+
+

‘गठबन्धनको ढोका बन्द गरेका छैनौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ११:४०

२ असार, काठमाडौं । स्थानीय तहको निर्वाचनपछि वाम गठबन्धनको बहस फेरि सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता र सम्वाद पनि चलिरहेको छ भने एमालेकै घनश्याम भूसाल लगायतका नेताहरुले वाम गठबन्धनको विषयमा बहस सुरु गरेका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि गठबन्धनप्रति निरपेक्ष असहमति नभएको बताउँछन् । भन्छन्, ‘गठबन्धन निरपेक्ष रूपले चाहिंदैन भन्ने होइन । हाम्रो भनाइ यत्ति हो, जे गरेर पनि चुनाव जित्नुपर्छ भन्ने उद्देश्यमा गठबन्धन हुनुभएन । मूल्यमा आधारित हुनुपर्‍यो, न्यूनतम साझा अवधारणामा आधारित हुनुपर्‍यो ।’

गठबन्धनको सबभन्दा ठूलो चुनौती भनेको त्यसभित्र निहित चरम अवसरवाद भएको उनी बताउँछन् । गठबन्धन गर्ने हो भने त्यो मूल्यमा आधारित हुनुपर्ने बताउँदै ज्ञवाली भन्छन्, ‘तर नेकपा एमाले कसैलाई एकथान प्रधानमन्त्री बनाउन आफ्नो ढाड निहुराउने पक्षमा छैन ।’

प्रस्तुत छ, एमाले उपमहासचिव ज्ञवालीसँग अनलाइनखबरकर्मी बिनु सुवेदीदिपेश शाहीले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय तह निर्वाचनको नतिजा के आयो भन्ने सबैलाई थाहा छ । एमालेले आफूलाई प्रमुख शक्ति भएको दाबी गरेको छ । परिणाम स्वीकार गर्न किन गाह्रो भएको ?

हामीले तथ्यमाथि आधारित भएरै यो निष्कर्ष निकालेका हौं । तथ्यले त्यही भन्छ । तथ्यलाई हामीले स्वीकार गर्न नसक्नु, गर्नु-नगर्नु या तथ्यको आफ्नो ढंगले व्याख्या गर्नु हाम्रो आफ्नो कुरा हो ।

परिणाम के देखियो भने देशभरि खसेको कुल मतलाई हामीले चारवटा दृष्टिकोणबाट विश्लेषण गरेका छौं । पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षले प्राप्त गरेको मत र एक जना मतदाताले सातजना प्रतिनिधिलाई दिएको समग्र मत । सबै मतको फरक-फरक एंगलबाट विश्लेषण गर्दा खसेको कुल सदर मतको ३४ प्रतिशतसहित एमाले अग्रपंक्तिमा देखिन्छ । करिब ३३ प्रतिशत मतसहित नेपाली कांग्रेस दोस्रोमा छ भने करिब १२ प्रतिशत मतसहित माओवादी केन्द्र तेस्रोमा छ ।

हो, पालिका प्रमुखहरूमा हामीले गुमाएका छौं । हामीले विगतमा २९६ पालिका जितेका थियौं, अहिले हाम्रो संख्या घटेर २०६ भएको छ । हामीले ३११ उपप्रमुख जितेका थियौं, अहिले २४० मा सीमित भएको छ । त्यसलाई पनि हामीले विश्लेषण गर्‍यौं र निष्कर्ष निकाल्यौं, आम रूपमा जनमत इन्टयाक्ट छ । बरु कतिपय सन्दर्भमा अझ बढेको छ । २०७४ को निर्वाचनको हिसाबले भन्ने हो भने हामीले २१ प्रतिशत मत बढाएका छौं । कांग्रेसले १९ प्रतिशत बढाएको छ । तर त्यो मत पालिका प्रमुखहरूको रिजल्टमा अनुवाद हुन सकेन । त्यसका निम्ति के-के कारण रहे भन्ने पनि हामीले विश्लेषण गरेका छौं ।

कारण के-के रहेछन् त ?

