+
+
असुरक्षित स्पर्श :

जब गलत नियतले कसैले छुन खोज्छ…

अंगद सिंह अंगद सिंह
२०७९ जेठ ३० गते १४:३९

३० जेठ, काठमाडौं । बलिउड अभिनेता आमिर खानले ‘सत्यमेव जयते’ कार्यक्रममा ‘गुड टच’ र ‘ब्याड टच’बारे बालबालिकालाई सजिलो गरी बताए । पाँचदेखि १० वर्षसम्मका बालबालिकालाई कार्यक्रममा बोलाएर उनले गलत छुवाइबारे बताए ।

आमिरले शरीरमा तीनवटा अंग संवेदनशील हुने भन्दै मानवआकृति नै देखाएका छन् । जसमा छाती, तिघ्राबीचको भाग र पछाडिको भाग छन् । उनले यी अंग संवेदनशील भएको भन्दै बालबालिकालाई कसैलाई छुन नदिन सिकाएका छन् । कसैले जबरजस्ती छुन खोजे पनि त्यसको प्रतिकार गर्न भनेका छन् ।

कसैले नियतबस आफ्नो संवेदनशील अंगमा छोए वा छुने प्रयास गरेमा चिच्याउन, त्यहाँबाट भागेर सुरक्षित स्थानमा जान र विश्वास गर्ने परिवारको सबैभन्दा नजिकको सदस्यलाई भन्न आमिरले बालबालिकालाई सिकाएका छन् ।

‘कसैले प्रेमभावले अंकमाल गर्न सक्छन् । तर तपार्इंलाई त्यो छुवाइले असहज महसुस हुन्छ र यो गलत छुवाइ हो भन्ने लाग्छ भने त्यसको प्रतिकार गर्नुपर्छ,’ आमिरले भनेका छन् ।

गत जेठ १६ गते काठमाडौंको सिभिल मलमा आफू अभिनित फिल्म ‘कबड्डी ४’को प्रदर्शनका क्रममा पुगेकी अभिनेत्री मिरुना मगरले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै फिल्म हेर्न त्यहाँ पुगेका फुर्वा तामाङलाई थप्पड हानिन् ।

गलत नियतले छोएको भन्दै तामाङलाई मिरुनाले प्रहरीमा बुझाइन् र उनी एक दिन हिरासतमा समेत बसे । दोस्रो दिन तामाङले माफी मागेपछि दुवैबीच सहमतिपत्रमा हस्ताक्षर भयो । मिरुनाले गलत व्यवहारप्रति तत्कालै आवाज उठाउन अपील गरिरहेकी छन् ।

शनिबार काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षालयका वार्डेन रामजी बस्नेत पक्राउ परे । यी त प्रतिनिधि घटना मात्रै हुन् । यस्ता थुप्रै घटना छन् जहाँ बालिका तथा महिलाले ‘ब्याड टच’को शिकार हुनु परेको छ ।

सबै छुवाई एकै किसिमको हँदैन । कसैले राम्रो काम गरेको भन्दै टाउको थपथपाउँछ । हात मिलाउँछ भने त्यसलाई राम्रो छुवाई मान्न सकिन्छ । तर कसैले जानाजान घाँटी, तिघ्रा, पेट पैताला जस्ता भागमा छुन्छ र तपाईंलाई असहज महसुस हुन्छ भने त्यसलाई गलत छुवाइ अर्थात् ‘ब्याड टच’ भनिन्छ ।

बालबालिकाहरुलाई आमिरले कसैले गलत नियतले संवेदनशील अंग छोएमा आमाबुवाका साथै स्कुलका शिक्षक-शिक्षिकालाई पनि भन्न भनेका छन् ।

‘गुड टच’लाई नेपालीमा सुरक्षित स्पर्श र ‘ब्याड टच’लाई असुरक्षित स्पर्श भनिन्छ । आमाबुवा सबैभन्दा नजिकका र विश्वासिला भएकाले बालबालिकालाई नुहाइदिंदा कहिलेकाहीं संवेदनशील अंगमा हात लाग्न सक्छ । यस्तै चिकित्सकले पनि यस्ता संवेदनशील अंग छुन सक्छन् । तर आमाबुवा सामुन्ने भए मात्रै चिकित्सकले त्यस्ता अंगमा छुन सक्छन् । यसबाहेक त्यस्तो अंगमा छुने अधिकार कसैलाई हुँदैन । यो नितान्त आफ्नो अधिकार हो ।

‘गुड टच’ले बालबालिकामा सकारात्मक भावनाको विकास गराउनुका साथै काम गर्ने ऊर्जा र हौसला प्रदान गर्छ भने ‘ब्याड टच’ले मानसिक समस्या निम्त्याउँछ । यसले बालबालिकामा डराउने, झोक्राउने जस्ता समस्या देखिन सक्छन् ।

