+
+
आईसीसी विश्वकप लिग टू :

आदिलको ‘ड्रिम डेब्यू’

आदिलले पारसको झल्को दिए: मुख्य छनोटकर्ता चौधरी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ २९ गते १८:१०

२९ जेठ, काठमाडौं । राष्ट्रिय टिमबाट डेब्यू हरेक खेलाडीका लागि आफैंमा एउटा ठूलो उपलब्धी हो । पहिलो जिम्मेवारीकाे चुनौती पूरा गर्न सक्नु अविष्मरणीय उपलब्धी हो । नेपाल क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्ने ३२ औं खेलाडी बनेका आदिल अन्सारीले शनिबार राती अमेरिकाविरुद्ध त्यस्तै अविष्मरणीय उपलब्धी हात पारे ।

टस जितेर ब्याटिङ गरेको नेपालका लागि ब्याटिङ र बलिङ दुवैमा शानदार देखिएका आदिल रोमाञ्चक बराबरीमा सकिएको खेलका नायक बने । उनले नेपालको सिनियर टोलीबाट ‘ड्रिम डेब्यू’ गरे ।

आदिलको २४ बलमा ३६ रन सहयोगमा नेपालले २७४ रन बनायो । जवाफमा अमेरिकालाई २७४ रनमै रोक्न आदिलले अन्तिम ओभरमा शानदार बलिङ गरे । समग्रमा उनले ४५ रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभरमा उनले जबर्जस्त प्रदर्शन गरेपछि नेपालले अमेरिकाविरुद्ध हार टारेको हो ।

अमेरिकालाई अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको थियो र हातमा ६ विकेट नै बाँकी थियो । यस्तो अवस्थामा एक बाउन्ड्रीले पनि खेल सजिलै अमेरिकाको पक्षमा जाने थियो ।

तर, आदिलले अन्तिम ओभरमा ५ रनमात्र दिएर १ विकेट लिए र खेल बराबरी भयो । बराबरीसँगै दुवै टिमले १-१ अंक बाँडे ।

अन्तिम ओभरको सुरुको तीन बलमा उनले १–१ रन दिए । चौथो बल नो बल भयो। त्यसपछि प्राप्त फ्री हिटमा एक रन मात्र दिएपछि अमेरिकाले स्कोर बराबर गरेको थियो । अब दुई बलमा अमेरिकालाई जितका लागि १ रनमात्र चाहिएको थियो । खेल नेपालको नियन्त्रणबाहिर गइसकेको थियो ।

तर, डेब्यू खेलमा अन्तिम ओभरको बलिङ जिम्मेवारी सुम्पिएर कप्तान सन्दीप लामिछानेले गरेको विश्वासलाई आदिलले तोडेनन् । उनले अन्तिम दुई बलमा अमेरिकालाई कुनै रन बनाउन दिएनन् । बरु विकेट लिए । पाँचौ बलमा आरोन जोन्सलाई उपकप्तान रोहित पौडेलबाट क्याचआउट गराए । छैटौं बलमा राहुल जरिवाला रनआउट भए ।

‘अन्तिम ओभरमा प्रेसर त थियो तर दाइहरुले सहयोग गर्नुभयो । ममा विश्वास जगाउनुभयो,’ खेलपछिको पत्रकार सम्मेलनमा आदिलले भने, ‘नो बल फालेपछि नर्भस थिएँ । तर सन्दीप दाइले धेरै सपोर्ट गर्नुभयो । भाग्यवश अर्को बलमा राम्रो भयो ।’

जितिसकेको खेल बराबरीमा टुंगिएपछि अमेरिका निराश बन्यो, टेक्सासस्थित मूसा रंगशालामा उपस्थित करिव एकहजार नेपाली समर्थकको खुसी हेर्नलायक थियो । रातभरको निद्रा मारेर नेपालबाट प्रत्यक्ष प्रशारण हेरिरहेका क्रिकेटप्रेमीको खुसी पनि उस्तै ।

कप्तान लामिछानेले हारनजिक पुगेको खेल बराबरी गर्न पाउनु नै जित जस्तो बताए । अमेरिका कप्तान मोनाक पटेले खेल जित्न नसक्दा निराशा व्यक्त गरे ।

‘अन्तिम ओभरमा उनले उत्कृष्ट प्रदर्शन गरे । कप्तानको रुपमा म यो भन्दा धेरै माग्न सक्दिन । यो क्रिकेट हो र, यहाँ अनिश्चितता भइरहन्छ’, सन्दीपले भने ।

ओपनर स्टेभेन टेलरले शतकीय पारी खेल्दा पनि अमेरिकालाई जिताउन सकेनन् । आदिल अन्सारी खेलको नायक बने ।

आदिलले गएको चैतमा घरेलु मैदानमा भएको पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको शृंखलाबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन् ।

घरेलु प्रतियोगिता गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिममा प्रवेश गरेका आदिलले टी–२० डेब्यूमै ११ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाएका थिए । टी-२० डेब्यूमा पाँचौं नम्बरमा ब्याटिङ गरेका उनले बलिङ गर्न पाएनन् ।

अलराउण्ड प्रदर्शन

टी-२० डेब्यूमा जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यूमा पनि उनले पाँचौ नम्बरमै ब्याटिङ गरे । दीपेन्द्र सिंह ऐरी र आरिफ शेख बाँकी छँदै उनले माथिल्लो क्रममा ब्याटिङको अवसर पाएका थिए । ‘प्रशिक्षकले मलाई तिमीले आफ्नो नेचुरल खेल खेल भन्नुभएको थियो । अरु केही सोचेको थिइनँ’, उनले भने ।