आन्तरिक र बाह्य दुईवटै कारण छन् । बाह्य कारणमा विगत करिब बीस वर्षदेखि कांग्रेस र एमाले हाराहारीका शक्तिहरू हुन् । पछिल्लो दुईवटा चुनावमा एमाले कांग्रेसभन्दा माथि छ । तर तराजुमा बराबरी वा थोरै तल-माथि भएको शक्तिमाथि अर्को केही शक्ति जोडिंदै गएपछि परिणाम फरक पार्ने नै भइहाल्यो ।

गठबन्धन मात्रै हुँदा हामीलाई त्यति धेरै चिन्ता थिएन । तर, त्यसले विभिन्न ठाउँमा राज्यशक्तिको चरम दुरुपयोग गरेको छ । सबै ठाउँको परिणामलाई हामीले राज्य शक्तिको दुरुपयोग भनेका छैनौं, तर केही ठाउँमा मान्छेहरूको हत्या भएको छ, बुथ क्याप्चर गरिएको छ, पैसाको खोलो बगाइएको छ । एमाले र अरू कतिपय विपक्षी उम्मेदवारमाथि केन्दि्रत रहेर घेराबन्दी गरिएको छ र बम विस्फोट गराइएको छ, जनताको बीचमा पुग्नबाट वञ्चित गराइएको छ । यी पनि कारण रहे । त्यसकारण गठबन्धन र गठबन्धनले गरेको राज्यसत्ताको दुरुपयोगलाई हामीले बाहृय कारणका रूपमा लिएका छौं ।

आन्तरिक कारणमा कतिपय ठाउँमा हाम्रा उम्मेदवार छनोटमा केही समस्या देखियो । त्यसले गर्दा स्थानीय तहमा उम्मेदवारका आकांक्षीहरूको बीचमा मतभिन्नता सिर्जना भए । अन्तरविरोधहरूको व्यवस्थापन समयमा नै हुन नसक्दा एक लयका साथ हामी निर्वाचनमा जान सकेनौं । कहीं पार्टी पंक्तिभित्र एकदमै विकृति देखापर्‍यो, जहाँ आफूले मन नपरेको उम्मेदवार भइसकेपछि त्यसलाई हराउनका लागि केही मान्छेहरू प्रयोग भएको पनि घटना देखिए ।

अर्को, जुन अनुपातमा हामीले पार्टीमा प्रवेश गरायौं, उनीहरूलाई समग्र रूपमा मोबिलाइज गर्ने, कामको जिम्मेवारी दिने र पार्टी प्रवेशलाई जनमतमा रूपान्तरण गर्नुपर्नेमा आन्तरिक व्यवस्थापनका केही कमजोरी रहे । त्यसले गर्दा जनमतमा एक नम्बर पार्टी हुँदाहुँदै पनि सिट संख्यामा हामी एक नम्बर हुन सकेनौं ।

तपाईंले भनेजस्तो गठबन्धनका कारण अहिलेको परिणाम आयो भन्ने मान्ने हो भने पनि तालमेल आवश्यक रहेछ नि होइन ?

कहिलेकाहीं सिद्धान्तहीन गठबन्धन बन्छन् । त्यसले तत्कालिक लाभ हानि पनि हुन्छ । तर राजनीतिलाई एकदिनको उपलब्धि र घामछायाँका रूपमा हेर्नु हुन्न ।

यो गठबन्धनका कारण मुलुकको लोकतान्त्रिक प्रक्रियामा तीन/चार वटा गम्भीर नकारात्मक प्रभाव परेको म देख्छु । लोकतन्त्रको मूल विशेषता वा मर्म भनेकै आफ्ना स्वतन्त्र विचारहरूसहित जनतामा जाने र जनतालाई त्यो विचार अथवा त्यो उम्मेदवार छनोट गर्न पाउने एउटा निर्वाध स्वतन्त्रता दिनु हो । तर गठबन्धनले जनतालाई त्यो विचार निर्वाध ढंगले रोज्ने स्वतन्त्रताबाट बञ्चित गरेको छ । कतिपय साथीलाई त्यो गठबन्धन मन परेको छैन, तर भोट हाल्नुपरेको स्थिति छ ।

दोस्रो, राजनीति विस्तारै-विस्तारै कहाँनेर खुम्चिन थाल्यो भने निर्वाचन भनेकै जित्ने हो र जित्नका लागि जेसुकै गर्नुहोस् । कतिसम्म भने पुस्तैनी कांग्रेस हुनुहुन्छ, तर एउटा वडा सदस्य पाउन हँसिया हथौडा चुनाव चिह्न लिएर लड्नुभएको छ । युद्धमा नाफाको जिन्दगी बाँचेको भन्ने माओवादीका नेता-कार्यकर्ता एक थान वडा सदस्यका लागि रूख चुनाव चिह्न लिएर लड्नुभएको छ । यसले लोकतन्त्र बलियो बनायो कि कमजोर ?