त्यसैले यस्तो विषयमा अभिभावक सचेत हुनु जरुरी छ । आफ्ना बालबच्चासँग धेरै समय बिताउँदै खुलेर कुरा गरे उनीहरुले ‘गुड टच’ र ‘ब्याड टच’का विषयमा कुरा बताउन सक्छन् । उनीहरुले भोगेका र सहेका दुर्व्यवहारका घटना भए उनीहरुले आफ्ना अभिभावकलाई सुनाउँछन् ।

बालबालिकालाई कसैले गलत नियतले छोइरहेको छ भन्ने कुरा कहिलेकाहीं घरपरिवारले विश्वास नगर्न सक्छ । कारण, त्यस्तो नियतवस छुने व्यक्ति आफन्त वा चिनेजानेकै हुन सक्छन् । यस्तो अवस्थामा अभिभावकले ख्याल गर्न आवश्यक हुन्छ ।

साइको थेरापिस्ट तथा साइको सोसल काउन्सिलर क्षितिजकिरण श्रेष्ठका अनुसार जबरजस्ती शरीरका अंगहरु चलाउन खोज्नु, चुम्बन गर्न खोज्नु, यौन क्रियाकलाप सम्बन्धी भिडियो देखाउनु र गोप्य अंगमा हात हाल्नु वा छुनु ‘ब्याड टच’ हो ।

वयस्क व्यक्तिले गलत र सही छुवाइ छुट्याउन सक्ने भए पनि बालबालिकाले भने यसको शिकार हुनसक्ने श्रेष्ठ बताउँछन् ।

‘हामीले घर तथा स्कुलमा गलत र सही छुवाइ के हो ? कुन कुन अंग संवेदनशील हुन् ? छुवाइको नियत के हो र कस्तो छ ? भनेर बालबालिकालाई सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘गलत र सही छुवाइबारे बालबालिकालाई तस्वीर देखाएर सिकाउन सके उनीहरु सजिलै यसबारे बुझ्न सक्छन् ।’

बालबालिकालाई कसैले गलत नियतले छोइरहेको छ भन्ने कुरा कहिलेकाहीं घरपरिवारले विश्वास नगर्न सक्छ । कारण, त्यस्तो नियतवस छुने व्यक्ति आफन्त वा चिनेजानेकै हुन सक्छन् । यस्तो अवस्थामा अभिभावकले प्रेमभावले मायाले गरेको होला भन्ने ठानिरहेका हुन्छन् । तर यो कुराले बालबालिकालाई असर पारिरहेको हुनसक्छ । यस्तो अवस्थालाई अभिभावकले ख्याल गर्न आवश्यक हुन्छ ।

‘कतिपय यौन दुर्व्यवहार घरबाटै हुन्छन् । यस्तो अवस्थामा घरका सदस्यलाई मात्रै नभनी स्कुलका शिक्षक-शिक्षिकालाई पनि बालबालिकाले आफूले भोगिरहेको व्यवहारबारे बताउने वातावरण बनाइदिनुपर्छ,’ श्रेष्ठ भन्छन् ।

परिवारका सदस्यले चिनाएका बाहेक अन्यसँग नजिक नहुने, उनीहरुको काखमा नबस्ने तथा दिएका खानेकुरा नखाने सिकाउनाले यस्ता समस्या कम हुने उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, ‘गलत छुवाइको पछाडिको मुख्यकारण नै यौन दुर्व्यवहार हो । गलत नियतले छुने वा छुन खोज्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यसमा मनोवैज्ञानिक परामर्शको पनि आवश्यकता हुन्छ ।’

बालबालिकालाई ‘ब्याड टच’बाट बचाउन उनीहरुको खेल्ने उमेरसमूहमा पनि ध्यान दिनुपर्छ । आफूभन्दा ठूलो उमेरका अपरिचित व्यक्ति भए त्यहाँबाट उनीहरुलाई टाढा राख्नुपर्छ ।

बाल्यकालमा बालबालिकाले गलत छुवाइका बारेमा निर्धक्कसँग कुरा राख्न सके पनि उमेर बढ्दै जाँदा सामाजिक परिवेश लगायत कारण खुलेर आफ्ना भोगाइ व्यक्त गर्न सक्दैनन् ।

‘ब्याड टचबाट बच्नका लागि बालबालिकालाई उनीहरुले बुझ्ने भाषामा छुवाइबारे जानकारी दिनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘कसैले गलत तरिकाले छुन्छ वा छुन खोज्छ भने त्यो कुरा निर्धक्क भएर अभिभावक तथा विश्वासिलो मान्छेलाई भन्न डराउनु हुँदैन भनेर भन्नुपर्छ । आफूले उनीहरुलाई जहिल्यै साथदिने साथमै रहने विश्वास दिलाउनुपर्छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?