हुन त अमेरिकाविरुद्ध नेपालका लागि तीन खेलाडीले अर्धशतक पूरा गरे । तर, नेपालले २७४ रन बनाउँदा आदिलको भूमिका उत्कृष्ट थियो । उनले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि आदिल र रोहितले मात्र छक्का प्रहार गरेका थिए । उनले रोहितसँग चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । जुन नेपालको सर्वाधिक साझेदारी हो ।

नेपालबाट आदिलसहित तीन खेलाडीले मात्र सयको स्ट्राइक रेटमा ब्याटिङ गरे । त्यसमा पनि आदिलको सबैभन्दा धेरै १५० थियो । नेपालको नेट रनरेट बढाउन उनले भूमिका खेले ।

नेपाली टिममा अनुभवी र चर्चित बलर छन् । तर, अमेरिकाविरुद्ध डेब्यूटेन्ट आदिल नै प्रभावशाली देखिए । अन्तिम ओभरअघि ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिएका थिए । त्यसमा पनि उनले शतकधारी टेलरलाई ४४औं ओभरमा कप्तान सन्दीपबाट क्याचआउट गराएका थिए । यस्तै ४६औं ओभरमा गजानन्द सिंहलाई बोल्ड गरे । अन्तिम ओभरको कथा त इतिहास नै बन्यो ।

डेब्यूमा उनले ९ ओभर बलिङ गर्दै ४५ रन खर्चेर ३ विकेट लिए । अलराउण्ड प्रदर्शनले नै उनलाई प्लेयर अफ दि म्याच बनायो ।

उमेर समूहबाट उदाएका आदिल

गत मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)ले लामो समयपछि यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । आदिल त्यहीँबाट उदाएका हुन् । त्यसअघि उनको चर्चा खासै थिएन । उनी सही समयको पर्खाइमा थिए र त्यसका लागि मिहिनेत गरिरहेका थिए । मौका पाएपछि उनले आफूलाई प्रमाणित गरे ।

बारा सिम्रौनगढका १८ वर्षीय आदिलले यू–१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध ४३ बलमा ७ चौका र ६ छक्का मद्दतमा अविजित ८७ रन बनाएपछि धेरैको नजरमा परेका हुन् । उनकै उत्कृष्ट इनिङ्समा सुदूरपश्चिमका अर्जुन साउदको शतकलाई छायामा पार्दै मधेश प्रदेशले १९१ रनको लक्ष्य ५ बल अगावै पूरा गरेको थियो ।

त्यसअघि उनले यू-१९ क्षेत्रीय प्रतियोगिता राम्रो गर्दै प्रदेशको टिममा स्थान बनाएका थिए । छनोटमा पनि उनको ब्याटिङ त्यस्तै थियो । स्थानीय प्रतियोगितामा पनि उनको ब्याट राम्रै चलिरहेको ।

राष्ट्रिय प्रतियोगिताको प्रदर्शनका आधारमा यू–१९ राष्ट्रिय टोलीमा प्रवेश पाएका उनले युएईमा भएको एसिया कपमा कुवेतविरुद्ध ४९ रनसहित ३ खेलमा ५७ रन जोडे । बलिङतर्फ ३ विकेट लिए ।

एसिया कपबाट फर्किएपछि मधेश प्रदेशबाटै प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता खेले । त्यो उनको सिनियरतर्फ डेब्यू राष्ट्रिय प्रतियोगिता थियो । अघिल्लो संस्करणमा बेन्चमै सीमित रहेका आदिलले यसपल्ट एपीएफविरुद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रन बनाएका थिए ।

आदिलको आत्मविश्वास देखेरै यू–१९ टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ क्यानका खेलाडी छनोट समिति संयोजक दीपेन्द्र चौधरी बताउँछन् ।

‘त्यतिबेला सेलेक्सन कमिटीमा उत्तम (कर्माचार्य) दाइहरु हुनुहुन्थ्यो । उहाँहरुले आदिलको आत्मविश्वास देखेर नै ल्याउनु भएको थियो । अहिलेसम्म पनि त्यो कायम छ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘सुरुमा यू-१९ का लागि त्यही देखेर छनोट गरियो । यू-१९ एसिया कपमा पनि राम्रो खेलेर आएका थिए । त्यसपछि आन्तरिक म्याचहरुमा पनि राम्रो गरे । टी–२० डेब्यू विष्फोटक क्षमता देखाए । उनले कन्फिडेन्स देखाएका थिए, त्यही अनुसार गरे ।’

अमेरिकाविरुद्धको डेब्यू खेलमै आफ्नो शैलीलाई कायम राखेर प्रभावशाली प्रदर्शन गर्न सफल भएकोमा छनोटकर्ताका रुपमा चौधरी खुसी छन् । ‘विशेष गरी डेथ ओभरमा दिएको जिम्मेवारी पूरा गरे । ६ रन डिफेण्ड गरे । आफ्नो आत्मविश्वासलाई कायम राखे । राम्रो खेलाडी मात्र भएर हुँदैन आत्मविश्वास हुनुपर्छ । यसमानेमा आदिलले पारसको झल्को दिन्छ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?