तेस्रो, चुनावमा फेयर गेम भएन । हाम्रा कामहरू मन नपराएर जनताले दिने म्यान्डेट स्वीकार्न हामीलाई कुनै आपत्ति छैन । तर जसरी पनि जित्नुपर्छ वा सत्तालाई जिताउनुपर्छ भन्ने नाममा आचारसंहितालाई सत्ताले अचार बनायो । मौन अवधिमा चार/चार जना मन्त्रीहरू गएर मतदातालाई मनोवैज्ञानिक दबाव दिनुभयो । सेनाको हेलिकप्टर लिएर प्रधानमन्त्री उड्नुभयो, निर्वाचन आयोगले एकपटक यसो त गर्न मिल्दैन नि भनेर भनेन । एमाले बलियो भएको ठाउँमा सोची बुझी नै निर्वाचन बिथोल्ने, कमजोर भएको ठाउँमा क्याप्चर गर्ने काम भए । निश्चित व्यक्तिहरूको स्वार्थमा कहाँ रद्द गरेर पुनः मतदान गराउने र कहाँ नगराउने भन्नेसम्म भयो ।

त्यसैले चुनाव जित्न गठबन्धन चाहिन्छ भन्ने सत्य होइन । गठबन्धनको नाउँमा राजनीतिलाई सत्ता प्राप्तिमा बदल्न खोजिंदैछ, त्यो चिन्ताको विषय हो । परिणामप्रति हामीलाई कुनै चिन्ता छैन । योभन्दा धेरै कमजोर स्थिति पनि हामीले व्यहोर्दै आएका हौं । २०६४ सालको चुनाव हाम्रा निम्ति अहिले परिणामभन्दा कहाँ हो कहाँ पीडादायी थियो, तर हामीले ‘रिभाइभ’ गरेका छौं ।

तर प्रमुख नेताहरूको शहर र पालिकाहरूमा एमाले पराजित भएको देखिन्छ । त्यसैलाई आधार मान्ने हो भने एमालेमा त्यस्तो को पदाधिकारी छ, जो गठबन्धन नभएरै जित्न सक्छ भनेर आन्तरिक मूल्यांकन पनि गर्नुभएको होला नि ?

एमाले दुब्लाएर आफ्नो खुट्टामा उभिनै नसक्ने अवस्थामा पुग्यो भन्ने सत्ता गठबन्धनको निष्कर्ष हो भने पाँच दल मात्रै होइन, आफैंले प्रतिगामी भनेको राप्रपासँग समेत मिलेर बनेको महागठबन्धन बनाउनुपर्ने खण्ड-खातिर किन पर्‍यो ? हिजो एमालेको साइज थाहा थिएन रे उहाँहरूलाई !

उहाँहरूकै भनाइअनुसार अहिले त एमाले दोस्रोमा धकेलियो । आउने चुनावमा ज्यान गए पनि गठबन्धन नछोड्ने भनेर देवी-देउता भाकल गर्नुपर्ने र एकले अर्कालाई समातेर भाकल गर्नुपर्ने खण्ड-खातिर किन पर्‍यो ? त्यसैले यथार्थ त्यो होइन ।

यथार्थ के हो भने आज जनमतका हिसाबले पनि नेकपा एमाले मुलुकको प्रमुख राजनीतिक शक्ति हो । एमाले एकदमै कमजोर भयो, ओरालो लाग्यो भनेर जुन भाष्य निर्माण गर्न खोजिंदैछ, त्यो गलत हो । बरु एमालेको यो परिणामपश्चात गठबन्धनका साथीहरू अझ बढी सशंकित हुनुहुन्छ । उहाँहरू भनेजस्तो पछार्न सकिएन, टर्च बालेर खोज्ने बनाउन सकिएन, एमाले त अहिले पनि पहिलो शक्ति नै रहेछ भन्ने मनोविज्ञानका कारणले फेरि पनि गठबन्धनलाई निरन्तरता दिने कसरत भएको हो ।

गठबन्धन त एमालेले पनि गरेको होइन र ?

