+
+

संसदमा एमाले र अर्थमन्त्रीको लुकामारी !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १८:१०

२ असार, काठमाडौं । प्रतिनिधिसभामा बिहीबार नयाँ दृष्य देखियो । अर्थमन्त्री जनार्दन शर्मा रोष्ट्रममा जाँदा नेकपा एमाले सांसद संसदबाट बाहिरिने र मन्त्री रोष्ट्रमबाट झरेपछि एमाले सांसदहरु फेरि संसद बैठकमा प्रवेश गर्ने ।

दिउँसो १ बजे बोलाइएको बैठकको कार्यसूचीको पहिलो नम्बरमा अर्थ मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषय उल्लेख थियो ।

बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उठेर संसद बैठक अवरोध गरे । अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई जवाफ दिन समय दिए । अर्थमन्त्री शर्मा रोष्ट्रमतिर लागे, एमाले सांसदहरुले टेबुल ठोकेर विरोध गरे ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर जथाभावी करको दर हेरफेर गरेको भन्दै एमालेले यो विषय छानबिनको माग गर्दै संसदमा अर्थमन्त्रीलाई अवज्ञा गर्दै आएको छ ।

सभामुखले सांसद हृदयेश त्रिपाठीलाई बोल्न समय दिए । सांसद त्रिपाठीले पेलेरै जाने रणनीति तर्फ संकेत गर्दै भने, ‘यो समस्यालाई हल्का रुपमा नलिइयोस् सभामुख महोदय । यो संसदको गरिमासँग मात्रै जाडिएको छैन, देशको अर्थतन्त्रसँग जोडिएको छ । हाम्रो कार्य प्रणालीसँग जोडिएको छ । त्यसकारण मेरो निवेदन छ संसदीय समिति बनाएर अगाडि बढियोस् ।’

सभामुखले सांसद त्रिपाठीको मागतिर ध्यान दिएनन् । अर्थमन्त्रीलाई अगाडि बढ्न अनुरोध गरे । अर्थमन्त्रीले जवाफ सुरु गरे । एमाले सांसदहरु टेबुल ठाकेर विरोध जनाइरहे ।

अर्थमन्त्रीले जवाफ दिइसकेपछि सभामुख सापकोटाले प्रतिप्रश्न गर्न समय दिए । तर, एमाले संसदीय दलका प्रमुख सचेकत विशाल भट्टराईले सभामुख र अर्थमन्त्री माथि नै प्रश्न उठाएर बैठक बहिष्कार गर्ने घोषणा गरे । त्यसपछि एमाले सांसदहरु बाहिरिए ।

बाहिरिनुअघि भट्टराईले सभामुखमाथि पनि प्रश्न उठाउँदै भने, ‘प्रमुख प्रतिपक्षीले यो ठाउँ (प्रतिपक्षको बेन्च) मा उठेर अब्जेक्सन जनाइसकेपछि जबर्जस्ती रुपमा अर्थमन्त्रीलाई त्यहाँ (रोष्ट्रम) उभ्याएर, जनताले सुन्नै नचाहेको विषय यहाँ प्रस्तुत गर्न खोजेर सभामुखज्यूले वास्तवमा यो संसदीय मर्यादालाई अलिकति सम्मान गर्नु भएन कि भन्ने हामीलाई चिन्ता लागेको छ ।’

एमाले सांसदहरुले बैठक छोडेर हिँडे पनि संसदको कारवाही रोकिएन । अर्थमन्त्रीसँग नेमकिपाका सांसद प्रेम सुवालले प्रतिप्रश्न सेसनमा भाग लिए । अर्थमन्त्रीले जवाफ दिए ।

त्यसपछि सभामुखले प्रधानमन्त्री देउवाको तर्फबाट रक्षा मन्त्रालयमाथि उठेका प्रश्नहरुको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई समय दिए । खाँण बोल्न थालेपछि एमाले सांसदहरु बैठक कक्षमा प्रवेश गरे ।

खाँणपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रपतिको कार्यालय, उपपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमाथि उठेका प्रश्नहरुको जवाफ दिन समय दिए ।

गृहमन्त्री खाँण र कानुनमन्त्री कार्कीले जवाफ दिएको सेसनमा एमाले सांसदहरुले भाग पनि लिए ।

त्यसपछि सभामुख सापकोटाले विनियोजन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । एमालेले तुरुन्तै उठेर विरोध जनायो । सभामुखले एमाले सांसद गोकर्ण विष्टलाई बोल्न समय दिए । उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएर करको दर हेरफेर गरेको विषय उठाउँदै अर्थमन्त्रीको राजीनामा दिए । निष्पक्ष छानबिनको माग गर्दै उनले बैठक बहिस्कार गर्ने घोषणा गरे । त्यसपछि फेरि एमाले सांसदहरु बैठक छाडेर हिँडे ।

एमाले सांसदले बैठक छाडेर हिँडे पनि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिए । त्यसपछि एमालेको बहिष्कारबीच संसदबाट विनियोजन विधेयक बहुमतले पारित भयो ।

विनियोजन विधेयक पारित भएपछि सभामुखले अर्थमन्त्री शर्मालाई आर्थिक विधेयक पेश गर्न समय दिए । आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सत्तारुढ गठबन्धनका सांसदहरुले भाग लिए । आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित भयो । त्यसपछि सभामुखले यो विधेयकमाथि असार ६ गते दफाबार छलफल हुने समय तोके ।

सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५ औं संशोधन विधेयक प्रस्तुत गर्न समय दिए । दुबै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सदनले विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गर्‍यो ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?