कुनै चाडपर्व कुर्नु पर्दैन । उनीहरुले यसलाई विभिन्न सांस्कृतिक कार्यक्रममा समेत प्रयोग गर्छन् ।

अहिले बजारमा धराने कालो बंगुरको परिकार पाइने होटल तथा रेस्टुरेन्टमा ग्राहकको भीड लाग्न थालेको छ । बंगुरको परिकार धेरैले मन पराएका छन् ।

किनेमा

किनेमा भटमासबाट बनाइने परिकार हो । यो पूर्वी नेपालका लिम्बु जातिका मौलिक र मुख्य परिकारमा पर्छ । किनेमालाई लिम्बूका साथै याक्खा, राई र सुनुवार जातिले समेत प्रयोग गर्छन् ।

किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटेर पानीमा उसिनिन्छ । उसिनिसकेपछि त्यसलाई फैलाएर मान्द्रो वा केराको पातमा राखिन्छ । केही सेलाएपछि राम्रो खालको खरानी राखेर मोलेर डालो वा थुन्छेमा केराका पात वा प्लाष्टिक बिछ्याई अगेना छेउमा राख्ने गरिन्छ । जसलाई सुम राख्नु भनिन्छ ।

सुम राखेको दुई दिनपछि किनेमा तयार हुन्छ । सुम खोल्दा सेता रेसा देखिन्छन् र छुँदा हातमा लेस्सिन्छ भने किनेमा सप्रेको मानिन्छ । किनेमा तयार भएपछि घाममा सुकाएर राखिन्छ र आवश्यकता पर्दा झिकेर पकाउन र कोसेलीका रुपमा प्रयोग गर्न सकिन्छ ।

किनेमा जाडोयामका लागि राम्रो मानिन्छ । यसको सुप बनाएर खानुका साथै तरकारी र दालमा राखेर समेत खान सकिन्छ ।

सारगेम्बा

सारगेम्बा पूर्वी नेपालको प्रसिद्ध परिकार हो । यसलाई लिम्बू जातिको विशेष परिकारका रुपमा लिइन्छ ।

सुंगुरको आन्द्रामा मुटु, कलेजोको किमा बनाएर सारगेम्बा तयार गरिन्छ । सारगेम्बामा मुटु, कलेजोको किमासँगै पकाएको चामल समेत राख्ने गरिन्छ ।

ताप्लेजुङको सुकुटी, हिलेको तोङबा

धनकुटाको हिले, हिलेको तोङबा

तोङ्बाको रसैले झुमझुम बनायो

झुमझुम बनायो मलाई

तोङ्बाको रसैले झुमझुम बनायो

गायक राजेशपायल राईका यी शब्दले ताप्लेजुङको सुकुटी र हिलेको तोङ्वाको महत्व झल्काउँछ । धनकुटाको हिलेले तोङबाको पहिचान बनाएको छ भने ताप्लेजुङले सुकुटीको ।

हिले पुग्ने बित्तिकै तोङबाको सालिकले स्वागत गर्छ जुन त्यहाँको पहिचान हो । धनकुटा सदरमुकामबाट १३ किलोमिटर उत्तरमा रहेको हिले बजार पर्छ । यहाँ पुग्ने हरेकले सुकुटी र तोङबाको स्वाद लिन रुचाउँछन् ।

तोङबा हिलेको पहिचान बनेको छ । १० लाख रुपैयाँमा बनेको तोङबा पार्कलाई हिलेको मौलिकताका रुपमा हेरिन्छ । तोङबा बनाउन कोदोको प्रयोग गरिन्छ । सुरुमा कोदोलाई पकाएर त्यसमा जंगली जडिबुटीबाट तयार पारिएको मर्चा मिसाएर केही दिन गुम्स्याइन्छ । जसलाई ओथारा राखिनु भनिन्छ । कर्चा राखेर तयार भएको कोदोलाई भाँडामा राखेर तातोपानीले ढड्याउने गरिन्छ । सुकुटी सबैभन्दा बढी प्रयोग तोङबासँग खाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?