हामीले मूल्यमा कहीं सम्झौता गरेनौं । नेकपा एमालेको चुनाव चिह्नलाई छोडेनौं, हाम्रा सिद्धान्तहरूलाई छाडेनौं । एमालेको चुनाव चिह्न लिएर लड्न तयार छौं । एमालेले लिएको राष्ट्रियता, समृद्धि, राजनीतिक स्थायित्व र लोकतन्त्रसँग सम्बन्धित विचारमा हाम्रो समर्थन छ भनेर केही दलहरू आउनुभयो । त्यस कारण हामीले गठबन्धन गर्‍यौं । त्यो कति फलदायी भयो, हामी हेर्दैछौं । तर, सजिलै अनुमान गर्न सकिन्छ, त्यसले हाम्रो समग्र निर्वाचन अभियान र परिणाममा तात्विक अन्तर पारेको छैन । हामी हाम्रो विचारप्रति सहमत हुनेलाई एमालेको चुनाव चिह्नमा लड्नका निम्ति लचिलो बनेका मात्रै हौं ।

यहाँ ७०० वटा पालिकामा एक्लै लड्दा ५३ वटा जतिमा तालमेल गर्नुभएको छ । त्यसको परिणामको समीक्षा त गर्नुभएकै होला । तर सूर्य चुनाव चिह्न, जसलाई पनि दिएर एमालेलाई चौतारो जस्तो बनाउनुभयो भन्ने पनि छ नि ?

जसलाई पनि भन्ने होइन । पहिलो कुरा त एमालेको चुनाव चिह्नमा लड्न ती मान्छे मात्रै तयार हुन्छन्, जसले समष्टिगत रूपमा एमालेका विचार, चुनावका मुद्दाहरूलाई समर्थन गर्छन् । यो एउटा प्रयोग थियो । जसले खोजेजस्तो परिणाम दिएन । आगामी दिनमा यसलाई कसरी लिने भनेर समीक्षा गर्दैछौं ।

गठबन्धन वा तालमेल गर्ने, संसदमा आइसकेपछि त्यही अनुसार सरकार बनाउने भन्ने परम्पराजस्तो भइसक्यो । त्यसैले आगामी संघ र प्रदेशको चुनावमा विचार मिल्ने वाम गठबन्धन किन नगर्ने भन्ने पनि छ ! त्यसमा एमालेको के छ विचार ?

गठबन्धनप्रति हाम्रो निरपेक्ष असहमति होइन । गठबन्धन निरपेक्ष रूपले चाहिंदैन भन्ने पनि होइन । हाम्रो भनाइ यत्ति हो, जे गरेर पनि चुनाव जित्नुपर्छ भन्ने उद्देश्यमा गठबन्धन हुनुभएन । मूल्यमा आधारित हुनुपर्‍यो, न्यूनतम साझा अवधारणामा आधारित हुनुपर्‍यो ।

दोस्रो, गठबन्धनप्रति नेपाली समाजको आलोचनात्मक टिप्पणी के हो भने चुनाव एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने । एउटा गीत छ नि, प्रेम एउटासँग, घरबार अर्कोसँग ! त्यो त नैतिक भएन नि ! सामान्यतया देहव्यापार गर्नेहरूले पनि निश्चित अवधिको मूल्य लिइसकेपछि त्यो मूल्यमा उनीहरू इमानदार हुन्छन् भनेर साहित्य र समाचारमा पढ्न पाइन्छ । मूल्य हातमा लिने त्यसपछि धोका दिने त गर्नुभएन ।

गठबन्धनको सबभन्दा ठूलो चुनौती भनेको त्यसभित्र निहित चरम अवसरवाद हो । हिजो नेकपा एमालेसँग सहकार्य थियो । अचानक सरकार छाड्नुभयो, कांग्रेससँग गएर चुनाव लड्नुभयो । घाम-जून रहेसम्म गठबन्धन रहन्छ भन्ने त्यतिबेला पनि सुनेका थियौं । विदेशी पाहुना आउँदा प्रचण्ड र देउवाको हात मिलाएर देश बनाउने शक्ति यही हो भनेर आशीर्वाद दिएको पनि हामीले देख्यौं । तर, अचानक के भयो थाहा छैन, एउटा पार्टीसँग सरकार हुँदाहुँदै अर्कोसँग एकीकरणको सम्झौता भयो । साझा घोषणामा चुनाव लडियो । एकीकरण पनि भयो । उद्देश्य पूरा नहुँदै त्यो एकीकरण भत्काएर फेरि अर्को गठबन्धन ।

चुनाव सकिएको छैन, एउटा पालिकामा हुन बाँकी छ । अब अमूकले दम्भ देखाए भने ठेगान लगाइदिन्छौं भन्ने अभिव्यक्ति सुनिन्छ । यो राजनीतिलाई स्वच्छ, दिगो, पूर्वानुमान गर्न सकिने चरित्र र प्रवृत्ति होइन । यो अस्थिरताको द्योतक हो ।

त्यसैले गठबन्धनले स्थिरता दिन्छ, कांग्रेसकै नेतृत्वमा देशमा समाजवाद ल्याइन्छ, राजनीतिक स्थायित्व ल्याइन्छ भन्ने केही साथीलाई लाग्छ भने त्यो बाटो रोज्न स्वतन्त्र हुनुहुन्छ । हाम्रो जम्माजम्मी एउटा आग्रह हो, त्यो गठबन्धनमा इमानदार भइदिनुहोस् । तर जो कसैले पनि अनुमान गर्न सक्छ, यो गठबन्धन नितान्त सत्ता स्वार्थका लागि अवसरवादी जगमा उभिएको छ । यस्तो गठबन्धन देशका लागि हानिकारक हुन्छ भन्ने हाम्रो भनाइ हो ।

गठबन्धनको थालनी त यहाँहरूले नै गर्नुभएको हो । र, यस्तो गठबन्धनमा तेस्रो शक्तिले चाह्यो भने पहिलो वा दोस्रो शक्तिलाई पनि ठेगान लगाउन सक्दो रहेछ, होइन ?

ठेगान पनि हेर्ने नजरियाको कुरा हो । म अहिले तपाईंसँग कुरा गरिरहँदा पूर्व फर्किएको छु, तपाईं पश्चिम फर्किनुभएको छ । मैले हेर्दा तपाईं उल्टो फर्किनुभएको छ । तपाईंले हेर्दा म उल्टो फर्किएको छु । जुन शक्ति (माओवादीले) कुनैबेला आफूले सिट्ठी लगाउँदा हावा पनि रोकिन्छ, नदी पनि ठप्प हुन्छ भन्ने भान दिन्थ्यो, नयाँ राज्यसत्ताको निर्माण गर्ने भनेर अगाडि बढेको थियो, त्यो शक्ति आज नेपाली कांग्रेस जस्ता दक्षिणपन्थी, पूँजीवादी विचार बोकेको शक्तिको सहारामा तेस्रो शक्ति भएको छ । जनमतको हिसाबले निरन्तर ओरालो लागेको छ । उसले (अरूलाई) ठेगान लगाउने भन्ने सुन्दा अलिकति हाँसो पनि लाग्छ । यो आत्मरतिको मात्रै कुरा हो ।

यदि वामपन्थी हो भने दुईवटा विकल्प छन् । पहिलो, वामपन्थी आन्दोलनलाई बलियो बनाउने, त्यसलाई मुलुकको नेतृत्वदायी भूमिकामा पुर्‍याउने वा युगले मागेका विषयहरू, सुगौली सन्धिपछि दमित नेपालको राष्ट्रियताको रक्षा, सामन्तवादको समूल अन्त्य, सामाजिक न्याययुक्त, समानतायुक्त समाजवादी समाज निर्माण सम्भव छैन भनेर पुष्पलालले विद्रोह गरेर बनाएको कम्युनिस्ट आन्दोलन र त्यसको एउटा हिस्सालाई कांग्रेसमा लगेर लगभग विलय गर्ने । साथै, कांग्रेस पहिलो भएकोमा दीपावली वा खुसियाली मनाउने । यी दुईमध्ये कुन बाटोमा जाने प्रश्न हो यो । त्यही भएर कसले ठेगान लगायो, लगाएन भन्ने कुरामा जानु जरूरी छैन ।

साढे तीन वर्ष सरकार चलाउँदा गरेका राम्रो कामलाई पूर्णता दिन बहुमत ल्याएर फेरि सरकारमा जाने भन्दै नेकपा एमाले आएको छ । त्यसका लागि त सांसदको संख्या चाहिएन ! बहुमतका लागि पनि गठबन्धन चाहिन्छ भन्ने त मनमा लागेको होला नि ?

अहिले हामी त्यो निष्कर्षमा छैनौं । नेकपा एमालेलाई अगाडि बढ्नका लागि अरू कुनै शक्तिको टेको चाहिने, कसै न कसैको बैसाखीको सहारा लिनुपर्ने ठाउँमा पुगेको छैन । यो निर्वाचनमा हाम्रा केही आन्तरिक कमजोरी रहे । स्थानीय चुनाव पहिले हुँदा कमजोरी चिन्ने मौका पायौं । त्यसलाई सच्याएर अगाडि बढ्छौं ।

यसको अर्थ गठबन्धनको ढोका बन्द गर्‍यौं भन्ने होइन । मुलुकलाई गठबन्धन आवश्यक हो भने त्यो मूल्यमाथि आधारित होस् । त्यसको लक्ष्य, उद्देश्यमा देश बनाउने कुरा होस् । मुलुकले खोजेको जस्तो राष्ट्रियतालाई सुदृढ गर्ने, लोकतन्त्रलाई साँचो अर्थमा डेलिभरी दिनसक्ने बनाउने र सुखी नेपाली, समृद्ध नेपालीको अभियानमा अघि बढ्ने हो भने हाम्रो ढोका सधैंभरि खुला छ । हामी हातेमालोका लागि तयार छौं । तर, नेकपा एमाले कसैलाई एकथान प्रधानमन्त्री बनाउन आफ्नो ढाड निहुराउने पक्षमा छैन ।

मुलुकको लोकतन्त्रको कुरा गरिरहँदा एमालेको आन्तरिक लोकतन्त्रको कुरामा पनि बारम्बार प्रश्न उठ्ने गर्छन् । एमालेको सचिवालय बैठकले पनि नेतृत्व विरुद्ध आगो ओकल्न नदिने भन्ने आशयको निर्णय गरेको छ । यसको मूल्यांकन कसरी गर्नुभएको छ ?

लोकतन्त्रलाई स्वच्छन्दताको अर्थमा बुझ्न मिल्दैन । तपाईं जुन मिडियासँग आवद्ध हुनुहुन्छ, त्यसका पनि केही मान्यता होलान्, आचारसंहिता होलान्, कोरिएका केही लक्ष्मणरेखा होलान् । यो त पार्टी हो । पार्टीभित्र जति पनि असहमति राख्न सक्नुहुन्छ, त्यसलाई कहींकतै रोकेको छैन । महाधिवेशन अगाडि केही मुद्दामा हामीभित्र छलफल थियो । महाधिवेशनले एउटा फैसला दियो, अब त्यसलाई स्वीकार गरेर जानुपर्छ । यदि करेक्सन गर्नुपर्ने भए अर्को महाधिवेशनबाट मात्र गर्न गर्छौं । किनकि पार्टीलाई सधैंभरिको वादविवाद क्लब बनाउनुहुँदैन । निर्णय भइसकेपछि हामी सबैको कर्तव्य हो कि त्यो निर्णय आˆनो सुझावअनुसार भएको होस् वा नहोस्, आफूलाई मन पर्ने होस् वा नहोस् त्यसलाई निशर्त कार्यान्वयन गर्ने मेरो दायित्व हो ।

आजभन्दा ठीक १२० वर्ष अगाडि रूसी सामाजिक जनवादी पार्टीबाट बोल्सेभिक र मेल्सेभिक भन्ने दुईवटा धार निस्के । कस्तो व्यक्ति पार्टी सदस्य बन्न मिल्छ भन्दा मेल्सेभिकवालाहरू पार्टीका नीति कार्यक्रमलाई समर्थन गरे पुग्छ भन्थे । तर, लेनिनले त्यति मात्र पर्याप्त छैन भन्नुभयो । कमिटीमा आवद्ध हुने, लेवी तिर्ने र पार्टीको निर्णय बोकेर जाने अर्थात्, कम्युनिस्ट पार्टी निर्माणमा एकदमै प्रारम्भदेखि नै पार्टी सदस्य र नेता कार्यकर्ताका अधिकार के हुन् ? त्यसका सीमा के हुन् ? भनेर उल्लेख हुन्छ ।

दोस्रो, हाम्रा विरुद्ध यत्रो घेराबन्दी छ । एउटा शक्तिविरुद्ध राजनीतिक दलहरू मात्रै होइन, मुलुकको प्रयोग नै हुनु नपर्ने अदालत, प्रयोग नै हुनु नपर्ने कतिपय संवैधानिक अंगहरू, प्रयोग नै हुनु नपर्ने स्वतन्त्र र व्यावसायिक मर्यादामा रहनुपर्ने मिडिया लगायत कतिपय संस्था र अन्य शक्तिहरूको समेत घेराबन्दी विरुद्ध हामी एउटा लडाईंमा छौं । यो बेला हाम्रा असहमति तपसिलका विषय हुन् । लडाईंको मध्य भागमा सेनापतिविरुद्ध, क्षमता, निष्ठाविरुद्ध प्रश्न गर्ने कुरालाई पार्टीभित्रको लोकतन्त्र भन्न मिल्दैन ।

पार्टीभित्रको लोकतन्त्र प्रस्फुटित हुने भनेको कम्युनिस्ट पार्टीका महाधिवेशन वा नियमित प्रक्रियामा हो, जसमा अरू पार्टीभन्दा नेकपा एमाले च्याम्पियन पार्टी हो ।

लेनिनले गरेको के हो भन्ने एउटा हो । पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी भन्नुभएको छ । माक्र्सले बारम्बार सन्देह गर पनि भन्नुहुन्छ नि !

निश्चय नै भन्नुभएको छ । तर प्रश्न गर्नु, सन्देह गर्नु र विरोध गर्नु फरक विषय हुन् । प्रश्न गर्ने पनि एउटा प्रक्रिया, समय र विधि हुन्छ ।

त्यो भनेको त केन्द्रीय, स्थायी कमिटी होला । त्यसको बैठक चाहिं कहिले बस्छन् ?

हामी क्रमशः बस्छौं । अहिलेसम्म तलबाट आएका प्रारम्भिक रिपोर्टसहित कार्यालय र सचिवालयको बैठक बस्यौं । अब केही समयपछि स्थायी समिति बैठक बस्छौं । त्यसपछि पोलिटब्यूरो र केन्द्रीय समितिका बैठक पनि आयोजना गर्छौं ।

नेकपा कालमा पार्टीको बैठक नराख्दा फेसबुकतिर लेख्नुपर्‍यो, मिडियामा गएर बोल्नुपर्‍यो भन्थे केन्द्रीय सदस्यहरू । अहिले पनि त्यही स्थिति आउन पो हो कि ?

हामीले मंसिरमा महाधिवेशन गर्‍यौं, त्यसयता केन्द्रीय कमिटीका दुईवटा बैठक सम्पन्न गर्‍यौं । सामान्यतया केन्द्रीय कमिटीको बैठक ६ महिनामा एकपटक हुने हो । हामीले त्योभन्दा पनि छिटो गरेका छौं । आवश्यक परे त्योभन्दा छिटो पनि गर्छौं । पोलिटब्यूरो गठन अलिकति ढिलो भयो । बैठक आयोजनामा कुनै समस्या छैन । बैठक गर्नुपर्छ र धेरैभन्दा धेरै साथीहरूको कुरा सुन्नुपर्छ । सामूहिकतामा बल हुन्छ भन्छन् । त्यसैले सामूहिकतामा हामी जोड दिन्छौं ।

तर पार्टी छलफल गर्नका लागि मात्रै होइन, काम गर्नका लागि पनि हो । परिणाम निकाल्न र कार्यान्वयनका लागि पनि हो । केही साथीलाई बहस नभएर मात्रै बिग्रेको हो भन्ने लाग्छ । त्यसो हुने हो भने केही पार्टीहरू यति धेरै बैठक बस्छन्, बहस गर्छन्, दस्तावेज निकाल्छन्, देशको सबभन्दा ठूलो पार्टी त त्यही हुनुपर्ने हो ! भएको छैन । त्यसरी पनि हेर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?